बग्गी अगाडि, घोडा पछाडि | Khabarhub Khabarhub

बग्गी अगाडि, घोडा पछाडि

राजनीतिमा सिंहदरबारदेखि ब्रम्हनालसम्म कमिसन



स्वर्गको एक भव्य रेष्टुराँमा एकदिन विचित्रको घट्ना घट्यो। त्यसदिन रेष्टुराँको दायाँ दिशातिर एउटा कुनामा यस जगतका तीन महापुरुष सिद्धार्थ गौतम, कन्फूसियस र लाओत्से एउटा टेबल घेरेर बसेका थिए। यी तीन महामानव स्वर्गको सर्वोत्तम कफीको चुस्की लिँदै विविध धार्मिक विषयमा वार्तालाप गरिरहेका थिए। यसैबेला बायाँ काखमा सानो माटोको घडा च्यापेकी एक रुपसी सुन्दरी त्यस ठाउँमा प्रवेश गरेर विनम्र भावमा आग्रह गरिन- ‘हे परमश्रेष्ठ पृथ्वीबासीहरु ! मैले यो माटोको घडामा जीवनरस भरेर ल्याएकी छु। म यो जीवनरस तपाईंहरुलाई ख्वाउन लालायित छु। के तपाईंहरु मेरो इच्छा पूरा गरिदिन सक्नुहुन्छ ?’ ती रुपसी अप्सराको प्रस्ताव सुन्नासाथ तीन महापुरुषका अनुहारमा भिन्न भिन्न प्रतिक्रिया देखियो।

गौतम बुद्धले दुवै आँखा बन्द गरे। एकछिन ध्यानमग्न मुद्रामा लीन भए। अन्त्यमा अप्सराको आग्रह सरासर नकार्दै विनीत शैलीमा भनिदिए- ‘क्षमा गर देवी, म तिम्रो इच्छा पूर्ण गर्न सक्दिन। किनकी जीवन सारहीन छ, व्यर्थ छ। मेरो दृष्टिकोणमा जीवन नितान्त निरर्थक छ। जीवनको कुनै गूढ महत्ता र कुनै अर्थ छैन्।’

कन्फ्युसियसले आधा आँखा बन्द र आधा आँखा खुला राखे। उनी गोल्डन मिनको सिद्धान्त मान्थे। जसको प्रकृति थियो सधैं मध्य मार्ग। अद्र्धमुदित आँखाले अप्सरा तर्फ हेरेर उनले आफ्नो विचार पोखे- ‘पहिले एक घुट्को चाख्छु , यदि अगाडि पिउन योग्य लागे विचार गरौंला।’ एक घुट्को जीवनरस चाखेपछि तटस्थ भावमा प्रतिक्रिया जनाए- ‘न छोड्न योग्य, न पिउन योग्य। कुनै सार पनि छैन्। पूर्ण रुपेण सारहीन पनि छैन्।’

नेता हातमा सीप नभएको सूचिकारले जथाभावी कपडा काटेजस्तो सत्ताको कित्ताकाट गरेर अन्तिम भोज मनाइरहेका छन् । सत्ता दुखेको छ, देश कसैलाई दुखेको छैन । पाएकालाई सत्ता लिप्सा, बाहिरकालाई लुटन हतार । जस्तोसुकै परिस्थिति आएपनि नेपाली राजनीति सप्रिने छेकछन्द छैन । सिंहदरबारदेखि ब्रम्हनालसम्म कमिसन छ ।

दुई महापुरुष विपरित ताओ धर्मका प्रतिपादक लाओत्सेले पुरै घडा आफ्नो हातमा लिए। उनले केही नबोली घडाभित्रको जीवनरस सिनित्तै पारे। त्यसपछि उनी भावविभोर भएर नाच्न थाले। जीवनरसको मादकतामा गदगद भएका लाओत्सेले आफ्ना दुई मित्रलाई व्यंग्य हान्दै भने- ‘जसको लागि जीवनरस नै व्यर्थ या निरर्थक छ, उसले कुन कुरामा सार्थकता पाउन सक्छ ? फेरि उ जीवनलाई छोडेर खोजोस, अझ खोजोस् उ जति जति खोज्दै जानेछ , त्यति त्यति नै गुमाउँदै जानेछ। हराउँदै जानेछ। जीवन नै हो एकमात्र सारभूत तत्त्व, जीवन नै हो एकमात्र रस, जीवन नै हो एकमात्र परम सत्य अनि यही जीवनमा नै अन्तरनिहित हुन्छ- सारा संगीत, सारा सौन्दर्य अनि सारा आनन्द।’

स्वर्गको रेष्टुराँमा देखिएको यो दृश्य अहिले नेपालका राजनीतिक दलहरुमा हुबहु देखिने गरेको छ। नेताहरु हातमा सीप नभएको सूचिकारले जथाभावी कपडा काटेजस्तो सत्ताको कित्ताकाट गरेर अन्तिम भोज मनाइरहेका छन्। सत्ता दुखेको छ, देश कसैलाई दुखेको छैन। सत्ता बाहिरका लुटन हतार, सत्ता पाएकालाई नछोड्ने लिप्सा। जस्तोसुकै प्रतिकूल परिस्थिति आए पनि नेपाली राजनीति सप्रिने छेकछन्द छैन। सिंहदरबारदेखि ब्रम्हनालसम्म कमिसन छ।

विश्व नै सानो गाउँमा अनुवाद हुँदै गएको सत्यबाट विमुख समकालीन नेताहरु विश्वास एकातिर, कर्म अर्कातिर गर्न उत्प्रेरित छन्। आफ्नो अंश र वंश विदेशी भूमिमा रोपेका उनीहरुको दैनिकी नर्सरी पढ्ने नाति पनातिले पनि कुरीकुरी गर्ने खालको छ। घरको पारिवारिक सन्तुलन मिलाउन नसकेका यिनीहरु घरकै चुह्लो चौकोबाट बहिष्कृत भए भन्ने समाचार आएमा आश्चर्य नमाने हुन्छ। शेरबहादुर देउवाका लागि कांग्रेस पार्टीको प्राण बुद्धलाई जस्तै सारहीन र निरर्थक भएको छ। कांग्रेसजन आफ्नै दलभित्र नागरिकताबिहीन भएका छन्।

विश्व नै सानो गाउँमा अनुवाद हुँदै गएको सत्यबाट विमुख समकालीन नेताहरु विश्वास एकातिर, कर्म अर्कातिर गर्न उत्प्रेरित छन्। आफ्नो अंश र वंश विदेशी भूमिमा रोपेका उनीहरुको दैनिकी नर्सरी पढ्ने नाति पनातिले पनि कुरीकुरी गर्ने खालको छ।

पार्टी सभापति म्यानेजर नभएर खञ्जाची भएको पीडा उनीहरुले खेप्नु खेपेका छन्। केही बोले पखेटा काटिने भयले कार्यकर्ताहरु तैं चुप मै चुपको अवस्थामा छन्। केपी ओली न निल्न सक्छन, न ओकल्न। औंसीको रातमा पूर्णिमाको गीत गाउनु उनको विशेषता हो।

प्रचण्ड त्यस्ता खेलाडी हुन, जसले चित र पोट दुवैतिर आफूलाई स्थापित गराउँदै आएका छन्। अंक गणितमा हारेपनि उनले धेरै पटक ओली र देउवाका एक्का र बास्सा कैंटे दाउ हानेर गुलामले लडाएका छन्। ताओका कट्टर समर्थक लाग्ने यी पात्रले पितललाई सुन हो भन्ने दलील गर्दा कांग्रेस, एमालेले कसीमा घोट्न लैजाने सामर्थ्य अरु दलमा देखिएन। नेपालको कम्युनिष्ट पार्टीमा समाजवाद र कांग्रेसको प्रजातान्त्रिक समाजवाद हिमालमा खोजे यति मानव पाइएला तर यिनीहरुको राजनीतिक एजेण्डा त्यो भन्दा दुर्लभ बनेको छ।

राजनीतिबाट खस्नेहरुका लागि गुरुत्वाकर्षण जिम्मेवार हुँदैन। भोलि त्यो स्थितिमा कम्युनिष्ट र कांग्रेसका लागि नैतिकताको कति जमिन बाँकी रहन्छ, त्यो समयले बताउला। चीनमा एउटा उखान छ- एउटा मात्र कुकुर कसैमाथि भुक्छ, बाँकी भुकेको आवाज सुनेर भुक्छन्। नेताहरुको भुकाइ पनि त्यही हो। उनीहरुले बुझ्न जरुरी छ- सफलताको सूत्र पुस्तकमा नभएर मेहनतमा हुन्छ।

अमूर्त निबन्धजस्तो लाग्ने नेपालको संविधान अनैतिकता छोप्ने त्यस्तो बाह्रमासे खास्टो भएको छ, जसलाई घडीको पेण्डुलम जस्तो बनाइएको छ। अधर्मी मान्छे पुजारी हुँदैमा धार्मिक हुने होइन। बरु धार्मिक मान्छे पुजारी भयो भने देवताको साख बढ्ने हो। भक्त बढ्न मन्दिर ठूलो नभई देवता विश्वासी हुनुपर्छ। मान्छेको अनुहारको आयु दुई दशक पनि बाँकी रहँदैन तर असल विचार हजारौं हजार वर्षसम्म अजर अमर रहिरहन्छ। विचार पनि सुनजस्तै हो, न यसमा खिया लाग्छ, न कहिल्यै पुरानो हुन्छ।

मान्छेको अनुहारको आयु दुई दशक पनि बाँकी रहँदैन तर असल विचार हजारौं हजार वर्षसम्म अजर अमर रहिरहन्छ। विचार पनि सुनजस्तै हो, न यसमा खिया लाग्छ, न कहिल्यै पुरानो हुन्छ।

नेता कस्तो हुनुपर्छ ? यस्तै भन्ने सर्वमान्य सिद्धान्त नै त छैन्। तर अमेरिकी राष्ट्रपति अब्राहम लिंकनको साद्गी सधैं उदाहरण बन्ने गरेको छ। दासप्रथाको अन्त्य गर्ने प्रबल संकल्प लिएर राजनीतिमा होमिएका अब्राहम लिंकनले राष्ट्रपतिको शपथ लिए। पदको शपथ गरेर जब उनी औपचारिक सम्बोधनका लागि उभिएका थिए। प्रतिपक्षका एक सांसदले अपमान गर्ने उद्देश्य राखेर ललकार्दै भने- ‘लिंकन, सौभाग्यवश तपाईं हाम्रो देशको सर्वोच्च पद प्रेसिडेन्टमा निर्वाचित हुनुभयो। तर यो कुरा कथंकदाचित नबिर्सनु होला कि तपाईंको पिता चमार हुनुहुन्थ्यो।’

यसखाले अपमानपूर्ण कटाक्षलाई लिंकनले उत्तेजित हुनु सट्टा सहज भावमा लिए। बरु उनका आँखाबाट बर्रर्र आँसु छल्कियो। आँसु मिश्रित नजरमा सांसदलाई सम्बोधन गर्दै भने- ‘धन्यवाद महाशय, अमेरिकाको प्रेसिडेन्टमा चुनिएको खुसीमा मैले आफ्नो गरिब पिता बिर्सन पनि सक्थेँ। तपाईंले अति उपयुक्त समयमा मलाई मेरो गरिब पिताको याद दिलाउनु भयो। तपाईंलाई मेरो मुरी मुरी धन्यवाद छ। मेरो गरिब पिता तन, मन र वचनले प्रतिवद्ध तथा आफ्नो कर्मप्रति समर्पित पूर्ण चमार हुनुहुन्थ्यो। तर म एक पूर्ण राष्ट्रपति बन्न कदापि सक्ने छैन्। मलाई यस्तो लाग्छ कि एक अपूर्ण राष्ट्रपतिभन्दा एक पूर्ण चमार श्रेष्ठ हुन्छ। मेरो गरिब पिताले सिउनु भएको जुत्ता म देखिरहेको छु कि तपाईंले लगाउनु भएको छ। यदि त्यो कतै फाटेको छ भने भन्नुहोस् ताकि म सिलाई दिउँ।’ लिंकनको जवाफ सुनेर आरोप लगाउनेको शिर श्रद्धाले निहुरियो।

नेपालमा खरिदार कृष्णप्रसादका तीन छोरा प्रधानमन्त्री भए। खरिदार कृष्णप्रसादले औलो रोगको खानी मानिने विराटनगरलाई सहरमा परिणत गरे। भारतबाट शिक्षक मगाएर आदर्श स्कुल खोलेर शिक्षाको ज्योति जगाए। तर तीन भाइ प्रधानमन्त्रीले किताब र भाषणमा विराटनगरलाई अत्यन्तै स्नेह देखाए। तर व्यवहारमा यहाँको भौतिक संरचनामा एउटा इँटा थप्ने काम पनि गरेनन्। हराएको मानिस भेटिएको सूचना दिनुपर्यो भने एउटा थिति ठेगानको चिरस्थायी संरचना विराटनगरमा आजसम्म बनेको छैन्।

पिटाइबाट उत्रिएको ढलौटबाट बनेको मूर्ति र संघर्षले खारिएको नेता उस्तै हो। बीपी राजीतिक व्यवस्थापनमा कच्चा ठहरिएकै हुन्। तर वहुलवादको बुलन्द आवाजले उनलाई लोकतन्त्रको ध्रुबतारा बनायो। के बालक, के युवा, के वृद्ध सबै माझ उनी जनप्रिय भए। जेलबाट मन बहलाउन लेखेका दस्तावेजले बीपीलाई जनमानसमा स्थापित गरायो। सिगरेटको खोलदेखि सुकेको पातसम्म उनको भावनाका संवाहक बने। आफूले रणमा खटाएको कार्यकर्ताले मैदानमा वीरता पाएको खबरसँगै बीपीको ढाड्सयुक्त चिट्ठी स्वजनको घरमा पुग्थ्यो।

गाई जुनसुकै रंगको किन नहोस दूध त सेतै हुन्छ नि। पेट सारंगी भएकाहरुका लागि एकमुट्ठी माड, आङमा भ्वाङ परेका लागि एक शरीर टालो र तिर्खाएकाहरुका लागि एक गिलास जल नै लोकतन्त्र हो। अरु बाँकी परिभाषा त राजनीतिका नाममा बकबास गर्नेहरुले कन्याउने सुकेलुतो मात्र हो

मर्दाको मलामी र बाँच्दाको जन्तीमा उनले कहिल्यै आफूलाई दोस्रो बनाएनन्। कहिले आफू जेल हुँदा एकांकी जीवन बाँचेकी पत्नीलाई आशाको सञ्चार भर्न पत्र लेखे। छोरी चेतनालाई बाउको कर्तव्य निभाउँदै बालसुलभ पत्र लेखे। पत्र व्यक्तिको भएपनि त्यसमा धेरैको आवाज मिसिएको थियो। जुन पत्रमा उनले ज्ञान, विज्ञान, समाज र संस्कृतिका विषयमा जानकारी गराएका थिए। आमा भनेको के हो ? यो प्रश्नको जिज्ञासा मेटाउँदै बीपीले छोरीलाई पठाएको पत्रमा लेखेका छन्– ‘यौटी स्वास्नी मानिस मात्र तिमी आमा हुन, जसको नाउँ छ सुशीला। यदि विज्ञानको कुरा गर्ने हो भने तिमीलाई धेरै खाँचो पर्दैन आमा कोहो भन्ने बुझ्न। तिम्रो मनको मायाको आँखाले सुशीलालाई आमा भनेर देखेको छ। तर विज्ञान अथवा साइन्सले आमा भन्ने को हो भन्ने चिन्न खोज्दा मनको मायाको आँखाले हेर्दैन। त्यसले अर्कै किसिमबाट आमा भन्ने मानिसलाई चिनाउँछ।’

गाई जुनसुकै रंगको किन नहोस दूध त सेतै हुन्छ नि। पेट सारंगी भएकाहरुका लागि एकमुट्ठी माड, आङमा भ्वाङ परेका लागि एक शरीर टालो र तिर्खाएकाहरुका लागि एक गिलास जल नै लोकतन्त्र हो। अरु बाँकी परिभाषा त राजनीतिका नाममा बकबास गर्नेहरुले कन्याउने सुकेलुतो मात्र हो। तिनीहरुलाई के थाहा सत्य मान्छेपिच्छे फरक हुँदैन। ती पटमूर्ख त अनुहारमा पोतिएको कालो देख्दैनन, तर रातदिन ऐना पुछिरहन्छन्। नेताको ताल यस्तो छ भने तिनीहरुले भाग्य बनाइदिएर सुखी हुनुपर्ने जनताको हविगत कुन हालतमा होला ?

 

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ९ : ३८ बजे

आज २०८१ साल भदौ २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार तदनुसार

कैलालीका थारू बस्तीमा अटवारी पर्वको चहलपहल

कैलाली – कैलालीका थारू समुदाय बाहुल्य गाउँ तथा बस्तीमा अटवारी

सन् २०२९ सम्म भारतीय डिजिटल कारोबारको बजार तीन गुणा वृद्धि हुने

काठमाडौं – आर्थिक वर्ष सन् २०२३–२४ मा भारतीय डिजिटल भुक्तानीको

गाजामा कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

गाजा – गाजापट्टीको दक्षिणी क्षेत्र खान युनिसमा शनिबार दिउँसो एक

बागलुङ कालिकामा चलचित्र ‘वसन्त’को शुभमूर्हत

गण्डकी – गलबन्दी प्रडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘वसन्त’को शनिबार