राष्ट्रियसभा निर्वाचन : कसरी हुन्छ सिटको पँजनी ? « Khabarhub

राष्ट्रियसभा निर्वाचन : कसरी हुन्छ सिटको पँजनी ?



काठमाडौं- माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन भर्सेस एमाले हुने निश्चितप्रायः भएको छ । निर्वाचन आयोगले मनोनयन दर्ताको समय पुस २३ सम्मलाई तोकेको छ ।

शनिबार बसेको गठबन्धनको बैठकमा एमालेलाई राष्ट्रियसभामा सामेल नगराउने गठबन्धनका नेताहरूका बीचमा सहमति जुटेसँगै गठबन्धनमा एमालेको प्रवेशले बढेको आशंकाको पारो शून्यमा झरेको छ । टीआरसी विधेयकमा सघाउनु परे आफूलाई ६ सिट दिनुपर्ने मोलतोलमा रहेको एमालेप्रति माओवादी लचिलो भएपनि कांग्रेस र नेकपा एकीकृत समाजवादी तयार नभएपछि अन्य सम्भावनाको ढोका बन्द भयो ।

एमालेलाई ३ सिट दिन सक्ने माओवादीले आश्वासन दिएको थियो । तर एमाले सचिवालय बैठक बसेर १९ स्थानमा उम्मेदवार खडा गर्ने निर्णय सार्वजनिक भइसकेको छ ।

कसरी हुन्छ सिटको पँजनी ?

२० सिट खाली भएपनि १ सिट मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । यसो हुँदा १९ सिटका लागि गठबन्धनमा भाग लाग्छ ।

१९ मध्ये नेपाली कांग्रसले ९ सिट पाउनुपर्ने अडान लिएको छ । तर उसले ७ सिट मात्र पाउने देखिन्छ । कांग्रेसलाई अध्यक्षसहित ७ सिट दिने आन्तरिक सहमति भएको बताइएको छ ।

कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले खबरहबलाई भने, ‘९ सिटमा दाबी कायम छ । ठूलो पार्टी नेता मिलाएर लानुपर्छ नि । साना दललाई पनि मिलाएर लानुपर्ने भएकाले १ सिट तलमाथि होला ।’

कांग्रेसका अर्का नेताका अनुसार नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई पनि १–१ सिट दिनुपर्ने र जसपालाई पनि मिलाउनुपर्ने भएकाले कांग्रेसको ७ सिट मात्र पर्ने सम्भावना छ ।

ती नेताले भने, ‘पाउनुपर्ने ८ हो तर जसपाले २ मागेको हुनाले राष्ट्रपतिबाट मनोनीत कांग्रेसलाई राखेर जाउँ कि भन्ने छ । फेरि अध्यक्ष पनि हामीले पाउने हो । गठबन्धनमा असर नहुने गरी मिल्छौँ । मिलाउँदै छौँ ।’

जसपा अध्यक्ष उपेन्द्र यादव भन्छन्, ‘मिलाएर जाने हो । सबैलाई गठबन्धनमा समान व्यवहार हुन्छ । हाम्रो माग पूरा हुन्छ । नेपालमा सबैजसो निर्णय अन्तिम अन्तिममा हुने प्रचलन छ ।’ उनी २ सिट पर्नेमा विश्वस्त देखिन्छन् ।

सम्पूर्ण कुरा आन्तरिक छलफलमै भएकाले बेलुकासम्म या भोलि मात्र सिटको टुङ्गो लाग्न आङ्देम्बेले बताए । यस्तै, माओवादी केन्द्रले ६ सिटमा दावी गरेको छ । तर उसले ५ सिट मात्र पाउने छ । माओवादीका एक नेताले खबरहबलाई भने, ‘फाइनल ५ सिट हो ।’

माओवादी केन्द्रका महासचिव देव गुरुङ भन्छन्, ‘सिटमा त सबै मिलेर जाने हो । आफ्नो सिट यथावत् राखेर एमालेको ९ सिट मात्र भाग लगाउने हो । यसो हुँदा सिटमा समस्या छैन । तर छलफल त हुनुपर्छ नि । बेलुका पनि छलफल छ । भोलि पनि होला ।’

यस्तै, एकीकृत समाजवादीले ४ सिट पाउनुपर्ने अडान लिएको छ । तर उसले ३ सिट मात्र पाउने समाजवादी सचिवालयका एक नेताले बताए । उनले भने, ‘३ सिट मात्र मिल्ने जस्तो छ । राष्ट्रपति मनोनीत हुने हामीलाई चाहियो भनेका छौँ । हेरुम के हुन्छ ।’

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरी आफ्नो १ सिट सुरक्षित रहेको बताउँछन् । रेशमले भने, ‘सूदुरपश्चिममा हाम्रो १ भाग सुरक्षित छ । गठबन्धन सकारात्मक छ ।’

यस्तै, जनमत पार्टीका अध्यक्ष सिके राउत पनि आफ्नो पार्टीले मधेस प्रदेशमा १ सिट पाउनेमा ढुक्क छन् । उनी भन्छन्, ‘हाम्रो मधेसमा १ सिट पाउनुपर्ने माग हो । त्यो माग पुरा हुन्छ । गठबन्धनमा कुनै खटपट छैन ।’

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी मुख्य निर्णयक भूमिकामा छन् । यसबाहेक सत्ता गठबन्धनमा नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा पनि छन् ।

फागुन २१ मा रिक्त हुने राष्ट्रियभाका २० सिटमध्ये पदावधि सकिनेमा एमालेका ९, गठबन्धनतर्फ नेपाली कांग्रेसका ४, नेकपा माओवादी केन्द्रका ३, खिमलाल देवकोटासहित नेकपा एकीकृत समाजवादीका ३ र जसपाका पनि एक जना सांसद छन् ।

कुन प्रदेशबाट कति सिट खाली ?

कोशी प्रदेशबाट कांग्रेस रमेशजंग रायमाझी, एमाले मनोनित सांसद विमला पौड्याल राई र माओवादीका बिना पोखरेलको पदावधि सकिँदैछ । यो प्रदेशमा २ जनाको निर्वाचन हुनेछ ।

बागमतीमा एमालेका दिलकुमारी रावल र रामचन्द्र राईको पदावधि सकिँदैछ । एकीकृत समाजवादीका बागमतीबाट सिंगबहादुर विश्वकर्मा पनि मुक्त हुँदैछन् । बागमती प्रदेशबाट निर्वाचित स्वतन्त्र सदस्य खिमलाल देवकोटाको पनि पदावधि सकिँदै छ । यो प्रदेशमा ४ पदका लागि निर्वाचन हुनेछ ।

मधेसबाट जसपाकी प्रमिला कुमारी र कांग्रेसका जितेन्द्रनारायण देवको पदावधि सकिँदैछ । यो प्रदेशबाट २ पदका लागि निर्वाचन हुनेछ ।

त्यस्तै, गण्डकी प्रदेशबाट एमालेका गणेश तिमिल्सेना र दीपा गुरुङको सकिँदै छ भने कांग्रेसका प्रकाश पन्थको पदावधि सकिँदैछ । गण्डकीबाट ३ सिटका लागि निर्वाचन हुनेछ ।

लुम्बिनीबाट कांग्रेसकी अनिता देवकोटा र एमालेका कुमार दसौदीको पदावधि सकिँदै छ । यो प्रदेशबाट २ पदका लागि निर्वाचन हुने छ ।
कर्णाली प्रदेशबाट एमालेका नरपति लुवार र भैरवसुन्दर श्रेष्ठ र एकीकृत समाजवादीका नन्दा चापागाईको पदावधि सकिँदैछ । कर्णालीबाट ३ पदका लागि निर्वाचन हुनेछ ।

त्यस्तै, सुदूरपश्चिमबाट माओवादीका हरिराम चौधरी, महेशकुमार महरा र एमालेका इन्दु कडरिया पनि विदा हुँदै छन् । यो प्रदेशबाट राष्ट्रिय सभामा ३ पदका लागि निर्वाचन हुनेछ ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ४ : ४४ बजे

निर्णायक घडीमा प्रदीप ज्ञवालीको अपिल : ओली नेतृत्वको टोलीलाई जिताऔँ

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा

शुक्लाफाँटाको बन्साहमा बहुलाहा कुकुरको आतङ्क

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा दुई दिनदेखि बहुलाहा कुकुरको आतङ्क

स्थानीयको पहलले भोजपुरमा ‘पेमा छ्योलिङ गुम्बा’ निर्माण

भोजपुर– स्थानीयवासीको पहल, श्रम र आर्थिक सहयोगबाट भोजपुर सदरमुकाम नजिकैको

विदेशमा अध्ययनका लागि बाहिरियो ४२ अर्ब ९६ करोड रुपैयाँ

काठमाडौं– देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि

जर्मनीको अनलाइन बैङ्क एनमाथि प्रतिबन्ध

फ्र्याङ्कफर्ट – जर्मनीका वित्तीय नियामकले अनलाइन बैङ्क एन–२६ माथि नयाँ