योग दिवसलाई जनस्तरमा सम्बन्ध बढाउने माध्यम बनाउँदै भारत, देशका १० सहरमा कार्यक्रम | Khabarhub Khabarhub

योग दिवसलाई जनस्तरमा सम्बन्ध बढाउने माध्यम बनाउँदै भारत, देशका १० सहरमा कार्यक्रम


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत सरकारले योग दिवसलाई नेपालमा सम्बन्ध विस्तारको माध्यम बनाउँदै लगेको छ । भारतकै पहलमा १७५ सदस्य राष्ट्रले समर्थन गरेको प्रस्तावको आधारमा सन् २०१४ मा संयुक्त राष्ट्रसंघले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन थालेको थियो ।

जुन २१ मा मनाइने योग दिवसको केही दिनअघिबाटै नेपालस्थित भारतीय निकायहरू देशका विभिन्न सहरमा यो दिवसलाई उत्सवका रुपमा मनाइरहेको छ । भारतले योग दिवसमा नेपालका सर्वसाधरणलाई पनि सहभागी गराएर सम्बन्ध जनस्तरमा लैजाने कोसिस गरेको हो ।

‘बितेको दशकमा जुन प्रस्ताव संयुक्त राष्ट्रसंघको महासभाबाट सुरु भएको थियो । त्यो स्वास्थ्य र कल्याणलाई प्रवर्द्धन गर्ने वैश्विक आन्दोलनमा परिणत भएको छ’, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसहित विभिन्न देशका समकक्षीलाई शुक्रबार पठाएको सन्देशमा उनले भनेका छन्, ‘योगलाई आज विश्वका सबै संस्कृति र सबै महादेशहरूले अपनाएका छन् ।’

भारतले योग दिवसलाई सम्बन्ध बिस्तारको माध्यम बनाउँदै जनस्तरमा पुगेर मनाइरहेको छ । अन्तर्राष्ट्रिय योग दिवसको १० औँ संस्करण मनाउन काठमाडौंस्थित भारतीय दूतावास र वीरगञ्जस्थित महावाणिज्य दूतावासले विभिन्न स्थानमा कार्यक्रम गरेका हुन् ।

काठमाडौं, पोखरा, लमजुङ, लुम्बिनी, जनकपुर, चितवन, वीरगञ्ज, हेटौंडा, रौतहटको गौर र वीरगञ्जको पोखरियासहित नेपालका १० वटा शहर र नगरपालिकामा शृंखलाबद्ध रुपमा विभिन्न कार्यक्रम गरिएको हो ।

यस वर्ष ‘स्वयम् र समाजका लागि योग’ मूल नारासहित भारतीय दूतावासले मुख्य कार्यक्रमअघि नै गत जेठ २५ गते काठमाडौंमा पशुपतिनाथ मन्दिरमा योग प्रदर्शन र माइती नेपालमा व्याख्यानसहितको कार्यक्रम गरिएको थियो ।

उता भारतीय राजदूतावासले यही असार ५ गते पोखराको फेवा ताल किनारामा ४५० भन्दा बढी सहभागीहरूका लागि योग तथा ध्यान अभ्यासको आयोजना गरेको छ ।

त्यही दिन योग र आयुर्वेदले स्वास्थ्यमा पुऱ्याउने फाइदाबारेमा आयुर्वेद अभ्यासकर्तासँग मिलेर पोखरा विश्वविद्यालयका विद्यार्थीका लागि दूतावासले योग प्रदर्शन तथा निःशुल्क स्वास्थ्य परामर्श गरेको थियो । कार्यक्रममा पोखरा विश्वविद्यालयका उप–कुलपति तथा प्राध्यापकहरू सहभागी थिए ।

राजदूतावासले बिहीबार मात्रै पोखराका तीन प्रख्यात स्थलमा योग प्रदर्शनको आयोजना गऱ्यो । सराङ्कोट भ्यू पोइन्टबाट अन्नपूर्ण हिम श्रृङ्खलाको मनोरम दृश्य अवलोकन गर्दै योग अभ्यास गराइएको छ ।

पुम्दीकोटस्थित शिव मन्दिरबमा आध्यात्मिक वातावरण र मनोरम दृश्य एकैसाथ हेर्दै योग सिकाइएको छ । पोखराकै रमणीय अनदु डाँडामा अवस्थित शान्ति स्तुपमा पनि योग अभ्यास गराइएको छ ।

त्यसक्रममा योगका शारीरिक, मानसिक र आध्यात्मिक फाइदाबारे प्रकाश पार्दै अनुभवी योग प्रशिक्षकले सहभागीलाई विभिन्न आसन, प्राणायाम र ध्यान विधिबारे जानकारी दिए ।

दूतावासले लुम्बिनीमा बिहीबार नै ९ सयभन्दा बढी सहभागीका लागि एक बृहत् योग प्रदर्शन आयोजना गरेको छ । जहाँ लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महरा लगायत अन्य प्रदेशस्तरीय नेता सहभागी भए ।

लुम्बिनीका मुख्यमन्त्री महराले भगवान बुद्धको जन्मस्थलमा योग कार्यक्रम आयोजना गरेर भारत–नेपाल साँस्कृतिक सम्बन्धलाई बलियो बनाएकोमा धन्यवाद दिए ।

त्यहाँ भारतीय राजदूत नवीन श्रीवास्तवले योगको विश्वव्यापी अपिल र स्वस्थ, चिन्तनशील र दिगो जीवनशैली कायम गर्नमा यसको महत्वको चर्चा गरे ।

उता पोखरा महानगरपालिकासँग सहकार्य गर्दै शुक्रबार पोखरा रङ्गशालामा ठूलो योग प्रदर्शन कार्यक्रम भारतीय दूतावासले आयोजन गरेको छ । सन् २०२४ मा नेपालमा मनाएको अन्तर्राष्ट्रिय योग दिवस उत्सवको ठूलो कार्यक्रम यहाँ भएको हो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र त्यस क्षेत्रका ५ हजारभन्दा बढी योगमा अभिरुचि राख्नेले सहभागिता जनाए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले यस वर्षको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय योग दिवस पोखरामा आयोजना गरेकोमा भारतीय दूतावासलाई धन्यवाद दिए ।

उनले सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउने प्रधानमन्त्री मोदीको प्रस्तावलाई नेपालले समर्थन गरेको बताए ।

उनले योग भारत र नेपालबीचको प्रगाढ र दिगो साँस्कृतिक सम्बन्धको एउटा महत्वपूर्ण तत्व भएको कुरामा जोड दिए ।

भारतीय राजदूत नवीन श्रीवास्तवले योगले नेपाल र भारतबीच बलियो सांस्कृतिक सेतुको रुपमा काम गर्ने बताए । उनले नेपालका महत्वपूर्ण पर्यटकीयस्थलहरूमा योग कार्यक्रमको आयोजना गर्नाले ती ठाउँमा योग पर्यटन प्रवर्द्धन गर्न सकिने बताए ।

पोखरा महानगरपालिकाका मेयरले पोखरालाई नेपालकै पर्यटकीय राजधानीका रुपमा स्थापित गर्न यस्ता ठूला कार्यक्रम आयोजना गरेकोमा दूतावासलाई धन्यवाद दिए ।

उता भारतीय महावाणिज्य दूतावास वीरगञ्जले पनि जनकपुर, चितवन, वीरगञ्ज, हेटौंडा, गौर र पोखरियामा अन्तर्राष्ट्रिय योग दिवस कार्यक्रम गरेको छ ।

अन्तर्राष्ट्रिय योग दिवसको १० औँ संस्करणलाई समापन गर्न भारतीय दूतावासले मध्यनेपाल नगरपालिकासँगको सहकार्यमा शनिबार लमजुङमा योग प्रदर्शन कार्यक्रम गर्दैछ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  १ : २४ बजे

ललितपुर महानगरपालिकाले थाल्यो अनधिकृत संरचना हटाउन (तस्बिरहरू)

काठमाडौं– ललितपुर महानगरपालिकाले आजबाट महानगर भित्रका घरहरूमा निर्माण गरिएका अनधिकृत

गैरआवासीय नेपालीको गुनासो- मालपोतले समेत नचिन्ने नागरिकताको के काम ?

काठमाडौं- गैरआवासीय नेपालीहरूले राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग

मार्गप्रशस्त गरेर छानबिनमा सहयोग गर्न गृहमन्त्रीलाई माओवादीको सुझाव

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले भिजिट

सहरी विकासमा धेरै बजेटबारे वर्षमानको आशंका- खल्तीका योजना हालेर भ्रष्टाचार गर्न खोजिएको हुन सक्छ

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले अर्थमन्त्री विष्णु

प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी