आज पुस ८, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर २४, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।
मानव तस्करीको आशङ्कामा फ्रान्समा पक्राउ परेका भारतीयसँग सोधपुछ
मानव तस्करीको आशङ्कामा पेरिस नजिकै हिरासतमा राखिएका विमानमा यात्रा गरिरहेका ३ सयभन्दा धेरै भारतीयसँग चार फ्रान्सेली न्यायाधीशले आइतबार सोधपुछ सुरु गरेका छन् ।
मानव बेचबिखनका सम्भावित पीडितहरूलाई लैजाँदै गरेको भन्ने अज्ञात सूचनापछि बिहीबार दुबईबाट इन्धन भर्न आइपुगेको निकारागुवा जाँदै गरेको एयरबस ए३४० लाई पेरिसबाट १५० किलोमिटर (९५ माइल) पूर्व भट्री विमानस्थलमा राखिएको छ । सीमा प्रहरीले प्रयोग गरिरहेको हिरासतमा राख्ने आदेशलाई सुरुमा आठ दिनसम्म र आवश्यक परेको अवस्थामा थप आठ दिन बढाउने अधिकार न्यायाधीशरूलाई छ । यात्रीहरूसँग कुराकानी गर्नका लागि उनीहरूसँग दुई दिनको समय छ ।
“लक्ष्य भनेको सबैलाई हेर्न सक्षम हुनु हो”, चालोन्स–एन–स्याम्पेन क्षेत्रका अभियोजक एनिक ब्राउनले भने । अनुवादकहरूले न्यायाधीशहरूलाई सहयोग गरिरहेका छन् । रोमानियाली कम्पनी लिजेन्ड एयरलाइन्सको उडानमा रहेका तीन सय तीन यात्री विमानस्थलमै अलपत्र परेका छन् । पेरिस अभियोजकहरूका अनुसार यात्रीमध्ये ११ जना बिनासहाराका नाबालिग रहेका छन् ।
घटनासँग सम्बन्धित एक स्रोतले दस यात्रीले शरणका लागि अनुरोध गरेका छन् । त्रिपालले प्रवेश कक्षको सिसा र बाहिरी भाग तथा नजिकका प्रशासनिक भवनहरूलाई ढाकेको छ । प्रहरी र अर्धसैनिकले प्रवेशमाथि रोक लगाएका छन् । पेरिस अभियोजकको कार्यालयका अनुसार शुक्रबार हिरासतमा लिइएका दुई यात्रीको हिरासत अवधि शनिबार साँझ ४८ घन्टासम्म बढाइएको छ । उनीहरूको भूमिका यो यात्रामा अरुभन्दा फरक हुन सक्छ र कुन अवस्था तथा उद्देश्यका साथ हुनसक्छ भनेर प्रमाणित गर्नका लागि हिरासतमा राखिएको हो ।
अभियोजकहरूका अनुसार अनुसन्धानकर्मीहरूले यात्री तथा उडान चालक दलको पहिचान जाँच गरेका छन् र उनीहरूको यात्राको ‘स्थिति र उद्देश्य’ प्रमाणित गरिरहेका छन् । पेरिसमा भारतीय दूतावासले शनिबार उसले ‘स्थितिको द्रुत समाधान’ का लागि काम गरिरहेको बताएको छ । सामाजिक सञ्जाल एक्समा दूतावासले भनेको छ, “वाणिज्य दूत घटनास्थलमा हुनुहुन्छ ।”
मार्नेका नागरिक सुरक्षा प्रमुख प्याट्रिक जालोक्सले विमानस्थमा तीन रात बिताएपछि यात्रीहरू स्वाभाविक रूपमा ‘निराश’ रहेको बताए । उनका अनुसार तीमध्ये केही भारतको राष्ट्रिय भाषा हिन्दी बोल्छन् भने अन्य दक्षिणी भारत र श्रीलङ्काका केही भागमा बोलिने भाषा तमिल बोल्छन् । “उनीहरू आफ्ना परिवारसँग सम्पर्कमा छन्”, उनले भने ।
निकारागुवा हुँदै अमेरिका वा क्यानाडा जान खोजेका ती भारतीय यात्रीहरू सम्भवतः संयुक्त अरब इमिरेट्स (यूएई) का कामदार रहेको सोधपुछसँग सम्बन्धित निकट स्रोतले एएफपीलाई बताएको छ ।
निकोबार टापु क्षेत्रमा फसेका दुई सय रोहिङ्ग्याको उद्धार गर्न आग्रह
संयुक्त राष्ट्रसङ्घले हिन्द महासागरको अण्डमान र निकोबार टापू नजिकै डुङ्गामा सवार महिला र बालबालिकासहित १८५ जना रोहिङ्ग्या आप्रबासीको तत्काल उद्धार गर्न शनिबार आह्वान गरेको छ । जहाजमा सवारमध्ये ७० जना बालबालिका र ८८ जना महिला रहेको राष्ट्रसङ्घीय शरणार्थी निकाय (यूएनएचसीआर)द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
“कम्तीमा एक दर्जनको अवस्था गम्भीर रहेको आशङ्का गरिएको छ र एक जनाको मृत्यु भइसकेको छ,” विज्ञप्तिमा भनिएको छ, “समयमै उद्धार गरी नजिकको सुरक्षित स्थानमा ओर्लिन नसके धेरै तटीय राज्यहरूको निगरानीका कारण धेरैको मृत्यु हुन सक्छ ।”
यूएनएचसीआरका प्रवक्ता बाबर बलोचले एएफपीसँग कुरा गर्दै जहाजमा सवार व्यक्तिहरू रोहिङ्ग्या शरणार्थी भएको र एजेन्सीले यस क्षेत्रका सबै तटीय अधिकारीहरूलाई तत्काल उद्धार गर्न अपिल गरिरहेको बताएका छन् । उनले भने, “यो वास्तवमै एक निराशाजनक अवस्था हो ।”
म्यान्मामा अत्यधिक उत्पीडनमा परेका हजारौं मुस्लिम रोहिङ्ग्याहरू हरेक वर्ष म्यानमार र बङ्गलादेशका शरणार्थी शिविरहरूबाट जोखिमपूर्ण समुद्री यात्रा गरी मलेसिया वा इन्डोनेसिया पुग्ने प्रयास गर्छन् । युएनएचसीआरका अनुसार सन् २०२२ मा दुई हजारभन्दा बढी रोहिङ्ग्याले जोखिमपूर्ण यात्रा गरी विभिन्न मुश्लिम बहुल एशियाली मुलुक पुगेका थिए ।
गत वर्षदेखि यस क्षेत्रमा रोहिङ्ग्या शरणार्थीसहित ५७० भन्दा बढी व्यक्तिको हताहत भएको बताइएको छ । अहिले छटपटाइरहेका मानिसहरूको कुरा गर्दा, एजेन्सीले जोड दियो कि ‘जीवन बचाउनको लागि समयमै प्रयास गरेमा ठूलो त्रासदी रोक्न सकिन्छ । “यो अवस्थाले यस क्षेत्रका सबै राज्यहरूले यस स्तरमा हुने मानवीय विपत्तिबाट बच्न आफ्नो पूर्ण खोजी र उद्धार क्षमता परिचालन गर्नुको महत्वलाई फेरि एकपटक उजागर गर्दछ ।”
यमनका युद्धरत पक्ष शान्ति प्रक्रिया अघि बढाउन सहमत
यमनका युद्धरत पक्षहरू नयाँ युद्धविराम गर्न र युद्ध अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा शान्ति प्रक्रियामा संलग्न हुन सहमत भएका छन् । यमनका लागि संयुक्त राष्ट्रसङ्घीय दूतले यसबारे जानकारी दिएका हुन् ।
यमनका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत हान्स ग्रुन्डबर्गले गरेको यो घोषणा नौ वर्षदेखि जारी युद्ध अन्त्य गर्ने पछिल्लो कदम हो ।
साउदी अरब र ओमानमा ग्रुन्डबर्गले यमनसमर्थित राष्ट्रपति परिषद्का प्रमुख रशाद अल–अलिमी र इरान समर्थित हुथी विद्रोहीका प्रमुख वार्ताकार मोहम्मद अब्दुल सलामसँग हालै गरेको भेटवार्तापछि यो निर्णय भएको हो ।
कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार ग्रुन्डबर्गले राष्ट्रव्यापी युद्धविराम लागू गर्ने र समावेशी राजनीतिक प्रक्रियाको पुनः सुरु गर्ने तयारीमा संलग्न हुन द्वन्द्वरत दुबै पक्षले देखाएको इच्छाको स्वागत गरेका छन् ।
“राजदूतले अब संयुक्त राष्ट्रसङ्घको आयोजनामा यी प्रतिबद्धताहरू समावेश गर्ने र तिनको कार्यान्वयनलाई सहयोग गर्ने रोडम्याप बनाउन द्वन्द्वरत पक्षहरूसँग संलग्न हुनुहुनेछ,” विज्ञप्तिमा भनिएको छ ।
सन् २०१४ मा इरान समर्थित हुथी विद्रोहीले राजधानी सानालाई आफ्नो नियन्त्रणमा लिएपछि यमन द्वन्द्वको चपेटामा परेको छ ।
संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा सन् २०२२ को अप्रिलमा लागू भएको युद्धविरामले शत्रुतामा तीव्र कमी ल्यायो । युद्धविराम गत वर्षको अक्टोबरमा समाप्त भएपनि धेरै हदसम्म युद्ध र क्षति रोकिएको छ ।
ग्रुन्डबर्गले अब युद्ध अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घको तत्वावधानमा रोडम्याप लागु गर्ने कामको नेतृत्व लिनेछन् ।
उक्त रोडम्यापमा निजामती कर्मचारीको तलब भुक्तानी गर्ने, विद्रोहीले अवरोध गरेको शहर ताएज र यमनका अन्य भागमा बाटो खोल्ने र तेल निर्यात पुनः सुरु गर्ने प्रतिबद्धता पनि समावेश गरिएको छ ।
ग्रुन्डबर्गले भने, “यमनवासीले ठोस परिणाम र दिगो शान्तिको दिशामा प्रगति प्रदान गर्ने यो नयाँ अवसरको प्रतीक्षा गरिरहेका छन् । द्वन्द्वरत पक्षहरुले महत्वपूर्ण कदम चालेका छन् । उनीहरूका प्रतिबद्धताहरू सबैभन्दा पहिले यमनका जनताप्रतिको दायित्व हुन् ।’’
इजरायलले हमास लडाकुसँग लडिरहेको गाजापट्टीमा प्यालेस्टनइनीहरूप्रति ऐक्यबद्धता जनाउन ‘रेड सी’ को प्रमुख पारवहन मार्गमा हुथी विद्रोहीहरूले आक्रमण गरिरहेका बेला यो सम्झौता भएको हो ।
हुथी विद्रोहीले गत अक्टोबर ७ देखि सुरु भएको इजरायल–हमास युद्ध अन्त्य नभए इजरायली बन्दरगाहतर्फ जाने इजरायलसँग सम्बन्धित पानीजहाज वा जहाजमाथि आक्रमण गर्ने चेतावनी दिएका थिए ।
पेन्टागनका अनुसार ३५ भन्दा बढी देशका १० व्यापारिक जहाजलाई लक्षित गरी उनीहरूले १०० भन्दा बढी ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेका छन् ।
विद्रोहीहरूको आक्रमणले विश्वव्यापी व्यापारको १२ प्रतिशत हिस्सा ओगट्ने पारवहन मार्गलाई खतरामा पारिरहेको छ, जसका कारण संयुक्त राज्य अमेरिकाले ‘रेड सी’को पानीजहाजको सुरक्षाका लागि बहुराष्ट्रिय नौसैनिक कार्यदल स्थापना गरेको छ ।
निकारागुआमा सडक दुर्घटना हुँदा १६ जनाको मृत्यु
निकारागुआको राजधानी मानागुवाको केन्द्रीय विभागमा शनिबार भएको सवारी दुर्घटनामा परी कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै २६ जना घाइते भएका उपराष्ट्रपति रोजारियो मुरिलोले जानकारी दिएका छन् । मृत्यु हुनेमा धेरै बालबालिका रहेको उनले स्थानीय टेलिभिजन च्यानल ४ लाई बताए ।
मातागाल्पाका प्रशासक पेड्रो हसलामले भने, ‘मातागाल्पा शहरमा भएको यस दुःखद् घटनाबाट हामी निराश भएका छौँ ।’
माटागाल्पा सरकारका अधिकारीहरू, स्वास्थ्यकर्मी, राष्ट्रिय प्रहरी र अग्नि नियन्त्रक विभागका एकाइहरू पीडितहरूको उद्धार र उपचारका लागि घटनास्थलमा नै पुगेको हस्लामले बताए ।
हमास–इजरायल युद्धमा मारिने पत्रकारको संख्या ९९ पुग्यो
इजरायल र हमासबीचको युद्धमा पत्रकार मारिने क्रम अझै रोकिएको छैन ।
गत ७ अक्टोबरबाट सुरू भएको युद्धमा परी अहिलेसम्म मृत्यु हुनेको पत्रकारको संख्या ९९ पुगेको छ ।
गाजाको सरकारी मिडिया कार्यालयले आफ्नो टेलिग्राम च्यानलमा युद्ध सुरु भएदेखि इजरायली सेनाबाट ९९ जना पत्रकार मारिएको बताएको हो ।
इजरायली सेनाले मध्य गाजाको नुसेरात शरणार्थी शिविरमा गरेको आक्रमणमा मारिने मुहम्मद खलिफा पछिल्लो पत्रकार हुन् ।
प्रतिक्रिया