आफ्नो चीन भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने प्रधानमन्त्रीको विश्वास | Khabarhub Khabarhub

आफ्नो चीन भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने प्रधानमन्त्रीको विश्वास


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणका क्रममा दुई देशबीच परम्परागत रुपमा घनिष्ट र सहयोगात्मक सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

आफ्नो संयुक्त राष्ट्रसंघ र चीन भ्रणका विषयमा शुक्रबार प्रतिनिधिसभा बैठकमा जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले आफ्नो औपचारिक चीन भ्रमणबाट दुई देशबीच रहिआएको परम्परागत घनिष्ट र सहयोगात्मक सम्बन्ध थप सुदृढ हुने तथा आपसी सहयोगका क्षेत्रहरू थप विस्तार हुँदै जाने विश्वास व्यक्त गरे ।

संयुक्त राष्ट्रसंघमा गर्ने सम्बोधन र चीन भ्रमणको तालिकाबीच अत्यन्त छोटो समय रहेका कारण न्यूयोर्कबाट सिधै छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा जानुपर्ने परिस्थिति बन्न गएको उनले बताए । चीन भ्रमणले नेपाल–चीनबीच विद्यमान द्विपक्षीय सम्बन्ध थप उच्च र प्रगाढ हुने उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले भ्रमणलाई नेपाल र नेपाली जनताको हित एवं नेपाल चीन सम्बन्धलाई थप मजबुत तुल्याउन सदुपयोग गर्ने प्रयास रहने जिकिर गरे । चीनमा रहँदा हाङ्गजाउमा नै चिनियाँ राष्ट्रपति सी चीनफिसँग भेटघाटको कार्यक्रम रहेको र सोही १९ औं एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुने उनले जानकारी दिए ।

त्यस्तै, प्रधानमन्त्री प्रचण्डले छोङछिङ्ग एकेडमी अफ एग्रीकल्चरल साइन्समा पुगेर अवलोकन गर्ने र छोङछिङ्गको भ्रमण पश्चात नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने कार्यक्रम रहेको बताए । त्यसअघि संयुक्त राष्ट्रसंघको महासभामा असोज ४ गते नेपालको तर्फबाट सम्बोधन गर्ने उनले बताए । सो अवसरमा नेपालले हासिल गरेका राजनीतिक उपलब्धिहरूबारे अवगत गराउने, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने जलवायु परिवर्तनको असरका बारेमा विश्व समुदायको ध्यानाकर्षण गराउने तयारी रहेको उनले जानकारी दिए ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले सदनमा उठेका विभिन्न बिषयको जवाफ दिदै अवैध सुन तस्करीको सम्बन्धमा उच्चस्तरीय छानविन आयोग बनाउने प्रक्रिया अगाडि बढेको बताए । यसैगरी, नेपाली कांग्रेसका नेता महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारलाई सरकारले गम्भीर रुपमा लिएको र आक्रमणकारीलाई प्रचलित कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइएको जानकारी गराए । यस प्रकारका आक्रमणका घटना हुन नदिन र शान्ति सुव्यवस्था मिलाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

चीनको औपचारिक भ्रमण र संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुनुपूर्व प्रधानमन्त्रीले संसदसमक्ष गरेको सम्बोधन-

सम्माननीय सभामुख महोदय,
छिमेकी मित्र राष्ट्र चीनका प्रधानमन्त्री महामहिम श्री लि छियाङ् को मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमण र संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी न्यूयोर्क प्रस्थान गर्नुअघि यस सम्मानित संसदलाई जानकारी गराउन म यहाँ उपस्थित भएको छु ।

सभामुख महोदय,

संयुक्त राष्ट्रसंघको महासभामा राष्ट्राध्यक्ष तथा सरकार प्रमुखबाट नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी सहभागी हुने प्रचलन रहिआएको यस सम्मानित संसदलाई अवगत नै छ। यही प्रचलनअनुरूप संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी भई सम्बोधन गर्नका लागि विश्व संस्थाका महासचिवबाट निमन्त्रणा प्राप्त भएको छ।

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुन गइरहेको यस महासभामा सरकार प्रमुखको हैसियतमा सहभागी भई नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासन प्रणालीको अभ्यास र समुन्नत नेपालको निर्माणमा हाम्रो प्रयासका विषयहरूलाई विश्व समुदायमाझ मुखरित गर्न पाउनुलाई मैले एउटा महत्वपूर्ण अवसरका रूपमा लिएको छु।

यसैगरी यसवर्ष दिगो विकास, जलवायु परिवर्तन, विश्वव्यापी महामारीका कारण सिर्जित स्वास्थ्य चुनौतीहरू, दिगो विकासका लक्ष्य हासिल गर्न वित्तीय प्रबन्ध लगायतका संयुक्त राष्ट्रसंघका सदस्य मुलुकहरूका साझा चासो एवं सरोकारका विषयहरूमा गहन रूपमा छलफल हुने गरी Sideline मा आयोजना हुने विभिन्न उच्चस्तरीय बैठकहरूमा सहभागी हुनसमेत मलाई निमन्त्रणा प्राप्त भएको छ।

यस वर्षदेखि अल्पविकसित राष्ट्रहरूको समूहको अध्यक्षको हैसियतमा नेपालले ४७ वटा मुलुकको प्रतिनिधित्व गर्दै साझा चासोका विषयहरूमा विभिन्न मञ्चमा धारणाहरू राख्नुपर्ने जिम्मेवारी हामीलाई आएको छ।

यसका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही भाद्र ३० मा संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कतर्फ जाने मेरो तयारी रहेको छ। भ्रमणको लागि यथाशक्य सानो र छरितो प्रतिनिधिमण्डल बनाइएको छ।
सभामुख महोदय,
यस वर्ष १८ देखि २६ सेप्टेम्बरसम्म चल्ने संयुक्त राष्ट्रसंघको यस ७८ औं महासभाको उच्चस्तरीय सत्रमा हुने General Debate को विषय “Rebuilding Trust and Reigniting Global Solidarity: Accelerating Action on the 2030 Agenda and its Sustainable Development Goals towards Peace, Prosperity, Progress and Sustainability for All” रहेको छ र असोज ४, २०८० ९तदनुसार २१ सेप्टेम्बर २०२३० मा महासभालाई नेपालको तर्फबाट मैले सम्बोधन गर्ने गरी कार्यक्रम तय भएको छ।

सो अवसरमा नेपालले हासिल गरेका राजनीतिक उपलब्धिहरूबारे अवगत गराउने, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने नेपालको प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव लिने, अतिकम विकसित मुलुकबाट दिगो र स्थायी रूपमा स्तरोन्नति हुन आइपरेका चुनौतीहरूबारे विश्व समुदायको ध्यानाकर्षण गर्ने, अल्पविकसित मुलुकहरूको समूहको अध्यक्षको हैसियतले यो समूहका सदस्य राष्ट्रहरूले झेल्दै आएका विशिष्ट चुनौतीहरूबारे आवाज उठाउने, जलवायु परिवर्तनबाट नेपालजस्तो पर्वतीय मुलुकमा परेको गहिरो र दूरगामी प्रभावहरू लगायतका नेपालका लागि चासोका विषय र प्राथमिकताहरूप्रति विश्व समुदायको ध्यानाकर्षण गराउने तयारी छ।

महासभाका दौरान आयोजना हुने Financing for Development, Pandemic Prevention, Preparedness and Response, Universal Health Coverage लगायतका विषयमा हुने उच्चस्तरीय बैठकहरू एवं संयुक्त राष्ट्रसंघका महासचिवले आयोजना गर्नुहुने Climate Action Summit मा समेत सहभागी भई नेपालको धारणा राख्ने तयारी नेपालले गरेको छ।

यही असोज १ र २ मा आयोजना हुने High Level Political Forum on Sustainable Development, (SDG Summit) मा समेत अल्पविकसित राष्ट्रहरूको समूहको अध्यक्ष राष्ट्रको हैसियतमा मैले सम्बोधन गर्ने कार्यक्रम छ। उक्त मञ्चमा अतिकम विकसित मुलुकहरूले भोग्नुपरेका साझा समस्या तथा चुनौतीहरू, सन् २०३० भित्र दिगो विकासका लक्ष्यहरू हासिल गर्न आइपरेका व्यवधानहरू एवं विकासोन्मुख मुलुकका रूपमा स्तरोन्नति हुन लागेका नेपाल जस्ता मुलुकहरूले दिगो विकास एवं समृद्धिको पथमा अग्रसर रहिरहन आगामी दिनमा चाल्नुपर्ने साझा कदमका विषयमा केन्द्रित रही मैले आफ्ना भनाइहरू प्रस्तुत गर्ने योजना बनाएको छु।

सभामुख महोदय,

यस ७८ औं महासभाको Sidelines मा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसलगायत विभिन्न मित्र राष्ट्रका राष्ट्रप्रमुख एवं सरकार प्रमुखहरूसँग द्विपक्षीय र बहुपक्षीय भेटवार्ता गर्ने गरी तयारी भइरहेको छ। यी भेटवार्ताहरूमा नेपालको राष्ट्रिय हित, पारस्परिक सहयोग र दिगो विकासका मुद्दाहरूलाई केन्द्रमा राखेर छलफल गर्ने योजना छ।

यसैबीच असोज २ मा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति महामहिम Joseph Biden ले आयोजना गर्नुहुने जलपान कार्यक्रममा समेत सहभागी हुने तय भएको छ।

सम्माननीय सभामुख महोदय,
संयुक्त राष्ट्रसंघको ७८ औं महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन पश्चात असोज ५ गते छिमेकी मुलुक जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि हाङ्गजाउ जाने कार्यक्रम तय भएको छ। संयुक्त राष्ट्रसंघमा गर्ने सम्बोधन र चीन भ्रमणको तालिका बीच अत्यन्त छोटो समय रहेका कारण म न्यूयोर्कबाट सिधै छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा जानुपर्ने परिस्थिति बन्न गएको हो।

नेपाल र चीनबीच सदियौंदेखि सौहार्दपूर्ण एवं अति घनिष्ठ सम्बन्ध रही आएको छ र हालैका वर्षहरूमा यो सम्बन्ध बहुआयामिक क्षेत्रमा अझ व्यापक र थप घनिष्ठ बन्दै गएको छ। चीन लामो समयदेखि नेपालको विकास साझेदार रहेको र नेपालको सर्वाङ्गीण विकासको प्रयासमा सहयोग गर्दै आएको छ।

नेपालको प्रधानमन्त्रीको हैसियतमा मेरो यो तेस्रो चीन भ्रमण हुनेछ। यस भ्रमणले नेपाल–चीनबीच विद्यमान द्विपक्षीय सम्बन्ध थप उच्च र प्रगाढ हुनेछ भन्ने मैले विश्वास लिएको छु। यस भ्रमणलाई नेपाल र नेपाली जनताको हित एवं नेपाल चीन सम्बन्धलाई थप मजबुत तुल्याउन सदुपयोग गर्ने मेरो प्रयास रहने कुरा म सम्मानित सदनलाई अवगत गराउन चाहन्छु।

हाङ्गजाउमा नै चिनियाँ राष्ट्रपति महामहिम सी चीनफिङसँग भेटघाटको कार्यक्रम रहेको छ। सोही दिन म १९ औं एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुनेछु। त्यस्तै २५ सेप्टेम्बरमा बेइजिङ्गमा समकक्षी महामहिम लि छियाङ्सँग मेरो भेटघाट तथा द्विपक्षीय वार्ताको कार्यक्रम रहेको छ।
त्यसपछि कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै उच्च सफलता हासिल गरेको चीनको छोङछिङ्ग महानगरपालिकामा रहेको छोङछिङ्ग एकेडमी अफ एग्रीकल्चरल साइन्सलगायत विज्ञान तथा प्रविधि विकासका क्षेत्रहरूको अवलोकन गर्ने कार्यक्रम रहेको छ।

छोङछिङ्गको भ्रमण पश्चात नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने र त्यहाँका उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता गरी नेपाल फर्कने कार्यक्रम रहेको व्यहोरा सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु।

कोभिड महामारीपछि प्रधानमन्त्रीको स्तरमा हुने पहिलो उच्चस्तरीय भ्रमणले नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउनका साथै नेपालको पूर्वाधार विकास, कृषि, उर्जा, पर्यटन, स्वास्थ्य, शिक्षा लगायत विविध क्षेत्रमा छिमेकी मित्रराष्ट्र चीनबाट प्राप्त सहयोगबारे छलफल हुनेछ। भ्रमणका क्रममा कोभिडको कारण नियमित हुन नसकेका द्विपक्षीय व्यापार नाका र परम्परागत सीमा नाकाहरू खोल्ने विषयमा समेत कुराकानी हुनेछ।

नेपालको प्रधानमन्त्रीको हैसियतमा मैले गर्ने छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणबाट दुई देशबीच रहिआएको परम्परागत घनिष्ट र सहयोगात्मक सम्बन्ध थप सुदृढ हुने तथा आपसी सहयोगका क्षेत्रहरू थप विस्तार हुँदै जाने मैले विश्वास लिएको छु। साथै, संघीयता लागु भएपछिको दोस्रो आम निर्वाचनपश्चात बनेको सरकार प्रमुखको हैसियतमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने र नेपालको चासोका विषयहरू अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्ने एवं शान्ति, दीगो विकास, जलवायु परिवर्तन जस्ता क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग र सद्भाव हासिल गर्न सहयोगी हुने विश्वास मैले लिएको छु।

अन्त्यमा,

म केही समसामयिक विषयमा प्रष्ट पार्ने अनुमति चाहन्छु। अवैध सुन तस्करीको सम्बन्धमा सिआइबीले अनुसन्धान टुंगाई प्रतिवेदन बुझाइसकेको छ। यस अघि भएको सहमतिअनुसार उच्चस्तरीय छानविन आयोग बनाउने प्रक्रिया अगाडि बढेकोसमेत यस सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु।
यसैगरी नेपाली कांग्रेसका नेता महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारलाई सरकारले गम्भीर रूपमा लिएको छ। आक्रमणकारीलाई प्रचलित कानूनबमोजिम कारवाही प्रक्रिया अघि बढाइएको जानकारी गराउँछु। यस प्रकारका आक्रमणका घटना हुन नदिन र शान्ति सुव्यवस्था मिलाउन सरकार प्रतिवद्ध छ, धन्यवाद।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  २ : ४५ बजे

इजरायली आक्रमणमा प्यालेष्टिनी प्रहरी प्रमुखसहित २५ व्यक्तिको मृत्यु

गाजा – इजरायलले दक्षिणी गाजामा घोषित एक मानवीय क्षेत्रमा रातभर

बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको

विमानको आपतकालीन ढोका खोल्ने यात्रुलाई जरिवाना

काठमाडौं – विमानको आपतकालीन ढोका खोल्ने दुई यात्रुलाई जरिवाना तिराइएको

बर्दिया अस्पतालमा नसर्ने रोगको निःशुल्क उपचार

बर्दिया – बर्दिया अस्पतालमा पेन–प्लस क्लिनिकमार्फत नगसर्ने रोगको निःशुल्क उपचार

दुई प्रदेश जोड्दै कालीगण्डकीमा बन्यो पक्की पुल

गुल्मी – कालीगण्डकी नदी माथि पक्की पुल निर्माण भएको छ