अन्नपूर्णमा एक लाख ९१ हजार पर्यटक भित्रिए « Khabarhub

अन्नपूर्णमा एक लाख ९१ हजार पर्यटक भित्रिए


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार उक्त सङ्ख्या हालसम्मकै बढी हो । त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए ।

‘अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा पर्यटक आगमनमा नयाँ रेकर्ड कायम भएको छ’, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले भने, ‘पछिल्लो समय दक्षिण एसियाली देशका पर्यटक बढेका छन्, अन्य देशका पर्यटक भने घटेको पाइएको छ ।’ सन् २०१९ मा दक्षिण एसियाली देशका जम्मा ५३ हजार सात सय १० पर्यटक अन्नपूर्ण पुगेकामा गत वर्ष ९७ हजार पाँच सय ५४ जना उक्त क्षेत्रको भ्रमण गरेका थिए ।

अन्य देशका पर्यटक भने पहिलेको तुलनामा घटेको ‘एक्याप’को तथ्याङ्कमा उल्लेख छ । सन् २०१९ मा ‘सार्क’ क्षेत्रबाहेकका देशका एक लाख २७ हजार दुई सय ९० पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएकोमा गत वर्ष जम्मा ९४ हजार चार जनाले सो क्षेत्र घुमेको आयोजना प्रमुख डा कडरियाले जानकारी दिए । 

उनका अनुसार सन् २०२३ मा एक सय ७३ देशका पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका थिए । जसमध्ये सबैभन्दा बढी भारतका ९६ हजार एक सय ८७ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका हुन् । सो अवधिमा फ्रान्सका आठ हजार पाँच सय २६, जर्मनका सात हजार छ सय ४१, अमेरिकाका सात हजार दुई सय ४९, बेलायतका सात हजार एक सय ७४ र चीनका छ हजार तीन सय २३ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएको तथ्यांक छ । 

कोभिड-१९ महामारीका बेला पर्यटक आगमन ह्वात्तै घटेकोमा महामारीको अन्त्यसँगै अन्नपूर्ण क्षेत्रको पर्यटनले पुनः पुरानै लय समातेको हो । उक्त महामारी छँदा सन् २०२१ मा जम्मा १६ हजार एक सय पाँच पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । त्यसको अर्को वर्ष अर्थात् सन् २०२२ मा एक लाख २९ हजार सात सय ३३ पर्यटक त्यस क्षेत्रमा पुगेका थिए । 

आयोजना प्रमुख डा कडरियाले पुराना पदमार्ग विस्थापित हुँदै जाँदा पदयात्राका लागि आउने युरोप-अमेरिकाका पर्यटकको सङ्ख्या घटेको बताए । ‘सडक मार्ग विस्तारले अन्नपूर्ण क्षेत्रमा पदमार्गको अस्तित्व संकटमा परेको छ, जसले गर्दा पदयात्रामा आकर्षण घट्दै गएको पाइएको छ, विश्वका उत्कृष्ट १० गन्तव्यभित्र परिसकेको अन्नपूर्ण क्षेत्रको पहिचानलाई कायमै राख्न यस क्षेत्रका पदमार्गलाई जोगाउनु आवश्यक छ, पर्यटन सम्बद्ध सबैको यसतर्फ ध्यान जानु जरुरी छ ।’

अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

 अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ती गन्तव्यस्थलमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्यांक राख्ने गरेको छ । ‘आन्तरिक पर्यटकको सङ्ख्या त यकिन नै गर्न सकिँदैन, सडक मार्ग भएर मुस्ताङ र मनाङ छिर्नेको सङ्ख्या उल्लेख्य रहेको हुन्छ’, प्रमुख डा कडरियाले भने, ‘असोज–कात्तिक र चैत–वैशाख गरी दुई याममा पर्यटकको चाप बढी हुन्छ ।’ सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ । 

तीन वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नैपर्ने दस गन्तव्य सूचीमा राखेको थियो । गत कात्तिकमा नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविर पुगेपछि यस क्षेत्रको महत्व थप चुलिएको थियो । 

त्यस बखत उहाँले हिमालमा सूर्योदयको किरण देखेर आफू छक्क परेको र नेपालको प्राकृतिक बनोट अद्भूत रहेको बताएका थिए । अमेरिकी समाचार संस्था ‘सिएनएन’ले सन् २०२३ मा विश्वका घुम्नैपर्ने २३ गन्तव्यको सूचीमा परेको मुस्ताङ उपत्यका पनि अन्नपूर्ण संरक्षण क्षेत्रमै पर्छ । पर्यटक पथप्रदर्शक दिवस गुरुङले अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले पर्यटकको रोजाइमा पर्ने गरेको बताएका छन् ।

‘कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा तय गर्न सकिन्छ’, उनले भने, ‘आकर्षक गन्तव्यस्थलहरु, पर्यटनमैत्री पूर्वाधार, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट छ ।’ 

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  १२ : ५१ बजे

करिब १ सय ३६ किलोग्राम गाँजासहित एकजना पक्राउ

चितवन– भरतपुर महानगरपालिका-२९ जुगेडीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ३६ किलो

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

कैलाली– टीकापुर नगरपालिका-१ बस्ने १९ वर्षीय निशान शाहीलाई अवैध लागूऔषध खैरो हेरोइन

१३ प्रस्तावित राजदूतको सुनुवाइ सकियो

काठमाडौं – विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ

६ महिने उपलब्धि सुनाउँदै ऊर्जामन्त्रीले भने : नेपाल-भारत विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार