विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

आज भदौ १२ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अगस्ट २९, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

सुडानका सैन्य प्रमुख इजिप्ट भ्रमणमा

सुडानका सेना प्रमुख अब्देल फताह अल बुरहान देशमा जारी भीषण युद्धका बीच इजिप्टको भ्रमणमा निस्किएका छन् । गत अप्रिलमा युद्ध सुरु भएयता उनको यो पहिलो विदेश भ्रमण हो ।

सुडानको दोस्रो ठूलो शहर न्यालामा जारी पछिल्लो सङ्घर्षमा ३९ जनाले ज्यान गुमाएका छन् । प्रत्यक्षदर्शीहरूका अनुसार सरकारी सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स आरएसएफबीचको द्वन्द्वमा धेरै महिला र बालबालिकाले ज्यान गुमाएका छन् ।

जनरल बुरहान र उनका पूर्व सहायक मोहम्मद हमदान डग्लोबीचको मतभेद अप्रिल १५ देखि युद्धमा परिणत भएपछि राजधानी खार्तुम, पश्चिमी क्षेत्र डाफुरदेखि कोर्डोफान र जाजिरा राज्यसम्म फैलिएको छ । युद्धमा परी हजारौंको मृत्यु भएको छभने लाखौँ पलायन भएका छन् ।

सशस्त्र द्वन्द्वका सम्बन्धमा अनुसन्धान गरिरहेको एक संस्थाका अनुसार हालसम्म पाँच हजारभन्दा बढी सुडानीको मृत्यु भएको छ । यद्यपि मारिनेको वास्तविक सङ्ख्या योभन्दा धेरै भएको अनुमान गरिएको छ । संयुक्त राष्ट्रसङ्घीय निकायहरूले युद्ध चर्केपछि सुडानबाट चार करोड ६० लाख सर्वसाधारण विस्थापित भएका जनाएका छन् ।

युद्धबाहेक अत्यधिक गर्मी, अनियमित विद्युत् आपूर्ति, खाद्यान्न, औषधि र अन्य दैनिक उपभोग्य वस्तको चरम अभावले सुडानका जनताको जीवन अतिकष्टकर भएको छ । केही समयअघि सुडानका लागि संयुक्त राष्ट्रसङ्घका मानव अधिकारविज्ञ राधुआने नुइसरले युद्धको भयावह अवस्थाको चित्रण गर्दै पूरै देशलाई बन्धक बनाइएको बताएका थिए ।

जी २० शिखर सम्मेलनमा पुटिन सहभागी नहुने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विश्वका १९ देश र युरोपेली सङ्घ मिलेर बनेको अन्तरसरकारी मञ्च जी २० को शिखर सम्मेलनमा सहभागी नहुने भएका छन् । जी २० को शिखर सम्मेलन आगामी महिना भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुँदैछ ।

राष्ट्रपति पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आगामी सेप्टेम्बर ९ र १० मा हुने शिखर सम्मेलनमा सहभागी नहुने जानकारी दिएका छन् ।

उनले प्रधानमन्त्री मोदीलाई फोन गरेर विदेशमन्त्री सर्गेई लाभरोभले आफ्नो तर्फबाट शिखर सम्मेलनमा सहभागी हुने जानकारी दिएको भारतीय प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । यसअघि रुसी सरकारका प्रवक्ताले व्यस्त कार्यतालिका भएकाले राष्ट्रपति पुटिन जी २० शिखर सम्मेलनमा सहभागी नहुने बताएका थिए ।

अन्तर्राष्ट्रिय वित्तीय स्थायित्व, जलवायु परिवर्तनका असर घटाउने र दिगो विकासजस्ता विश्वव्यापी अर्थतन्त्रसँग सम्बन्धित प्रमुख मुद्दाहरूलाई सम्बोधन गर्ने विषयमा छलफल गर्न जी २० शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, संयुक्त अधिराज्यका प्रधानमन्त्री ऋषि सुनकलगायत विश्वका शीर्ष नेताहरु सहभागी हुने कार्यक्रम रहेको बताइएको छ ।

महिला खेलाडीको ओठमा चुम्बन काण्ड : निलम्बित स्पेनी फुटबलका अध्यक्षकी आमा भोक हडतालमा

महिला विश्व कप च्याम्पियन खेलाडीको ओठमा चुम्बन गरेका कारण निलम्बनमा परेका स्पेन फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियाल्सकी आमाले भोक हडताल थालेकी छन् । अध्यक्ष रुबियाल्समाथि राजीनामा गर्न दबाब बढिरहेका बेला उनी छोराको बचाउमा भोक हडतालमा उत्रिएकी हुन् ।

प्रशिक्षक रुबियाल्सले सहमतिमा ओठमा चुम्बन गरेको अभिव्यक्ति दिएपछि स्पेनी फुटबल महासङ्घका साथै अन्य क्षेत्रीय फुटबल निकायका नेताहरूले पनि उनको राजीनामा मागेका छन् । महिला विश्वकप प्रतियोगिताको फाइनल खेलमा स्पेन विजयी भएपछि अस्टे«लियाको सिड्नीमा यही भदौ ३ गते आयोजित समारोहमा उनले खेलाडी जेनी हर्मोसाको ओठमा चुम्बन गरेका थिए ।

प्रशिक्षक रुबियाल्सको अनुशासनहीन हर्कतबाट क्रुद्ध भएको अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाले उनलाई ९० दिनका लागि निलम्बन गरेको छ भने फिफाको अनुशासन समितिले अनुसन्धान पनि थालेको छ । उनले सहमतिमा चुम्बन गरेको बताए पनि खेलाडी जेनीले त्यसको प्रतिवाद गरेकी छन् ।

स्पेनले पहिलोपटक महिला विश्वकप प्रतियोगितामा हासिल गरेको विश्वविजेताको यो उपलब्धिलाई चुम्बन काण्डले ओझेलमा पारेको छ । विश्वकपअन्तर्गत अस्ट्रेलियाको सिड्नीमा भएको फाइनल खेलमा स्पेनले इङ्गल्याण्डलाई १–० गोलले पराजित गरेको थियो ।

चुम्बन काण्ड चर्किएपछि स्पेनको राष्ट्रिय टोलीका खेलाडीहरूले अध्यक्ष रुबियाल्सले राजीनामा नगरेसम्म मैदानमा नफर्कने घोषणा गरेका छन् । उनकी आमा एन्जेल्स बेजारले आफ्नो छोराले न्याय नपाएसम्म मोट्रिलको दक्षिणी शहरको गिर्जाघरमा भोक हडताल जारी राख्ने सरकारी समाचार समिति इएफईलाई बताएकी छन् । खेलाडी जेनीले सत्य नबोलेको आरोप पनि उनले लगाएकी छन् ।

स्पेनका फुटबलसम्बद्ध अधिकारीहरूले चुम्बन काण्डले देशको प्रतिष्ठा विश्वभर बिग्रिएको बताउँदै रुबियाल्सले राजीनामा गर्नु श्रेयस्क हुन बताएका छन् । सरकारी अधिकारीहरूले सहमतिमा चुम्बन नगरिएको भए उनीविरुद्ध यौन हिंसाको मुद्दा दायर गर्न अभियोजकको कार्यालयले जेनीलाई सुझाएका छन् । उनलाई मुद्दा दायर गर्न १५ दिनको अवधि दिइएको छ । खेलकुदसम्बन्धी विवाद निरुपण गर्ने निकायले रुबियाल्सलाई पदमुक्त गर्ने अपेक्षा सर्वसाधारणले गरेका छन् ।

इमरान खानविरुद्ध सुनाइएको जेल सजायमा उच्च अदालतले लगायो रोक

पाकिस्तानको इस्लामावाद उच्च अदालतले पूर्वप्रधानमन्त्री एवम् पाकिस्तान तहरिक इन्साफका अध्यक्ष इमरान खानमाथिको सजायमा रोक लगाएको छ । सरकारी उपहार अर्थात् तोशाखाना भ्रष्टाचार मुद्दामा उच्च अदालतले खानमाथिको सजायमा रोक लगाएको हो ।

उच्च अदालतले खानलाई धरौटीमा छाड्न समेत आदेश दिएको छ । मुख्य न्यायाधीश अमिर फारुक र न्यायाधीश महमुद जहाँगिरको इजलासले खानको पुनरावेदन निवेदनमाथि सुनुवाई गर्दै यस्तो फैसला सुनाएको हो ।

यसअघि गत अगस्ट ५ मा इस्लामावाद ट्रायल कोर्टले भ्रष्टाचार मुद्दामा खानलाई दोषी ठहर गर्दै ३ वर्षको जेल र एक लाख पाकिस्तानी रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । यससँगै उनी ५ वर्षका लागि चुनाव लड्न अयोग्य भएका थिए ।

श्रीलङ्कामा विशाल ढुंगामा ‘रावणको दरबार’

रावणको सुनौलो लङ्काको बारेमा धेरैले सुनेको कुरा हो । तर के तपाइँलाई थाहा छ रावणको दरबार कहाँ छ र कति भव्य थियो रु

यो दरबार देखेर तपाइँलाई विश्वास लाग्दैन कि यो रावणको दरबार हो। किनभने एक पटक यो दरबारमा माथि जान लिफ्ट थियो। हजारौं लाखौं वर्षअघि गाडिएको रावणको शव यहाँ रहेको अझै पनि विश्वास गरिन्छ ।

श्रीलङ्कामा सिगिरिया भन्ने ठाउँ छ, जहाँ रावणको दरबार रहेको मानिँदै आएको छ । भनिन्छ, यस दरबारमा हजारौँ सिँढीहरू थिए तर पनि रावणसम्म पुग्न त्यतिबेलाका मानिसहरू लिफ्टको प्रयोग गर्थे।

जुन चट्टानमाथि यो दरबार थियो, त्यो निकै ठूलो र भव्य पनि थियो। यो विश्वास गरिन्छ कि रावणको साम्राज्य बदुल्लादेखि मध्य श्रीलङ्काको अनुराधापुरा, क्यान्डी, पोलोनारुवा र नुवारा एलियासम्म फैलिएको थियो। यो दरबार कुबेरले बनाएको भनिन्छ ।

सिगिरिया चट्टानमा एक धेरै पुरानो दरबारको अवशेष छ। यहाँ सुदृढ टेरेस्ड बगैंचा, पोखरी, नहर, झरनाहरू रहेका छन्। भनिन्छ कि रावणले माता सीतालाई यस स्थानमा केही दिन मात्र राखेका थिए तर पछि उनलाई अर्को ठाउँमा सारिएको थियो ।

दरबारको भव्यताको बारेमा धेरै विशेष कुराहरू छन् तर सबैभन्दा विशेष भनेको पानीको व्यवस्था हो। धेरै उचाइमा भए पनि दरबारको पानीको व्यवस्था निकै राम्रो बनाइएको थियो, यहाँ रानीहरूका लागि बगैंचा पनि बनाइएको थियो ।

यो रावणको दरबारमा करिब एक हजार सिँढी थिए तर माथि जान लिफ्टको व्यवस्था थियो । श्रीलङ्काका स्थानीय सञ्चारमाध्यमहरूलाई विश्वास गर्ने हो भने रावणको शव रगेलाको जङ्गलमा करिब ८ हजार फिटको उचाइमा ममीका रूपमा राखिएको छ ।

मृत शरीरमा अनौठो लेप लगाइएको छ ताकि यो कहिल्यै बिग्रन नपरोस्। तर, यसको ठोस प्रमाण भने अहिलेसम्म भेटिएको छैन ।

इराकमा सन् २०१६ को बिस्फोटमा संलग्न तीन जनालाई मृत्युदण्ड

इराकमा तीनसय जनाभन्दा बढी व्यक्तिको ज्यान जानेगरी भएको बम आक्रमणमा तीनजनालाई फाँसी दिइएको छ ।

इराकको राजधानी बग्दादमा ३ जुलाई २०१६ मा भएको बिस्फोटमा ३ सय बढीको मृत्यु र सयौँ घाइते भएको घटनामा दोषी ठहर भएका इस्लामिक अतिबादी संगठन आइएसका तीन जनालाई मृत्युदण्ड दिइएको हो ।

सो समयमा इस्लाम धर्मको पवित्र महिना रमजानको लागि दैनिक उपवास तोडेर मानिसहरूले रात्रि रमाइलो गरिरहेका थिए ।

इराकमा सन् २००३ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछीको सो बमबिस्फोट निकै नै घातक भएको ठहर गर्दै सोही घटनामा संलग्न तीन जना तत्काल पक्राउ परेका थिए । इराकका प्रधानमन्त्री मोहमद शिया अल सुदानीको कार्यालयले मृत्युदण्ड दिइएकाहरुको नाम भने सार्वजनिक गरेको छैन ।

यद्दपी मृत्युदण्डको सजाय पाउनेमा आइएसका मुख्य योजनाकारका रुपमा रहेका गजवान अल जबाबी पनि रहेको बुझिएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ७ : ५९ बजे

महिला टी-२० विश्वकप : इङल्याण्डको लगातार तेस्रो जित

काठमाडौं – आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत इङल्याण्डले स्कटल्याण्डलाई पराजित

चीनमा ग्यास चुहावट हुँदा सात जनाको मृत्यु, चार घाइते

जिनान – पूर्वी चीनको शानडोङ प्रान्तको एक बायोटेक कम्पनीमा शनिबार

डडेल्धुरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८ वर्षीय भण्डारी पक्राउ

डडेल्धुरा । डडेल्धुराको पोखरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८

हवाई आक्रमणमा परी कम्तीमा २३ जना सुडानी नागरिको मृत्यु, ४० घाइते

खार्तूम – दक्षिणी खार्तूमको मुख्य बजारमा भएको हवाई आक्रमणमा परी

तनहुँ कारागारमा कैदीबन्दीको उपचारमा समस्या

तनहुँ । तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन हुँदा कैदीबन्दीको उपचारमा समस्या भएको