मोबाइलमा कुरा गर्दै बाटो काट्दै त हुनुहुन्न ? प्रहरी भन्छ- सर्वाधिक दुर्घटना बाटो काट्दा | Khabarhub Khabarhub

मोबाइलमा कुरा गर्दै बाटो काट्दै त हुनुहुन्न ? प्रहरी भन्छ- सर्वाधिक दुर्घटना बाटो काट्दा



सामान्यभन्दा सामान्य हवाई दुर्घटना भयो भने सरकारले अधिकार सम्पन्न छानविन समिति बनाउँछ । आयोगका सदस्यले राज्यबाट पारिश्रमिक सहितको सुविधा पाउँछन् । तर त्यही राज्य सडक दुर्घटनाका विषयमा विभेदकारी छ ।

सडक दुर्घटनामा उद्धारमै सरकारी संयन्त्रले जाँगर लगाउँदैन । कति दुर्घटना त समाचारकै कोटीमा पर्दैनन् । खोलानाला, भीर पहरामा भएका दुर्घटनाको सन्तोषजनक ढंगले उद्धार नै हुँदैन । उपचारको खर्च जुटाउन नसक्दा कति घाइते मृत्युको मुखमा पर्छन् । तेस्रो पार्टीको नाममा गरिएको बीमा प्रक्रियामै झन्झट छ ।  

सामाजिक सञ्जालमा प्रकट हुने नागरिक शिक्षा दैनिक जीवनमा खडेरी परेको देखिन्छ । नागरिकको के कुरा ? ट्राफिक व्यवस्थापन गर्ने प्रहरी नै दुर्घटनाको शिकार भएका छन् । सडक दुर्घटनाका थुप्रै कारण छन् । सडक, सवारी साधनको अवस्था, मौसम, सडकको मार्किङ, ट्राफिक चिन्ह, लाइट व्यवस्थित नहुँदा सडक दुर्घटना हुन सक्ने सम्भावना बढ्छ । 

त्यस्तै, सडक कति फराकिलो छ ? त्यो सडकमा कति सङ्ख्यामा सवारी साधन गुड्छन् ? चालकले कति ध्यान दिएर चलाएको छ ? गति कस्तो थियो ? मादक पदार्थ सेवन गरेको छ वा छैन ? यस्ता कारणले दुर्घटना निम्त्याउँछ ।

तर पछिल्लो समय पैदलयात्रुको चरम लापरवाहीले सडक दुर्घटना बढेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता जीवनकुमार श्रेष्ठ बताउँछन्। 

उनी भन्छन्, ‘मानिस सडकमा मोबाइलमा कुरा गर्दै हिँड्छन्, बाटो काट्छन् ।’ जसको कारण दुर्घटना बढेको उनी बताउँछन् । ‘पाँच वर्षमा २१ वटा दुर्घटना पैदलयात्रुको लापरवाहीले भएको छ । तर दुर्घटनामा चालकको लापरवाहीलाई दोष दिइन्छ’ प्रवक्ताले भने । ‘पैदलयात्रु पनि यसमा उत्तिकै दोषी हुन्छन् ।’उनी थप्छन्, ‘पैदलयात्रु साथीभाइसँग चल्दै हिँड्ने, लागूपदार्थ खाएर हल्लिएर हिँडेको पाइन्छ । अझ अभिभावकहरु बच्चाहरु लिएर सडक पार गर्दा दायाँबायाँ हेर्दैनन् ।’ 

सवारीसाधनको गतिलाई पैदलयात्रुले ख्याल नगरेको प्रवक्ताको आरोप छ । 

उनी भन्छन्, ‘पैदलयात्रुले चालकले ब्रेक लगाइहाल्छ भन्ने सोच्छन् । सवारीसाधन एक इन्जिन हो, तत्काल ब्रेक लागेन भने ठूला दुर्घटनाको सामना गर्नुको विकल्प हुँदैन ।’ जेब्राक्रसिङमा समेत पैदलयात्रुले ध्यान नदिएको उनको भनाइ छ । 

‘पैदलयात्रुलाई दोष दिइरहँदा चालक सही छ भन्न खोजिएको होइन ।’श्रेष्ठले थपे– ‘पैदलयात्रुको लापरवाहीका कारण भएको दुर्घटनाको जिम्मेवार सवारी चालक नै बन्छ । नियम नै त्यही छ । त्यसकारण पैदलयात्रुले पाएको सहुलियतको दुरुपयोग गर्नु हुँदैन । सडकमा चालक र पैदल यात्रुको बराबर जिम्मेवारी हुन्छ । ’

हरेक दिन सडक दुर्घटना भएको कुरा सुनिन्छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार हरेक वर्ष दश हजार बढीको सडक दुर्घटना भएको छ । त्यसमा २ सयलेज्यान गुमाएका छन् । 

यो पाँच वर्षमा सडक दुर्घटनाबाट मात्रै ८१५ जनाले ज्यानै गुमाएका छन् । त्यस्तै, गम्भिर घाइते १ हजार १७४ जना छन् । सडक दुर्घटनामा गम्भिर घाइते भनेको सास मात्रैको अवस्था भएको प्रवक्ता बताउँछन् । 

उनी भन्छन्, ‘गम्भिर घाइते अरुको सहारा विना खान, बस्नसमेत नसक्ने हुन्छन् ।’ घाइतेको संख्या ३६ हजार ६१ छ । खबरहबसँग कुरा गर्दै प्रवक्ताले भने, ‘घाइतेहरु पनि शारीरिक रुपमा क्षतविक्षत हुन्छन् । मानिसको सानो गल्तीले जीवनभर पछुताउनुपर्ने हुन्छ, ‘ट्राफिक नियम अनुशासन हो । अनुशासन बाध्यकारी हुँदैन । व्यक्तिको आचरणको कुरा हो ।’ उनले भने । 

चालक, सवारीसाधनमा यात्रा यात्रु र पैदलयात्रु सबैले सडक अनुशासन र सवारी नियम पालना गर्नुपर्ने उनी बताउँछन् ।

 भन्छन्, ‘नियम पालना पैदलयात्रुले पनि गर्नुपर्छ । पेटीको प्रयोग गर्नुपर्छ । पेटी नभएमा आफूलाई सुरक्षित हुने गरी हिँड्नुपर्छ । तोकिएको स्थानबाट मात्रै बाटो काट्न उनले आग्रह गरे । 

‘मानिस स्वभावैले लापरवाही छ, अर्को गल्तीलाई स्वीकार पनि गर्दैन । त्यसलाई ट्राफिक नियम पनि बाध्यकारी वा कडा बनाउन आवश्यक छ, उनले खबरहबसँग भने, ‘चालकसँग दुई मिनेट, यात्रुसँग एक मिनेट जस्ता कार्यक्रम गर्दै आएका छाैँ तर त्यसले प्रभावकारी काम गर्न सकेको छैन ।’

प्रवक्ता श्रेष्ठकाअनुसार सडक फराकिलो छैन । यथेष्ट जेब्रा क्रसिङ छैन । भएको पनि प्रष्ट देखिने गरी छैन । मोडहरू कति फराकिला छन् । ट्राफिक चिह्नहरू लगायतका प्रविधि प्रयोग गर्न सकेको अवस्था छैन ।

ट्राफिक प्रहरीसँग भएको प्रविधि अपुग छ , श्रेष्ठले गुनासो गर्छन्, ‘ट्राफिक नियम प्रविधिले नियमन गर्ने समयमा विगत लामो समयदेखि हामीले परम्परागत रुपमा काम गर्नुपरेको अवस्था छ ।’

त्यसकै कारण हरेक वर्ष ट्राफिक प्रहरीसमेत दुर्घटनाको सिकार बन्नुपरेको गुनासो श्रेष्ठको छ । 

उनी भन्छन्, ‘नागरिकको सुरक्षाको लागि खटिएको ट्राफिक प्रहरीसमेत दुघर्टनामा ज्यानै गुमाउनु पर्ने र घाइते भएका छन् । 

फागुन २० गते कोटेश्वरमा बसले ठक्कर दिएका ट्राफिक प्रहरीका सई टोपबहादुर खत्रीको २८ गते उपचारका क्रममा मृत्यु भयो । उनी प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत थिए । लेनमा घुम्नेक्रममा बसले ठक्कर दिएको थियो । अनुसन्धानमा चालकले लागूपदार्थ सेवन गरेको देखिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

त्यस्तै, मंसिर २९ गते बाँकेको मदन चोकमा गाडीको ठक्करबाट ट्राफिक प्रहरी विशाल ओलीको मृत्यु भयो । सडकमा उभिएर गाडी रोक्दै गरेका दुई जना ट्राफिक प्रहरीलाई गाडीले ठक्कर थियो ।

हरेक वर्ष २० बढी ट्राफिक प्रहरी दुर्घटनामा घाइते भएका छन् । त्यस्तै, सडकमै दुई जनाले प्राण त्यागे ।

‘धेरै ठाउँँमा ट्राफिक चेक पोइन्टहरु राखिएको छ । चोकहरुमा आइल्याण्डमा बसेर काम गर्ने भनिएको छ । सडकको बीचमा बस्दा कसरी उभिने भन्ने सबै प्रशिक्षणमा हुन्छ, उनले भने, तर दुघर्टना भवितभ्य हो, सुुरक्षा अपनाउँदा अपनाउँदै पनि हुन्छ ।’ आफू सचेत हुने अवस्थाबाट हेलचेक्र्याइँ गर्न नहुने श्रेष्ठको सुझाव छ । 

उपत्यकामा १८ सयको सङ्ख्यामा ट्राफिक प्रहरी कार्यरत छन् । उनीहरूलाई ३५ दिनको, अर्को ३ दिन र एकघण्टे तालिम दिएर सडकमा खटाइने श्रेष्ठले बताए । 

उनी भन्छन्, ‘पहिलो कुरा आफ्नो सुरक्षा हो । त्यसपछि मात्रै अरुको सुरक्षा गर्न सकिन्छ ।’

चालकको लापरवाही, तीव्रगति, मापसे, लापसे, यान्त्रिक गडबढ, ओभरटेक, सडकको अवस्था, मौसम र चौपाया, पैदल यात्रुको लापरवाही दुर्घटनाका कारक बन्ने गरेका छन् । 

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ५ : २२ बजे

‘घुमौँ मधेश, बुझौँ मधेश’, संयोजकमा ठाकुर नियुक्त

काठमाडौं- मधेश प्रदेश सरकारले कार्यक्रम ‘घुमौँ मधेश, बुझौँ मधेश’ कार्यक्रम

सहकारीको भावनाविपरीत सञ्चालन गर्दा समस्या आयो : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केही व्यक्तिको कमजोरीले

प्रादेशिक अस्पताल जलेश्वरका उपकरण प्रयोगविहीन

जलेश्वर– महोत्तरीको सदरमुकाममा अवस्थित प्रादेशिक अस्पतालमा खरिद गरिएको दुई करोड

दरबारमार्गमा एमालेको सभा, प्रधानमन्त्री ओलीसहितका नेता सहभागी (तस्बिरहरू)

काठमाडौं- सत्तारुढ नेकपा एमालेको जागरण सभा काठमाडौंको दरबारमार्गमा सुरु भएको

स्वास्थ्य सेवा ऐन अघि बढाउन मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं– तीनै तहमा समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीको समस्या सम्बोधन