जे हुन्छ, राम्रैका लागि हुन्छ ! | Khabarhub Khabarhub

जे हुन्छ, राम्रैका लागि हुन्छ !


११ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

कुनै एक समयको कुरा हो, एउटा ठूलो राज्यमा एकजना राजा थिए । ती राजालाई सिकार खेल्ने ठूलो सोख थियो । बेला मौकामा उनी आफ्नो राज्यमा रहेको घना जङ्गलमा गई बाघ, गैंडा, मृग, हात्तीलगायत जनावरको सिकार गर्ने गर्थे ।

एक दिनको कुरा हो उनी आफ्ना मन्त्रीसँग सिकार गर्न वनमा गए । सिकार गर्ने क्रममा राजको देब्रे हातको एउटा औंला तरबारले काटियो । राजालाई असह्य पीडा भयो । उनले आफ्नो काटिएको औंला सँगै रहेका आफ्ना मन्त्रीलाई देखाउँदै असह्य पीडा भएको बताए ।

राजाको काटिएको औंला देखेपछि मन्त्रीले भने, ‘सरकार ! नआत्तिबक्सियोस् । भगवान्ले जे गर्छन्, राम्रैका लागि गर्छन्, जे हुन्छ राम्रैका लागि हुन्छ  ।’ मन्त्रीका यस्ता कुरा सुनेर राजालाई भयङ्कर रिस उठ्यो । उनले मन्त्रीलाई भने, ‘हे मूर्ख ! मन्त्री ! मेरो औंला काटिएको छ । मलाई असह्य पीडा भइरहेको छ । तिमी चाहिँ जे भयो राम्रै भयो भन्छौ । तिमीले मेरो अपमान गर्ने, तिमीले मेरो गद्दी ताकेको । पख अब म तिमीलाई ठूलो सजाय दिन्छु ।’

मन्त्रीसँग यति भन्दै राजाले आफ्ना सैनिकहरूलाई बोलाएर मन्त्रीलाई झ्यालखानामा लगेर थुन्न आदेश दिए । अनि आफू चाहिँ वनमा बनाएको आफ्नो शिविरमा गएर चोटमा मलमपट्टी गरेर सुते ।

भोलिपल्ट बिहानै फेरि हतियारहरुका साथ उनी सिकारमा जान तयार भएर सिकार गर्न निस्के । घोडामा चढेर सिकार खोज्ने क्रममा राजाले एउटा मृग देखे । राजाले मृगलाई वाण प्रहार गरे तर मृग उम्केर गयो । राजा पनि मृगको पछि पछि लागे । मृगलाई जङ्गलको निकै भित्रसम्म राजाले लखेटे तर अन्त्यमा त्यसलाई मार्न सकेनन् ।

मृगको पिछा गर्दै गएका राजा थकित भए । थकित राजा थकाइ मार्न बसेका मात्र के थिए, केही अपरिचित व्यक्तिहरू आएर राजालाई समाती बाँधेर आफूसँगै लगे ।

राजाले ती मानिसहरूलाई सोधे, तिमीहरू को हौ ? मलाई कहाँ लैजान लागेको ? म यो देशको राजा हुँ । राजाको कुरा सुनेर ती मानिसहरूको नाइकेले जवाफ दियो, ‘यहाँ नजिकै वनदेवीको मन्दिर छ । त्यहाँ हरेक वर्ष एक जना बाहिरको मानिसको बलि चढाउने परम्परा छ । नरबलि दिने दिन आज परेको छ र संयोगवश तिमी भेटियौ, तसर्थ तिम्रो बलि चढाउन हामीले तिमीलाई त्यहाँ लैजाँदै छौँ ।’

त्यस व्यक्तिको कुरा सुनेर राजा निकै नै डराए । आफ्नो जीवन सकिन आँटेको उनले सम्झे र रामनाम जप्न थाले ।

ती अपरिचित व्यक्तिले केही बेरमै राजालाई मन्दिरमा पुर्‍याए । त्यहाँ छुट्टै किसिमका मानिसहरको जमात थियो, किनभने त्यहाँ वर्षमा एक पटक मनाइने नरबलिको पर्व मनाइँदै थियो ।
त्यहाँ पुगेपछि राजा झन् डराए । उनलाई मन्दिरको मूल पूजारीका सामु पेस गरियो । पूजारीले एकछिन राजालाई गम्भीरताका साथ हेरे र उनलाई नुवाइधुवाइ गर्न अह्राए । राजालाई नुहाउने क्रममा उनको हातको एक औंला काटिएको देखेपछि नुहाइदिने व्यक्तिले पुजारीलाई उक्त जानकारी गरायो ।

त्यसपछि पुजारीले भने, ‘यस व्यक्तिको एउटा औँला काटिएको रहेछ अर्थात् त्यस व्यक्तिको शरीर अपूर्ण छ । अपूर्ण शरीर भएको यो व्यक्ति बलिमा चढ्न अयोग्य छ ।’

पूजारीले राजालाई बलिमा नचढाउने घोषणा गरेपछि राजा अत्यन्तै खुसी भए । राजासँग माफी मागियो र उनलाई पहिलेको ठाउँमा ससम्मान लगेर छाडियो ।

राजाले आफ्नो मन्त्रीले भनेको कुरा सम्झे । आफ्नो औँला राम्रैका लागि काटिएको उनलाई लाग्यो र मन्त्री भेट्न उनी जङ्गलबाट राजधानी फर्केर सिधै कारागारमा पुगेर उनले आफ्ना मन्त्रीलाई भने, ‘हे मन्त्री ! मलाई क्षमा गरिदेऊ । तिमीले भनेको वचन सुनेर मैले तिमीलाई सजाय दिएँ, जुन ठूलो गल्ती थियो ।’

राजाले आफूलाई बलिमा चढाउन मन्दिर लगिएको र काटिएको औंलाले आफूलाई जोगाएको सारा वृत्तान्त मन्त्रीलाई सुनाए । मन्त्रीलाई सजाय दिएर आफूले गल्ती गरेको कुरा पनि भने ।
राजाको कुरा सुनेर मन्त्री हाँसे र भने, ‘सरकार ! हजुरले मलाई थुनेर कुनै गल्ती गर्नुभएन । यो त भगवान्को लीला हो । भगवान् जे गर्छन् राम्रोका लागि गर्छन् ।’

मन्त्रीले यति भनेपछि राजाले भने, ठिक छ मेरो औँला काटिएकाले मैले बलिमा चढ्नु परेन र बाँच्न पाएँ, यो त ठिकै भयो तर तिमी त अनाहकमा जेल जानुपर्‍यो । त्यसका लागि म धेरै दुःखी छु । मलाई माफ गर ।

होइन सरकार मेरा लागि पनि राम्रै भएको छ । यदि हजुरले मलाई नथुनिबक्सेको भए म पनि हजुरसँगै सिकार गर्ने क्रममा मृगको पछि लाग्थेँ । ती मानिसहरूले मलाई पनि बाँधेर लैजान्थे । मेरो शरीर पूर्ण भएकाले त्यहाँ मेरो बलि दिइने थियो ।

त्यसैले हजुरले मलाई यहाँ थुनेर त मेरो ज्यान पो जोगियो त ! मन्त्रीको कुरा सुनेर राजा खुसी भए । उनले मन्त्रीलाई ससम्मान मुक्त गरे र उनको पद फिर्ता गरिदिए । त्यसैले भनिन्छ नि ‘जे हुन्छ राम्रैका लागि हुन्छ ।’

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ७ : २२ बजे

नेपाल टेलिकमले ल्यायो जीएसएम पोस्टपेडमा सजिलो अनलिमिटेड प्याकेज, भोलिदेखि लागु हुने

काठमाडौं– नेपाल टेलिकमले जीएसएम पोस्टपेडमा दोहोरिने सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरेको छ

एमाले बैठकमा ‘सिंहदरबार संसद् भवन जलाउन प्रयोग भएको’ म्याग्नेशियम र सोडियमको चर्चा

काठमाडौं- नेकपा एमालेभित्रकै मानिसहरूलाई म्याग्नेशियम र सोडियमका रुपमा प्रयोग गरिएको

प्रचण्डको निष्कर्ष : यति धेरै धनजनको क्षति हुँदा पनि ओली पश्‍चाताप गर्न तयार भएको देखिएन

चितवन- नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु 

भद्रपुर– यहाँस्थित मेचिनगर नगरपालिका–१५ निलकोठीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा

निर्धारित समयमा निष्पक्ष निर्वाचन गर्नका लागि सरकार बनेको हो : गृहमन्त्री 

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार निष्पक्ष निर्वाचन गर्नका लागि