दमौलीमा आगलागीबाट सात करोड बराबरको क्षति « Khabarhub

दमौलीमा आगलागीबाट सात करोड बराबरको क्षति


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा सोमबार बिहान भएको आगलागीमा करिब रु सात करोड क्षति भएको विवरण सङ्कलन गरिएको छ ।

व्यास नगरपालिकाले गठन गरेको समितिले आज सङ्कलन गरेको विवरणअनुसार रु छ करोड ९९ लाख ५१ हजार छ सय ७० को क्षति विवरण सङ्कलन भएको हो ।

समितिका संयोजक एवं व्यास–३का वडाध्यक्ष अनुप रानाले २१ जना पीडितसँग भेटेर विवरण सङ्कलन गरिएको जानकारी दिए । सङ्कलित क्षतिको विवरण नगर विपद् समितिमा पेस गरिने उनले बताए ।

उनका अनुसार पीडितको भनाइका आधारमा क्षतिको विवरण सङ्कलन गरिएको छ । उनले भने, “पीडितले दिएको जानकारीअनुसार सबैभन्दा थोरै रु तीन लाख दश हजारदेखि रु एक करोड १५ लाखसम्मको क्षति भएको विवरण छ ।” इमेज मोबाइलको रु एक करोड १५ लाख र मदिरा विक्रेताको रु एक करोड १५ लाख क्षति भएको विवरण सङ्कलन गरिएको छ ।

व्यास नगरपालिकाले सोमबार वडाध्यक्ष रानाको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिमा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला प्रहरी कार्यालय तनहुँ, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि, तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइ सभापति सुकनारायण मल्ल, पीडितका तर्फबाट केहरसिंह आले, प्रतापसिंह अधिकारी र नगरपालिकाका इन्जिनियर सुवास गौतम सदस्य छन् ।

समितिलाई तीन दिनभित्र क्षतिको विवरण सङ्कलन गरी पेस गर्न भनिएको थियो । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका २१ पसल आगलागीबाट पूर्णरुपमा क्षति भएको छ । यहाँ आइसिक्रम पसल, सैलुन, फलफूल, मदिरा, मोबाइल, पुस्तक पसल, दूध डेरीलगायत सञ्चालनमा थिए ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले क्षतिको यकिन विवरण आएपछि नगर विपद् समितिले जिल्ला विपद् व्यवस्थापन समितिलाई सिफारिस गर्ने बताए ।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  १० : ४२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्