प्रधानमन्त्रीलाई सम्पादकहरूको पाँच बुँदे पत्र : सहकारी ठगीमा गृहमन्त्रीलाई मुद्दा चलाइयोस् | Khabarhub Khabarhub

प्रधानमन्त्रीलाई सम्पादकहरूको पाँच बुँदे पत्र : सहकारी ठगीमा गृहमन्त्रीलाई मुद्दा चलाइयोस्


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि सम्पादकहरूको समूहले बुधबार प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डलाई पत्र बुझाएका छन् ।

विभिन्न सञ्चारमाध्यमका ३१ जना सम्पादकहरूले प्रधानमन्त्रीलाई ५ बुँदे पत्र लेख्दै सिरोहियालाई प्रतिशोधपूर्ण ढंगले पक्राउ गरिएकोमा आपत्ति जनाएका हुन् ।

उनीहरूले सिरोहियालाई नागरिकता कसुरको आरोप लगाएर कार्यालयबाटै पक्राउ गरिनुले गम्भीर प्रश्न उठाएको छ ।

‘जुन परिस्थितिमा, जस्तो आरोप लगाएर, जसरी कैलाश सिरोहियालाई गिरफ्तार गरियो, त्यसले गम्भीर प्रश्न खडा गरेको छ। कुनै पनि सञ्चार गृहभित्र प्रहरी प्रवेश गरी पक्राउ गरिएको घटनालाई हामीले प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्यका रूपमा लिएका छौँ’, उनीहरूले लेखेको पत्रमा भनिएको छ, ‘उनलाई लगाइएका आरोपबारे सरकारी निकायले कहिल्यै सोधपुछ गरेको छैन। हिजो एक्कासि नागरिकतासँग जोडिएका केही प्राविधिक विषयलाई लिएर गिरफ्तार गरिएको छ। यो विषय अब अदालतले नै निरूपण गर्नेछ ।’

सम्पादकहरूले रवि लामिछाने पहिलोपटक गृहमन्त्री बन्दा नेपालका नागरिक नै नभएको जिकिर गरेका छन् । ‘उनले विदेशी राहदानी बोकेका थिए। अदालतको फैसलापछि उनले नेपालको नागरिकता पुनःप्राप्त गरेका भए पनि एकैपटक दुई देशको राहदानी बोकेको गम्भीर कसुरमा उनी सजायका भागीदार थिए र छन्’, सम्पादकहरूले पत्रमा भनेका छन् ।

गृहमन्त्री लामिछाने अहिले मिडियामाथि शत्रुभावका साथ जाइलागेका दाबी पनि उनीहरूले गरेका छन् । उनीहरूले सहकारी ठगीको समस्या विकराल बनेको पनि प्रधानमन्त्रीलाई स्मरण गराएका छन् ।

‘अहिले लाखौँ नेपालीले सहकारीमा बचत गरेको अर्बौं रूपैयाँ अपचलनमा परेको छ । उनीहरूले आफ्नै पैसा फिर्ता पाएका छैनन्। गृहमन्त्री लामिछाने स्वयम् र उनी पहिले साझेदार रहेको गोर्खा मिडिया नेटवर्कले विभिन्न सहकारीमा आममानिसले राखेको करिब एक अर्ब रूपैयाँ अपचलन गरेका समाचार मिडियाले निरन्तर लेखिरहेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘यिनै समाचारलाई उनले गरिमामय संसदमा उभिएर आफूमाथि ‘मिडिया ट्रायल’ भएको बताएका छन्। जबकि पालिका तहमा भएका छानबिन र स्वयम् नेपाल प्रहरीले गरेका छानबिनले उनी र उनी सञ्चालक रहेको मिडिया कम्पनीले सहकारीको रकम हिनामिना गरेको स्थापित गरेका छन् ।’

लामिछानेले आफूविरुद्धको मुद्दा रोक्न सत्ताको दुरुपयोग गरेको सम्पादकहरूको निष्कर्ष छ । ‘सत्ता दुरूपयोग गरेर आफूमाथि अभियोजन हुने र मुद्दा लाग्ने कुरालाई गृहमन्त्रीले रोकेका छन्’, सम्पादकहरूको पत्रमा भनिएको छ, ‘हामी यसबारे पनि प्रधानमन्त्रीको ध्यानाकृष्ट गराउन चाहन्छौँ । उनीमाथि प्रहरीले गरिरहेको छानबिन निष्पक्षतापूर्वक अघि बढाउने र मुद्दाको निष्पक्षतापूर्वक अभियोजन हुने वातावरण बनाउनु तपाईंको जिम्मेवारी रहेको स्मरण गराउँछौँ ।’

प्रधानमन्त्रीलाई सम्पादकहरूको संयुक्त पत्र
सम्माननीय प्रधानमन्त्रीज्यू,

नेपालका प्रमुख सञ्चार माध्यममा कार्यरत हामी सम्पादकहरू पछिल्लोपटक सञ्चार गृहमा भएको धरपकडका सम्बन्धमा निम्न विषयहरूमा तपाईंको ध्यानाकृष्ट गर्न चाहन्छौंः

१. कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले उनकै कार्यकक्षबाट मंगलबार गिरफ्तार गरेको छ। नेपालको कानुन सबै नागरिकले समान रूपमा पालना गर्नुपर्छ र सिरोहियाले कानुनविपरीत कुनै पनि काम गरेका भए कानुनले तोकेबमोजिम सजाय भोग्नुपर्छ। यसका लागि आफू तयार रहेको सिरोहिया स्वयंले पनि सार्वजनिक रूपमै बताइसकेका छन्।

२. जुन परिस्थितिमा, जस्तो आरोप लगाएर, जसरी कैलाश सिरोहियालाई गिरफ्तार गरियो, त्यसले गम्भीर प्रश्न खडा गरेको छ। कुनै पनि सञ्चार गृहभित्र प्रहरी प्रवेश गरी पक्राउ गरिएको घटनालाई हामीले प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्यका रूपमा लिएका छौं। उनलाई लगाइएका आरोपबारे सरकारी निकायले कहिल्यै सोधपुछ गरेको छैन। हिजो एक्कासि उनलाई नागरिकतासँग जोडिएका केही प्राविधिक विषयलाई लिएर गिरफ्तार गरिएको छ। यो विषय अब अदालतले नै निरूपण गर्नेछ।

३. प्रधानमन्त्रीज्यू, हामी तपाईंलाई स्मरण गराउन चाहन्छौं — तपाईंको सरकारमा पहिलोपटक गृहमन्त्री बन्दा रवि लामिछाने नेपालका नागरिक थिएनन् । अदालतको फैसलापछि उनले नेपालको नागरिकता पुनः प्राप्त गरेका भए पनि एकैपटक दुई देशको राहदानी बोकेको गम्भीर कसुरमा उनी सजायका भागीदार थिए र छन्।

४. गृहमन्त्री रवि लामिछाने अहिले मिडियामाथि किन शत्रुभावका साथ जाइलागेका छन् भन्ने पनि हामी स्पष्ट गर्न चाहन्छौं। सहकारी ठगीको समस्या विकराल बनेको छ। अहिले लाखौं नेपालीले सहकारीमा बचत गरेको अर्बौं रूपैयाँ अपचलनमा परेको छ र उनीहरूले आफ्नै पैसा फिर्ता पाएका छैनन्। गृहमन्त्री रवि लामिछाने स्वयं र उनी पहिले साझेदार रहेको गोर्खा मिडिया नेटवर्कले विभिन्न सहकारीमा आममानिसले राखेको करिब एक अर्ब रूपैयाँ अपचलन गरेका समाचार मिडियाले निरन्तर लेखिरहेका छन्। मिडियाले लेखेका यिनै समाचारलाई उनले गरिमामय संसदमा उभिएर आफूमाथि ‘मिडिया ट्रायल’ भएको बताएका छन्। जबकि पालिका तहमा भएका छानबिन र स्वयं नेपाल प्रहरीको सिआइबीले गरेका छानबिनले उनी र उनी सञ्चालक रहेको मिडिया कम्पनीले सहकारीको रकम हिनामिना गरेको स्थापित गरेका छन्। सत्ता दुरूपयोग गरेर आफूमाथि अभियोजन हुने र मुद्दा लाग्ने कुरालाई गृहमन्त्रीले रोकेका छन्। हामी यसबारे पनि प्रधानमन्त्रीको ध्यानाकृष्ट गराउन चाहन्छौं र उनीमाथि प्रहरीले गरिरहेको छानबिन निष्पक्षतापूर्वक अघि बढाउने र मुद्दाको निष्पक्षतापूर्वक अभियोजन हुने वातावरण बनाउनु तपाईंको जिम्मेवारी रहेको स्मरण गराउँछौं।

५. नेपाली सञ्चार जगतमा लामो समयदेखि काम गरिरहेका हामी सम्पादकहरू प्रेस स्वतन्त्रता, कानुनको शासन र आफ्नो जिम्मेवारीप्रति सचेत छौं। र, त्यसको रक्षा गर्न र आफ्नो जिम्मेवारी पूरा गर्न कुनै सम्झौता गर्ने छैनौं भन्ने पनि स्पष्ट गर्न चाहन्छौं।

प्रतीक प्रधान – बाह्रखरी
शिव गाउँले – अनलाइनखबर
अमित ढकाल – सेतोपाटी
किरण नेपाल – खोज पत्रकारिता केन्द्र
युवराज घिमिरे – देशसञ्चार
सुधीर शर्मा
मदन लम्साल – अभियान
विमल गौतम – लोकान्तर
सागर पण्डित – नेपाल समाचारपत्र
राजाराम गौतम –
सुजित महत – उकालो
पूर्ण बस्नेत – नेपाल खबर
बसन्त बस्नेत – अनलाइनखबर
हरिबहादुर थापा – बाह्रखरी
उमेश चौहान- कान्तिपुर
रामेश्वर बोहरा – उकालो
कोषराज कोइराला – रिपब्लिका दैनिक
गुणराज लुइँटेल – नागरिक दैनिक
रूपेश श्रेष्ठ – कान्तिपुर टिभी
अखण्ड भण्डारी – अन्नपूर्ण पोस्ट
विश्वास बराल – द काठमाडौं पोस्ट
सरोज मिश्र – राजधानी दैनिक
अरूण बराल – खबरहब
कमलदेव भट्टराई – अन्नपूर्ण एक्सप्रेस
प्रकाश रिमाल
कसमस विश्वकर्मा
सञ्जीव सतगैयां
विजय पौडेल – कान्तिपुर टिभी
रामप्रसाद दाहाल – रातोपाटी
दुर्गा खनाल – इकान्तिपुर
पुष्प दुलाल- क्लिकमाण्डु

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ६ : ०९ बजे

कोप-२९ मा भएका कमजोरी सुधार्दै लैजानुपर्छ : वनमन्त्री

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्व जलवायु सम्मेलन(कोप

पक्षघात उपचारका लागि दुर्लभ र महँगो औषधी अब निःशुल्क 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पौडेलले नेपालमा निकै दुर्लभ पक्षघातको

भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित

काँक्रेविहार– कर्णाली प्रदेशको महत्त्वपूर्ण आयोजनाका रूपमा रहेको भेरी करिडोर सडक

शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छ : प्रधानमन्त्री

कास्की– प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत

पाँच सय ३१ जनाको निःशुल्क आँखाको शल्यक्रिया

चन्द्रपुर– नेपाली सेनाको सहयोगमा रौतहटका विपन्न तथा गरिब परिवारका पाँच