डाँडा र चौतारा सुनसान : हराउँदै लिङ्गे पिङ « Khabarhub

डाँडा र चौतारा सुनसान : हराउँदै लिङ्गे पिङ


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– केही वर्ष अगाडिसम्म दसैँ नजिकिएसँगै गाउँमाथिका डाँडा र चौतारामा थुप्रै लिङ्गे पिङ देखिन्थे । बाँसका बाला र बाबियोको लुठो बाटेर पिङ बनाउने समूह पनि धेरै हुन्थे । पिङमा गाउँका आफन्त, इष्टमित्र र कुटुम्ब जम्मा भएर रमाइले गर्ने प्रचलन थियो । वर्षौँदेखि टाढा रहेका आफन्तलाई पिङ भेट गराउने माध्यम बन्थ्यो । 

दसैँ सुरु भएदेखि तिहार नसकिँदासम्म डाँडा र चौतारामा पिङ हुन्थे । तर अहिले ती डाँडा र चौतारा सुनसान हुन्छन् । अचेल गाउँमा पिङ बनाउन छोडेपछि बाँसघारी झाँगिदै छन् भने भिरको बाबियो पनि प्रयोग हुन छोडेको छ । कोही पनि वनमा पुगेर बाबियो ल्याएर डोरी पनि बाट्दैनन् । गाउँमा पिङका लागि लुठो बाट्ने सीप भएका पनि भेटिँदैनन् । दसैँको मौलिकतासँग जोडिएको लिङ्गे पिङ बिना दसैँको रौनक कम हुने गरेको स्थानीयको भनाइ छ । 

बडिगाड गाउँपालिका–४ का ६७ वर्षीय रिनबहादुर थापाले युवापुस्ताले आधुनिक कला संस्कृतिलाई अँगाल्न लागेपछि लिङ्गे पिङ बनाउनेप्रति चासो घटेको बताए । वर्षमा एक चोटी धर्ती छाड्नुपर्छ भन्ने जनविश्वास रहँदै आए पनि आजभोली गाउँमा पिङ हाल्न छोडिएको थापाले बताए। मेला महोत्सवमा राखिने आधुनिक प्रविधिको पिङ खेल्न पाइने भएपछि परम्परागत लिङ्गे पिङप्रति चासो हराउन थालेको क्षेत्रीले बताए । पिङसँगै अन्य कला, संस्कृति र परम्परा हराउँदै गएको उनको भनाइ छ । थापाले दसैँ आउनुभन्दा एक साता पहिलेनै गाउँमाथिको डाँडामा मान्छेहरू जम्मा भएर बाँसको लिङ्गा गाड्ने र बाबियो काटेर लुठो बाट्ने गरेको स्मरण गर्दै अहिले त्यो परम्परा सङ्कटमा परेको बताए। 

‘हाम्ले पिङ हालेर खेल्ने, रमाइलो गर्ने ती डाँडा र चौतारा अहिले सुनसान छन्, हामीहरु बुढो भइयो, बाब्बो(बाबियो) को लुठो बाट्न त जानेको छु तर बाँस काटेर ल्याएर पिङ बनाउन सक्दैन, हाम्रा बाउबाजेले वर्षमा एक चोटी धर्ती छाड्नुपर्छ भन्नुहुन्थ्यो, यही मान्यता राखेर दसैँमा पिङ हाल्ने र खेल्ने गरिन्थ्यो, अहिले पिङ पनि हाल्दैनन्, पिङ नखेलेपछि धर्ती छोड्ने कुरै भएन’, उनले भने, ‘समय र जमाना फेरिएसँगै मान्छेको आनीबानी पनि फेरियो, मेला महोत्सव लाग्यो भने आधुनिक प्रविधिको बिजुलीबाट चल्ने पिङ खेल्ने गर्छन्, लिङ्गे पिङ त देख्न पनि छोडियो, पाँच-छ वर्ष पहिलासम्म त जताततै देख्न पाइन्थ्यो, अहिले कतै बनाउँदैनन् ।’

गलकोटन नगरपालिका–३ का ७१ वर्षीय पदमबहादुर केसीले पिङले आफन्त र धेरै समयदेखि छुटेका सङ्गीसाथीसँग भेटाउने र आत्मीयता बनाउने काम गर्ने बताए। दसैँका बेला गाउँमा वर्षौंदेखि छुटेका आफन्तको भेट हुने, सुख, दुःख र बेदनाका कुरा गर्ने अवसर पिङले जुराउने उनको भनाइ छ । पिङ बनाउँदा बाबियो गाँसेर बलियो लुठो बनाए जसरी सम्बन्ध पनि त्यसरीनै बलियो बन्ने मान्यता रहेको केसी बताउनुहुन्छ । आफ्नो पालामा तन्नेरीले पिङ हालेपछि तरुनीले धजा बन्ने र पछि गएर उनीहरुको विवाहसमेत हुने गरेको सुनाए । पिङमा बाँधेको धजाले सम्बन्धलाई बलियो बनाउने जनविश्वास रहेको भन्दै पिङ हाल्ने र धजा बाँध्ने प्रचलन चल्दै आएको उनको भनाइ छ ।

‘दसैँ आयो, तर पिङ बिनाको दसैँ त त्यति रमाइलो लाग्दैन, पहिले एउटै गाउँमा पाँच-छ वटा पिङ बनाउँथे, अहिले एउटा पनि बनाउँदैनन्’, उनले भने।केसीले पछिल्लो समय निर्माण भएका सडकले पहिले पिङ हाल्ने चौतारा र डाँडा भत्काएर कुरूप बनाएको बताए। अहिले सहज बजारमा बनेका आधुनिक पिङको विकासले परम्परागत पिङ ओझेलमा परेको उनको भनाइ छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ७ : ३२ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील