जोमसोम बजारमा कालीगण्डकीको कटान « Khabarhub

जोमसोम बजारमा कालीगण्डकीको कटान


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जोमसोम- कालीगण्डकी नदीमा आएको बाढीले मुस्ताङको सदरमुकाम जोमसोम बजार कटान गर्न थालेको छ । कालीगण्डकीमा आएको बाढीले घरपझोङ गाउँपालिका–४ जोमसोममा कटान गरेको हो ।

कालीगण्डकीको कटानका कारण जोमसोमको सरकारी कार्यालय जाने झोलुङ्गे पुलदेखि माथि मुस्ताङ अस्पतालतर्फ ५० मिटर दूरीमा सडक चिराचिरा परेको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताए ।

“एघार मिटर फराकिलो सडकको डिलतर्फको करिब आठ मिटर चौडाईमा धाजा फाटेपछि आज बिहानदेखि यातायात सञ्चालन गर्न रोकेका छौँ”, उनले भने, “जोमसोम अस्पतालको भवन र दशभन्दा बढी व्यक्तिका घर जोखिममा परेका छन् ।” बाढीले ग्याबियन र मेसिनरी पर्खाल भत्काएर बस्तीतर्फ कटान गर्न थालेपछि जोखिम बढेको हो । गाउँपालिकाका अध्यक्ष लालचनले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले कटान गरेको ठाउँमा ग्याबियन पर्खाल बनाएर कटान नियन्त्रण र सडक सञ्चालन गर्न खटिएको बताए ।

शनिबार र आइतबार दुई दिनको लगातारको झरीका कारण मुस्ताङका खोलामा बाढी आएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागखोलामा आएको बाढीले आइतबार राति कागबेनीमा २९ वटा घरसहित प्रहरी चौकी, वडा कार्यालय, मोटरेबल पुल, झोलुङ्गे पुल, मन्दिर गुम्बा, धर्मशालालगायत भौतिक संरचना बगाएको छ ।

कागखोलाको बाढी मिसिएर जोमसोममा आएको बाढीले कटान गर्न थालेको हो । यसैबीच मुस्ताङको विपद् व्यवस्थापनका लागि म्याग्दी जिल्लाको विपद् व्यवस्थापन समितिले तीन हजार लिटर डिजेल उपलब्ध गराएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा सोमबार पोखरामा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको अकस्मिक बैठकले राहत व्यवस्थापन र बाढीबाट भत्किएको संरचना व्यवस्थित गर्न मेसिन उपकरण तथा सवारी साधनका लागि मुस्ताङमा इन्धन अभाव भएकाले म्याग्दीबाट डिजेल पठाउने निर्णय गरेको थियो ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले प्रदेश सरकारको निर्देशनअनुसार सोमबार बेनीबाट पठाएको तीन हजार लिटर डिजेल आज बिहान घाँसामा मुस्ताङको विपद् व्यवस्थापन समितिलाई उपलब्ध गराएको जानकारी दिए ।

बेनी–जोमसोम सडक बैसरीको पहिरोले अवरुद्ध भएकाले घुमाउनेताल–पिप्ले–रानीपौवा–रिसिनचौतारी–माझखर्क–बेगखोला जोड्ने बैकल्पिक सडक प्रयोग गरेर इन्धन पठाएको प्रजिअ पौडेलले बताए । प्रजिअ पौडेलका अनुसार बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्यसहित बैसरीमा खस्ने पहिरो व्यवस्थापन गर्ने काम भइरहेको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका २ र ३ को सिमानामा पर्ने बैसरी अधेरीखोला क्षेत्रको पहिरोका कारण साउन २० गतेदेखि बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङमा इन्धनलगायत अत्यावश्यक बस्तुको अभाव भएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ७ : ३८ बजे

निर्णायक घडीमा प्रदीप ज्ञवालीको अपिल : ओली नेतृत्वको टोलीलाई जिताऔँ

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा

शुक्लाफाँटाको बन्साहमा बहुलाहा कुकुरको आतङ्क

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा दुई दिनदेखि बहुलाहा कुकुरको आतङ्क

स्थानीयको पहलले भोजपुरमा ‘पेमा छ्योलिङ गुम्बा’ निर्माण

भोजपुर– स्थानीयवासीको पहल, श्रम र आर्थिक सहयोगबाट भोजपुर सदरमुकाम नजिकैको

विदेशमा अध्ययनका लागि बाहिरियो ४२ अर्ब ९६ करोड रुपैयाँ

काठमाडौं– देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि

जर्मनीको अनलाइन बैङ्क एनमाथि प्रतिबन्ध

फ्र्याङ्कफर्ट – जर्मनीका वित्तीय नियामकले अनलाइन बैङ्क एन–२६ माथि नयाँ