विराटनगर – एउटा जमाना यस्तो थियो; झापा, मोरङ र सुनसरीका हरेक किसानको खेतमा अनिवार्य एउटा पोखरी खनिएको हुन्थ्यो । हरेक परिवारले नगदे बालीका रूपमा जुट (सनपाट) खेती गर्थे र पोखरीमा जुट थुने गर्दथे ।
जुटका डाँठ एकाध हप्ता पोखरीमा डुबाएर गलाएपछि मुङ्ग्रोले कुटेर जुट बनाइन्थ्यो, अनि बेचिन्थ्यो । विराटनगरका जुट मिलहरूले तीन जिल्लाका किसानका घर–घरमा उत्पादित जुट किन्ने गर्दथे । किसानको घरखर्च टार्न जुटखेती राम्रो माध्यम बनेको थियो ।
किसानको खेतमा रहेका निजी पोखरीहरू मात्र होइन, सार्वजनिक खोलानाला र पोखरी तलाउ पनि बैशाख–जेठतिर सनपाटका डाँठले भरिएका हुन्थे ।
जुट धोइसकेपछि निस्कने सन्ठी फुसको घरमा बेरा लगाउन, तरकारी बारीमा बार लगाउन र आगो बाल्नसमेत प्रयोगमा आउँथ्यो । अहिलेको पुस्ताले ‘सन्ठी’ के हो भन्ने नै बिर्सिसकेको छ ।
पछिल्लो समय किसानहरूले जुट खेती गर्न छाडेपछि सुनसरी, मोरङ र झापा जिल्लामा रहेका हजारौं पोखरी, तलाउ र दहहरू मासिन थालेका छन् । किसानहरूले जुट मासेर अन्य खेती गर्न थालेका छन् । जुट खेती बन्द हुन थालेपछि जुट धुलाइमा प्रयोग हुँदै आएका पोखरी, तलाउ र दह पनि मासिन थालेका हुन्
जुटले भाउ नपाउने, काम गर्न मजदुर अभाव हुने, उत्पादन खर्चिलो र कम आम्दानी हुने समस्या देखाउँदै मोरङ, सुनसरी र झापा जिल्लाका किसानले विकल्प रोज्न थालेका हुन् । जुट खेतीका लागि उर्बर भूमि भनेर चिनिएका जिल्लाबाटै जुट खेती क्रमशः हराउँदै गएको छ ।
कोशी प्रदेश कृषि निर्देशनालयका अनुसार मोरङ, सुनसरी र झापा जिल्लामा डेढ दशकअघि ६० हजार हेक्टरमा जुट खेती हुने गर्दथ्यो । अहिले जम्मा ६ हजार हेक्टरमा मात्र जुट खेती हुन्छ ।
जुट खेतीबाट किसानहरू पलायन हुने क्रमसँगै तीन जिल्लामा रहेका पोखरी पनि मासिँदै गएका हुन् । जुट प्रशोधनका लागि पानीमा डुबाएर राख्न ती पोखरी प्रयोगमा ल्याउने गरिएको थियो । ती पोखरी मासिएपछि भूमिगत पानी भण्डारण प्रकृया र जलचर जीवहरू पनि मासिएका छन् ।
मोरङ, सुनसरी र झापा जिल्लामा ०४३/४४ सालबाट जुट खेती सुरु गरिएको सरकारी तथ्यांक छ ।
विगतका वर्षमा मोरङ, सुनसरी र झापामा उत्पादन भएको जुट भारतका साथै बंगलादेशसम्म निर्यात गरिन्थ्यो, तर अहिले ठीक उल्टो छ । अहिले विराटनगरका अधिकांश जुट मिलका लागि आवश्यक कच्चा जुट भारत र बंगलादेशबाट आयात हुन्छ ।
मोरङ जिल्लामा रहेका ११ जुट उद्योगमध्ये कच्चा पदार्थ अभावमा ६ वटा बन्द भएका छन् । अन्य जिल्लामा सञ्चालनमा रहेका उद्योग पनि संकटग्रस्त छन् ।
वातावरणीय दृष्टिकोणले उत्तम मानिने कृषि उपज नगदेबाली जुटको खपत नेपालमै कम छ । जुटका सामग्री उत्पादन गर्ने उद्योगले ९५ प्रतिशत उत्पादन भारततर्फ निकासी गर्ने गरेका छन् ।
प्रतिक्रिया