‘जासुसमाथि प्रतिजासुसी गरेपछि निज्जरको हत्यामा भारतीय संलग्नता खुल्यो’ | Khabarhub Khabarhub

‘जासुसमाथि प्रतिजासुसी गरेपछि निज्जरको हत्यामा भारतीय संलग्नता खुल्यो’


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

मोन्ट्रियल- भारतीय मूलका क्यानडाली शिखको हत्यामा भारतीय गुप्तचर संस्थाका कर्मचारीको संलग्नता रहेको विवरण गुप्तचरहरूबाटै प्राप्त भएका क्यानडाका एक जना अधिकारीले बताएका छन् ।

भारतको बाह्य जासुसी संस्थाका कर्मचारीमाथि निरन्तर गरिएको गुप्तचरीबाट उनीहरूको पोल खुलेको उनले एशोशिएटेड प्रेसलाई जानकारी दिएका छन् ।

क्यानडामा रहेका भारतीय कूटनीतिज्ञ र जासुसी एजेन्सीका अधिकारीको संलग्नतामा ४५ वर्षीय पृथकतावादी नेता हरदिपसिंह निज्जरको हत्या भएको सूचना अमेरिका, बेलायत, अष्ट्रेलिया, न्युजिल्याण्ड र क्यनाडा संलग्न साझेदार जासुसी समूह ‘फाइभ आइज्’ ले उपलब्ध गराएको नाम उल्लेख नगर्ने सर्तमा ती अधिकारीले बताए । उनले हत्याको सूचना कुन देशको जासुसी संस्थाबाट प्राप्त भएको हो भन्नेबारे भने केही उल्लेख गरेनन् ।

हत्यामा भारतीय कूटनीतिज्ञ एवं जासुसको संलग्नता रहेको समाचार सबैभन्दा पहिले क्यानडाको प्रसारण संस्था क्यानडा ब्रोडकास्टिङ कर्पोरेशनले सार्वजनिक गरेको थियो ।

भारतले क्यानडाका नागरिकलाई भिसा नदिने निर्णय गरेपछि हत्यामा भारतको हात रहेको गुप्तचर निकायबाट प्राप्त विवरण बाहिर आएको हो । भारतले नयाँ दिल्लीमा रहेका क्यानडाली कूटनीतिक कर्मचारीको सङ्ख्या घटाउन भनेको छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गत सोमबार पृथकतावादी नेता हरदीपसिंह निज्जरको हत्याको पछाडि भारत सरकारको हात रहेको आरोप लगाएपछि भारत–क्यानडा सम्बन्धमा तनाव उत्पन्न भएको छ ।

आतङ्कवादी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गर्नुपर्ने व्यक्तिको सूचीमा रहेका निज्जरको गत जुनमा क्यानडाको ब्रिटिश कोलम्बियास्थित गुरुद्वाराबाहिर गोली हानी हत्या गरिएको थियो । पेशाले प्लम्बर उनलाई क्यानडाले सन् २००७ मा नागरिकता दिएको थियो ।

क्यानडाको संसदमा प्रधानमन्त्री ट्रुडोले आफ्नो देशको राष्ट्रिय सुरक्षा अधिकारीहरूले निज्जरको हत्यामा भारत सरकारका ‘एजेन्ट’ हरू संलग्न रहेका विश्वसनीय प्रमाण रहेको जानकारी दिएको बताएका थिए ।

क्यानडाका प्रधानमन्त्री र विदेशमन्त्रीले लगाएको आरोपलाई भारतको विदेश मन्त्रालयले अस्वीकार गर्दै दुवै नेताका भनाइलाई ‘बेतुक’ बताएको थियो ।

संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभालाई बिहीबार सम्बोधन गर्दै क्यानडाका प्रधानमन्त्रीले ओटावा र नयाँ दिल्लीबीच कूटनीतिक सम्बन्ध जटिल मोडमा पुगेको स्वीकार गरे । उनले भारतसँग सम्बन्ध बिगार्न आफूले नचाहेको तर विधिको शासनको पालना तथा आफ्ना नागरिकको रक्षा आफ्नो पहिलो कर्तव्य भएको बताए ।

यसअघि क्यानडाले पृथकतावादी खालिस्तानी नेता निज्जरको हत्यामा संलग्न रहेको आरोपमा एक जना भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतले पनि उही शैलीमा क्यानडाका कूटनीतिज्ञलाई निष्कासन गरेको थियो ।

भारतको विदेश मन्त्रालयले नयाँ दिल्लीमा रहेका क्यानडका उच्चायुक्तलाई बोलाएर उच्चायोगका एक जना वरिष्ठ कूटनीतिक कर्मचारीलाई निष्कासन गरिएको जानकारी दिँदै निजलाई पाँच दिनभित्रमा भारत छाड्न निर्देशन दिएको थियो ।

भारतले क्यानडाका नागरिकलाई भिसा नदिएपछि उसको पर्यटन क्षेत्रमा असर पर्ने दुवै देशका पर्यटन व्यवसायीले बताएका छन् । भारतको अध्यागमन कार्यालयका अनुसार गत वर्ष दुई लाख ७७ हजार क्यानडाका पर्यटकले भारत भ्रमण गरेका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ३ : ४२ बजे

गठजोड सत्ताको निरंकुशताउन्मुख रवैयाबारे सबैले बोल्ने बेला आयो : महामन्त्री थापा

काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठजोड सत्ताको निरंकुशताउन्मुख रवैयाबारे सबैले

अमेरिका र दक्षिण कोरियाले निगरानी बढाएको उत्तर कोरियाको आरोप

काठमाडौं– उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले अन्तर-कोरियाली सीमामा निगरानी

एमालेको पहिलो राष्ट्रिय महिला भेलाको तयारी पूरा

काठमाडौं– नेकपा (एमाले)ले जनसंगठन समन्वय संयन्त्रको आयोजनामा यही जेठ १६

महिलाहरूको क्षमता कमजोर बनाउने चक्र तोड्न राजनीतिमा आएँ : उपप्रमुख डंगोल

काठमाडौं– महिलाहरूको आत्मविश्वास, आत्मसम्मान र क्षमता बढ्न नदिने कथाको चक्र

यातायात मन्त्री भन्छन्- बालेनका कुरा सुन्छु तर न्युराेडकाे तोडफोड कानूनसम्मत छैन    

काठमाडौं– उपप्रधान एवं भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौँ