ज्येष्ठ नागरिक ज्ञान र अनुभवका विश्वविद्यालय हुन् । नयाँ पुस्ताले आफ्ना कुरा सुन्न झिँजो मान्न थालेको उनीहरूको गुनासो छ । आजकल उमेरलाई नम्बर मान्ने प्रचलन छ । बुढ्यौली भनेको मनोविज्ञान भएकाले मानिसलाई खुसी बनाउन सक्यो भने आयुले उत्साह मार्न नसक्ने समाजशास्त्रीहरुको बुझाइ छ । दुख, पीर, चिन्ता, अभाव र रहनसहनले बुढ्यौली निर्धारण हुने अनुसन्धानबाट खुलेको छ ।
पपुवान्यूगिनीको ४५ वर्षे नागरिकले सिंगापुरका ६५ वर्षे नागरिकसरह वृद्ध भएको महसुस गर्ने गरेको बताइन्छ । वैज्ञानिकहरूले गरेको अनुसन्धानमा ६५ वर्ष नाघेपछि मानिसलाई वृद्ध सम्बन्धी चिन्ताले सताउँछ । अझ सामाजिक सुरक्षाको अभावमा हाम्रोजस्ता मुलुकका ज्येष्ठ नागरिक ‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको’ भन्ने आहानमा सीमित हुँदै गएका छन् ।
के बुढाबुढी भनेको रहर र इच्छा मुर्झाउनु हो ? माया, प्रेम, ढाड्स, चिसो, तातो चाहिने समयमा उनीहरू किन थप असुरक्षित हुन पुग्छन् ? उनीहरूको औँला समाएर हुर्किएको सन्तानले भरथेगको हात फैलाउनु सट्टा किन लौरो थमाउँछ ? नयाँ वर्षको सन्दर्भमा हामीले चार बीस उमेर काटेकालाई उनीहरूको बाल्यकाल, किशोरावस्था, वर्तमानको भोगाइका विषयमा कुराकानी गरेका छौं । पाशुपत क्षेत्रमा सरकारी स्वामित्वमा रहेको वृद्धाश्रममा जीवनको उत्तरार्ध भोगिरहेको ज्येष्ठ नागरिक आत्मसम्मानको पर्खाइमा छन् ।
काभ्रेको बलथली गाउँमा जन्मे हुर्केका ८६ वर्षीय रामप्रसाद हुमागाईँ आफ्ना पालामा दसैँ तिहार, तिज, माघेसंक्रान्ति, शिवरात्री, जनैपूर्णिमा, मातातीर्थ औँशी जस्ता पर्वको ठूलो महत्त्व रहेको बताउँछन् । उनी भन्छन्– ‘वसन्त ऋतु घरमा काम खुल्ने मौसम हो । वनस्पति पाउलो आउँछ । ऐँसेलु, चुत्रो, काफल खाइन्थ्यो । गोठाला गरिन्थ्यो । अहिले जस्तो सञ्चार र यातायातको सुविधा थिएन ।’
बाल्यकालको सम्झना गर्दा उनी आफू १८/२० वर्षको उमेरमा घरबाट विवाह घरजम गर्नुपर्छ भनेपछि भागेर इन्डिया पुगेको बताउँछन् । ’इन्डियामा गएर दिल्लीमा १४ वर्ष आश्रममा बसेँ जहाँबाट ४० वर्षको उमेरमा आफै नेपालमा आएको हुँ’, उनी थप्छन् –‘म इन्डियाबाट आउँदा बाबुआमा काठमाडौंमा घर बनाएर बसाइँ सर्नुभएको रहेछ ।’
निधारको खत देखाउँदै उनी भन्छन्, ‘सानै देखि नाच्न र गाउनमा पोख्त थिएँ । मेरी दिदी तुलसीको मोठमा उभिएर बसिरहेकी थिइन् । असावधानीवस म लडेर निधारमा चोट लाग्यो । बा आमाले दिदीलाई गाली गर्नुभयो । गाउँमा घाँस दाउरा गर्दा गाउँलेहरू गीत गाउन हौस्याउँथे । म पनि फुर्किएर गाउँथेँ ।’
हुमागाईँ भन्छन्, ’अहिलेका बच्चाहरूको बाल्यकाल भन्दा त्यो बेला हाम्रो पालाको नै राम्रो थियो । त्यो बेला हरेक चीजवस्तु सस्तो थियो । अहिले पैसा ठूलो त्यो बेला मन ठूलो थियो । २ सुकामा नयाँ दौरा सुरुवाल पाइन्थ्यो । त्यसको लागि दसैँ नै कुर्नुपर्थ्यो । नत्र पुरानो दौरामा टालेर लगाउनु पर्थ्यो । त्यो बेला बाटो हिँड्दा फलफूल देखियो र खान मन लाग्यो भने मागेर खाइन्थ्यो । पैसाको भन्दा सर सहयोग र सरसापट गरेर चलाएको जीवन धेरै रमाइलो हुन्थ्यो ।’
‘अहिले त घरमा पनि कोही कसैसँग संवाद छैन । सबै मोबाइल चलाउनमा व्यस्त छन् । गार्हो सार्हो पर्यो भने कसैले कसैलाई मद्दत गर्दैन ।’ हुमागाईं आफूलाई यस्ता दृश्यले पोल्ने गरेको सुनाउँछन् ।
४० वर्षमा प्रेम विवाहको साइत !
जोगी बन्न भनेर इन्डिया गएका हुमागाईँको ४० वर्षमा प्रेम विवाह भयो ।
उनी भन्छन्, ’नेपालमा आएर काठमाडौंँमा बस्दा सामान्य बोलचाल हुँदा देख भेट भयो । त्यही भेटघाट विवाहमा अनुवाद भयो ।’ उनीहरू निसन्तान हुन् । दुवै जनाको वृद्धाश्रमको शरणमा छन् । श्रीमती बसन्ती हुमागाईँ वृद्धाश्रममै किन नहोस् रामप्रसादको सहधर्मिणी भएर जीवन निर्वाह गरिरहेकी छन् ।
उनी भन्छिन्– ‘हामी बाल्यकालमा मकै भटमास खाएर हुक्र्यौं । त्यो बेला भोजनभन्दा भोक मिठो हुन्थ्यो । कोदाको ढिँडो, भटमास, खट्टे, चिनिया धान पेटभरि खान पाए कति खुसी हुन्थ्यौँ । अहिलेका बच्चाले त हामीले खाएको खाजा नै चिन्दैनन् र खान पनि मुख खुम्च्याउँछन् । बाहिरको खानामा उनीहरूको लत बसेको छ ।’
वृद्धाश्रमको बसाइ
हुमागाईँ दम्पती आफ्ना नाता, सम्बन्ध र बाँच्ने आधार नहुँदा आश्रममा बस्नुपरेको बताउँछन् । बसन्ती भन्छिन्, ‘वृद्धाश्रममा बार अनुसार खाना दिन्छन् । आइतबार तरकारी चिउरा, सोमबार हलुवा, मंगलबार खिर, बुधबार अण्डा–चना, बिहीबार दही चिउरा, शनिवारका चिया बिस्कुट तोकिएको छ । खानामा पनि दाल तरकारी खाना दिने गर्छन् माछा मासु खानेलाई मासु पनि कहिलेकाहीँ दिने गर्छन् ।’
अशक्तका लागि लुगा, कपडा धोइदिने व्यवस्था छ । तर हुमागाईँ दम्पती सरदर स्वस्थ छन् । आफ्नो र श्रीमानको सम्पूर्ण सरसफाइ र लुगा धोइपखाली आफैँ गर्ने बताउने बसन्ती भन्छिन्– ‘आफ्नै सन्तानले सुख, शान्ति दिने अपवाद होलान् । वृद्धाश्रमको बसाइँमा रस हुँदैन नै । तर यसमै रमाउनुपर्ने बाध्यता छ । आफ्नो बह, कसैलाई न कह भने जस्तै हो । आफ्नो भाग्यमा जे लेखिएको छ, त्यो नभोगी सुख छैन ।’
पम्फाको शताब्दी यात्रा
दोलखाको मैनापोखरीमा जन्मिएकी पम्फा कार्की अहिले सय वर्षकी भइन् । उनलाई पनि अब राम्रो लाउने, मिठो खाने आकांक्षा कम भएको छ । उनी भन्छिन् ‘आँगन परदेश भएर अरूको सहारामा हिँड्नु पर्ने भएपछि रमाइलो त परै जाओस्, आज कुन बार हो भन्ने सम्म पनि थाहा हुँदैन ।’
पम्फादेवीको बाल्यकाल गाउँमै बल्यो । उनी भन्छिन्– ‘आमाबुबा पालेर बसेँ । विवाह पनि गरिन । बाल्यकाल खेल्न भन्दा पनि काम गर्न बढी खोज्थेँ । सुख भनेको महिनावारी हुँदा ४ दिन पाइन्थ्यो । नत्र नाम्लो कहाँ छ डोको कहाँ छ भनेर मेला पर्म गरेर बाल्यकाल बित्यो । मेला पर्म गरेर धेरै खेती गरेका थियौँ । गाउँभरिमै सबैभन्दा छिटो कोदो र धान रोप्थेँ । काम पनि छिटो, राम्रो गर्थेँ मैले ।’
सानामा हामीले खेल्ने खेलबारे अहिलेका बच्चालाई थाहा नभएको भन्दै उनी आफूहरू घाँस दाउरा जाँदा बोकेको नाम्लोलाई उपयोग गरी डोरी नाघी खेल्ने गरेको स्मरण गर्छिन् ।
उनी पनि पशुपतिकै वृद्धाश्रममा विगत २० वर्षदेखि बस्दै आएकी छिन् । आफ्नो परिवारमा कोही नभएकोले बृद्धाआश्रममा बस्नु परेको उनको गुनासो छ ।
पहिला आश्रममा रमाइलो हुन्थ्यो । तर अहिले रमाइलो छैन । फिल्म सुटिङ हुन्थ्यो । बच्चाहरू आउँथे । अहिले कोही आउँदैनन् । उनी भन्छिन्– ‘वृद्धाश्रमबाट पहिला कहिलेकाहीँ ठाउँ ठाउँमा पिकनिक लैजान्थ्यो । मन्दिर मन्दिरमा तीर्थ जान पाइन्थ्यो । तर अहिले बाहिर पनि निस्किन पाइँदैन ।’
५ वर्षमा विवाह गरेकि मुइयाँ
८० वर्षीय मुइयाँ अहिले पनि आफ्ना व्यक्तिगत काम गर्न सक्छिन् । कपडा धुने नुहाउने आफ्नो ओछ्यान मिलाउने देखि सबै काम उनी आफै गर्छिन् । सकुन्जेल आफ्नो काम आफै गर्छु अरूलाई किन दुख दिनु जस्तो लाग्ने गरेको उनको भनाइ छ ।
घरमा ठूलो खेतीबारी गरेको बताउँदै उनी भन्छिन्– ‘काममा सके नसके पनि गर्नु पर्थ्यो । दुई माउ भैंसी, गाई, बाछाबाछी र खसीबाख्रा पालेका थियौँ । त्यसबाहेक खेतीपाती त छँदै थियो ।
५ वर्षमा विवाह भएको प्रसंग निकाल्दै उनी भन्छिन्– ‘जन्ती लिएर बेहुली लिन गएको बेहुलोलाई खै के कारण झैँ झगडा परेपछि रित्तो हात फर्कनुपर्ने अवस्था आएछ । मेरो मामालाई भान्जी मिलाइदिन जोडजुलुम गरेपछि मलाई अन्माइएको रहेछ । बिहे के हो भन्ने थाहै नभई म बेहुली भएकी रहेछु । १०,१२ वर्ष पुगेपछि मलाई आमा काकीहरूले तेरो बिहे भइसक्यो भन्दा झसंग भएकी थिएँ ।’
उसबेला रोजेको नभएर जुरेको खानुपर्ने अवस्था रहेको बाध्यता जनाउँदै उनी दुईमुठी पोल्टामा हालेको मकै भटमासको भरमा दिनभर काम गर्नुपर्ने अवस्था रहेको विगत सम्झिन्छिन् ।
‘यहाँ म ०७३ सालमा ल्याइएकी हुँ । भदा भदैहरूले ल्याएर मलाई यहाँ राखेका हुन् । सहज लागे, नलागे पनि अन्त गएर बस्ने ठाउँ छैन । आखिर जहाँ गए पनि पेट अघि लाग्छ । आफैंले आफैंलाई खुसी बनाएर जीवन बाँचेकी छु । भदा बुहारी भेट्न आउँछन् । त्यो दिन अझ शरीर फूलको थुँगो जस्तो हुन्छ । जे भए पनि सरकारले पालेको छ । सन्तुष्ट छु ।’
प्रतिक्रिया