काठमाडौँ– बाँसबारी जग्गा प्रकरणमा उद्योगी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बयान लिएको छ ।
आज बिहान सरकारी वकिलको कार्यालयमा आफैँ पुगेका चौधरीसँग सीआईबीले झण्डै दुई घण्टा बयान लिएको हो । बयान दिएर निस्कने क्रममा चौधरीले जग्गा प्रकरणका नाममा आफूमाथि राजनीतिकरण गरिएको बताए ।
उनले विगत १४० वर्षदेखि आफ्नो परिवारले मुलुकमा थुप्रै उद्योग तथा परियोजना सञ्चालन गर्दै आएको उल्लेख गर्दै १० रोपनी जग्गाका लागि कुदृष्टि राख्यो भन्नु विकृत मानसिकताको उपजबाहेक केही नभएको बताए ।
चौधरीले कारखानाको जग्गा आफ्ना बुबाको पालामै कानुनी रुपमा नै आएको बयान दिएका छन् । उनले बाँसबारी जग्गा प्रकरणमा आफू चोखो रहेको जिकिर गर्दै यस्ता गतिविधिबाट उद्यमी, लगानीकर्तालाई हतोत्साहित बनाउने बताए ।
उनले भने, ‘मैले कुरा भनिरहँदा नेपालका उद्यमी र करदाताले कुन सन्देश लिएर जाने हुन् भन्ने हेक्का राज्यले राख्नुपर्ने हो ।’
अहिले राजनीतिक स्टन्ट भइरहेको उल्लेख गर्दै उनले आफ्नो चरित्रको प्रमाणपत्र उनीहरुलाई दिइरहन जरुरी नभएको समेत बताए ।
काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा सीआईबीले उनलाई बयानको लागी बोलाएको थियो ।
सो जग्गा प्रकरणमा सिआइबीले व्यवसायी अरूण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई गत माघ १८ गते पक्राउ गरेको थियो।
प्रतिक्रिया