मानुङकोटले देशकै पर्यटनमा योगदान पुर्‍याउँछ : मन्त्री आचार्य « Khabarhub

मानुङकोटले देशकै पर्यटनमा योगदान पुर्‍याउँछ : मन्त्री आचार्य


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले मानुङकोटले देशकै पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने बताएका छन् । तनहुँको व्यास नगरपालिकाले आज आयोजना गरेको सातौँ व्यास नगर अल्ट्रा म्याराथनको व्यास नगरपालिका-५ मानुङकोटमा उद्घाटन गर्दै मन्त्री आचार्यले मानुङ पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको र यसले देशको पर्यटन क्षेत्रमा योगदान दिने उल्लेख गरेका छन् । 

उनले भने, ‘पछिल्लो समय मानुङकोट देश तथा विदेशमा प्रख्यात भइरहेको छ । यसले तनहुँको मात्रै समृद्धिमा टेवा दिँदैन देशकै समृद्धिमा योगदान दिन्छ ।’ मानुङकोटमा पर्यटकीय पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने बताउँदै उनले सङ्घ सरकारको समेत यसमा समर्थन रहने बताए ।     

नगरप्रमुख वैकुण्ठ न्यौपानेले खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धनका लागि म्याराथन आयोजना गरिएको बताए । प्रत्येक वर्ष धावकलाई दौडाउने मात्रै नभई यहाँको पर्यटन र संस्कृतिका बारेमा प्रचारप्रसार गर्नु उद्देश्य रहेको उनको भनाइ छ । 

व्यास नगरपालिकाअन्तर्गतका मगर र गुरुङ गाउँ जोड्ने अल्ट्रा म्याराथन आयोजना गरिएको हो । शहीद दिवसका अवसर पारेर व्यास नगरपालिकाले आज ४४ किमी दूरीको सातौँ व्यास नगर अल्ट्रा म्याराथन आयोजना गरेको हो । 

म्याराथनमा एक सय १६ धावकको सहभागिता रहेको छ । म्याराथनमा विभागीय टोली त्रिभुवन आर्मी क्लब, सशस्त्र र प्रहरीका धावकको समेत सहभागिता रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिएका छन् । 

प्रतियोगितामा तनहुँका अतिरिक्त कास्की, लमजुङ, गोरखा, धादिङ, चितवन, डोल्पा, रुकुम, काठमाडौँलगायत जिल्लाबाट धावकको सहभागिता रहेको छ । 

व्यास नगरपालिका–५ मानुङबाट सुरु म्याराथन मानुङकोट सिद्ध मार्ग हुँदै अलौँचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै व्यास नगरपालिका–८ पुलिमराङमा पुगेर सकिनेछ ।

त्यसका लागि व्यास–४ रेन्ज पोष्ट, व्यास–१० खहरे, व्यास–७ पाथ्रा, व्यास–७ सत्रसय, व्यास–८ रिस्ती सोतीवेशी, व्यास–८ वडा कार्यालय, व्यास–८ गाडापानीपुलिमराङमा चेकपोष्ट राखिएको छ । अल्ट्रा म्याराथनमा प्रथम हुनेलाई ८५ हजार ८०, द्वितीय हुनेलाई रु ६५ हजार ८०, तृतीय हुनेलाई ५५ हजार ८० र सान्त्वना हुने पाँच जनालाई जनही १६ हजार ८० नगद पुरस्कार प्रदान गरिनेछ । 

गत वर्ष जिल्लाभित्रका धावकलाई मात्रै सहभागी गराइएको थियो । गत वर्ष आयोजित म्याराथनको उपाधि व्यास–७ निवासी विशाल गुरुङले जितेका थिए । गत वर्ष ४४ किमी दूरी तीन घण्टा २९ मिनेट २६ सेकेन्डमा पूरा गर्दै गुरुङले उपाधि जितेका हुन् । 

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  १२ : २३ बजे

पाकिस्तानविरुद्ध इंग्ल्यान्डको जित, ह्यारी ब्रुकको शतक

काठमाडौँ- आईसीसी टी–२० विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध इंग्यान्डले जित हासिल गरेको छ

अदालतले आदेश दिए पनि छुटेनन् दुर्गा प्रसाईँ

काठमाडौँ- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा रिहा गर्न आदेश दिए पनि

काठमाडौंसहित विभिन्न जिल्लामा असिना पानी, सबभन्दा धेरै संखुवासभामा

काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार मौसम बदली हुँदा

निर्वाचन सुरक्षामा शंका गर्नुपर्दैन, ढुंक्क भएर मताधिकार प्रयोग गरौँ : प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारी र समग्र सुरक्षा अवस्थाबारे

धादिङमा चट्याङ पर्दा गोरखाकी विनिसाको मृत्यु

धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ खुर्सानीटामा चट्याङ पर्दा एक किशोरीको मृत्यु