कुनै कम्युनिस्ट नेतामा समाजवादी चरित्र छैन | Khabarhub Khabarhub

कुनै कम्युनिस्ट नेतामा समाजवादी चरित्र छैन

कांग्रेस बलियो भएको भए देश तहसनहस हुने थिएन


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

अहिले सामाजिक सञ्जालमा सरकारको काममा कांग्रेसको भूमिका, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनीको विवाहले चर्चा पाइरहेको छ। एकातिर सरकार वा सरकारको नेतृत्व गरेको व्यक्तिको परिवारका भूमिकाका सन्दर्भमा प्रश्न उठेको छ भने अर्को तिर जाजरकोट, रुकुम पश्चिममा भूकम्पपछिको बिपत्तिमा राज्य गैरजिम्मेवार बनेको विषय चर्चामा छ। जनता पीडामा हुँदा प्रधानमन्त्री प्रचण्डले काठमाडौंको महंगो गोकर्ण फरेष्ट रिसोर्टमा नातिनीको विवाह गरेर के सन्देश दिन खोजेका हुन् ?, हिन्दु सामन्तवादमा आधारित संस्कृतिको आमूल रूपान्तरणमा लागेको माओवादी आज किन यो अवस्थामा पुग्यो ? यी र यस्तै विषयमा जोडिएर राजनीतिक विश्लेषक अनारसिंह कार्कीसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

नातिनीको विवाहबाट प्रचण्डको सक्कली रुप देखियो होइन ?
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोकर्ण फरेष्ट रिसोर्टबाट नातिनीको विवाह गरेको विषय मात्र अहिले चर्चामा छ। यो भन्दा अगाडि पनि उनले लगाएको घडी, उनका परिवारमा छोरी र नातिनीले बोक्ने ब्यागको चर्चा भएको हो। यी सबै कुराले प्रष्ट भइसकेको छ कि यिनी कुनै कम्युनिस्ट नेता समाजवादी चरित्रमा छैनन्। त्यो कम्युनिस्ट नाम एउटा साइनबोर्ड मात्र हो। उनीहरू पूर्ण रूपले पुँजीवादी स्वरूपमा गइसकेका छन्।

यिनीहरूका सारा छोराछोरी विदेशमा पढ्छन्। सम्पत्ति विदेशमा राखेका छन्। त्यो भएकोले सबै पुँजीवादी भइसके। देशलाई हित नगर्ने सम्झौता पास गर्न पनि यिनै नेता अगाडि लागेका थिए। त्यसैले देशमा उनीहरु पूर्ण पुँजीवादी व्यवस्थामा गइसकेका छन्। नातिनीको विवाह त्यसैको अभिव्यक्ति देखिएको मात्र हो। आज मात्र होइन, क्रान्तिकै बेलादेखि धेरै विकृति रहेछ भन्ने यो एउटा उदाहरण हो। जहाँ बैंक लुट्यो, त्यही पैसा लुकाइहाल्ने गरेका थिए। त्यो बेलाका आफ्नै सहयात्री सहयोगीबाट नै फलानाले यति किलो सुन लुकायो भन्ने आएको छ। यो चरम विकृति क्रान्ति र कम्युनिस्टको नाममा सुरुदेखि नै रहेछ। यिनीहरूले जनयुद्ध केही उद्देश्य प्राप्तिको लागि गरेका नै थिएनन्। सत्तामा पुग्नु र पैसा कमाउनु उद्देश्य भयो र सत्तामा नपुग्दा पनि सत्ता जति नै पैसा त चन्दा उठाएर भए पनि यिनीहरुले लिएकै थिए।

कम्युनिस्टको सारथि कसरी भयो कांग्रेस ?
कांग्रेस पनि जसरी भए पनि सत्तामा पुग्ने जमात नै भएको छ। नीति, सिद्धान्त, विचार र सङ्गठन मात्र होइन अनुशासन केही पनि छैन। उनीहरू हाम्रो लोकतान्त्रिक पार्टी भएकोले जे पनि भन्न पाउँछौँ भन्छन्। कांग्रेसका सबै नेता सत्तामा पुग्ने र कसरी कमाउने भन्नेमा छन्। त्यसैले देश यो अवस्थामा पुगेको हो। यो शैलीले देश कुनै पनि बेला श्रीलङ्का बन्नसक्छ। कुनै देशसँग उद्योगमा त होइन कृषिमा पनि प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन। अनुदान पनि छैन। यो देशमा किसानले मल, बिउँसमेत समयमा पाउँदैनन्।

तपाईंहरूले वकालत गरेको लोकतन्त्र यही हो ?
म आफ्नो जीवनमा १० पटक भन्दा बढी जेल बसेको छु। ५/६ वर्ष निर्वासनमा बसेको छु। मलाई मृत्युदण्ड र जन्मकैदको पनि माग गरेर मुद्दा लागेका थिए। सारा परिस्थिति विकृति विसङ्गतिको समाधान प्रजातन्त्र हो भन्ने हामीलाई लाग्थ्यो। तर अहिले पुस १ गते गलत होइन रहेछ। राजा महेन्द्रको कदम राम्रो रहेछ भन्ने लाग्न थालेको छ। उनले १० वर्ष नेपालको उद्योग धन्दा पूर्वाधार विकासको लागि काम गरेका थिए।

तपाईंहरूको पुस्ताको पढाइ गलत रहेछ कि बुझाइ गलत परेछ त ?
हाम्रो बुझाइ गलत होइन वास्तवमा प्रजातन्त्र ठिकसँग चलेको भए, प्रजातन्त्र मानमर्यादा चलेको भए ठिकै हुन्थ्यो। आदर्श, सिद्धान्त र विचार सबै पार्टीले छोड्दै गए। जसरी भए पनि ल्याउने खाने बस्ने जीवन नै यही हो भन्ने भएको छ। यो अभ्यास गलत छ।

हामीले पञ्चायत देख्यौँ, प्रजातान्त्रिक शक्ति देख्यौं, एमाले कांग्रेस माओवादी भन्ने पनि देखियो। अब अहिलेको पुस्ताले कसको वकालत गर्ने ?
भ्रष्टाचार गर्न नपाउनेहरूले भ्रष्टाचार गर्न पाउनुपर्छ भनेर अर्को व्यवस्थालाई पश्चगामी भन्नु एउटा कुरा हो। तर आज र हिजोको तुलना गर्दा आज जति भ्रष्ट र अनैतिक सत्ता त्यो बेला थिएन। राजा महेन्द्रको समयमा विकासका पूर्वाधार र उद्योगहरू निर्माण भएका थिए। अहिले त्यसको अलिकति अंश बचेको छैन। नेपालको भूराजनीतिक अवस्थाले गर्दा यो देशमा एउटा अभिभावक चाहिने रहेछ। राजसंस्था त्यसकारण अहिले पनि आवश्यकता रहेछ जस्तो मलाई लाग्छ। किनकि राजा हुँदा यस हदसम्म जान सक्दैन। जस्तो : नागरिकता विधेयक राजाले सर्वोच्च अदालतलाई सोधेर रोकेर राखेका थिए। अहिले सजिलै पास गरियो। त्यस कारणले पश्चगामी होइन राजसंस्था अग्रगामी रहेछ।

कम्युनिस्टको कुरामा पहिला बिपीले पनि भनेका थिए। नेपालमा कम्युनिस्ट नै छैन। कि त सिआइएले बनाइएका कम्युनिस्ट छन् कि भारतीय ‘र’ले बनाएका कम्युनिस्ट हुन्। अहिले पनि त्यो कुरा सही साबित भएको छ।

पञ्चायत कालमा सूचना संकलनको संयन्त्रका रूपमा मात्र कम्युनिस्ट जन्माइएका थिएन त ?
हो। कांग्रेसलाई साइजमा ल्याउनको लागि दरबारले पनि कम्युनिस्टलाई प्रयोग गरेको थियो। कांग्रेसमा एउटा जेनेरेसनसम्म ठिक थियो। भ्रष्टिकरण भएको थिएन। गिरिजाप्रसाद कोइरालाको नेतृत्व सुरु भएपछि भ्रष्टिकरण तिर तीव्र गतिमा अगाडि बढ्यो। सबै कुरा छोडेर पूर्ण रूपले कमाउन मात्रै लाग्ने, कमाउन र सत्ताका लागि जे पनि गर्ने र सत्तामा टिक्ने जुन परिपाटी सुरु भयो त्यसको अगुवाइ कांग्रेसले नै गरेको हो। कम्युनिस्टलाई यति विधि हुने मौका दिएको पनि कांग्रेसले नै हो।

नेपालको सन्दर्भमा आवश्यक पर्ने प्रणाली तत्काल आउने देखिन्छ ?
अहिले विकल्प नै देखिँदैन। विकल्प भनेर आएका पनि आजसम्म केही गर्ने नै देखिएको छैन। यसरी देश असाध्यै नराम्रो बाटोमा जानसक्छ। दुई ठुला देश छिमेकमा भएको मुलुकले यसरी नै जाने हो भने त नेपाल श्रीलङ्का हुनबाट बच्नै सक्दैन। युक्रेनको पक्षमा हामी बोल्यौँ। जब भारत र चीनले बोलेका नै छैनन् भने हामीले अगाडि अगाडि बोल्नु हाम्रो भूराजनीतिक अवस्थाले दिन्थ्यो कि दिँदैनथ्यो त ? हाम्रो राष्ट्रिय हितमा हुन्छ कि हुँदैन भन्ने कुरालाई सोच्नु आवश्यक थियो। । त्यसैले निरन्तर हामीले तटस्थ परराष्ट्र नीतिलाई गुमाएर एकातिर ढल्किन लागेका छौँ। त्यसले अप्ठ्यारोमा पार्छ भोलि।

अहिले नयाँदेखि पुरानासम्म दल मिसन ८४ भनिरहेका छन्। त्यो बेला शुद्धिकरण हुने हो कि ?
मिसन ८४ भनेर कसैले पत्याउँदैनन्। प्रधानमन्त्रीले पाँच तारे होटलमा नातिनीको विवाह गर्छन्। जाजरकोटमा भूकम्पपछि चिसोले भटाभट नागरिकको मृत्यु भइराखेको छ। नेता हेलिकप्टर चढेर रमिता हेर्न पुग्छन् तर राहत पुग्दैन। विदेशीहरूले पठाएको राहत पनि पीडितले पाएका छैनन्। जनताले कति दिन यसरी सहने ?

विस्तारै यो प्रणाली र संविधान नै सिध्याउने दिन आउँने खतरा भएको हो ?
पहिलो कुरा यो संविधान असाध्यै जालझेल गरेर ल्याए। निर्वाचित संविधान भन्नु मात्रै हो। तीन–चार जनाले कोठामा बसेर गरेको निर्णयलाई ह्विप लगाएर पास गरे। जनताको पछि थोरै समयमा राय लिए। लिएको ९० प्रतिशत रायलाई थन्क्याएर आफ्नो कुरा गरे। यसको चुनाव नै अदालतको ढोका बन्द गरेर प्रधानन्यायाधीशलाई लगेर सरकार प्रमुख बनाएर चुनाव गराए। एउटा कोठामा गरेको निर्णयलाई संविधान सभाको जमातबाट पारित गराएको मात्र हो। यसको नेतृत्व गर्ने कांग्रेस हो। कांग्रेसले बहुमत पायो तर उसैको आन्तरिक दबाब आफ्नै पार्टी भित्र भ्रष्टाचारमा प्रतिस्पर्धा गर्ने भयो। सम्पूर्ण अप्रजातान्त्रिक काम सुरु गर्ने सबै नेपाली कांग्रेस हो। नत्र कांग्रेस मियो पार्टी थियो। मियो बलियो भएको भए देश यति धेरै तहसनहस हुने थिएन। यो देश यो अवस्थामा पुगेको नै कांग्रेसको कारणले हो।

राजनीतिक विश्लेषक अनारसिंह कार्कीसँगको कुराकानी:

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ८ : ५५ बजे

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल कात्तिक ४ गते मंगलबार। कात्तिक

आज २०८२ साल कात्तिक ४ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ४ गते मंगलबार। कात्तिक

लक्ष्मी पूजामा विद्युतको उच्च माग १६५० मेगावाट, भारततर्फ १०१५ मेगावाट निर्यात

काठमाडौं – यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन देशभरको विद्युत् उच्च

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ