काठमाडौँ- उच्च उपभोक्ता मूल्यका कारण घरायसी बजेटमा पर्ने असरबारे डरका बावजुद भारतको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) पछिल्लो त्रैमासिकमा ७.८ प्रतिशतले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ ।
भारत गत वर्ष बेलायतलाई उछिन्दै विश्वको पाँचौं ठूलो अर्थतन्त्र बनेको थियो भने जनसङ्ख्याका हिसाबले हालै चीनलाई उछिनेर सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको छ । कोभिड–१९ को महामारीपछि भारतको आर्थिक वृद्धिदर ७.२ प्रतिशत रहेको छ ।
यो विश्वका ठूला अर्थतन्त्रमध्ये सबैभन्दा धेरै हो । सरकारी तथ्याङ्कले वित्तीय क्षेत्र, घरजग्गा र व्यावसायिक सेवा क्षेत्रमा १२.२ प्रतिशतको वार्षिक वृद्धि देखाउँछ । अन्य देशजस्तै भारत पनि विश्वव्यापी वित्तीय अवस्था, युक्रेनको युद्ध र भूराजनीतिक तनावजस्ता विश्वव्यापी असरहरुबाट प्रभावित भएको छ । भारतको केन्द्रीय बैङ्कले यसै महिना खाद्य पदार्थको उच्च मूल्य वृद्धिले घरायसी बजेटमा असर पारेको र अझ खराब हुने अनुमान गरेको थियो ।
मुद्रास्फीति जूनमा ४.८१ प्रतिशतसम्म पुगेको थियो, जुन गत वर्षको ७.७९ प्रतिशतको उच्च विन्दुबाट अझै पनि तल झरेको छ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले यसै महिना संसदमा सरकारले उच्च मूल्य नियन्त्रणका लागि कदम चालेको बताएकी थिइन् । सीतारमणले मूल्यको चाप कम गर्न सरकारले खाद्यान्न आयात बढाएको र आयात प्रतिबन्धलाई खुकुलो बनाएको बताएकी थिइन् ।
प्रतिक्रिया