एक गाग्री पानीका लागि रातभर जाग्राम | Khabarhub Khabarhub

एक गाग्री पानीका लागि रातभर जाग्राम


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – खानेपानी खानेपानी अभावका कारण महोत्तरीका गृहिणी रातभरि जाग्राम बस्नुपरेको छ । अत्यधिक गर्मी र सुख्खा मौसमका कारण पानीको सङ्कट चुलिँदै जाँदा यहाँका गृहिणीले पानीको जोहो गर्न रातभरि जाग्राम बस्नुपरेको हो ।

“तीन दिनयता दिनभरि धारामा पानी झरेको छैन, राति झर्छ कि भन्ने आशमा धाराछेउमा पानी पर्खेर रात कटाइयो”, बर्दिबास–२ ॐ शान्तिचोककी गृहिणी फूलमाया मगरले भनिन्, “धन्न, गए राति मध्यराततिर धारामा तुरुरु पानी झरेपछि जाग्राम बसेको प्रतिफल मिल्यो ।”

फूलमायाजस्तै उनका छिमेकी पर्मिला ठाकुर, नगिना महतो र वृन्दा भण्डारीले पनि मध्यराततिर बोतल, गाग्री, तसला, बाल्टिनसहितका भाडामा पानी भरेपछि एक दिनलाई ढुक्क भएको बताए।

पानीका मुहान सुक्दै जाँदा यहाँका बस्तीमा पानीको सङ्कट पनि बढ्दै गएको छ । धारामा पानी आउँदैन, आए पनि गाग्री, बाल्टिन वा जार भरिँदैनन् । पानीको सङ्कट गहिरिदैँ जाँदा पूर्वपश्चिम रेल आयोजनाको भब्सीपुल नजिक रहेको बोरिङमा पानी थाप्नेको भीड लाग्ने गरेको छ ।

बस्ती क्षेत्रबाट पाँच सय मिटर दूरीमा रहेको सो बोरिङमा घाम अस्ताएपछि भने कोही जाँदैनन् । रेल्वेसम्बन्धी निर्माणकार्य प्रयोजनका लागि पानी आपूर्ति गर्न जडान गरिएको बोरिङले अहिले निकैलाई राहत भएको बर्दिबास–१४ लच्काचोकका गौरी साह बताउँछिन् ।

यसैगरी बर्दिबास जलेश्वर सडकखण्डको बर्दिबास–२ लच्काबाट बुद्धचोकसम्म ढल निर्माणको छ । निर्माणकार्यका लागि त्यहाँ ठूलो ट्याङ्कीमा ल्याइने पानीमध्ये बचेखुचेको स्थानीयलाई दिन केही राहत मिलेको सोही वडाको दर्लामीटोलकी यशोदा तिमल्सिनाले बताइन् ।

“ पानीको हाहाकार परेकै बेला ढल बनाउने काम परेछ । चाहिनेजति नपाए पनि घाँटी भिजाउनका लागि भए पनि पानी पाएपछि निकै राहत मिलेको छ”, उनले भनिन् ।

बर्दिबासका १, २, ३, ४, ५, ६, ८ , १०, ११ र १४ नम्बर वडाका नागरिक खानेपानीका लागि धारामा आश्रित छन् तर भण्डारणकक्षमा पानी घट्दै गएपछि पालो मिलाएर पानी वितरण गर्न थालिएको बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ ।

संस्थाका कोषाध्यक्ष भोजप्रसाद फुयाँलले पानीको स्रोतका रूपमा रहेका नदी र खोला सुकेपछि भण्डारणमा निकै कमी आएको उनले बताए । अब पानीका स्रोतहरुको वैकल्पिक खोजी नभए आउने दिन अझै कष्टकर बन्ने उनको भनाइ छ ।

महोत्तरीमा जेठ लागेदेखि नै पानी घट्दै गएको हो । जेठको मध्ययता त हाहाकार नै परेको बर्दिबास–१२ चल्कीबिजलपुराका नवराज कोइराला बताउँछन् । बर्दिबासका ७, ९, १२ र १३ नम्बर वडाबस्तीमा खानेपानीका लागि इनार र चापाकल मुख्यस्रोत हुन् । बर्दिबास–१२ मेघरोल र जुडीटोलमा चापाकल प्रयोग हुँदै आएको छ । मेघरोल बस्तीका विशुनदेव राय दनुवारले अहिले इनारमा र चापाकल पानी सुकेका बताए ।

पानीका मुहान सुक्दै गएपछि मानिसमात्र नभएर अहिले घरपालुवा पशु, चराचुरुङ्गी र वन्यजन्तुले पनि पानीको सङ्कट झेल्दैछन् । यसैगरी बालीनाली पहेँलिएर सुक्न थालेका छन् । यहाँका बस्तीबस्तीमा अहिले खानेपानीको सङ्कट बढेको छ ।

बर्दिबास–९ पशुपतिनगरका ६० वर्षीय महेन्द्र महतोको घर अगाडिको इनारमा पानीका लागि झारिएको डोल डुब्न छाडिसक्यो । उनले भने, “गर्मी अचाक्ली बढेको छ, पानीका स्रोत धमाधम सुक्दैछन्, अब पानीको सङ्कट निकै बढ्लाजस्तो छ । अब इनारले पानी ख्वाउला भन्ने आश मर्यो । लगत्तै पानी नपर्ने हो भने आजभोलिमै इनारमा पानी स्याप्पै सुक्छ होला ।” पछिल्ला केही वर्षयता बर्सेनिजसो यस्तै सङ्कट भोग्नुपरेको महतोले बताए ।

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटै स्थानीय तहमा पानीको अभाव बढ्दै गएको छ तर जिल्लाका उत्तरीक्षेत्रका बर्दिबास, भङ्गाहा र गौशाला नगर क्षेत्रमा भने समस्या थप विकराल बन्दैछ । बर्दिबास–२ का रामबाबु धमला पानीका मुहान सुक्दै गएपछि धाराबाट पानी कतिखेर चुहिन्छ भनेर ताक हेर्नुपर्ने अवस्था आएको बताए ।

यसैगरी भङ्गाहा नगरपालिकाका– ३, ४ , ५ र ९ मा इनार र चापाकल सुकेपछि निकै समस्या छ । भङ्गाहाकै १, २, ६, ७ र ८ का आर्टिजिन बोरिङबाट पानी झर्न छाडेको भङ्गाहा–८ धर्मपुरका उपेन्द्र चौधरी थारू बताउँछन् । भङ्गाहाका यी वडाबाहेक आर्टिजिन बोरिङ्ग खानेपानीका स्रोत रहेका बलवा, लोहारपट्टी, रामगोपालपुर र औरही नगरपालिकामा पनि पानी झर्ने मात्रा निकै घटेको स्थानीय बताउँछन् ।

यसैगरी गौशाला नगरपालिका क्षेत्रमा एकपछि अर्को इनार र चापाकल सुक्दैछन् । पानीका लागि साइकलमा गाग्री झुण्ड्याएर परपर जानुपरेको गौशाला–६ का तेजनारायण यादव बताउँछन् । जिल्लाका मध्य र दक्षिणी क्षेत्रमा हाहाकारै परी नसके पनि सो क्षेत्रका खानेपानीको स्रोत चापाकल धमाधम सुक्दै गएका उनले बताए ।

बस्तीमा पोखरी, डबराडबरी ९साना पोखरी० सबैजसो सुकिसकेका छन्, यसले पशुभाउ बचाउन निकै सकस भएको पशुपालक किसान हीरादेवी दाहालले गुनासो गरे । यसका साथै वनक्षेत्रका पानी अडिने खाल्डाखुल्डी, जरुवा र डबरा सबै सुकेपछि चराचुरुङ्गी र वन्यजन्तु जोखिममा परेका छन् ।

पुरानो चारकोशे झाडी (फार्लाइन पनि भनिन्छ) मा पानी नभेटेपछि पानीको खोजमा वन्यजन्तु बस्ती पसेका छन् । हरिण, मृग, जरायोसहितका जनावर उत्तरको चुरे काछतिर र बँदेल, नीलगाई र दुम्सीलगायतका वन्यजन्तु दक्षिणका सघन बस्तीमा पसेका छन् । यसरी पानीको खोजमा बस्ती पसेका वन्यजन्तुले बालीनाली नोक्सान गरिदिँदा किसान दोहोरो मारमा परेका छन् ।

“यहाँ मान्छे र घरपालुवा जनावर जोगिन हाहाकार परेका बेला वन्यजन्तु पनि थपिएका छन्”, बलवा–१० धमौराका उत्तिम माझी भन्छन्, “पानीकै सङ्कटबीच बाली पनि जोगाउन सकिएको छैन ।” डिभिजन वन कार्यालय महोत्तरीले पानीको सङ्कट चुलिदै जाँदा पानीको खोजमा टाढाटाढा जान थालेपछि वनक्षेत्रमा वन्यजन्तु देखिन छाडेका जनाएको छ ।

“यहाँ वनभित्रका ताल, ससाना पोखरी, खोल्साखोल्सी र जरुवा पानीका मुहान सबै सुकेका छन्, वनभित्र पानी भेटिन छाडेको छ”, कार्यालय प्रमुख सन्तोषकुमार झा भन्छन्, “मान्छेमात्रै होइन यहाँ वन्यजन्तु जोगाउन पनि गम्भीर सङ्कट आउँदै छ ।”

पछिल्ला केही दिनयता बढेको अत्यधिक गर्मीले जनजीवन कष्टकर छ, त्यसैमा पानीको समस्या थपिएको छ । बालीनाली तथा लहरा पहेँलिएर खङरङ्ग सुक्दै छन् । यो अवस्थाले पिरोलिएका नागरिक आकाशतिर फर्केर पानी पारिदिन ईश्वर पुकार्नुभन्दा अर्को विकल्प नभएको बताउँछन् ।

-रासस

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  ९ : ०० बजे

आज २०८१ साल भदौ २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार तदनुसार

कैलालीका थारू बस्तीमा अटवारी पर्वको चहलपहल

कैलाली – कैलालीका थारू समुदाय बाहुल्य गाउँ तथा बस्तीमा अटवारी

सन् २०२९ सम्म भारतीय डिजिटल कारोबारको बजार तीन गुणा वृद्धि हुने

काठमाडौं – आर्थिक वर्ष सन् २०२३–२४ मा भारतीय डिजिटल भुक्तानीको

गाजामा कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

गाजा – गाजापट्टीको दक्षिणी क्षेत्र खान युनिसमा शनिबार दिउँसो एक

बागलुङ कालिकामा चलचित्र ‘वसन्त’को शुभमूर्हत

गण्डकी – गलबन्दी प्रडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘वसन्त’को शनिबार