विदेशी आकाशमा नेपाली परी | Khabarhub Khabarhub

विदेशी आकाशमा नेपाली परी



काठमाडौँ बसन्तपुरकी सुमिका बज्राचार्य टेलिभिजनमा समाचार पढ्थिन् । यसबाहेक उनले व्यापारिक वस्तुहरूको विज्ञापनमा मोडलिङ पनि गरिन् । यतिले पनि उनको चित्त रमेन । मिस नेपालको प्रतिस्पर्धामा उत्रिइन् ।

रङ्गिन दुनियाँमा रमाइरहेकी उनलाई लाग्थ्यो– ‘रुचिका यिनै विषयलाई मैले मेरो जीवनको मार्ग बनाउनुपर्छ ।’ सुमिकाको योजना समयलाई मञ्जुर भएन् । समयको आँधीले उनलाई कल्पनासम्म नगरेको पेशामा हुत्याइदियो । सुमिका अहिले तीन सय यात्रु बोक्ने एयर बसमा एयर होस्टेजको हेड सुपरभाइजर छिन् । फस्ट क्लास र बिजनेस क्लासका यात्रुहरूको खातिरदारी गर्दै उनी संसारभर घुमिरहेकी हुन्छिन् ।

दिनैपिच्छे नयाँनयाँ मान्छेको संगत, नयाँनयाँ ठाउँको दृश्यावलोकन, पाँचतारे होटलको बसाइ उनलाई यो पेशा उड्ने परीभन्दा कम लागेको छैन । ओमान एयरमा सुमिकाजस्तै एघार नेपाली परीहरू कार्यरत छन् । उनले काम गर्न थालेको पनि दशक नाघ्यो ।

लकडाउनले फेरिएको दैनिकीमा सुधार आउँदै गएको छ । जहाजको उडान कम भएका कारण पेसा सर्वाधिक प्रभावित बन्यो । यद्यपि ओमानमा रहेका नेपाली समुदायले गर्ने सामाजिक काममा आफूहरूलाई व्यस्त राख्ने गरेको उनीहरु बताउँछन् ।

तिमी अर्को जन्ममा के हुन चाहन्छौ ? धेरैको उत्तर हुन्छ– चरा । त्यसो त ओमान एयरमा काम गर्ने नेपाली चेलीहरू योजना बनाएर एयर होस्टेज भएका होइनन् । एकाध मोडलिङ, फेसन डिजाइन हुँदै अधिकांश विद्यार्थी जीवनबाटै एयर होस्टेज हुन पुगेका हुन् ।

प्रसार योगी, बबिता राई, शिष्मा भण्डारी, शीतल मास्के, नसिम प्रधान, पुष्पा गुरुङ र सुष्मिता गुरुङ एक दशकदेखि उडान शयरमा छन् । उनीहरूले कहिले बोइङ त कहिले एयरबसमा काम गर्नुपर्छ । एयरबसमा महिनाको ६ र बोइङमा काम गर्नेले १५ उडानसम्म भ्याउनुपर्छ । उडान अवधिभर १२ घण्टा जागा रहनुपर्छ । महिनामा एक साता आराम गर्ने अवसर पनि पाइन्छ ।

फरक क्षेत्रबाट आएकाले धेरैलाई यो पेशा शुरुमा अचम्म लागेको थियो रे ! उनीहरु भन्छन्– पहिलो उडानमा आफू परिचारिका हुँ भन्नेसम्म पनि ख्याल रहेन । उडान अवधिभर थोरै रोमाञ्चकता र धेरै त्रासले थिचिरह्यो । काममा कतै त्रुटि पो हुने हो कि भन्ने डरले उडानको अनुभव नै भएन । पछि बानी पर्दै गएपछि भने उनीहरूले बल्ल संसार बुझ्न थाले । एकदिन युरोप त एकदिन अमेरिकाको घुमाइले उनीहरूमा अर्कै आनन्दले घर गर्न थाल्यो । नयाँ मान्छेसँगको भेटले आफूभित्र पनि नयाँ सोच आएको अनुभूति हुन थाल्यो । अझ नेपाल रुटमा उडान पर्दा नेपाली दाजुभाइलाई आफू पनि नेपाली हुँ भनेर परिचय दिँदा प्राप्त न्यानोपनले थप उर्जा दिने उनीहरूको भोगाइ छ ।

जहाजको सानो झ्यालबाट संसारका चमत्कारहरु हेर्न पाउँदा यिनीहरु दंगदास पर्दा रहेछन् । भन्छन्– ‘मिलानको रोम, पेरिसको आइफल टावर, लण्डनका प्राचीन स्मारक, जर्मनी, भारत, मलेशिया, श्रीलंका र बैङ्ककको आकासबाट धर्तीमा देखिने दृश्य हेरेर कहिलेकाहीँ त हामी कहालिएका पनि छौँ ।’

यी परीहरूको अनुभवमा आकासबाट देखिने ती बस्तु संसारको सबैभन्दा सिपालु शिल्पीले बनाएको आकृतिभन्दा पनि राम्रो देखिन्छ । यसखाले उत्सुकता र जिज्ञासै जिज्ञासाले भरिएको जागिरमा उनीहरूले कसरी प्रवेश पाए त ? ओमान एयरमा जनशक्ति ल्याउने जिम्मेवारी लिएको एक मेनपावर कम्पनीमार्फत उनीहरु त्यहाँ गएका रहेछन् । तर ओमान एयरबाट छनोटका लागि आएको टोलीले काठमाडौँ र ओमानमा पटकपटक अन्तर्वार्ता लिएर यिनीहरूलाई छानेको रहेछ ।

शारीरिक बनावट, सौन्दर्य, भाषा, दैनिक आहारविहारदेखि पौडी खेल्नसम्म दक्ष सुन्दरीहरु छनौटमा परेका रहेछन् । उनीहरु जसरी खुल्ला आकासमा काम गर्छन्, उसरी नै अवसरले पनि पछ्याउने रहेछ । ओमान एयरमा काम गर्ने सुन्दरी मध्येकी सोफिया चिमोरिया त अमेरिकाको युनाईटेड एयरलाइन्समा यस्तै जागिर पाएर उता लागिछन्

अब प्रश्न उठ्छ– यस्तो खाले सौखिन जागिर खानेहरूको पारिश्रमिक चाहिँ कति हुन्छ होला ? हामीले पनि यो जिज्ञासा ती परीहरुसँग राखेका थियौँ । कम्पनीको नियमअनुसार उनीहरूले भत्ताबाहेक प्रति उडान ५ सय रियाल पाउँदा रहेछन् । एक छाक खाना, होटल र हिँडडुलको थप सुविधा पनि पाउने गरेको यिनीहरु बताउँछन् ।

एक हप्ताअघि कसले कहाँको उडान भर्ने रोष्टर तयार हुन्छ । उडानका क्रममा विश्वका हरेक कुना चहारे पनि तिनीहरूले आफ्नो थातथलो चाहिँ ओमानको मस्कटलाई बनाएका छन् । उडान अवधिभर संसारमा देखिएका रोमाञ्चक दृश्यले दिएको आनन्द उनीहरु ओमान उत्रिएपछि भने छियाछिया हुने रहेछ । घरेलु कामदारका रुपमा अवैध बाटोबाट ल्याइएका नेपाली नारीको दर्दनाक अवस्थाका दृश्यले द्रवित बनाउने गरेको यी हवाई सुन्दरीहरु बताउँछन् । केही एयरहोस्टेज एनआरएनको सदस्य भएर आपतविपतमा परेका नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई सहयोग गर्ने गरेको खुलाउँछन् ।

यी हवाई सुन्दरीहरूको भविष्यको योजना के छ त ? विवाहिताले पनि काम गर्न पाउने भएका कारण यिनीहरु ढुक्क छन् । सुत्केरी हुँदासम्म कम्पनीले छुट्टी र यथोचित सुविधा दिने गरेको छ । त्यसैले धेरैले घरजम पनि बसाइसकेका छन् । अहिले आफूहरू यही काममा रमाइरहेकाले भविष्यप्रति यिनीहरु चिन्तित छैनन् । तर घर फर्किएर सामाजिक काममा बिताउने इच्छा भने पालेका छन् ।

संसार घुम्ने बानी परेको स्थितिमा भोलि घरमा खुम्चिनु पर्दा बहुलाइने हो कि भन्ने पिरलोले पुष्पालाई अहिल्यै चिमोट्ने गर्छ । नेपालको उडानमा आफ्ना दाजुभाइसँग नेपाली बोलेर उनीहरूसँग दुखसुख साट्दाको क्षण उनीहरूका लागि अति प्रियकर लाग्ने गर्छ । विदेशी जहाज कम्पनीमा नेपाली चेली देख्दा दाजुभाइ पनि दंग पर्ने रहेछन् ।

प्रत्येक एक मिनेटमा एक नेपाली युवा वैदेशिक रोजगारका लागि विदेशिने गरेको डरलाग्दो तथ्यांक सार्वजनिक भएको छ । कति मृत्युको मुखमा पुगेका छन् । अदक्ष कामदारका कारण लाखौँ नेपालीले विदेशी भूमिमा अमानवीय दुःख झेलिरहेका छन् । तर नेपालबाटै गएका यी हवाई सुन्दरीहरु भने आराम र सन्तुष्टिको कामकाजी जीवन बिताइरहेका छन् । यसले सभ्य र शिष्ट काममा पनि नेपाली श्रम विदेशी बजारमा बिक्न सक्ने रहेछ भन्ने पुष्टि गरेको छ नै, त्यसमाथि दक्ष कामदारका लागि वैदेशिक रोजगारी फलदायी हुने सन्देश दिएको छ । 

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  १२ : १० बजे

पर्यटन प्रवर्द्धन गर्न भेडेटारमा खाना महोत्सव हुने

सुनसरी– आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले यही पुस १६

नेपाल स्वास्थ्य सम्मेलन सुरु

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा नेपाल स्वास्थ्य सम्मेलन आजदेखि

‘एआई’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने

ललितपुर– ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने

मङ्कीपक्स सङ्क्रमित युवकको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकूमा उपचाररत मङ्कीपक्स

‘पौवादुङमा गोल्ड कप फुटबल’ माघ १ गतेदेखि

भोजपुर– भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकामा कोशी प्रदेशस्तरीय ‘पौवादुङमा गोल्ड कप