बागमती प्रदेशमा ६७ करोडका योजना थप « Khabarhub

बागमती प्रदेशमा ६७ करोडका योजना थप


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ का लागि रु ६७ करोड बराबरका योजना थपेको छ । प्रदेश सरकारले उक्त बजेटअन्तर्गत चार सय ३७ वटा टुक्रे योजना थप गरेको हो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयअन्तर्गत बजेट उपलब्ध गराउनका लागि गत चैत १२ र २० गते दुई पटक गरेर सम्बन्धित मन्त्रालयमा थपिएका योजना प्रदेश सरकारको बजेट सूचना प्रणाली प्रविष्ट गर्न पत्राचार गरिएको मन्त्रालयका उपसचिव लक्ष्मी रिमालले बताए ।

उनले आर्थिक मामिला मन्त्रालयले अर्थ विविध शीर्षकमा रहेको बजेटबाट खर्च गर्न सकिने गरी योजना कार्यान्वयनका लागि पत्राचार गरेको जानकारी दिए ।

‘भइपरी आउने भनी राखिने विविध शीर्षकको रकमबाट खर्च गर्ने गरी योजना थप भएका छन्’, रिमालले भन्नुभयो, ‘मन्त्रालयबाट प्रणालीमा योजना थपिएपछि बजेट उपलब्ध गराउँछौँ ।’ थपिएकामध्ये रु ३२ करोडको पूर्वाधारका योजना रहेको उनले जानकारी दिए ।

भौतिक पूर्वाधार विकास कार्यालयले दिएको जानकारीअनुसार एक सय ६३ योजना १३ वटा कार्यालयबाट कार्यान्वयन गर्ने गरी रु ३२ करोडको योजना थप भएर आएको छ ।

थप गरिएका योजना कुलो, मन्दिर, आर्यघाटदेखि सडक निर्माणसम्मका रहेका छन् । सबै योजना भौतिक पूर्वाधार विकास मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ, पर्यटन, उद्योग तथा सहकारी, सामाजिक विकास र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित छन् । भौतिकमा सडक स्तरोन्नति तथा निर्माण, भवन, कुलो, कल्भर्ट, मन्दिर, आर्यघाट निर्माण तथा मर्मतका लागि योजना थपिएका छन् ।

खानेपानी, ऊर्जा तथा सिँचाइमा खानेपानीका योजना, तरकारी बजार व्यवस्थापन, पहिरो नियन्त्रण, ढल व्यवस्थापनका टुक्रे योजना छन् । पर्यटन मन्त्रालयमा संस्कृति तथा पर्यटकीय क्षेत्रको सम्भाव्यता अध्ययन गर्ने, मन्दिर संरक्षणका कार्यक्रम, गुठी, पाटी, सत्तल, विहारका निर्माण तथा स्तरोन्नति, बाल उद्यान निर्माण गर्नेलगायत योजना थप भएको समितिको प्रतिवेदनमा जनाइएको छ ।

सामाजिक विकास मन्त्रालयमा वितरणमुखी बजेट थप भएका छन् । लक्षित वर्गका लागि तालिम, गोष्ठी, सेमिनार, जनचेतनामूलक कार्यक्रम समावेश छन् । साथै विद्यालय सभा हल, शौचालय निर्माण, साना खेलका पूर्वाधार, फर्निचर खरिदलगायत योजना पनि थपिएका छन् ।

वन तथा वातावरण मन्त्रालयको नदी नियन्त्रण तथा पर्खाल निर्माण, शिवपुरी जङ्गल सफारीका लागि पूर्व सम्भाव्यता अध्ययन गर्ने, रानीवनमा टुरिजम पार्क बनाउनेलगायत साना योजना समावेश छन् ।

आर्थिक मामिला मन्त्रालयसँग अर्थ विविध शीर्षकमा रु चार अर्ब २६ करोड ५० लाख तीन हजार ८५ बजेट छ । जसमध्ये चालुतर्फ रु तीन अर्ब २७ करोड १३ लाख ८३ हजार ८५ र पुँजीगततर्फ रु ९९ करोड ३६ लाख २० हजार बजेट रहेको मन्त्रालयका उपसचिव रिमालले जानकारी दिए ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ४ : १९ बजे

विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै

बागलुङ– विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये

चिसो बढेपछि सुनसरीका विद्यालयमा बिदा

सुनसरी– सुनसरीमा शीतलहरका कारण चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित भएको

उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) ले देशको अर्थतन्त्र उकास्ने

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रमको आयोजना

आजको मौसमको : तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली

काठमाडौं– देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको