बोलिभियाले तोड्यो इजरायलसँगको कूटनीतिक सम्बन्ध | Khabarhub Khabarhub

बोलिभियाले तोड्यो इजरायलसँगको कूटनीतिक सम्बन्ध


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

ला पाज- ल्याटिन अमेरिकी मुलुक बोलिभियाले गाजामा ‘असमान’ हमलालाई लिएर इजरायलसँगको कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेको छ । दुई ल्याटिन अमेरिकी देशले बढ्दो मानवीय सङ्कटका कारण इजरायलबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएसँगै बोलिभियाले यस्तो घोषणा गरेको हो । “बोलिभियाले गाजापट्टीमा भइरहेको आक्रामक र असमान इजरायली सैन्य हमलाको खण्डन र भर्त्सना गर्दै इजराइलसँगको कूटनीतिक सम्बन्ध तोड्ने निर्णय गरेको छ”, उपविदेशमन्त्री फ्रेड्डी मामानीले पत्रकार सम्मेलनमा भने ।

राष्ट्रपतीय मन्त्री मारिया नेला प्रादाले पनि गाजामा मानवीय सहयोग पठाउन लागिरहेको घोषणा गरिन् । “हामी गाजा पट्टीमा हमला अन्त्य गर्न माग गर्दछौँ, हमलाका कारण अहिलेसम्म हजारौँ नागरिकको मृत्यु भएको छ र प्यालेस्टिनीहरू जबरजस्ती विस्थापित भएका छन्”, सोही पत्रकार सम्मेलनमा उनले भनिन् । अक्टोबर ७ मा हमासको आक्रमणसँगै विभाजनकारी सङ्घर्ष सुरु भएपछि वामपन्थी लुइस आर्सेको सरकार इजरायलसँग सम्बन्ध तोड्ने पहिलो ल्याटिन अमेरिकी सरकार बनेको छ ।

हमासले गरेको हमलामा एक हजार चार सयभन्दा बढी मानिस मारिएको इजरायली अधिकारीहरूले बताएका छन् । इजरायलले बुधबार बोलिभियाको कदमलाई ‘आतङ्कवादसामु आत्मसमर्पण’ भन्दै आलोचना गरेको छ । “यस्तो कदम चालेर बोलिभिया सरकारले स्वयंलाई हमास आतङ्कवादी सङ्गठनसँग जोडिरहेको छ”, इजरायली विदेश मन्त्रालयका प्रवक्ता लियोर हयातले एक विज्ञप्तिमा भने ।

बोलिभियाले गाजा पट्टीमा अघिल्लो आक्रमण भएको एक दशकपछि सन् २०१९ मा इजरायलसँग कूटनीतिक सम्बन्ध पुनःस्थापित गर्ने घोषणा गरेको थियो । हमासले मङ्गलबार बोलिभियाको निर्णयको सराहना गर्दै बोलिभियालाई ‘उच्च सम्मानमा राखेको’ बताएको छ । उसले इजरायलसँग आफ्नो सम्बन्धलाई सामान्य बनाएका अरब मुलुकहरूलाई पनि बोलिभियाको जस्तै निर्णय लिन आग्रह गरेको छ ।

कोलम्बिया र चिलीका नेताहरूले पनि मङ्गलबार हमासमाथि इजरायली हमलाविरुद्ध बोलेका छन् । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले इजरायली हमलामा अहिलेसम्म दुई तिहाई महिला र बालबालिकासहित आठ हजार पाँच सय प्यालेस्टाइनी मारिएको बताएको छ । “मैले परामर्शका लागि इजराइलमा आफ्नो राजदूत (मार्गारिटा मन्जरेज) लाई फिर्ता बोलाउने निर्णय गरेको छु, यदि इजरायलले प्यालेस्टाइनी नागरिकको नरसंहारलाई रोकेन भने हामी त्यहाँ रहने छैनौँ”, कोलम्बियाका वामपन्थी राष्ट्रपति गुस्ताभो पेत्रोले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

अरब संसारबाहिर सबैभन्दा धेरै प्यालेस्टिनीहरूको जनसङ्ख्या भएको चिलीले मङ्गलबार इजरायलको ‘अन्तर्राष्ट्रिय मानवीय कानूनको अस्वीकार्य उल्लङ्घन’ को विरोधमा इजरायलबाट आफ्नो राजदूतलाई फिर्ता बोलाएको बताएको छ । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्थायी अध्यक्षता गरेको ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले युद्धविरामका लागि आग्रह गरेका छन् ।

इजरायलविरुद्ध प्यालेस्टिनी आतङ्कवादीहरूको ‘आतङ्ककारी हमला’ ले गाजामा ‘लाखौँ निर्दोष’ को हत्यालाई औचित्यपूर्ण मान्न नसकिने उल्लेख गर्दै उनले सामाजिक सञ्जालमा लाइभ सम्बोधनमा भनेका छन्, “हमासले इजराइलविरुद्ध आतङ्कवादी हमला गरेका कारण इजराइलले पनि लाखौँ निर्दोष मानिसलाई मार्नुपर्छ भन्ने होइन ।”

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ४ : १८ बजे

धनुषाको दुहबीमा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त

जनकपुर– धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा सशस्त्र प्रहरी र तस्करीबीच

काठमाडौंबाट ९ जना जुवाडे पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-३१ मिलनचोक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका- २ घर भएका ६३

खलङ्गामा वितरण गरिएको खानेपानीमा इकोली जीवाणु भेटियो

दार्चुला– दार्चुला सदरमुकाम खलङ्गामा वितरण गरिएको खानेपानीमा मानव स्वास्थ्यका लागि

उपभोक्ता अदालतको फैसलाविरुद्ध चिकित्सकको मोर्चाबन्दी, काउन्सिलको अधिकार खोसिएको आरोप

उपचारका क्रममा बिरामीको मृत्यु हुने, लापरवाहीले मृत्यु भएको भन्दै मृतकका

मणिमण्डप क्षेत्रमा सौन्दर्यीकरणको काम अन्तिम चरणमा

महेन्द्रनगर– जनकपुरधामलाई वैवाहिक गन्तव्यस्थलका रूपमा विकास गर्ने उद्देश्यसहित ऐतिहासिक मणिमण्डप