प्रतिनिधि सभाको सबै भन्दा ठुलो दल नेपाली कांग्रेसको समर्थनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको नेतृत्व गरिराखेका छन्। यो सत्ता समीकरणले सरकारको नेतृत्व गरेको ८ महिना पुगेको छ। अहिलेको सत्ता समीकरण भित्र नयाँ प्रधानमन्त्री अब को बन्ने भन्ने सम्भावित प्रधानमन्त्रीको चर्चा र खोजी पनि भइराखेको छ। सत्ता गठबन्धनका बिचमा बालुवाटारमा भएको भद्र सहमति अनुसार अबको प्रधानमन्त्री माधवकुमार नेपाल हुन् भन्ने ढङ्गबाट पनि विश्लेषण भइराखेको छ। यसरी भागबन्डाको राजनीतिबाट चलिराखेको अहिलेको राजनीति कोर्षलाई विश्लेषकले कसरी लिएका छन् ? राजनीतिले किन अहिले भरोसा गर्न लायक लय समाउन सकेको छैन ? सत्ता गठबन्धन एकातिर समाजवादी मोर्चा अर्को तिर नेकपा एमाले च्याँखे र प्रतिपक्षी भूमिका एकातिर समग्रमा राजनीति कता गइरहेको छ ? दलहरू प्रणालीलाई बलियो बनाउन किन चुकिरहेका छन् ? लगायतका विषयमा आधारित रहेर राजनीतिक विश्लेषक आनन्दराम पौडेलसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :
अहिलेको राजनीतिले लय समातेको छ कि बिगारेको देख्नु हुन्छ ?
सरासर लय बिगारेकै छ। दलहरुले आफ्नो मूल्य मान्यता, लोकतन्त्रका आधारभूत सिद्धान्तलाई छोड्दै जानु भएको छ। शब्दमा र ब्यानरमा मात्र लोकतन्त्र भन्ने प्रवृत्ति देखिएको छ। लोकतन्त्रको आधारभूत तत्त्व नै छोडेर बोक्रोलाई मात्र लोकतन्त्र भनेर देखाइएको छ। लोकतन्त्र भनेको जवाफदेहिता, पारदर्शिता र जिम्मेवारी बोध हो। यो तीन तत्त्व छैन भने लोकतन्त्र नै छैन।
यो लोकतन्त्रको आधारभूत तत्त्व कसले बोक्नुपर्ने हो, लोकतन्त्रवादीले कि वामपन्थीले ?
यो लोकतन्त्रको आधारभूत तत्त्व राष्ट्र, जनता र नेताहरूले झन् धेरै बोक्नुपर्ने हो। मूल व्यक्ति राष्ट्रका नायक दह्रो हुनुपर्ने ठाउँमा जनता भन्दा पनि बढी बिग्रेका छन्। यसको प्रमुख जिम्मेवारी उनीहरूकै हो। त्यसपछि जनताको पनि जिम्मेवारी हो। तर नेताहरूले बढी बदमासी गरिरहेका छन्।
सिद्धान्त साम्यवादको वकालत गरेर लोकतन्त्रको बर्को ओढ्ने शक्तिसँग तपाईंले लोकतान्त्रिक मूल्य मान्यता र निष्ठाको परिकल्पना गर्नुभएको हो कि ?
नेपालको बिडम्बना एउटा मूल्यांकन प्रणाली नै छैन। राज्य संयन्त्र र कर्मचारीतन्त्र नै छैन। वास्तवमा समाज पनि हराइसक्यो। अहिले हामीले चरित्र, आचरण, संस्कार नै हेर्दैनौँ। राजनीतिक संस्कार नभएको कुनै चरित्र नै नभएको यो त डबल स्ट्याण्डर हो। पाखण्डको आरम्भ भएको छ। सबै नेताले ठुलाठुला आदर्श छाँट्ने र भित्रभित्र अरु कुरा गर्ने प्रवृत्ति हाबी भयो।
नेपालका कम्युनिष्टले साम्यवादी वा दलाल पुँजीवादी भनेर कित्ता छुट्याउने ठाउँ राखेका छन् ?
भर्खरै एक दिन समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल अलि कडा रूपमा नै प्रस्तुत हुनुभएको थियो। उहाँले हाम्रो प्रधान शत्रु किटान गरेन भन्दै हुनुन्थ्यो। शत्रु चाहिएको छ उहाँहरूलाई। शत्रु नभए खोजेर भए पनि शत्रु ल्याउनु परेको छ।
हाम्रो २००७ सालको क्रान्ति त्यसपछिको आन्दोलन हेर्दा लोकतन्त्रको लागि हाम्रो आन्दोलन हुनुपर्ने ठाउँमा राणा शासन ढाल्नको लागि लोकतन्त्र स्थापनाको लागि हाम्रो अभियान, क्रान्ति, यात्रामा अवरोध भएको कारणले राणा शासन ढाल्नु परेको हो। हाम्रो टार्गेट त्यो नै होइन। हाम्रो टार्गेट लोकतन्त्र स्थापना नै हो। लोकतन्त्र स्थापनाका क्रममा यो बाधक भएकोले हटाउनुपर्यो भन्नु परेको हो।
अर्को २०४६ सालको आन्दोलनमा पनि पञ्चायत व्यवस्था ढाल्ने, फाल्ने। त्यसपछि ०६२/६३ को आन्दोलन पश्चात् फेरि राजतन्त्र विरुद्धमा आन्दोलन भयो। यो वास्तवमै सिर्जनात्मक हुनुपर्नेमा सोच नै सिर्जनात्मक भएन।
नेपालको राजनीतिमा वा विश्व राजनीतिमा नै अहिले धर्म अफिम हो भन्ने एउटा कित्ता होला। बुर्जुवा शिक्षा र क्रान्तिकारी शिक्षा भन्ने कुरा पनि नरहेको अवस्था देखिन्छ। अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद भन्ने पनि रहेन। न वर्ग शत्रु रह्यो, न पुँजीवादी, न सर्वहारा वर्ग रह्यो राजनीतिमा। अनि कम्युनिस्ट राजनीति चाहिँ के गरी राखेका छन् ?
उनीहरुको काम अहिले एउटा भ्रम सिर्जना गर्ने, एउटा हौवा खडा गरेर मान्छेलाई भ्रमको दुनियाँमा अलमल्याउने हो। यहाँ उनका लागि शत्रु खोजेर भए पनि ल्याउनुपर्छ। यो हाम्रो प्रधान शत्रु यसलाई हान भनेर सबैलाई त्यहाँ अलमल्याउने ठाउँ बनाएको हो।
अमेरिकी साम्राज्यवाद भनेको छ। भारतीय विस्तारवाद भनेको छ। भित्रभित्र तिनैको पाउमा गएर लम्पसार परेका छन्। बाहिरबाट अमेरिकी साम्राज्यवाद भनेर भनिरहेका छन्। अमेरिकी साम्राज्यवाद त अमेरिकासँग उसैको लाइनमा पर्नेभयो। यही व्यक्ति युक्रेनको वार सुरु भएको दुई घण्टामा हामीले विरोधमा वक्तव्य निकाल्यौँ। अनि अमेरिकी साम्राज्य भन्ने हामी जब कि साउथ एसियामा कति दिनसम्म कसैले पनि विरोध गरेको छैन। यो हो सत्ता अनि कर्मको बिचको अन्तर र पाखण्ड।
राजनीतिमा यो पाखण्डपनको अन्त्य हुँदैन ?
यो सानोतिनो रोग होइन। महारोग नै हो। यसलाई सामान्य उपचारले भेट्दैन। यसको लागि उपचार भनेको जनता जाग्नु नै हो। सबैलाई समेट्न सक्ने नेतृत्वको खोजीमा जनता नै लाग्नुपर्छ। जस्तो सिंगापुरमा ली क्वानको उदय भएको थियो। त्यस्तै नेतृत्व हामीलाई पनि चाहियो।
हाम्रो नेपाली भाष्यमा जङ्गबहादुर चाहियो भने जस्तै भयो, त्यस्तो पात्र जन्मिन क्रान्ति हुन पर्ला नि ?
जङ्गबहादुरले देशको लागि चातुर्यता पूर्वक धेरै गरेका छन्। तर उनले प्रणाली पनि बिगारेका छन्। तर उनको र ली क्वानको तुलना हुँदैन। उनी शुद्ध राष्ट्रको लागि कतिसम्म समर्पित थिए भने उनले २० वर्षपछि जनालाई हात जोडेर अब मलाई पुग्यो भन्नु परेको थियो। जनताले उनलाई मन्त्रिपरिषद्को बैठकमा उपस्थित हुनेछु भनेर वचन दिएपछि मात्र बिदाइ गरे। उनले जे गरे राष्ट्रको लागि गरे र उनी निस्कँदा खातामा २ सय डलर पनि थिएन। नेता भनेको त्यो हो । आफूलाई र आफ्नो स्वास्थ्य बिर्सेर राष्ट्रको लागि काम गर्ने नेतृत्व र नायकको खाँचो देखिन्छ।
यो खालको नेतृत्व आइदियो भने देशमा केही न केही भरोसा वा आशा पलाउँछ भन्ने कोही जन्मिएको होला नि ?
मैले देखेको मेरो नजरमा चन्द्र भण्डारी जस्ता २/४ जना मान्छेहरू पनि छन्।
चन्द्र भण्डारीमाथि पनि कांग्रेस भित्र बसेर केही गर्न नसकेपछि राजा बोकेर हिँड्न थाले असफल नेता भनेर ?
अहिले सबै पार्टीमा कुहिएर सडेर दुर्गन्ध भएका तत्त्वको पकड छ। त्यसले गर्दा उनीहरूले यस्ता व्यक्तिलाई देख्न सक्दैनन्। यस्तै नेता भीमबहादुर तामाङलगायत अरु पनि थिए। तर ओझेलमा परेका छन्। देशले पत्याउन सक्ने भरोसा राख्न सक्ने मान्छे हिजो पनि थिए। भिमबहादुर तामाङ मरेर जानुभयो। त्यसैले अरु दुई चार जना छन्। यस्ता नेता खोज्न जनता जाग्नुपर्छ।
अहिले आएका व्यक्ति भन्दा पनि संगठन त्यस्तो देख्नु भएको छैन तपाईंले ?
सङ्गठनमा पनि नारायणमान बिजुक्छेंको सङ्गठनमा मैले जे देख्छु त्यो ठिक लाग्छ। अहिले प्रेम सुवालजीसम्म ठिक लाग्छ। नेमपिकाको पनि कर्महरू मैले हेरिरहेको छु। भक्तपुरमा उनीहरूले चलाएका मेडिकलमा ख्वाप कलेजको आज भन्दा १३ वर्ष अगाडि मेडिकल साइन्समा इन्जिनियरिङ उत्पादन हाई क्वालिटीको नै छ। एक घर एक इन्जिनियरिङ भन्ने अवधारणा सफल भएको छ। उनीहरूले १३ वर्ष कलेज खोल्छौँ र जम्मा १६ लाखभित्र एमबिबिएसको डिग्री पाउँछ भनेर घोषणा गरेर सरकारकोमा अहिले पनि धाएका छन्। उहाँहरू गर्न खोज्दै हुनुहुन्छ। त्यसैले सङ्गठनको कुरामा मैले त्यो हेरीरहेको छु।
हाम्रोमा राजनीतिमाथिको मूल्यांकन प्रणाली नै कमजोर भएको हो ?
हाम्रो मूल्याङ्कनमा उहाँहरू अरु भन्दा उत्कृष्ट देखिनु हुन्छ। नेपालमा मूल्याङ्कन प्रणाली नै छैन। राज्य संयन्त्र भित्र र कर्मचारीतन्त्र भित्र मूल्याङ्कन प्रणाली छैन। जसको शक्ति उसैको भक्ति, जसले चाकडी गर्छ, जसले रिझाउँछ। उसैले प्रमोसन पाउँछ भनिएको छ। त्यहाँ पनि मूल्याङ्कन छैन। जनतामा समाजमा पनि असल मान्छेको मूल्याङ्कन छैन।
समाजमा जसले धेरै पैसा कमायो उसैलाई घरपरिवार समाज सबैले हाइहाइ गर्छन्। त्यसले कसरी कमायो भन्दैनन्। जसले पैसा कमायो त्यो नै माननीय र पूजनीय छ।
यतिबेला लोकतन्त्रलाई मूल्याङ्कन गर्ने हो भने यसको भाग्य र भविष्य के देख्नु हुन्छ ?
यसको भाग्य दुर्भाग्य नै छ। यो राष्ट्र हरेक हिसाबबाट खोक्रो भएर धराशायी हुँदै गएको छ। असार मसान्तको राष्ट्र बैङ्कको वेबसाइट हेर्दा त्यहाँ एक अर्ब ५३ अर्ब नेपाल सरकारको खाता ऋणात्मक छ।
हामी व्यक्तिको बैङ्कमा खाता छ र ब्यालेन्स छैन भने चेक फिर्ता गरिदिन्छ। सरकारको राष्ट्र बैङ्कमा चेक पठायो भने ब्यालेन्स नभए पनि भुक्तानी गरिदिन्छ र त्यो ऋणात्मक तिर जान्छ। यहाँ हामी अनावश्यक रुपमा खर्च गरिराराखेका छौँ। केलाई चाहियो यो प्रदेश संरचना ? यो नेताका खल्तीका मान्छे हाल्नलाई समानुपातिक दरबन्दी मात्र भयो।
जातजातिका आयोग यो सबै फजुल खर्चहरू बढाएर विश्वव्यापी मन्दीले गाँजेर आइसकेको छ। यो आर्थिक स्थितिबाट भयावह स्थिति आइसकेको छ भने अर्कोतिर यहाँ हाम्रो सभ्यता नष्ट भइसकेको छ। आस्था हराएपछि अराजकता हुन्छ र अराजकता भएपछि सबै छाडा हुन्छन्। राज्य बिहीनताको अवस्था हुन्छ।
प्रतिक्रिया