नेपाली नागरिकको ज्यान जाने गरी गाडी चलाउने चिनियाँलाई जोगाउन चलखेल | Khabarhub Khabarhub

नेपाली नागरिकको ज्यान जाने गरी गाडी चलाउने चिनियाँलाई जोगाउन चलखेल


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १७ असार २०७६ (मंगलबार)को राति करिब ११ बजे, पोखराको अमरसिंह चोकमा एउटा सवारी दुर्घटना भयो । बा २० च २५६६ नम्बरको टोयोटा कम्पनीको हाइलक्स गाडीले जेब्रा क्रसमा बाटो काटिरहेका पैदलयात्रीलाई ठक्कर दियो ।

आफूले चलाएको गाडीले पैदयात्रीलाई ठक्कर दिँदा पनि चालकले भने गाडी रोकेनन् । केही स्थानीयले दुर्घटनाको जानकारी पाएका थिए । तर, गाडी भने त्यहाँबाट ‘बेपत्ता’ भइसकेको थियो ।

गाडीको ठक्करबाट ढलेका युवालाई उद्दार गरी स्थानीयले अस्पतालसम्म पुर्याए । तर, उनको घटनास्थलमै मृत्यु भइसकेको थियो ।

गाडीको ठक्करबाट ज्यान गुमाउने पैदलयात्री थिए, कास्कीकै माछापुच्छ्रे गाउँपालिका–९ घर भएका ३८ वर्षीय देउकुमार तामाङ ।
पोखरामा आइसक्रिम बेच्ने काम गर्दै आएका देउकुमार त्यस दिन खाना खाँदा खाँदै बिजुली गएपछि मैनबत्ति र लामखुट्टेको धूप किन्न रातिसम्म खुला हुने नजिकैको किराना पसल गएका थिए ।

मैनबत्ति र लामखुट्टेको धूप किनेर फर्किँदै गरेका तामाङले जेब्रा क्रसबाट सडक पार गर्ने क्रममा गाडीले ठक्कर दिएको थियो ।

घटना भएको तेस्रो दिन (असार १९ गते) मात्रै प्रहरीले ठक्कर दिने गाडी र गाडीका चालक पत्ता लगायो । ठक्कर दिने गाडी पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परियाजनाको थियो भने चालक थिए, विमानस्थलको निर्माण जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनीका ‘सेट म्यानेजर’ चु च्याङफेन ।

सडक दुर्घटनामा ज्यान गुमाउने देउकुमार तामाङ

कास्की प्रहरीले च्याङफेनलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गर्‍यो । अनुसन्धानबाट खुल्न आयो– उनले मदिरा सेवन गरेर गाडी चलाएका रहेछन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले अनुसन्धानका क्रममा उनले मदिरा सेवन गरी सवारी चलाएको प्रमाण फेला परेको बताए ।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ठेकेदार कम्पनीका कर्मचारी मदिरा सेवन गरी चलाएको गाडीले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको हो,’ एसपी कार्कीले भने, ‘उनीविरुद्ध अनुसन्धान गरी अदालतमा मुद्दा दायर गरिएको हो । अहिले अदालतको आदेशानुसार उनी मुद्दाको पुर्पक्षका लागि थुनामा छन् ।’

पैदल यात्रीलाई ठक्कर दिने चिनियाँ नागरिकले गरेको अर्को ‘अपराध’ थियो नेपालमा अनुमति नलिइ सवारी चलाएको ।

नेपालमा रहेका विदेशी नागरिकले नेपालमा सवारी चलाउँदा यहाँको छुट्टै अनुमति पत्र लिनुपर्ने हुन्छ । निश्चित प्रक्रिया पूरा गरेपछि यातायात व्यवस्था विभागले विदेशी नागरिकलाई अस्थायी प्रकृतिको ‘सवारी चालक अनुमतिपत्र’ दिने गर्छ । तर, पोखरा विमानस्थलको निर्माण गरिरहेको चिनियाँ ठेकेदार कम्पनी चाइना सिएएमसी इञ्जिनियरिङका ‘सेट म्यानेजर’ चु च्याङफेनले त्यस्तो अनुमति लिएका थिएनन् ।

दुर्घटना भएको ९ दिन पछि (असार २६) गते सरकारी वकिल कार्यालय कास्कीले च्याङफेनविरुद्ध जिल्ला अदालत कास्कीमा सवारी ज्यान मुद्दा दर्ता गर्‍यो ।

सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमा उल्लेख भएअनुसार चिनियाँ नागरिक च्याङफेनले ‘ज्यान मर्न सक्छ भन्ने अवस्था देखिँदा देखिँदै पनि अपनाउनु पर्ने सतर्कता नअपनाई, लापरबाहीपूर्वक’ सवारी चलाएका थिए ।

च्याङफेनले मदिरा सेवन गरी सवारी चलाएको, विदेशी नागरिक भइकन अनुमति नै नलिइ नेपालमा सवारी चलाएको लगायत आरोपका आधारमा उनीमाथि १० वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना हुनुपर्ने मागसहित सरकारी वकिल कार्यालय कास्कीले जिल्ला अदालत कास्कीमा अभियोग पत्र दायर गरेको थियो ।

उनीविरुद्ध सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा (१६१) को उपदफा (२) बमोजिम कसूरअन्तर्गत सोही ऐनको सोही दफामा भएको व्यवस्थाअनुसार कारबाही माग गरिएको थियो ।

गाडी चालक चिनियाँ नागरिक चु च्याङफेन

आफ्ना नागरिक छुटाउन चिनियाँ दूतावासको ‘दौडधूप’

जिल्ला अदालत कास्कीले मुद्दाको सुनुवाई गर्दै चिनियाँ नागरिक च्याङफेनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश जारी गर्‍यो । जिल्ला अदालतको आदेशानुसार अहिले उनी थुनामा छन् ।

तर, नेपालस्थित चिनियाँ दूतावासका अधिकारीले भने उनलाई छुटाउन विभिन्न ‘चलखेल’ गरिरहेका जिल्ला सरकारी वकिलको कार्यालय कास्की स्रोतले खबरहबलाई जानकारी दियो ।

स्रोतका अनुसार नेपालस्थित चिनियाँ दूतावासका एक अधिकारी अहिले च्याङफेनलाई छुटाउन भन्दै पोखरामा सक्रिय छन् । केही दिन अगाडि मात्रै उनले कास्कीका प्रमुख जिल्ला अधिकारीलाई भेटेर ‘मुद्दा मिलाइदिन’ दवाव दिएका बुझिएको छ ।

यद्यपि कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले भने आफूसँग कुनै पनि चिनियाँ पक्षले दुर्घटनाको विषयमा नबुझेको प्रतिक्रिया दिए ।

‘सवारी दुर्घटनामा अंगभंग भएर उपचार नभएको अवस्था र क्षतिपूर्ति नपाएको भए उक्त मुद्दा हामीसँग आउने हो,’ प्रजिअ बुढाले खबरहबसँग भने, ‘उक्त दुर्घटनामा भने पीडित पक्षले क्षतिपूर्ति पाइसकेको छ । त्यसैले त्यसमा हाम्रो कुनै सरोकार छैन । मुद्दा अहिले अदालतमा पुगिसक्यो । अदालतले नै टुंग्याउने हो ।’

उच्च अदालतबाट आदेश उल्ट्याउने ‘चलखेल’

सवारी ज्यानसम्बन्धी मुद्दामा तल्लो (जिल्ला) अदालतको मुद्दामा पुनरावलोकन जाने अवस्था कमै हुन्छ । तर, चिनियाँ नागरिक च्याङफेनविरुद्धको मुद्दामा भने जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालतमा रिट दायर भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय स्रोतले च्याङफेनविरुद्धको मुद्दामा जिल्ला अदालतले जारी गरेको आदेशविरुद्ध उच्च अदालतमा रिट दायर भएको खबरहबलाई जानकारी दियो ।

‘अहिले उच्च अदालतमा रिट दायर भएको भनेर हाम्रो यहाँ भएको फाइल (मिसिल) उच्च सरकारी वकिल कार्यालयमा मगाइएको छ,’ जिल्ला सरकारी वकिल कार्यालय स्रोतले खबरहबलाई भन्यो, ‘जिल्ला अदालतले जारी गरेको आदेशविरुद्ध उच्चमा रिट दायर भएको बुझिएको छ ।’

तर, उच्च अदालत स्रोतले भने उच्च अदालतमा दायर भएको मुद्दा पेशीमै नचढेको जनाएको छ । खबरहबको सम्पर्कमा आएका उच्च अदालत पोखराका एक अधिकारीले भने, ‘सवारी ज्यानसम्बन्धी जिल्ला अदालत कास्कीले जारी गरेको थुनछेक आदेशविरुद्ध यहाँ रिट दायर भएको कुरा जानकारी आएको छ । तर, उक्त मुद्दा पेशीमा भने चढेको छैन ।’

न्यायाधीशको मिलेमतोमै चलखेल ?

चिनियाँ नागरिक च्याङफेनविरुद्धको सवारी ज्यान मुद्दामा जिल्ला अदालतले जारी गरेको थुनछेक आदेशविरुद्ध उच्च अदालतमा रिट दायर भए पनि पेशीमा चढेको छैन । तर, उच्च अदालतका न्यायाधीशले भने मुद्दाको अध्ययनका लागि उच्च सरकारी वकिल कार्यालयमार्फत जिल्ला सरकारी वकिलको कार्यालय कास्कीबाट दुर्घटनासम्बन्धी फाइल (मिशिल) झिकाइसकेका छन् ।

‘एकजना श्रीमन् (उच्च अदालतका न्यायाधीश)ले अध्ययनका लागि भन्दै मिसिल मगाउनुभएको कुरा हामीलाई पनि जानकारीमा आएको छ,’ उच्च सरकारी वकिलको कार्यालय पोखराका एक अधिकारीले खबरहबसँगको कुराकानीमा भने, ‘त्यसैले अहिले उक्त मिसिल जिल्ला सरकारी वकिल कास्कीबाट झिकाइएको छ ।’

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ६ : १३ बजे

साइबर अपराधको आरोपमा एक महिला पक्राउ

काठमाडौं – सामाजिक सञ्जालबाट चरित्र हत्या हुने अभिव्यक्तिहरू प्रसारण गरी

पाकिस्तानका शिक्षकले ८ महिनादेखि पाएनन् तलब

काठमाडौं – आठ महिनादेखि तलब नपाएको भन्दै पाकिस्तानको खैबर पख्तुनख्वाका

भारत र अस्ट्रेलियाका सेना पुणेमा संयुक्त सैन्य अभ्यास गर्दै

काठमाडौं – भारत र अस्ट्रेलियाले तेस्रो संस्करणको संयुक्त सैन्य अभ्यास

आजदेखि ऐतिहासिक नमोबुद्ध जात्रा

काभ्रेपलाञ्चोक – नमोबुद्ध नगरपालिका–११ स्थित ऐतिहासिक त्था पर्यटकीयस्थल नमोबुद्धमा आज

शान्तिश्री र नेत्रको स्वरमा ‘आधा मुटु’ सार्वजनिक (भिडियो)

काठमाडौं – अभिनेता सुशान्त कार्की र मोडल तथा अभिनेत्री गरिमा