इस्लामावाद- पर्याप्त पानी भएपनि आफ्नो क्षेत्रमा पाकिस्तान सरकारले आवश्यक पर्नेजति विद्युत उपलब्ध नगराएको भन्दै पाकिस्तान अधिनस्थ कश्मीरको गिल्गिट बाल्टिस्तानका स्थानीयहरुले आक्रोश पोखेका छन् ।
गिल्गिट बाल्टिस्तानका वरिष्ठ पत्रकार युसुफ नशादले पाकिस्तान सरकारले विद्युत्, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा ध्यान नदिएको बताए ।
भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीमा उनले आफ्नो क्षेत्रमा पर्याप्त पानीको स्रोत भएपनि आवश्यकताअनुसार विद्युत उपलब्ध हुन नसकेको उल्लेख गरे । पछिल्ला केही महिनायता लोडसेडिङ व्यहोर्दै आएको सो क्षेत्रमा बारम्बार प्रदर्शन हुँदै आइरहेको छ ।
त्यसबाहेक गिल्गिट बाल्टिस्तानमा अनुदानमा दिइने गहुँको भाउ पनि २० रुपैयाँले बढेर ५२ रुपैयाँ प्रतिकेजी पुगेको छ । उनले आफ्नो क्षेत्रका बासिन्दाहरु कठोर जीवन बाँच्न बाध्य भएको र उनीहरु आधारभूत अधिकारबाट पनि बञ्चित बनेको उल्लेख गरे ।
आफ्नो क्षेत्रमा वितरण भइरहेको गहुँको गुणस्तर पनि कमजोर रहेको उनको भनाइ छ । गुणस्तरहीन गहुँको उपभोग गर्ने मानिसहरु बिरामी बन्दै गइरहेको उनले उल्लेख गरे ।
प्रतिक्रिया