म्याग्दीको मङ्गलेखानीको सिंगो गाउँ नै आलु र सिमीखेतीमा « Khabarhub

म्याग्दीको मङ्गलेखानीको सिंगो गाउँ नै आलु र सिमीखेतीमा


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


903
Shares
  • change font
  • change font
  • change font

बेनी- म्याग्दीको रघुगंगा गाउँपालिका–८ मंगलेखानीका नरप्रसाद छन्त्यालले परम्परागत मकै र कोदोखेती हुने बारीमा व्यवसायिक सिमीखेती गरेका छन् । परम्परागत खाद्य बाली लगाउँदा निर्वाहमुखी खेती हुने भएपछि नगदे बालीको रूपमा आलु र सिमीको व्यावसायिक खेती गर्न थालेको उनले बताए । उनले करिब १५ रोपनी बारीमा लगाएको आलु भित्र्याइसकेपछि सिमी लगाएका छन् ।

छन्त्यालजस्तै यहाँ बसोबास रहेका २१ घरधुरीले नै परम्परागतरूपमा हुने कोदो, मकै, जौँ, फापरलगायत खाद्यबालीलाई छाडेर खायन आलु र घ्यूसिमीको व्यावसायिक खेती सुरु गरेका हुन् । चिसो हावापानी भएकाले खाद्यबाली पाक्नसमेत समय लाग्ने र नगद आम्दानी नहुने भएपछि स्थानीयवासीले आयआर्जनका लागि व्यावसायिक आलु र सिमीखेती विस्तार गरेको बताउँछन् ।

जिल्ला कृषि ज्ञान केन्द्र र रघुगंगा गाउँपालिकाले समेत कुइनेमंगलेलाई आलु र सिमी पकेट क्षेत्र घोषणा गरेका छन् । यस गाउँको करिब एक हजार दुई सय रोपनीमा अहिले सिमीखेती गरिएको श्रीकृष्ण कृषि तथा पशुपालन कृषक समूहका सचिव बदेवी छन्त्यालको भनाइ छ । आलुखेती गरेको सबै बारीमा सिमी लगाइएको छ । आलु नखन्दै सिमी लगाउने र आलु फलिसकेपछि आलु झिक्ने र सिमी गोड्ने काम एकैपटक गर्ने गरी आलु र सिमीलाई व्यावसायिकरूपमा विस्तार गरिएको उनको भनाइ छ ।

आलु खनेर घरमा भित्र्याइसकेर बिक्री गर्न थालेका स्थानीयको बारीमा सिमी फल्न थालिसकेको छ । बारीभरि थाक्रोमा सिमी लहलह भएका छन् । सिमीको बोटमा कोसा लाग्न थालिसकेको छ । रैथाने खाद्य बाली पाक्न पाँचदेखि छ महिना लाग्ने र त्यसले आयआर्जन नहुने अवस्थामा गाउँमा उत्पादन हुने आलु र सिमी बिक्री गरेर आम्दानी गर्न थालेपछि स्थानीयवासीको आयआर्जनमा सघाउ पुर्याएको छ ।

तीन महिनामै बाली पाक्ने र बजारीकरण गरेर नगद आम्दानी गर्न सकिने भएकाले आलु र सिमीखेतीले व्यावसायिकता पाएको कृषक समूहका अध्यक्ष बिना छन्त्यालले बताइन् । सदरमुकाम बेनीबाट गाउँपालिकाको केन्द्र मौवाफाँट हुँदै मंगलेखानीसम्म सडकको पहुँच पुगेकाले यहाँ उत्पादन हुने आलु र सिमी बजारीकरणमा सघाउ पुगेको अध्यक्ष छन्त्यालले बताइन् ।

‘यहाँ आलु पहिलेदेखि नै हुने गर्थ्यो तर बिक्री भने हुने थिएन, स्थानीयवासीले आफैँले प्रयोग गर्ने र आफन्तलाई कोसेलीका रूपमा पठाउने चलन थियो, तर गाउँमा सडक आएपछि गाउँको आलु बेनी, पोखरालगायत बजारमा पुग्न थालेको छ, गाउँबाट सिमी पनि निर्यात हुन थालेको छ, कच्ची सडकको अवस्थालाई बाह्रै महिना सञ्चालन हुने बनाउन सकेमा यहाँका धेरै कृषकलाई राहत हुने थियो’, अध्यक्ष छन्त्यालले भनिन् ।

यो गाउँमा आलुबाट मात्रै वार्षिकरूपमा रु ६० लाख बढी नगद भित्रने गर्छ । यो वर्ष विगत वर्षको तुलनमा आलुको उत्पादन बढेको छ । बजारमा माग नबढेका कारण अझै पर्याप्त मात्रामा आलु निर्यात हुन नसकेको स्थानीय कृषक निश्मा छन्त्यालले बताइन् । परीक्षणको रूपमा गरिएको सिमीखेती सफल भएपछि तीन वर्षदेखि समूह नै दर्ता गरेर व्यावसायिकरूपमा खेतीलाई विस्तार गरिएको उनको भनाइ छ ।

‘पहिले गाउँको बारीसँगै जंगलका पाखोबारीमा समेत आलुखेती गर्ने चलन थियो, उत्पादन भएको आलुले बेँसीमा अन्न सटही हुन्थ्यो, तर अहिले उन्नत जातको आलु र रैथाने बाली छाडेर सिमीखेती गर्न थालेपछि दुःख पनि कम भएको छ, उत्पादन पनि बढेको छ’, उनले भनिन् ।

यस गाउँका हरेक घरले तीनदेखि पाँच टन आलु उत्पादन गर्छन् । आलुखेती गरेको अधिकांश जमिनमा अहिले सिमीखेती गरिएको छ । हरेक घरले दुईदेखि आठ मुरीसम्म सिमी उत्पादन गर्छन् । यहाँ उत्पादन भएको सिमी प्रतिपाथि ६ सय रुपैयाँमा बिक्री हुने गरेको छ । गत वर्ष रघुगंगा गाउँपालिकाले मंगलेका कृषकलाई अनुदानमा आलुको बीउ, सिँचाइ पाइप, बोरा, रोग कीरा नष्ट गर्ने विषादीलगायत सहयोग गरेको थियो । गाउँमा आलुको उत्पादन बढेको र तत्काल सबै उत्पादनले बजार नपाउने अवस्था आएकाले स्थानीयवासीले यस क्षेत्रमा चिस्यानगृह भवन निर्माण गर्न माग गरेका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ८ : २१ बजे

एक महिनाभित्र प्रदेशका सबै कर्मचारीको अभिलेख अद्यावधिक गर्न निर्देशन

महेन्द्रनगर– मधेस प्रदेश सरकारले एक महिनाभित्र प्रदेशका सबै स्थानीय तहलाई

युक्रेनको राजधानीमा शक्तिशाली विस्फोट

एजेन्सी– युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमणको खतरा रहेको अधिकारीहरूले चेतावनी

प्रदेश संरचना खारेज नगरी विकास सम्भव छैन : ज्ञानेन्द्र शाही

बिर्तामोड (झापा) — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र

आगामी चुनावबाट देशले जित्नुपर्छ : अध्यक्ष लिङ्देन

 बिर्तामोड– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू केवल

नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा. थापा

काठमाडौं– नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा. विजय थापा