पाथीभरा मन्दिरमा तीन करोड १९ लाख भेटी संकलन  | Khabarhub Khabarhub

पाथीभरा मन्दिरमा तीन करोड १९ लाख भेटी संकलन 


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा रु तीन करोडभन्दा बढी भेटी संकलन भएको छ । आर्थिक वर्ष २०७९-८० मा रु तीन करोड १९ लाख १६ हजार आठ सय भेटी संकलन भएको हो । नोट  पैसा रु दुई करोड ८५ लाख ६२ हजार चार सय ९८, सिक्का सटहीबाट रु आठ लाख १५ हजार छ सय, दाताले बैंकमा जम्मा गरिदिएको रु १४ लाख ५४ हजार चार सय तीन र भेटीवापतको भारु रु १० लाख ८४ हजार तीन सय संकलन भएको  पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार अघिल्लो आवमा भने रु दुई करोड १४ लाख भेटी संकलन भएको थियो  । उनले समितिको कोषमा रु सात करोड ८८ लाख १० हजार दुई सय पाँच जम्मा रहेको बताए । पाथीभरामा चढाइएको सुनचाँदी भने अलग्गै छ । यसलाई तौल गर्ने, गाल्ने र बिक्री गर्ने छुट्टै समिति बनाइएको समितिका सदस्य पृथ्वी पालुङ्वा जानकारी दिए। 

भेटीबाट संकलित रकमले करार र ज्यालादारीमा कर्मचारी व्यवस्थापन , फोहर व्यवस्थापन, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीका लागि खाना, खाजा बन्दोबस्ती गर्ने र समस्या पर्नेलाई उद्धार गर्नेलगायत काम हुने गरेको क्षेत्र विकास समितिले जनाएको छ । समितिले संकलित रकमबाट चालु आवमा माथिल्लो फेदीबाट मन्दिरसम्म फाइबरको ट्रस लगाउने र मन्दिर परिसरमा खानेपानी ट्यांकी बनाउने निर्णय पनि गरेको छ । समितिका अनुसार पाथीभरामा ४७ देशको मुद्रा संकलन भएको छ ।

‘फाइवर ट्रस’ लगाइँदै

पाथीभरा मन्दिरबाट माथिल्लो फेदीसम्म फाइवरको छहारी (ट्रस) लगाइने भएको छ । तीर्थयात्रीको सहजताका लागि पाथीभरा मन्दिरको पूजा धामबाट माथिल्लो फेदीसम्म फाइवरको ट्रस लगाउन थालिएको हो ।

हिमपातको समयमा हिउँले बाटो पूरै पुरेपछि यात्रुले कठिन यात्रा गर्नुपर्ने बाध्यता खेप्दै आएकाले पदमार्गमा ट्रस लगाउन थालेको समितिले जनाएको छ । माथिल्लो फेदीबाट मन्दिरसम्मको दूरी दुई हजार चार सय मिटर पर्छ । अहिलेसम्म एक किमी दूरीमा फाइवरको छहारी लगाउने कार्य पूरा भएको छ । बाँकी एक हजार चार सय मिटर दूरीमा फाइबर लगाउने कार्य पूरा गर्ने तयारी गरिएको समितिले जनाएको छ ।

समितिका अनुसार पदमार्गमा फाइवरको छहारी लगाउने कार्य तीन हजार सात सय ९४ मिटर उचाइको मन्दिर क्षेत्रबाट सुरु गरी माथिल्लो फेदीतर्फ विस्तार गर्दै लगिएको छ । समितिका कार्यकारी निर्देशक  काफ्लेका अनुसार चालु आवमा संघीय सरकार, प्रदेश सरकार अन्य दाता तथा निकायसँग साझेदारी योजना अघि बढाइने छ । यो कार्य पूरा गर्न पाथीभरा क्षेत्र विकास समितिले आफ्नो खातामा रहेको मौज्दात रकम परिचालन गर्ने योजना बनाएको छ । समितिले अहिले उक्त कार्यका लागि लागत अनुमान तयारीसहितको प्रारम्भिक कार्य अघि  बढाएको छ । फाइबरको छहारी लगाउन रु तीन करोड ५० लाख हाराहारी रकम खर्च हुने अनुमान गरिएको छ ।

पदमार्गलाई तीन मिटर चौडाइमा विस्तारसँगै फलामे ट्रस जडान गरी फाइवरको छहारी लगाएको समिति सदस्य पालुङ्वाले बताए। उनका अनुसार पदमार्ग सोलिङ गरिएको छ भने दायाँ–बायाँ रेलिङ लगाएको छ । पदमार्ग नै ढाक्ने गरी हिउँ परेको समयमा पनि तीर्थयात्रीको यात्रालाई सहज बनाउन फाइवरको छहारी लगाएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिए। छहारी लगाउने कार्य पूरा भएमा हिउँ र पानी परेको समयमा पनि तीर्थालु मन्दिर दर्शन गरी फर्कन सक्ने समितिको विश्वास छ । अहिले पाथीभरा क्षेत्रको काफ्लेपाटीसम्म यातायातका साधनमार्फत जान सकिन्छ । काफ्लेपाटीबाट पाथीभरा मन्दिरसम्मको दूरी चार दशमलव पाँच किलोमिटर छ ।

तीर्थालुका लागि सबैभन्दा कठिन बाटो भनेकै माथिल्लो फेदीबाट मन्दिरसम्म पुग्नु हो । माथिल्लो फेदीबाट मन्दिरसम्मको दूरीमा सबैभन्दा बढी हिउँ र पानीको प्रभाव देखिने भएकाले यो क्षेत्रमा फाइबरको छहारी बनेमा तीर्थालुका लागि धेरै सहज हुने पाथीभरा क्षेत्र विकास समितिको बुझाइ छ । अहिले पाथीभरा क्षेत्रमै बास बसेर बिहान मन्दिरको दर्शन गर्न जाने केहीबाहेक अधिकांश माथिल्लो फेदीमा रहने गर्छन् । माथिल्लो फेदीबाट मन्दिरतर्फ भन्दा काफ्लेपाटीबाट माथिल्लो फेदीसम्म हिउँ र पानीको प्रभाव कम हुने गरेकाले तीर्थालुका लागि यो पदमार्ग छिचोल्न निकै सहज मानिन्छ ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ७ : ५६ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं