'नेपालको बजार बिचौलिया व्यापारीको कब्जामा छ' | Khabarhub Khabarhub

‘नेपालको बजार बिचौलिया व्यापारीको कब्जामा छ’

सरकारको अनुगमन कर्मकाण्डी भयो, उपभोक्ता जाग्नुपर्छ


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 7 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दु नेपालीहरूका महान पर्व दशैँ, तिहार र छठलगायत महत्वपूर्ण चाडपर्व नजिकिँदै छन्‌ । दशैँ लाग्नुअघि नै बजारमा लत्ताकपडा, तरकारी, फलफूल र माछामासु लगायत उपभोग्य वस्तु किनमेल गर्न आम नागरिकको भीडभाड लाग्ने गर्छ ।

तर, चाडपर्वकै मौका छोपी बजारमा उपभोग्य वस्तु तथा सेवाको कृत्रिम मूल्यवृद्धि हुने गरेको छ । त्यतिमात्र होइन, ठूलो परिमाणमा वस्तु तथा सेवाको खरिदबिक्री हुने हुँदा कतिपय व्यापारीहरूले गुणस्तरहीन र अखाद्य वस्तुसमेत बेच्ने गरेको गुनासो उपभोक्ताहरूले गर्दै आएका छन् । सरकारले पनि चाडपर्वका बेला कर्मकाण्डी बजार अनुगमन गर्ने गरेकाले बजार सुध्रिन नसकेको सरोकारवालाहरूले बताउने गरेका छन् । बजारमा भइरहेको मूल्यवृद्धि, कालोबजारी र कार्टेलिङ रोक्न न सरकारले सकिरहेको छ, न त उपभोक्ताले सर्वसुलभ मूल्यमा गुणस्तरीय वस्तु नै पाएका छन् ।

चाडपर्वका बेला बजार अनुगमनमा सरकारको भूमिका र प्रभावकारिता, बजारको अवस्था र उपभोक्ताको हितका विषयमा केन्द्रित रहेर खबरहबका संवाददाता हरिप्रसाद शर्माले उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनासँग गरेका कुराकानीको सम्पादित अंशः

चाडपर्व नजिकिँदै छ, बजारमा उपभोग्य वस्तुको मूल्य बढेको गुनासो सुनिन्छ । चिनी, तेल, चामल र तरकारीको मूल्य दिनहुँ बढिरहँदा उपभोक्ताको भान्सामा महँगिएको छ । उपभोक्ता हितका सन्दर्भमा अहिले बजारको अवस्था कस्तो देख्नुहुन्छ ?

सरकारको कमजोर उपस्थितिका कारण नेपालको बजार कृत्रिम अभाव, कालोबजारी र सिन्डिकेटमा गाँजिएको छ । जसकारण हुँदा खाने र गरिब वर्गको भान्सा अत्यधिक महँगिएको छ । चिनी, तेल र चामललगायत वस्तुमा सरकारको नियमन र अनुगमन कमजोर हुने तथा व्यवसायीले इमान्दारीपूर्वक व्यवसाय नगरेका कारण अचाक्ली महँगिएको छ । फलस्वरुप दशैँ र तिहारजस्ता चाडहरू उपभोक्ताले खुसी भएर मान्ने अवस्था छैन ।

यतिबेला ‘म बजार गएर लुटिएँ, ठगिएँ’ भन्ने अवस्था आइसकेको छ । उपभोक्ताको हित र बस्तु तथा सेवाको गुणस्तरमा सरकारले ध्यान नदिएको हो कि बजार नै नियन्त्रण बाहिर गएको हो ?

उपभोक्ता हित सरकारको प्राथमिकतामा नपरेको कारणले अहिले बजारको अवस्था बिग्रिएको हो । नेपालको संविधान २०७२ को धारा ४४ (ख) ले प्रत्येक उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा प्रयोग गर्ने कुरालाई मौलिक अधिकारका रूपमा व्याख्या गरेको छ ।

उपभोक्ताको मौलिक अधिकारलाई संरक्षण गर्न सरकारले जे–जे काम गर्नुपर्ने थियो – त्यो काम नगरेको कारण महँगी बढेको हो, कालाबजारीयाहरूले कालोबजारीयाहरूले रजगज चलाइरहेका हुन् ।

७५३ वटै पालिकाहरूलाई उपभोक्ता हितसम्बन्धी कानून बनाइदिने, प्रदेश सरकारले पनि नागरिकको हित र गुणस्तर हेर्ने संयन्त्र बन्न सकेको छैन । संघमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उपभोक्ताको हित र वस्तु तथा सेवाको बिक्री वितरणमा काम गरिरहे पनि प्रभावकारी हुन भने सकेको छैन ।

उपभोक्ता हितलाई केन्द्रमा राख्ने खालको छुट्टै सरकारी संयन्त्र विकास नगरेसम्म एउटा नागरिक बिहान बजार गएर बेलुका घर फर्कंदा ‘म ठगिएँ, लुटिएँ’ भनेर निराश हुने अवस्था कायमै रहन्छ । उपभोक्ता हितको विषयलाई सरकारको प्राथमिकतामा पार्न सबै सरोकारवाला निकायले दबाब दिन जरुरी छ ।

बिचौलिया व्यापारीले बजारमा वस्तुको कृत्रिम अभाव निम्त्याउँदै मुनाफा लिने र उपभोक्ता ठग्ने काम गरे भनिन्छ । के बजार बिचौलिया व्यापारीले नै चलाएका हुन् ?

एकदमै हो । अहिलेको बजार बिचौलिया व्यापारीकै कब्जामा छ । बिचौलिया र तस्करहरूले नै बजार चलाइरहेको पर्याप्त प्रमाण छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी आयातमा पूर्ण प्रतिबन्ध लगाएका वस्तुहरू बजारमा खुलमखुला बिक्री वितरण भइरहेको छ ।

भारत सरकारसँग जीटुजीमा खरिद गरेर ल्याउनुपर्ने काजु, किसमिस, छोकडा, बदाम, मरिच, केराउ, चिनी र चामलजस्ता वस्तुहरू वैधानिक बाटोबाट आइरहेको छैन । यी सबै बस्तुहरू नेपाली बजारसम्म तस्करीको माध्यमबाट ल्याएर बिक्रीवितरण भइरहेको छ

उपभोक्ता संरक्षण ऐन, २०७५ ले बजारको तह तोक्ने भनेको छ । यो ५/६ वर्षको अवधिमा हामीले तह तोक्ने अभ्यास पनि नगरेपछि बजार स्वतः तस्करका हातमा छ भन्ने पुष्टि हुन्छ । एकाधबाहेक राम्रो काम गर्ने व्यवसायीहरू टिक्नै सकिरहेका छैनन्‌ । सरकारको सबैभन्दा महत्वपूर्ण दायित्व भनेको बिचौलिया व्यापारीलाई निस्तेज पार्नु नै हो ।

‘बाह्रै महिना बजार नियमित अनुगमन गरिरहेको’ सरकारी अधिकारीहरूको दाबी हुन्छ । आम उपभोक्ता चाहिँ सधैँ मूल्य, गुणस्तर, परिमाण, तौललगायतका कारणबाट लुटिने स्थिति कसरी बनेको हो ?

नेपाल सरकारको प्राथमिकता उपभोक्ताको हित संरक्षण गर्नुपर्छ भन्ने नै देखिँदैन । हामी उपभोक्ता अधिकारकर्मीहरूले विगतदेखि उपभोक्ता हित कायम गर्न निरन्तर पहल गर्दै आयौं ।

सरकारी संयन्त्रहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने, चुस्त र पारदर्शी बनाउने, अनुगमन र नियमन गर्न छुट्टै संयन्त्र विकास गर्ने, उपभोक्तालाई जागरुक बनाउन सचेतना कार्यक्रमहरू सञ्चालन गर्ने र इमान्दार व्यापारीलाई पनि सहज रूपमा व्यवसाय गर्न उपभोक्ता र वितरणसम्बन्धी नीति जारी गर्न प्रयास गर्ने गर्नुपर्छ । आयातलाई विस्थापित गर्दै उत्पादनमूखी अर्थतन्त्रमा जोड दिने खालको नीति अत्यावश्यक छ ।

कागजमा होइन, नागरिकले अनुभूति गर्ने खालको उपभोक्ता र वितरण नीति बन्नुपर्छ । राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने, खराब र बिचौलिया व्यापारीलाई कारबाहीको दायरामा ल्याउन सरकारी संयन्त्रले प्रभावकारी रूपमा काम गर्नुपर्छ । मुलुकमा विधिको शासन कायम गर्न उपभोक्ताको हित र बजारमा बिचौलिया नियन्त्रण गर्नु अहिलेको प्रमुख आवश्यकता हो ।

सरकारले गर्ने अनुगमनलाई यहाँले कसरी हेर्नुभएको छ ? यस्तै अनुगमनको निरन्तरताले बजार साँच्चै सुध्रिएला त ?

अहिलेकै अनुगमनले बजार सुध्रिने देखिँदैन । विगत १४/१५ वर्षको अनुभवले के सिकायो भने हामीले विशेष संयन्त्र बनाएर ३६५ दिन नै स्वस्थ, दुरुस्त र प्रभावकारी अनुगमन गर्न सकियो भने बजार सुधार हुन्छ । त्यसका लागि छुट्टै विशेष सरकारी संयन्त्र बन्नुपर्छ ।

संविधानले पनि उपभोक्ता हितलाई सबै सरकारको साझा विषय हो भनेर किटान गरेको छ । सम्बन्धित निकायहरू जिम्मेवार बन्नुपर्छ

उपभोक्ताका विषयलाई लम्बिँदो अदालती प्रक्रियामा पुर्‍याउनुभन्दा कानूनी रूपमा नै टुङ्ग्याउनुपर्छ । व्यापारीले गलत गरेको छ भने तत्काल कारबाही प्रक्रियामा लैजाने र असल तथा इमान्दार व्यापारीलाई राज्यले पुरस्कृृत समेत गर्नुपर्छ ।

त्यसकारण जिम्मेवार राज्य, इमान्दार व्यवसायी, सचेत र सक्रिय उपभोक्ता निर्माण गर्न राज्य र मातहत निकायबाट जे–जे काम गर्नुपर्ने थियो – त्यो काम भएको छैन । अहिले भएका संघीय निकायले पनि वार्षिक कार्ययोजना पूरा गर्न र बजेट सक्नमात्र संख्यात्मक रूपमा बजार अनुगमन बढाएका हुन् । तर, गुणात्मक रूपमा अनुगमन थप प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन ।

यही परिपाटी, ढर्रा र संयन्त्रले कुनै पनि नतिजा दिन सक्दैन । मै त भन्ने गरेको छु – अहिलेको बजार अनुगमन गर्ने निकायहरू असफल भइसकेका छन् । अब पूर्ण रूपमा नयाँ खालको प्रविधि, विधि र पद्धति अङ्गीकार नगरेसम्म बजारमा सकारात्मक परिवर्तन आउन सक्दैन ।

मुलुक संघीयतामा प्रवेश गरेपछि स्थानीय सरकार सञ्चालन ऐनबमोजिम स्थानीय सरकारले पनि बजार अनुगमन गर्दै आएको छ, तर जताततै उपभोक्ताको गुनासो किन आइरहेको होला ?

अहिले संघ र स्थानीय सरकारबीच बजार अनुगमनमा मात्र होइन, कुनै पनि कार्यक्रम सञ्चालनका सन्दर्भमासमन्वय हुन सकेको छैन । स्थानीय सरकार भनेको राजनीतिक संयन्त्र पनि हो ।

सानो पालिकाभित्र आफ्ना मतदाता, आफ्नै चन्दादाता र केही न केही परिचित मान्छेहरू हुन्छन् । त्यसकारण निरपेक्ष भएर कडाइका साथ अनुगमन र कारबाही गर्ने कुरामा स्थानीय सरकारहरू चुकिरहेका छन् ।

स्थानीय सरकारबाट उपभोक्ता हितको विषयमा नतिजा निकाल्नसक्ने अवस्था छैन । तै पनि संविधानले नै तरकारी, माछामासु, कृषि बजार, हाट बजार व्यवस्थापन, स्थानीय बजार व्यवस्थापन गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ । स्थानीय सरकार सञ्चालन ऐन र उपभोक्ता संरक्षण ऐन, २०७५ ले पनि स्थानीय बजार व्यवस्थापन गर्ने जिम्मा स्थानीय सरकारलाई दिएको छ ।

एकाध बाहेकका पालिकाले बजार अनुगमनलाई त्यति प्रभावकारी रूपमा अघि बढाउन सकेका छैनन् । केही सुरुवात गरेका पालिकाहरूले पनि ‘सिजनल’ रूपमा बजार अनुगमन गरेजस्तो देखिन्छ । प्रभावकारी र सर्वसाधारणले अनुभूत गर्नेगरी बजार व्यवस्थापन हुन सकेको छैन ।

संघीय सरकारले अभिभावकत्व ग्रहण गरेर प्रदेश र स्थानीय सरकारबीच समन्वय गराएर बजार अनुगमन र नियमन कार्यलाई चुस्तदुरुस्त बनाउनुपर्ने आवश्यकता देखिन्छ । त्यसकारण, बजार अनुगमनमात्रै होइन, समग्र उपभोक्ताको हितका लागि अन्तरनिकाय समन्वयन हुन जरुरी छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ कार्यान्वयनमा आइसक्दा पनि सरकारले सामान्य जरिवाना गराएर बिचौलिया व्यापारीलाई किन उन्मुक्ति दिइरहेको होला ?

उपभोक्ता संरक्षण ऐन, २०७५ ले पाँच हजारदेखि तीन लाख रुपैयाँसम्म जरिवाना लगाउनसक्ने व्यवस्था गर्‍यो । राजस्व त उठायो, तर त्यसको प्रत्यक्ष प्रभाव बजारमा पार्न र उपभोक्ताले अनुभूति गर्न मूल्य, गुणस्तर र नापतौलमा एकरुपता कायम गर्न सकेको छैन ।

संविधान प्रदत्त नागरिक र उपभोक्ताको अधिकार स्थापित गर्न बजारमा हुने सबै खालका कार्टेलिङ, कालोबजारी र मूल्यवृद्धि नियन्त्रणका लागि जे काम गर्नुपर्ने थियो – त्यो काम नगरेको कारणले मैले उपभोक्ता संरक्षण ऐन, २०७५ पुर्नलेखन गर्नुपर्छ भनेको हुँ ।

बिगोअनुसार कारबाही गर्नुपर्छ । तीन लाख रुपैयाँ लगानी गरेका पसललाई पनि तीन लाख रुपैयाँ र तीन अर्ब रुपैयाँ लगानी गरेका पसललाई पनि तीन लाख रुपैयाँ जरिवाना गरेर एकरूपता कायम हुन सक्दैन

अर्बौ/खर्बौ रुपैयाँ लगानी गरेका व्यापारीलाई अधिकतम तीन लाख रुपैयाँ जरिवाना गराउनु भनेको उन्मुक्ति दिनुसरह नै हो । त्यस्ता ठूला उद्योगी/व्यापारीहरूले कार्टेलिङ गरेर करोडौं नाफा कमाउँदा तीन लाख जरिवाना रुपैयाँ तिरेर उम्किने स्थिति हुनुहुँदैन भन्ने हाम्रो माग हो ।

हालको जरिवानाको व्यवस्था न्यायोचित छैन । त्यसकारण उक्त ऐन पुर्नलेखन गर्ने र बिगो तथा कैफियत अनुसारको जरिवाना लगाउँदा मात्रै बजार अनुगमन प्रभावकारी हुन्छ । अहिले त अनुगमन कर्मकाण्डी भयो भनी नागरिकले चर्को गुनासो गरिरहेका छन् ।

स्वच्छ र प्रतिष्पर्धी बजारमा उपभोक्ताले स्वस्थ र गुणस्तरीय सेवा प्रत्याभूत गर्न पाइरहेका छैनन् । अहिले पनि दूध, तरकारी, फलफूल, माछामासु ढुक्कसँग किनेर खानसक्ने अवस्था छैन ।

रेलदेखि रिक्सासम्म, हलोदेखि हाइड्रोसम्म, नुनदेखि सुनसम्म, ओठदेखि गोठसम्म र आलीदेखि थालीसम्म; कहीँ पनि उपभोक्ताले ढुक्कले सेवा लिन सक्ने अवस्था छैन । समयसापेक्ष कानून परिमार्जन गर्दै विधिको शासन पालना गर्न सबै सरकारी संयन्त्रहरूले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ ।

चाडबाडकै संघारमा महँगी बढ्दा उपभोक्ताले चुल्हो बाल्न नसक्ने अवस्था देखिएको छ, तपाईं लगायत उपभोक्तावादी माथि पनि उपभोक्ता ठगिँदा, समस्यामा पर्दा नबोलेको गुनासो भइरहन्छ ? उपभोक्ता हितको नारा भजाएर बिचौलिया र सरकारसँग मिल्नुहुन्छ भन्ने आरोप छ नि ! के भन्नुहुन्छ ?

त्यो फगत आरोपमात्र हो । हामी नबोलेका भए दैनिक रूपमा सरकारका निकाय र सञ्चारमाध्यमबाट उपभोक्ता हितका पक्षमा वकालत हुने थिएन ।

हामी उपभोक्ता अधिकारकर्मीहरूले उपभोक्ताको हित संरक्षण गर्न सरकारी निकायलाई पटक–पटक खबरदारी गर्दै आएका छौं । मूल्यवृद्धि, कार्टेलिङ, तस्करी र कालोबजारी नियमन नगरेसम्म उपभोक्ताहरू ठगिने स्थिति देखिएकाले जिम्मेवार राज्य, इमान्दार व्यापारी र सचेत र जागरुक उपभोक्ता हुनुपर्छ भनिरहेका छौँ ।

हामीले चाडपर्वका बेला तेल, चिनी र चामललगायत खाद्यवस्तुमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारका निकायलाई लिखित र मौखिक रूपमा ज्ञापनपत्र बुझाउने गरेका छौँ । हवाई टिकटको मूल्य बढाएको, कृत्रिम अभाव सिर्जना गरी वस्तुको मूल्यमा मनपरी भएकोबारे राज्यका निकायलाई सचेत रूपमा खबरदारी गर्दै आएका छौँ ।

हामी सरकारी अनुगमनमा सहभागी पनि भएका छैनौँ । बिचौलिया व्यापारी र तस्करहरूको प्रभाव र दबाबमा सरकारी संयन्त्र पर्ने गरेकाले उपभोक्ताका गुनासा र समस्या सम्बोधन हुन नसकेका हुन् ।

कालोबजारी, तस्करी, मूल्यवृद्धि र कार्टेलिङरहित बजार निर्माण गर्न सरकार र आम उपभोक्ताले के गर्नुपर्छ ?

सरकार विधिको शासनमा चल्नुपर्छ । भएका नीति र कानूनी व्यवस्था प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । कानूनी व्यवस्थाहरू उपभोक्ता हितअनुकूल सुधार गर्दै जानुपर्छ ।

असल व्यापारीलाई प्रोत्साहन र उपभोक्ताको हितविपरीत कार्य गर्ने जुनसुकै व्यक्ति वा संस्थालाई सरकारले संरक्षण गर्नुहुँदैन । बजार अनुगमन चाडपर्वमा मात्र होइन – ३६५ दिन नै कडाइका साथ गर्ने गर्नुपर्छ । आपूर्ति, बजार र उपभोक्ता नीतिमा सरकार स्पष्ट हुनुपर्छ ।

बजारमा खाद्यवस्तुको उचित मूल्य हुनुपर्‍यो । गुणस्तरीय वस्तु तथा सेवा प्रदान गर्नुपर्‍यो । नापतौल सही हुनुपर्‍यो । यदि कसैले कसैलाई ठगेको छ भने ठग्ने व्यक्तिउपर कडाभन्दा कडा कारबाही व्यवस्था गर्नुपर्छ । देशमा राज्य भएको अनुभूति हुनुपर्छ ।

अहिले सरकारप्रति नागरिकको वितृष्णा बढ्दै गएको छ । मूख्य राजनीतिक दल एमाले–कांग्रेसको संयुक्त सरकार छ । अहिलेको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मुलुकमा ‘सुशासन कायम गर्नुपर्छ’ भन्नुभएको छ । ‘सुशासन’ को मुख्य आधार बजार र उपभोक्ताको सन्तुष्टि नै हो ।

बजारमा सबै वस्तु तथा सेवाको उपलब्धता, गुणस्तर, वितरण र मूल्यदर पनि सही छ भने त्यहाँ मात्र उपभोक्ताले सन्तुष्टिको अनुुभूति गर्छ ।

अन्त्यमा, चाडपर्वमा बजारमा हुने गतिविधिबारे आम उपभोक्तालाई के भन्न चाहनुहुन्छ ?

विशेषगरी दशैँ, तिहार र छठपर्वको पूर्वसन्ध्यामा बजारमा विभिन्न किसिमका हल्ला तथा अफवाह फैलिन सक्छ । त्यस्ता हल्लाहरूको पछि नलागी उपभोक्ता हितको प्रभावकारी कार्यान्वयनमा सम्पूर्ण उपभोक्ताहरू सचेत र जागरुक बन्न जरुरी छ ।

अखाद्य वस्तुको बिक्री वितरण र खरिद नगर्ने, यात्रासहज रूपमा गर्ने, फजुल खर्च नगर्ने, कसैले गलत प्रलोभनमा पारेको छ भने नजिकको प्रहरी कार्यालयको सहायता लिने गर्नुपर्छ

कुनै गुनासो भए सरकारका नियमनकारी निकायमा खबर गर्न सकिन्छ । यत्तिका सञ्चारमाध्यम छन्, हामी उपभोक्ताको हितमा बोलिरहेका छौं ।

हरेक सचेत उपभोक्ताले आफ्नो नजिकको बजारमा भए गरेका कार्टेलिङ, ठगी, अस्वभाविक मूल्यवृद्धि गरेको भेटिए सम्बन्धित निकायमा तुरुन्त गुनासो गर्नुपर्छ । उपभोक्ता अधिकारको कुरा सबैको अधिकारको विषय हो । चाडपर्वका बेला उपभोक्ता नै सबैभन्दा सजग र सचेत हुनुपर्छ । कुनै वस्तु किन्दा त्यसको मूल्य, गुणस्तर, तौल, लेबलिङलगायत कुरामा उपभोक्ताले ध्यान पुर्‍याउनुपर्छ ।

उपभोक्ता स्वयम् सचेत भएर असल नागरिकले गर्नुपर्ने कर्तव्य पालना गर्नुपर्छ । यसो हुन सक्यो भने हाम्रो बजार र उपभोक्ताको हित संरक्षणमा केही टेवा पुग्ने देखिन्छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ७ : ३९ बजे

विराटनगरविरुद्ध लुम्बिनीले पूरा गर्‍यो १०० रन

काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेट अन्तर्गत बुधबार भइरहेको विराटनर किङ्सविरुद्धको

पातारासीमा फोरजी सेवा, स्थानीय सञ्चारको पहुँचमा

जुम्ला– पातारासी गाउँपालिका–२ मा नेपाल टेलिकमको टावर सञ्चालनमा आएपछि यहाँका

ग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट 

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४०

हात्तीबाट जोगाउन ‘एक घर, एक बत्ती अभियान’

बनियानी – झापाको हात्ती प्रभावित क्षेत्रमध्ये एक बिर्तामोड नगरपालिका–७ मा

लुम्बिनीले गुमायो दुवै ओपनर

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको विराटनर किङ्ग्स विरुद्धको खेलमा लुम्बिनीले