काठमाडौं – शिव परियारको चर्चित गीत छ–
‘पिउदिनँ भन्दाभन्दै पिलायो साथीले / म छु भनी भरोसा दिलायो साथीले…………।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको काम गराइको धुन यही गीतजस्तो भएको छ ।
कार्यकालको एक वर्ष पूरा भएको उपलक्ष्यमा पुस १० गते प्रधानमन्त्री दाहालले देशबासीका नाममा सम्वोधन गर्दा के भनेका थिए ? एकपटक सम्झौैं–
‘आत्मसमीक्षाका साथ म सार्वजनिक घोषणा गर्दछु, अब सरकारको कार्यशैली बदलिनेछ । केही पूर्वनिर्धारित र अपरिहार्य बाहेक म बाहिरका कुनै पनि कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी एवं विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने निष्कर्षमा छु । सरकारको कार्यशैली बदल्न यो पनि एउटा प्रस्थानविन्दु हुनेछ । यही साता म प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्दैछु । सिंगो राज्यका लागि त्यो एउटा संकेत र सन्देश हुनेछ ।’
प्रधानमन्त्री दाहालले यो पनि भनेका थिए, ‘अब म एक– एकवटा कामलाई बेग्लाबेग्लै डालोमा राख्ने अनि समस्याको जरो छाडेर हाँगा छिमल्ने गल्ती गर्दिँनँ ।’
प्रधानमन्त्री दाहाल अब अति आवश्यक नभई कार्यक्रमहरुमा जाँदैनन् र कार्यालय समयमा सिंहदरबार गएर सुशासनसहितको सेवामा लाग्ने कुरामा उनका समर्थक आशावादी थिए । तर, प्रधानमन्त्रीको सम्बोधनबाट उत्साही बनेका नागरिकको उत्साह भने २४ घण्टा पनि टिक्न सकेन ।
पुस १० पछि प्रधानमन्त्री दाहालले के–के गरे त ? एकपटक हेरौं ।
–पुस ११ गते गोरखाको बारपाक सुलिकोटमा आयोजित कार्यक्रममा सहभागी ।
–पुस १४ गते संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा राष्ट्रिय सभामा आयोजित कार्यक्रममा सहभागी ।
–पुस १८ गते १६ औं राष्ट्रिय इञ्जिनियरहरुको सम्मेलनलाई सम्वोधन
–पुस १९ गते रोमछापको सुनापति गाउँपालिकाको प्रशासकीय भवन उदघाटन ।
–पुस १९ गते रामेछापको बेथानमा २७ औं बलिदानी दिवसमा सहभागी ।
–पुस २३ गते राष्ट्रिय नाचघरमा आयोजित माओवादीको वागमती स्तरीय बैठकमा सहभागी ।
अत्यावश्यक बाहेक उदघाटन तथा अन्य काममा बाहिर नजाने घोषणा गरेका दाहाल घोषणाको २४ घण्टा नबित्दै आफू निर्वाचित जिल्ला गोरखा पुगे । हेलिकोप्टर चढेर गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको कार्यक्रममा पुगेका प्रचण्ड भर्खरै बैवाहिक बन्धनमा बाँधिएकी नातिनीको घरसम्म पुगे । सामाजिक सञ्जालमा उनी नातिनीको घर पुगेकोदेखि नातिनी ज्वाइसँगको परिवारसँग खिचेको तस्बिरलाई लिएर आलोचना भयो । उनको सचिवालयले स्पष्टीकरण नै दिनु पर्ने अवस्था आयो ।
आफ्नै बोलीमा २४ घण्टा टिक्न नसकेका प्रधानमन्त्री दाहाल पुस १९ गते रामेछाप पुगे । सरकारी स्रोत साधन खर्च गरेर रामेछापमा प्रधानमन्त्री नै जानुपर्ने आवश्यकता के थियो ? त्यहाँ रामेछापको सुनापति गाउँपालिकाले भवन उदघाटन कार्यक्रमको आयोजना गरेको थियो । गाउँपालिका भवनको उद्घाटनमा प्रधानमन्त्री नै पुग्नुपर्ने हो त ? के यसरी प्रधानमन्त्री दाहाल सबै पालिकाको भवन उद्घाटनमा पुग्न सम्भव हुन्छ ? यो बहसको विषय हो ।
गाउँपालिकाको कार्यालय उद्घाटन गर्न आवश्यक ठानेका प्रधानमन्त्री दाहालले धरान उपमहानगरपालिकाको स्थापना दिवसको निम्तोलाई चाहिँ रामेछापको भन्दा महत्वपूर्ण ठानेनन् । किनभने, प्रधानमन्त्रीलाई बेथानमा पार्टीको कार्यक्रममा जाने बाहना चाहिएको थियो, त्यसका लागि पालिकाको भवन उद्घाटन गर्ने र त्यही सरकारी खर्चमा सरकारी हेलिकोप्टर चढेर पार्टीको कार्यक्रममा सहभागी हुने ‘सेटिङ’ मिलाइयो ।
धरानमा चाहिँ काठमाडौंका मेयर बालेन्द्र शाह सहभागी भए र धरानेहरुको विश्वास जितेर स्वतन्त्र जनमतलाई ‘क्यास’ गरेर आए ।
यो पनि-
बालेन्द्रले यसरी गरे हर्क साम्पाङ र धरानबासीको प्रशंसा
प्रधानमन्त्री दाहालले पुस १० को सम्वोधनमा भनेका थिए, ‘यही साता म प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्दैछु । सिंगो राज्यका लागि यो एउटा संकेत र सन्देश हुनेछ ।’
यसबीचमा प्रधानमन्त्री कार्यालयमा रहेका दरबन्दीमध्ये तीनजना सचिव र सात सहसचिवसमेत ६८ जनाको दरबन्दी कटौती गरिएको र खाजा खर्च जोगाइएको प्रधानमन्त्री सचिवालयको भनाइ छ । यो प्रयास भने सकारात्मक नै देखिएको छ ।
त्यस्तै, दुई साताकोबीचमा प्रधानमन्त्री दाहालले सिँचाइ मन्त्रालयका अधिकारीहरुलाई बोलाएर ब्रिफिङ लिने काम गरे । त्रिविको उपकुलपति नियुक्तिको सूचना सच्याउन शिक्षा मन्त्री अशोक राईलाई बोलाएर निर्देशन दिए । भारतले नेपालमा गरिएको २० करोड खर्च गर्न पाउने गरी भएको सम्झौताबारे संसदको राज्यव्यवस्था समितिमा उपस्थित भएर जवाफ दिए । संवैधानिक परिषदसम्बन्धी विधेयक समितिमा टेबल गरे । यही साताबाट सरकारको नीति कार्यक्रम र बजेटको प्रक्रिया सच्याउने कामको थालनी गरिएको उनले बताएका छन् ।
कहिलेसम्म ओगटिरहने ?
प्रधानमन्त्री दाहालले पुस १० को सम्वोधनमा कार्यसम्पादन राम्रो नदेखाउने मन्त्रीलाई हटाउने संकेत गरेका थिए । काम गर्न नसके आफूले पनि पद ओगट्न नहुने प्रधानमन्त्रीको भनाइ थियो । सम्वोधनमा उनले भनेका थिए–
‘आज म जनतालाई साक्षी राखेर माननीय मन्त्रीहरुलाई पनि भन्न चाहन्छु, हामीलाई असफल हुने छुट छैन । कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्न सक्ने अवस्था र मनस्थितिमा छैन । हामी सबै आ–आफ्नो भूमिका माथि न्याय गर्नैपर्ने नैतिक दबावमा छौं । कार्यक्षमता प्रमाणित गर्न सकेनौं भने कसैले पनि अब ठाउँ ओगटिरहनुहुँदैन, छाडिदिनुपर्छ ।….देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पद ओगटिइरहन जरुरी छैन ।’
काम गर्न नसकेका मन्त्रीलाई प्रधानमन्त्रीले अब कहिलेसम्म कुर्लान् ? यो भने हेर्न बाँकी छ । तर, स्वयं प्रधानमन्त्री आफैंले पनि बोलेका कुरा पूरा गरेको देखिँदैन ।
अन्त्यमा, फेरि उही शिव परिवारकै गीतको एक अन्तरा–
पिएर नसा चढ्दा के होसमा हुन्थ्यो कोही
बेहोसीमै पनि नजर मिलायो साथीले
पिउदिनँ भन्दा भन्दै पिलायो साथीले……
प्रतिक्रिया