लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउनुपर्छ : अर्थमन्त्री पुन | Khabarhub Khabarhub

लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउनुपर्छ : अर्थमन्त्री पुन


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले सरकारले अबलम्बन गरेका राम्रा नीतिको निरन्तरताले मुलुकमा लगानीको वातावरण बनाउन र लगानीकर्तालाई प्रतिफल प्राप्त गर्न सहयोग पुग्ने बताएका छन् ।

तेस्रो लगानी सम्मेलनको पूर्वसन्ध्यामा आज आयोजित विभिन्न सञ्चार माध्यमका प्रधानसम्पादक तथा सम्पादकहरुसँगको छलफलमा अर्थमन्त्री पुनले सरकार परिवर्तन भएपनि सरकारी नीतिहरुले निरन्तरता पाउने र लगानीकर्तालाई लगानीको प्रतिफल लैजान समस्या नहुने बताए । उनले घरेलु राजनीतिक परिवर्तनले स्वदेशी तथा विदेशी लगानीसम्बन्धी नीतिमा फेरबदल नहुने स्पष्ट पारे ।

“सरकार चाँडो परिवर्तन भइरहँदा लगानीसम्बन्धी नीतिहरुमा कस्तो प्रभाव पर्छ भनेर लगानीकर्ताले चासो राख्ने गर्नुभएको छ । सरकार परिवर्तन हुँदा पनि हाम्रा नीतिहरु परिवर्तन हुँदैनन् र घरेलु समस्याले लगानीकर्तालाई अप्ठ्यारो पार्दैन”, उनले भने, “पुँजीको विशेषता भनेको लगानीको वातावरण र प्रतिफल प्राप्ति हो । कुनै वाद वा व्यवस्थासँग लगानीकर्ताको मतलब हुँदैन । लगानीकर्ताले वातावरण छ वा छैन भनेर हेर्ने हो । नेपालमा लगानीका लागि उपयुक्त वातावरण छ ।”

लगानी प्रतिबद्धताअनुसार उपलब्धि कम देखिए पनि सरकारले पछिल्लो समय विभिन्न कानुनी, प्रक्रियागत तथा संरचनागत सुधार गरेकाले आन्तरिक र वैदेशिक लगानी बढ्ने उनको भनाइ छ । पहिलो र दोस्रो लगानी सम्मेलनबाट प्राप्त उपलब्धि तथा सिकाईले तेस्रो लगानी सम्मेलनलाई थप परिस्कृत बनाएको अर्थमन्त्री पुनले बताए । भारतमा पनि लगानी प्रतिवद्धताको तुलनामा प्राप्ति करिब ३० प्रतिशत हाराहारी रहेको उल्लेख गर्दै उनले नेपालको अवस्था यो भन्दा राम्रो रहेको बताए ।

नेपालमा लगानीमैत्री वातावरण बनाउन विभिन्न कानुन परिमार्जन तथा संरचनागत सुधार हुँदै गएको उनको भनाई छ । लगानी सम्मेलनअघि सबै राजनीतिक दल, विषयविज्ञ तथा सरोकारवालसँग पर्याप्त छलफल गर्ने र सम्मेलनमा आवद्ध गराउने उनले स्पष्ट पारे ।

“यो सरकारको मात्र सम्मेलन होइन । राष्ट्रकै सम्मेलन हो । यसमा सत्तापक्ष र प्रतिपक्ष भन्ने हुँदैन । आन्तरिक तथा वैदेशिक लगानीमा हामी सबैको समान धारणा छ भन्ने देखाउन चाहान्छौँ”, अर्थमन्त्री पुनले भने ।

निजी क्षेत्र र लगानीकर्ताको सुझाव समेटेर सरकारले अध्यादेशमार्फत् कानूनी सुधारको प्रयास गरेको उनले बताए । अहिले संसद नचलेको बेला कानुन संशोधन गर्नुपर्ने अवस्था आएकाले अध्यादेशमार्फत् प्रक्रिया अघि बढेपनि संशोधित कानुनहरु पारित हुनका लागि संसदमा जाने र त्यहाँबाट पारित भएपछि कार्यान्वयनको चरणमा जाने उनले स्पष्ट पारे ।

नेपालमा लगानीका लागि ऊर्जा, पर्यटन, सूचना प्रविधि तथा कृषि प्रशोधनलगायतका क्षेत्र बढी उपयुक्त रहेकाले ती क्षेत्रमा लगानी गर्न उनले लगानीकर्तालाई आह्वान गरे। नेपालको दुई ठूला छिमेकी मुलुक भारत र चीनसँग मित्रवत सम्बन्ध रहेकाले यहाँको उत्पादन छिमेकी मुलुकका बजारसम्म पु-याउन समस्या नरहने बताए ।

कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्टले लगानी प्रवद्र्धन निरन्तरको प्रयास र प्रक्रिया भएकोले आन्तरिक वातावरण सुधारबाटै यसलाई थप परिस्कृत र नतिजामुखी बनाउनुपर्ने बताए । नेपालमा लगानीका वातावरण छ भन्ने आधार स्पष्ट हुँदै गएको भट्टको भनाइ छ । लगानी सम्मेलनमा सार्वजनिक(निजी साझेदारी (पिपिपी) अवधारणाका परियोजना मात्र नभई अन्य सरकारी र निजीक्षेत्रका परियोजनासमेत सोकेसमा राखिने उनको भनाइ छ ।

वैशाख १६ र १७ गते दुई दिन चल्ने सम्मेलनका लागि सरकारी र निजी क्षेत्रबाट एक सय ५० हाराहारी आयोजना सोकेसमा लैजाने तयारी सरकारले गरेको छ । सम्मेलनमा विभिन्न विषयका १० वटा सत्रमा छलफल हुनेछ । जसमा ५० जनाको हाराहारीमा वक्ता रहनेछन् । सम्मेलनमा एक हजारभन्दा बढी व्यक्तिको सहभागिता रहने जनाइएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  १० : २१ बजे

पंक्षीको मासु नखाने खेवा लिम्बूहरुको लहरो

एक ऐतिहासिक थुमको रुपमा रहेको छ, पूर्वी नेपालमा छथर थुम।

राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता

काठमाडौं– राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड (आरपिजीसिएल) र पाँचवटा जलविद्युत्

ताप्लेजुङमा पहिरोले घर पुरिँदा चारजना घाइते

ताप्लेजुङ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ३ मा मङ्गलबार राति पहिरोले घर

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा