सबै जातजाति र भाषाको संरक्षण गर्नुपर्छ : अध्यक्ष नेपाल « Khabarhub

सबै जातजाति र भाषाको संरक्षण गर्नुपर्छ : अध्यक्ष नेपाल


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा रहेका सबै जातजाति र भाषाको पहिचान गरी संरक्षणको दायित्व सरकारले पूरा गर्नुपर्ने बताएका छन् ।

जनकपुरधाममा आजदेखि सुरु भएको चौथो ‘जनकपुर साहित्य कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को उद्घाटन गर्दै अध्यक्ष नेपालले संविधानको भावनाअनुसार राज्यले सबै जातजाति तथा भाषाभाषीको संरक्षण गर्नुपर्ने बताए ।

“नेपालमा एक सय ३६ भन्दाबढी जातजाति, एक सय २५ भन्दा बढी भाषाभाषी छन् । ती सबैको पहिचान हुनुपर्छ र सबैको संरक्षणको दायित्व सरकारले लिनुपर्छ”, उनले भने, “त्यसका लागि सरकार र अरु सबै पक्षले सहकार्य गर्नुपर्छ । पहिचान जोगाउन सके मात्रै स्वाभिमान कायम रहन्छ भन्ने कुरा सबैले बुझ्नुपर्छ ।”

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले विगतमा राज्य सञ्चालकका लागि ‘एक भाषा, एक भेष’ संरक्षणको नीतिले मैथिलीलगायत अन्य भाषाभाषीको पहिचान सङ्कटमा परेको भन्दै सबै भाषाभाषीको संरक्षणका लागि सबै मिलेर काम गर्नुपर्ने धारणा राखे । उनले नेपालीजस्तै नेपालमा रहेका सबै भाषा तथा संस्कृतिको संरक्षणका लागि राज्यले समानरुपमा लगानी गर्नुपर्नेमा जोड दिए ।

“पञ्चायतकालीन अवस्थामा एक भाषा एक भेष संरक्षणको नीतिले मैथिली भाषा संस्कृति ओझेलमा प¥यो । गणतन्त्र आइसक्दा पनि त्यही भाषा नीतिले निरन्तरता पाएको छ । अहिलेको अवस्थामा मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउन, भाषा, संस्कृतिको संरक्षण तथा विकासका लागि लगानी गर्न म सरकारसँग आग्रह गर्दछु”, यादवले भने ।

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले मधेश र मैथिली भाषा संस्कृति अभिन्न रुपमा जोडिएका भन्दै यसको संरक्षण र विकासका लागि सबैले आवश्यक सहकार्य गर्नुपर्ने बताए।

कार्यक्रममा नेकपा (एमाले) का सचिव योगेश भट्टराईले मैथिली र भोजपुरी भाषा नेपाली माटोकै उपज भएकाले यी भाषालाई सरकारी कामकाजी भाषा बनाउने पहलमा आफ्नो पार्टीको समर्थन रहेको बताए।

मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादव, अर्थमन्त्री सञ्जयकुमार यादव, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सुनिता यादवले देशमा रहेका सबै भाषाभाषी, कलासंस्कृतिलाई संरक्षण गर्ने नीतिका लागि प्रदेश सरकारले योजना बनाइरहेको बताए ।

मधेश प्रदेश सरकारका पूर्वमुख्यमन्त्री लालबाबु राउत, नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुङ्गाना, नेकपा (एकीकृत समाजवादी) का नेता रामचन्द्र झा, स्वतन्त्र पार्टीकी नेत्रृ सोविता गौतमलगायतले मैथिली भाषा संस्कृतिको विकास र संरक्षणका लागि पार्टीगतरुपमा आफूहरुले निरन्तर सहयोग गरिरहेको धारणा राखे ।

मैथिली विकास कोष, प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको संयुक्त आयोजना र जनकपुरधाम उपमहानगरपालिकाको आयोजना महेन्द्रनारायण निधि संस्कृति केन्द्रमा सुरु भएको महोत्सव पाँच दिनसम्म सञ्चालन हुनेछ ।

महोत्सवमा साहित्य, कला, राजनीतिक, सामाजिक तथा इतिहाससँग सम्बन्धित विभिन्न २० विषयमा विमर्श, चित्रकला, पुस्तक, मिथिला भोजन प्रदर्शनी, नेपाल र भारतका कलाकारद्वारा मैथिली, नेपाली, हिन्दी, असामी र बङ्गाली गरी पाँच भाषामा आठ वटा नाटक प्रस्तुत गरिने कार्यक्रम रहेको कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिए ।

कोषले विसं २०७३ देखि हरेक दुई वर्षमा महोत्सव आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ९ : ३६ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद