मिथिला क्षेत्रमा छठको रौनक, आज ‘नहाय–खाय’ « Khabarhub

मिथिला क्षेत्रमा छठको रौनक, आज ‘नहाय–खाय’


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मिथिला क्षेत्रमा छठ पर्वको रौनक सुरु भएको छ । सूर्यको उपासना गरी मनाइने यस वर्ष अन्तर्गत व्रतालुले आज ‘नहाय–खाय’ विधि गर्दैछन् ।

कात्तिक शुक्ल तृतीयाकै दिन (बिहीबार) व्रतालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ विधि गरेका छन् । निरामिष (सात्विक) भोजन सुरु गरेर तृतीयाकै दिन व्रतको तयारी थाल्ने परम्परा छ ।

मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जिरहेका छन् । छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिँगारिएका छन् । 

पर्वमा महिला–पुरुष जसले व्रत गरे पनि हुने विधान (शास्त्रीय मत) भए पनि धेरैजसो घरका मुख्य महिलाले नै व्रत सङ्कल्प गर्ने गरेको पाइन्छ । 

आज कात्तिक शुक्ल चौथीका दिन व्रतालुलेपवित्र स्नान गरी व्रत सङ्कल्पका साथ चोखोनीतो खानेछन् । यो विधिलाई ‘नहाय–खाय’ भनिन्छ ।

श्रद्धा, निष्ठा र आत्मिक शुद्धिलाई अत्यन्त महत्व दिइने छठमा पूजा प्रसाद सामग्री ठकुवा (गहुँको पिठो र सखर मिसाएर शुद्ध घ्यूमा बनाइने खास परिकार), भुसुवा (कसार) र अन्य मिष्ठान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिँधिएको चामल र गहुँको पिठोबाट नै पकाइने परम्परा छ । यी परिकार पकाउन चुल्हो पनि नयाँ प्रयोग गरिन्छ ।

पर्वमा सूर्यलाई अर्घ्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्को (पातगुवो) सहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्व विशेषमा यी कृषि उपजले राम्रो बजार पाउने गरेका छन् ।

हिजो कात्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अरबाइन’ र आज (चौथी तिथि) ‘नहाय–खाय’ विधि गर्ने व्रतालुले भोलि निराहार व्रत बसी राति सखरमा पकाइएको अरवा चामलको खीर कूलदेवताछठीदेवीलाई चढाएर प्रसादस्वरूप खानेछन् । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ ।

व्रतालुले षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा चोबलिएर अस्ताउँदो सूर्यलाई अर्घ्य  दिएर प्रसाद राखिएको डाली हातमा उठाइ सूर्यलाई देखाइन्छ । यो व्रत आइतबार सम्पन्न गरिने छ । यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ । 

यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन बिहानै उदाउँदा सूर्यलाई अर्घ्य  दिएर देखाइएपछि छठ सम्पन्न हुने परम्परा छ । यसपालि छठको समापन सोमबार बिहान सूर्योदयसँगै गरिने छ ।

मिथिलामा ‘सझुका अरख’ सम्पन्न गरेर घाटमै बस्ने र सप्तमीका दिन बिहान सूर्योदय हुन एक घडी अघिदेखि पानीमा चोबलिएर व्रतालुले गीतको भाखामा सूर्यदेवलाई चाँडै देखिन पुकारा गर्छन् । 

सबैजसो घाटमा रातभरि जाग्राम बस्न गीत, सङ्गीत, नाटक र मनोरञ्जनका विभिन्न साधनको व्यवस्था गरिन्छ । पछिल्लो समय छठ सबै नेपालीको साझा पर्व बन्दै गएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ७ : ०७ बजे

अध्ययन गर्नेगरी कार्की आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन

गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

काठमाडौं– सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको

ओलीलाई समवेदना दिन गुन्डु पुगे राष्ट्रियसभाका अध्यक्ष दाहाल 

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले  नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष

घुसको ७० लाख रुपैयाँ लुकाउन केसम्म गरेनन् सहसचिव झलकरामले ?

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक

रास्वपा वाचापत्र : बालेन सरकारले कसरी गर्छ पूर्वाधार क्षेत्रको विकास ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र