आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा | Khabarhub Khabarhub

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक आलु भित्र्याउने चटारोमा छन् । गत भदौ दोस्रो सातादेखि आलु भित्र्याउन थालेका किसानलाई अहिले पनि भ्याइनभ्याइ छ । वर्षौँदेखि व्यावसायिक रुपमा आलु खेती गर्दै आएका किसानले सयौँ क्विन्टल आलु वर्षेनी उत्पादन गर्ने गरेका छन् । तर आलुले भने उचित बजार नपाएको उनीहरूको गुनासो छ ।

भौगोलिक विकटताका कारण ओझेलमा परेको ढोरपाटन र निसेलढोर क्षेत्रको हजारौँ रोपनी क्षेत्रफलमा किसानले आलु लगाउँदै आएका छन् । पाँच वर्ष अगाडिसम्म ढुवानीको समस्या खेप्दै आएका किसानले अहिले मूल्य नपाएको दुःखेसो पोखेका छन् ।

एक दशक अगाडिसम्म ढोरपाटन सडक सञ्जालले जोडिएको थिएन । सडक नजोडिँदा कतिपय किसानले घोडा खच्चडमा ढुवानी गरी बजारसम्म पुर्‍याउँथे भने कतिपयले मजदुर लगाएर बोकेरै बिक्रीका लागि बेसी झर्ने गर्थे । तर अहिले त्यो परिस्थिति छैन । 

सडकले यस क्षेत्र जोडिनु पूर्व किसानले उत्पादन गरेको आलु घोडा खच्चडमार्फत बेसीका गाउँहरूमा ल्याइ मकै, धान, गहुँ र मकैसँग साट्ने गर्दथे । अहिले पनि यो चलन कायमै छ । 

निसेलढोरसम्म नै मोटरबाटो पुगेपछि आलु ढुवानीमा केही सहजता भने भएको छ । तर बाह्रै महिना सडक नचल्दा त्यसबाट कृषिले ठूलो नोक्सानी बेहोर्न विवश छन् । यति बेला आलु खन्ने, गोदाममा थन्क्याउने र बजारका लैजानका लागि तयार गर्ने काममा उनीहरु व्यस्त छन् ।

बागलुङ जिल्लालाई पुग्ने आलु उत्पादन यस क्षेत्रमा उत्पादन भए पनि भारतबाट आएको आलुका कारण स्थानीय उत्पादनले बजार पाउन सकेको छैन । 

घण्टौँ लगाएर बजारमा ल्याएको आलुले कम मूल्य पाउँदा किसान मर्कामा पर्ने गरेका छन् । भारतीय बजारबाट आयातित आलुको मूल्यले आफूहरू ठूलो मर्कामा पर्ने गरेको स्थानीय कृषक शेरबहादुर विकले बताए । 

पहिले–पहिले मकै र कोदोसँग आलु साट्दा केही फाइदा हुने भन्दै अहिले बजारमा बिक्री गर्दा घाटा मात्रै बेहोर्नु परेको विकले गुनासो गरे ।

उनले भने, ‘हाम्रो गाउँ ठाउँमा आलु धेरै उत्पादन हुन्छ, आलु धेरै उत्पादन भएर के गर्नु उचित मूल्य नै पाउन सकिदैन, बजारमा बुटवल, सुनौलीबाट आएका आलु छ्यापछ्याप्ती छन्, त्यो आलुलाई व्यापारीले ४० रुपैयाँदेखि ६० रुपैयाँसम्म बेच्छन्, हामीलाई ४० मा माग्छन्, यसरी त हाम्रो वर्षभरिको दुःख पनि उठ्दैन, ढोरपाटनबाट ढुवानी गरेर बुर्तिबाङ ल्याउँदा पनि हजारौँ रुपैयाँ खर्च भएको हुन्छ, यो व्यवस्था सरकारले मिलाउन सके हामी किसानहरूलाई राहत मिल्ने थियो ।’

जिल्लामा आलु उत्पादनका हिसाबले प्रख्यात मानिने निसेलढोर, ढोरपाटन, तमानखोलाको लाम्मेला, ताराखोला लगायतका क्षेत्रमा हरेक वर्ष किसानले लाखौँको आलु उत्पादन गर्दै आएका छन् । 

आलु बिक्री नहुँदा ठूलो नोक्सानी बेहोर्नुपर्ने बाध्यता उनीहरूमा छ । स्थानीय किसान तुलबहादुर घर्ती मगरले वर्षेनी करिब सात लाखको आलु उत्पादन गरे पनि सबै बिक्री गर्न नसकेको गुनासो पोखे । गाउँसम्मै भारतबाट आयातित आलु आउने हुँदा बिक्री गर्न समस्या भएको उनको भनाइ छ ।

बाहिरबाट आएको आलु देख्दा राम्रो र किन्दा सस्तो पर्ने हुँदा उपभोक्ताले गाउँमा उत्पादन भएको भन्दा आयातित आलु किन्ने गरेको उनको भनाइ छ । तर त्यो आलुभन्दा गाउँमा उत्पादन भएको आलु स्वास्थ्यका लागि फाइदाजनक हुने घर्ती मगरले बताए । 

स्थानीय सरकारले बाहिरबाट आउने आलुलाई प्रतिबन्ध नलगाउँदासम्म स्थानीय आलुले बजार नपाउने उनको भनाइ छ । उनले नगरपालिका तथा गाउँपालिकाले नीति बनाएर लाग्नु पर्ने बताए ।

यस वर्ष निसीखोला क्षेत्रमा आलु उत्पादन बढ्ने देखिएको छ । गाउँपालिकाले किसानलाई नयाँ प्रविधिबाट आलु लगाउन तालिम दिएको र सोही अनुसार खेती गरेको हुँदा आलु उत्पादन बढ्ने सम्भावना देखिएको कृषि शाखा प्रमुख तारा परियारले बताए । 

नयाँ प्रविधिबाट पुरानै बीउ लगाउँदा धेरै ठाउँका किसानले आलु बढेको जानकारी गराएको परियारले बताए । गाउँपालिकाले यस वर्ष आठ हजार किलो रैथाने जातको आलुको बीउ किसानलाई वितरण गरेको उनको भनाइ छ ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नका लागि आयातित तरकारी रोक्नका लागि निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकासँग छलफल गरिरहेको बताए । 

पश्चिम बागलुङका चार पालिकाले बाहिरबाट आउने आलु लगायतका तरकारीजन्य वस्तु आयातमा रोक लगाई स्थानीय उत्पादनलाई जोड दिने गरी योजना बनाएको बताए । 

यहाँका किसानलाई उन्नत जातका बीउबिजन, आवश्यक तालिम, आधुनिक उपकरण र प्राविधिक सहयोग गरी उत्पादन बढाउन प्रेरित गर्ने कार्यक्रम सञ्चालन गर्ने उपप्रमुख कायतको भनाइ छ ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  १० : ४३ बजे

पाकिस्तानमा हेपाटाइटिस सीका सङ्क्रमणको उच्चतम दर

इस्लामाबाद – पाकिस्तानमा हेपाटाइटिस सीका बिरामीको सङ्ख्या विश्वमा सबैभन्दा बढी

चिसो बढेपछि ढोरपाटनका विद्यालय बन्द

बागलुङ – अत्यधिक चिसो बढेपछि बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय

केही सञ्चार माध्यमका कारण मिडियाप्रति गलत भाष्य बन्न थाल्यो : अध्यक्ष बस्नेत

काठमाडौं – प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अरुलाई दुःख

गाजामा भएको विस्फोटमा चार इजरायली सैनिकको मृत्यु

जेरुसेलम – उत्तरी गाजा पट्टीमा चार इजरायली सैनिकको मृत्यु भएको

कोटेश्वर बहुमुखी क्याम्पस प्रमुखमा प्रकाश पोखरेल

काठमाडौं – कोटेश्वर बहुमुखी क्याम्पसको प्रमुखमा प्रकाश पोखरेल नियुक्त भएका