कर्णाली करिडोरमा पाँच किलोमिटर ट्र्याक खोल्न बाँकी | Khabarhub Khabarhub

कर्णाली करिडोरमा पाँच किलोमिटर ट्र्याक खोल्न बाँकी


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय गौरवको कर्णाली करिडोर सडकमा झण्डै पाँच किमी सडकको ट्र्याक खोल्न बाँकी रहेको छ ।

कूल दुई सय ६८ किमी लम्बाइको सो सडकमा ट्र्याक खोल्न बाँकीमध्ये झण्डै साढे दुई किमीमा नेपाली सेनाले ट्र्याक खोल्ने काम गरिरहेको छ । एक दशक पहिले सडक निर्माण सुरु भएकामा कठिन भूगोलका कारण अझैसम्म ट्र्याक नै खोल्न बाँकी रहेको उत्तर–दक्षिण करिडोर निर्देशनालयले जनाएको छ ।

कडा चट्टान भएका खण्डमा ‘ब्लाष्टिङ’ पनि लामो र झन्झटिलो प्रक्रिया रहेको योजनाले जनाएको छ । ब्लाष्टिङका लागि आवश्यक सामग्री सेनाबाट लिनुपर्ने हुँदा समय लाग्ने गरेको हिल्सा सिमिकोट सडक योजनाका प्रमुख वीरेन्द्रबहादुर चन्दले बताए ।

उनले भने, “रकम भुक्तानी गरेर ‘अर्डर’ गरेपछि पनि नेपालगञ्ज हुँदै निर्माणस्थलमा आइपुग्न लामो प्रक्रिया हुने गरेको छ ।” सिमिकोटभन्दा माथि मौसमका कारण चार महिना मात्रै काम गर्न सकिने उनले बताए । वर्षभरमा सात÷आठ महिनासम्म हिउँले ढाकिने हुने हुँदा त्योभन्दाबाहेकको समयमा मात्र निर्माण हुने गरेको उनले बताए ।

कतिपय खण्डमा भने निर्माण व्यवसायीका कारणले ढिलाइ भएको पनि छ । ढिलाइका कारण निर्माण सामग्री उपलब्ध हुन कठिन हुनु र भौगोलिक कठिनाइ नै प्रमुख छन् । माथिल्लो भागमा सामान पहिले चीन भएर आउने गरेकामा कोभिडका कारण नाका बन्द थियो । त्यसले गर्दा पनि विगत वर्षहरुमा निर्माणले गति लिन नसकेको उनले बताए ।

निर्माणाधीन खण्डमध्ये दुईदेखि साढे दुई किमी सडक यस वर्ष सेनाबाट हस्तान्तरण हुने प्रमुख चन्दले बताए । सेनाले जिम्मेवारी लिएको खण्डबाहेक अरुतिर ट्र्याक खोल्न ठेक्का भइसकेको छ । माथिल्लो क्षेत्रमा ट्र्याक पनि खुलिसकेको र हुम्लाभन्दा तल्लो क्षेत्रमा मात्रै दुई ठेक्का बाँकी रहेको प्रमुख चन्दले बताए ।

त्यसमा नै अलिअलि कम ब्लाष्टिङ गर्नुपर्ने हुँदा काम अघि बढेको छैन । त्यो खण्ड पनि सेनालाई दिने कुरा भइरहेको उनले बताए । उनले भने, “सरिसल्ला सिमिकोट खण्डमा ठाउँठाउँमा गरेर दुईदेखि साढे दुई किमी बाँकी छ ।” स्तरोन्नतिका लागि माथिल्लो भागमा ठेक्का चालु रहेको उनले जानकारी दिए ।

सरिसल्लाबाट सिमिकोट खण्डमा ट्र्याक नै खोल्न बाँकी रहेको छ । खुलालुदेखि सरिसल्लासम्म स्तरोन्नतिको काम भइरहेको योजनाले जनाएको छ । यस वर्ष पनि स्तरोन्नतिका लागि ठेक्का हुने उनले बताए । यस वर्ष ग्राभेल गरिने योजनाको तयारी छ ।

अहिलेसम्म खुलालु–सरिसल्ला एक सय २२ किमी सडकमध्ये ३५ किमी सडक चौडा गर्ने काम भइसकेको छ । हिल्सा–सिमिकोट ९५ किमी र सिमिकोट–सरिसल्ला सडक ५० किमीमध्ये ३८ किमी ट्र्याक खोलिसकिएको योजनाले जनाएको छ । सरिसल्ला सडक खण्डको लाली बगरदेखि छारे सडक खण्डको ११ किमी सेनालाई जिम्मेवारी दिइएको थियो । सिमिकोटबाट स्याम्ने साढे चार किमी खण्डमा स्थानीयले मुआब्जा माग गरेर केही विवाद सिर्जना भएको प्रमुख चन्दले बताए । उनले भने, “अहिले त्यो समााधन भएर काम भइरहेको छ ।”

योजनामा हालसम्मको भौतिक प्रगति २४ प्रतिशत र वित्तीय प्रगति २० दशमलव ४१ प्रतिशत रहेको छ । हालसम्म रु एक अर्ब ३६ करोड खर्च भइसकेको छ भने हालसम्मको ठेक्का रकम रु दुई अर्ब ३० करोड ९२ लाख रहेको छ ।

सडकको २० ठेक्कामध्ये गत आवमा तीन सम्पन्न भएको थियो भने बाँकी एउटा ठेक्कामा सुस्त गतिमा काम भइरहेको छ । सरकारले विसं २०६९÷७० मा योजना शुरु गरेको थियो भने आव २०८३/८४ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । योजनाको कूल लागत रु छ अर्ब ६६ करोड १९ लाख रहेको छ ।

सरकारले कालिकोटको खुलालुदेखि सिमिकोट हुँदै हिल्सासम्म कालोपत्र सडक निर्माण गरी कालिकोट, बाजुरा र हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने लक्ष्य लिइएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  १ : ५२ बजे

विपिनको आत्मालाई शान्ति मिलोस् : इजरायली पूर्व राजदूत हानान

काठमाडौं– नेपालका लागि इजरायली पूर्व राजदूत हानान गोदारले हमासको अपहरणमा

सर्वोच्चमा आजदेखि रिट निवेदन दर्ता पुनः सुरु हुने

काठमाडौं– गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनीबाट सर्वोच्च

अर्थमन्त्री खनालबाट अमेरिकी चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन

वाशिङटन डिसी– विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा

मेची राजमार्गको वैकल्पिक मार्ग अझै सञ्चालनमा आएन

इलाम– मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक अवरुद्ध भएपछि

विल्सनले ‘सोल्टिनी’लाई हेपेर ‘मैझारो’ जुधाउन ल्याएका हुन् ?

काठमाडौं – कात्तिक ६ गते भाइटीकाकाे दिन पारेर फिल्म ‘सोल्टिनी’