छोरा कुट्ने ‘सेल्फ डिफेन्स’ | Khabarhub Khabarhub

ब्लग

छोरा कुट्ने ‘सेल्फ डिफेन्स’



केही दिन अगाडि कार्यालय आउँदा सार्वजनिक बसमा विद्यालयको युनिफर्ममा रहेकी बहिनी चिच्याएर रोइन् । त्यो समय बस स्टेशनमा यात्रु झर्दै थिए । ती बहिनी रोएपछि बसमा भएका अन्य यात्रु अक्क न बक्क भए ।

एकछिन त किन रोइन्‌ भनेर कसैले सोध्न पनि सकेन । उनले झनै डाँको छोड्न थालेपछि चालकले ‘उठेर के भयो ?’ भने । तर उनी केही बोलिनन् । म आफैँ पनि ओर्लने तयारी गर्दै थिएँ, तर उनको रुवाइले रोकिएँ ।

चालक लगायत अरू यात्रुले ‘के भयो ? किन रोएको ?’ सोधिरहेका थिए । तर उनी रोइरहिन् । एकपटक मलाई पनि सोध्न मन लाग्यो । दुई तिन पटकमा पनि उनले केही भनिनन्‌ । रोइरहेकी ती बहिनीलाई छोडेर हिँड्न मन मानेन ।

सबैले सोधिरहेपछि उनले भीडभाडमा अर्को यात्रुले आफ्नो संवेदनशील ठाउँमा छोएको बताइन् । चालकले ‘कुन हो त्यो ?’ भनेर साेधे । तर त्यो यात्रु भर्खरै ओर्लिएको उनले बताइन् ।

‘अगाडि नै किन नभनेको ? अब त्यो यात्रु कसरी खोज्ने ? घटना हुँदै किन नचिच्याएको ? केटीहरूको समस्या भनेकै घटना भएकै बेलामा बोल्न नसक्ने हो । जसले गर्दा अपराधी समात्न मुस्किल पर्छ…,’ चालक र अन्य यात्रुहरू भन्दै थिए ।

त्यो व्यक्तिको हुलिया सोधेर वरपर हेरियो, तर भेटिएन । काठमाडौंको भीडभाडमा त्यो हुलिया भएको व्यक्ति क्षणभरमै गायब भयो । कार्यालय समयको बस धेरैबेर रोकिएन ।

विद्यालय नजाने भनी उनी गाडीबाट आर्लिइन् । म पनि सँगै ओर्लिएँ । ‘प्रहरीकहाँ उजुरी गर्न जाऊँ’ भनेँ । तर उनले मानिनन् । ‘बलात्कारीलाई सफाइ दिने देशमा यौन दुर्व्यवहारको छानबिन कसले गर्छ ? त्यो अपराधीलाई कानूनले सजाय दिन्छ ?’ यस्तै प्रश्न उनले मतिर तेर्स्याइन्‌ । म केही बोल्न नसक्ने स्थितिमा पुगेँ ।

उनी रुँदैरुँदै बाटो लागिन् । अहो ! त्यो गह्रुङ्गो समयको साक्षी मलाई भने सासै फेर्न गाह्रो भयो । सार्वजनिक स्थलमा हुने दुर्व्यवहारमा न्याय पाउनु भनेको ढुङ्गा चपाउनुभन्दा मुस्किल छ ।

कानूनी प्रक्रिया झन्झटिलो र न्याय पाउने सम्भावना कम हुने हुँदा यस्ता घटना सामसुम हुन्छन् । पीडित खुम्चिएर बस्नुपर्ने स्थिति छ ।

त्यस्तो बेला घटना भएकै पल अपराधीको करङको हड्डी भाँचिनेगरी पिटे पीडितले न्याय पाउँलान्‌ जस्तो लाग्यो । भीडभाडको बीचमा यौनपिपाशु हर्कत गर्दै आफूलाई बहादुर/वीरङ्गना ठान्नेहरू आखिर सजायभागी नै हुन्‌ । एक बदमासले शारीरिक अस्मितामा खेल्दा एक किशोरीको मनोविज्ञानमा कति आघात पर्छ ? त्यो अपराधीले सोच्नसमेत सक्दैन ।

ठाउँका ठाउँ पीडकविरुद्ध प्रतिरोध गर्नु न्यायोचित हो ? झल्याँस्स मलाई ‘सेल्फ डिफेन्स’को याद आयो । ती बहिनीले आँशु बगाएको सम्झँदा लाग्यो- ‘हरेक छोरीलाई सिकाउनुपर्छ, लडाकु बनाउनुपर्छ ।’

स्थानीय तहले साना छोरीहरूलाई ‘सेल्फ डिफेन्स’ को प्रशिक्षण दिएर निकै राम्रो काम गरिरहेको छ । बढ्दो बलात्कार र यौन दुर्व्यवहारका घटनाबाट छोरीहरूले आफूलाई संरक्षण गर्न सक्ने सबैभन्दा उत्तम प्रशिक्षण यही हो ।

यस प्रशिक्षणले विविध प्रकारको हिंसाविरुद्ध प्रतिकार गर्न सशक्त बनाउँछ । त्यसमा किक, बक्सिङ र ब्लक प्रहार रोक्ने विधिबारे सिकाइन्छ । पहिलो चरणमा आक्रमणबाट कसरी बच्ने, संवेदनशील अङ्गको बचावट कसरी गर्ने र सुरक्षाका लागि प्रहार गर्ने लगायत सीप सिकाइन्छ ।

फेरि सोचेँ- ‘के यो सिकाइ न्यायोचित छ ? सेल्फ डिफेन्स सिकेपछि छोरीहरू यस्ता अपराधबाट सुंरक्षित हुन्छन् ? उनीहरूलाई कसैले छुन सक्दैन ? यो अभिभावक ढुक्क हुने स्थिति हो ? सबै छोरी तथा बालिका सेल्फ डिफेन्समा उत्रिन सक्छन् ? नसक्नेहरूको हकमा के हुन्छ ?’

म सेल्फ डिफेन्सको विपक्षमा छैन । तर लड्न, हिर्काउन, कुट्न र पिट्न उत्रिन नसक्ने बालिकाहरूका लागि के त ? हरेक बालबालिकाको रुचि क्षेत्र फरक–फरक हुन्छन् । सबै बालिकाको मनोविज्ञान लडाकु हुँदैन ।

उनीहरूले सेल्फ डिफेन्स सिके पनि आफूमाथि भएको हिंसाको प्रतिकार गर्न शारीरिक रूपले सक्दैनन् । त्यस्तो अवस्थाका बालिकाका लागि डिफेन्सको प्रशिक्षणले काम गर्छ ? गर्दैन

त्यसो भए डिफेन्समा जान नसक्ने बालिकाहरूले हिंसा नसहनुको विकल्प छैन ?

शारीरिक रूपले प्रतिकार गर्न नसक्ने बालिकाहरूका लागि पनि सुरक्षित हुने समाज हामीले निर्माण गर्नुपर्छ वा पर्दैन ? सेल्फ डिफेन्सको प्रशिक्षण बिना पनि यो समाजमा छोरीले मानव भएर बाँच्न पाउनु परेन ?

एक असल समाज, गाउँ, शहर र देश बन्न सबैभन्दा पहिले असल नागरिक हुनुपर्छ । जुन समाजमा पाँच वर्षकी छोरी आफन्तबाट सुरक्षित छैनन्‌, विद्यालय हिँडेकी छोरी सार्वजनिक बसमा यौन दुर्व्यवहारमा पर्छिन्, स्कुल गएकी १३ वर्षकी छात्रा आफ्नै शिक्षकबाट बलात्कृत र गर्भवती भएकी छन् ।

यी सबै अपराधको समाधान सेल्फ डिफेन्स हो ?

एक पक्षले अपराध गर्छ र अर्को पक्ष त्यो अपराधबाट कसरी जोगिने भनेर लाग्छ । मुख्य कुरा अपराध हुन नदिने स्थितिको सिर्जना गर्नु हो । जबसम्म समाजमा यौनजन्य अपराधविरुद्ध सचेतना जगाउन सकिन्न, तबसम्म यस्ता अपराध रोक्न सकिन्न ।

सिक्ने कुरा सधैँ छोरीकै भागमा किन पर्छ ? हिजो पुरुषसँग जोगिएर हिँड्न सिकाइयो । आज दुर्व्यवहार गर्नेलाई कुट्न र हातखुट्टा भाँच्न सिकाइएको छ । यस खालका सिकाइले समाजमा अराजकता निम्तिन्छ ।

‘ब्याड टच’ र ‘गुड टच’ बारे छोरालाई भन्दा धेरै छोरीलाई सिकाइएको छ । ‘ब्याड टच’बारेमा जानकारी नै नपाएका छोराहरूको हातखुट्टा र नाकमुख भाँचिने भए । बाटोमा एक्लै हिँडेकी केटीलाई जिस्काउनुलाई केटाहरू सामान्य मान्छन् । सार्वजनिक स्थलमा छुने वहाना उनीहरूलाई सामान्य लाग्छ ।

यो गलत हो भनेर हामीले छोराहरूलाई सिकाएकै छैनौँ । सिकाए नै सिक्ने हो नि ! हामीले छोरालाई ‘असहज हुनेगरी हेर्नु वा छुनु गलत हो, सार्वजनिक स्थलमा जथाभावी छुन गलत हो’ भनेर सिकाएको भए यस्ता घटना देख्नु/भोग्नु पर्दैनथ्यो ।

सदियौँदेखि महिलाले आफूलाई पुरुषसँग जोगिँदै हिँड्नुपर्‍याे। पुरुषले जे पनि गर्न सक्छ, जसो पनि गर्न सक्छ, त्यसको पूर्ण तयारी महिलाले गर्नुपर्छ । हिंसा भोग्नेकै चरित्रमाथि प्रश्न उठाइन्छ । फलानाकै छोरी नक्कली थिई, उत्ताउली थिई , छोटा लुगा लगाएर हिँड्थी भनियो ।

मानवमात्रै नभएर जनावरको समेत हक-अधिकारको वकालत गर्ने युगमा आज पनि छोरीले नै जोगिएर हिँड्नुपर्ने अवस्था छ । पुरुषसँग सुरक्षित छैन भनेर हिँड्नुपर्ने अवस्था छ ।

कुनै पनि महिलालाई जिस्क्याउने, ब्याड टच गर्ने, भीडभाडको फाइदा लिने, यौनजन्य सङ्केत गर्ने जस्ता क्रियाकलाप अपराध हो भनेर छोराहरूलाई नै सिकाउनुपर्छ । विद्यालयहरूमै सिकाउनुपर्छ ।

ब्याड टचजस्ता क्रियाकलापलाई हालसम्म पुरुषप्रधान समाजले सामान्य मान्दै आएको छ । यिनै सामान्य क्रियाकलापले नै यौन दुर्व्यवहार र बलात्कारजस्ता जघन्य अपराघसम्म धकेल्छ ।

छोरीलाई डिफेन्स सिकाउने र छोरालाई ब्याड टचबारे नसिकाउँदाको नतिजा के हुन्छ ? स्कुल गएको छोराले हातखुट्टा, नाक भाँचेर घर आइपुग्छ । त्यसकारण सिक्ने पालो अब छोराहरूकै हो । हामीले छोरीहरूलाई फाइटर नै बनाए पनि हुन सक्ने आपराधिक घटनाबाट जोगाउन सकिँदैन ।

आपराधिक मानसिकता जन्म हुनै नदिने शिक्षा आजको आवश्यकता हो । छोरीलाई अपराधबाट जोगिनका लागि दिइने लडाकु प्रशिक्षणभन्दा छोरालाई यौनजन्य अपराध के–के हो ? के गर्नु हुन्छ र के गर्न हुँदैन भनी सिकाउन आवश्यक छ ।

छोरीहरूलाई कराँते र तेक्वान्दो जस्ता खेलकुदमा उनीहरूको रुचि अनुसार प्रोत्साहन गर्नुपर्छ । खेल वा शारीरिक कसरतको रूपमा सेल्फ डिफेन्स असाध्यै राम्रो सिकाइ हो ।

‘सबै पुरुष अपराधी हुन् । पुरुषहरू गलत नै हुन्छन्, उनीहरूलाई ठोक्नुपर्छ’ भन्ने सिकाइको प्रभावकारिता कति हुन्छ ? यो समाजमा असल पुरुषहरू पनि त उत्तिकै छन् ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ७ : ०६ बजे

गृहमन्त्रीको जवाफ- व्यवस्थाप्रति वितृष्णा फैलाउन पूर्वराजाका समर्थकले तीनकुनेमा हिंस्रक घटना घटाए 

काठमाडौं– गृहमन्त्री रमेश लेखकले अराजकतामार्फत संविधान र व्यवस्थाप्रति वितृष्णा फैलाउने

नागरिक आरोग्य सेवालाई ७५३ वटै पालिकामा बिस्तार गरिनेछ : मन्त्री पौडेल 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले नागरिक आरोग्य सेवालाई

युवा विद्यार्थीलाई सृजनशील हुन मन्त्री दाहालको आग्रह

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले समृद्ध नेपाल निर्माणको

भारतसँग ‘खराब सम्बन्ध’ भएका ओली र युनुस मोदीको दायाँबायाँ, ‘दिखावा’ कि संयोगमात्रै ?

काठमाडौं- पछिल्लो समय नेपाल र बंगलादेशसँग भारतको सम्बन्ध त्यति राम्रो

श्रम भण्डारीले भने- नेपालमा मानव संसाधन विकासका लागि ‘एओटिएस’ जापानको योगदान महत्वपूर्ण

पाटन– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपालमा मानव