चितवन निकुञ्जमा गैँडा स्थानान्तरण गरिँदै | Khabarhub Khabarhub

चितवन निकुञ्जमा गैँडा स्थानान्तरण गरिँदै


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा भोलिदेखि गैँडा आन्तरिक स्थानान्तरण गरिने भएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो । केही वर्षअघि नै गैँडा आन्तरिक स्थानान्तरण गर्न अध्ययन गरिएको भए पनि स्थानान्तरण हुन सकेको थिएन ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार आन्तरिक स्थानान्तरणका लागि सबै तयारी पूरा भइसकेको छ । गैँडा आन्तरिक स्थानान्तरण कार्यदलको आज बैठक बसेर बुधबारदेखि काम सुरु गरिने उनले बताए। निकुञ्जकै हात्ती, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको सेनालगायत जनशक्ति प्रयोग गरेर गैँडा स्थानान्तरण गरिने उनको भनाइ छ । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको अध्ययन टोलीको प्रतिवेदनअनुसार गैँडा स्थानान्तरण गर्न लागिएको हो । आठ वर्षदेखि माथि र २० वर्षभन्दा मुनिका गैँडालाई स्थानान्तरण गरिने छ । बुधबार बिहान वनदेवीको पूजा गरेर गैँडा नियन्त्रणमा लिने काम सुरु गरिने छ । 

गैँडा स्थानान्तरणका लागि प्रमुख संरक्षण अधिकृतको नेतृत्वमा स्थलगत कार्यदल बनेको छ । गैँडा स्थानान्तरणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ ‘इकोलोजिस्ट’ श्याम शाहको नेतृत्वमा प्राविधिक टोली निकुञ्ज आइसकेको छ । 

पुनका अनुसार विश्व वन्यजन्तु कोष, राष्ट्रिय प्रकृति संरक्षण कोष, जेडएसएलका प्रतिनिधिहरु निकुञ्जमा आइसकेका छन् । गैँडा निकुञ्जको पश्चिम क्षेत्रको भित्री ‘कोर’ क्षेत्रमा र  नवलपुरबाट पूर्वी क्षेत्रको भित्री भागमा स्थानान्तरण गरिने छ । निकुञ्जबाहिर बस्तीमा आएर दुःख दिएका गैँडालाई स्थानान्तरणमा प्राथमिकता दिइने छ । स्थानान्तरण गर्दा भालेपोथीको रेसियो मिलाइने उनले जानकारी दिए।  

दुई वर्षअघि विभागले गैँडाको स्थानान्तरणका लागि उपमहानिर्देशक वेदकुमार ढकालको नेतृत्वमा अध्ययन टोली गठन गरी अध्ययन गरेको थियो । पछिल्लो गणनाअनुसार नेपालमा सात सय ५२ वटा गैँडा छन् जसमध्ये बर्दियामा ३८ र शुक्लाफाँटामा १७ वटा गैँडा छन् । चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ गैँडा छन् भने पर्सा राष्ट्रिय निकुञ्जमा तीनवटा गैँडा छन् ।

विसं २०७४ मा बाढीका कारण धेरै गैँडा बगेर भारत पुगेका थिए । केही गैँडा उद्धार गरी फिर्ता ल्याए पनि अरू केही ल्याउन सकिएको थिएन । त्यही समयमा पूर्वका गैँडा बगेर पश्चिम पुगेका थिए ।  

एकै ठाउँमा धेरै गैँडा हुँदा प्राकृतिक कारणले मर्ने क्रम बढ्ने गर्दछ । घाँसेमैदान र पानीका स्रोत व्यवस्थापन गरी गैँडा पूर्वतर्फ लैजान लागिएको हो । निकुञ्जमा गैँडाको सङ्ख्या बढ्दै जाने तर बासस्थानको व्यवस्थापन सङ्ख्याका आधारमा गर्न नसक्दा समस्या देखिएको छ । 

वरिष्ठ इकोलोजिस्ट शाहले एकै ठाउँमा धेरै गैँडा भएकाले स्थानान्तरण गरी घनत्व मिलाउन लागिएको बताए। एकै स्थानमा धेरै गैँडा हुँदा बासस्थान व्यवस्थापनमा समस्या आउने र वृद्धि दरमा कमी आउने भएकाले स्थानान्तरण गर्न लागिएको उनले बताए।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  १ : ५२ बजे

आज २०८१ साल भदौ २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार तदनुसार

कैलालीका थारू बस्तीमा अटवारी पर्वको चहलपहल

कैलाली – कैलालीका थारू समुदाय बाहुल्य गाउँ तथा बस्तीमा अटवारी

सन् २०२९ सम्म भारतीय डिजिटल कारोबारको बजार तीन गुणा वृद्धि हुने

काठमाडौं – आर्थिक वर्ष सन् २०२३–२४ मा भारतीय डिजिटल भुक्तानीको

गाजामा कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

गाजा – गाजापट्टीको दक्षिणी क्षेत्र खान युनिसमा शनिबार दिउँसो एक

बागलुङ कालिकामा चलचित्र ‘वसन्त’को शुभमूर्हत

गण्डकी – गलबन्दी प्रडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘वसन्त’को शनिबार