अर्थसंक्षेप : ४० मेगावाट विद्युत निर्यात हुनेदेखि अरनिको राजमार्ग १४ घण्टा अवरुद्धसम्म  | Khabarhub Khabarhub

अर्थसंक्षेप : ४० मेगावाट विद्युत निर्यात हुनेदेखि अरनिको राजमार्ग १४ घण्टा अवरुद्धसम्म 


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 6 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीआईडीबी) ले नेपालमा उत्पादित ४० मेगावाट बिजुली बिक्री र खरिदका लागि नेपाल विद्युत प्राधिकरणसँग पत्राचार गरेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेको छ । पहिरोका कारण १४ घण्टादेखि अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–७ स्थित ऐतिहासिक उपर्दाङ्गगढीमा कोतघर पुनर्निर्माण गरिने भएको छ ।

यस्ता छन् आजका प्रमुख आर्थिक समाचारहरुः

 ४० मेगावाट विद्युत किन्न बंगलादेशले पठायो पत्र, यसै वर्षदेखि निर्यात हुने

बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीआईडीबी) ले नेपालमा उत्पादित ४० मेगावाट बिजुली बिक्री र खरिदका लागि नेपाल विद्युत प्राधिकरणसँग पत्राचार गरेको छ । वीपीडीबेले वर्ष्याममा ६ महिनाका लागि ४० मेगावाट विद्युत् बिक्रीका लागि प्राधिकरणमा पेश गरेको बोलपत्रसम्बन्धी विद्युत बिक्री सम्झौताबारे सोमबार आएको पत्रलाई प्राधिकरणले स्वीकार गरेको हो ।

ऐनमा व्यवस्था भए बंगलादेश, भारत र नेपालका निकायबीच भएको त्रिपक्षीय सम्झौताअनुसार २०८० मा नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिदका लागि बीपीआईडीबीले हंगेरीबाट पाँच वर्षका लागि टेन्डर आह्वान गरेको थियो । प्राधिकरणले तोकिएको संरचनाअनुसार बिजुलीको बिक्री दरसहित बोलपत्र कागजात पेश गरेको थियो । पेश गरिएको बोलपत्रसम्बन्धी कागजातहरूको मूल्याङ्कन गरी स्वीकृतिबारे सम्बन्धित निकायलाई जानकारी गराई बोलपत्र स्वीकृत गर्ने मनसाय सूचना अधिकारीलाई दिइनेछ ।

प्राधिकरणले बोलपत्र स्वीकृत भएको ७ कार्यदिवस भित्र बीईपीआईडीबीईलाई लिखित सूचना दिनुपर्नेछ। त्यसपछि बीईपीआईडीबीईले पावर बिक्री सम्झौताको मस्यौदा प्राधिकरणलाई उपलब्ध गराउनु पर्नेछ । मस्यौदा प्राप्त भएको २८ दिनभित्र सम्झौता गरिसक्नु पर्नेछ । प्राधिकरण, नीति आयोग, भारत र बीईपीआईडीबीईबीच त्रिपक्षीय सम्झौता हुनेछ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्लेले सबै प्रक्रिया पूरा भइसकेको र यसै वर्षबाटै बंगलादेशमा बिजुली निर्यात गर्ने काम सुरु गर्न सकिने बताए ।

दोहोरो अंकले बढ्यो नेप्से, लघुवित्तका लगानीकर्ताले कमाए धेरै

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्सेमा १ करोड १६ लाख ६१ हजार २०८ कित्ता शेयर कारोबार हुँदा नेप्से १५.७९ अंकले बढेको हो । मंगलबार नेप्सेमा ५ अर्ब ५३ करोड ५९ लाख ५८ हजार बराबरको कारोबारमा १६८ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने ६८ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो । त्यस्तै १० वटा कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।
आज नेप्सेमा भएको शेयर कारोबारमा लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै आर्जन गरेका छन् । नेपाल स्टक एक्सचेन्जकाअनुसार आज भएको शेयर कारोबारमा धेरै कमाउने मध्येका टप टेन कम्पनी नै लघुवित्त रहेका छन् । त्यस्तै आजको कारोबारमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२, नेपाल फाइनान्स लिमिटेड, बोटलर्स नेपाल, नबिल ब्यालेन्स फन्ड–२ र जानकी फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।

१४ घण्टादेखि अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सञ्चालन

पहिरोका कारण १४ घण्टादेखि अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको छ । सोमबार राति ९ बजे राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका– ८ स्थित ५० किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।

सडक माथिबाट पहिरो खसिरहेकाले रातभर पन्छाउन असहज भएकामा बिहान ७ बजेदेखि दुईवटा मेसिनले आंशिक पहिरो पन्छाइ एकतर्फी यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राजमार्ग पूर्णरूपमा खुलाउन सुरक्षाकर्मीको निगरानीमा पहिरो पन्छाउने काम भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार उक्त स्थानमा पहिरोको जोखिम भने कायमै रहेको छ । यहाँ पहिरो खसेर करिब दुई सय मिटर सडक अवरुद्ध भएको थियो । गएरातिदेखि नै सडक अवरुद्ध हुँदा दुवैतर्फ सयौँ सवारी साधन रोकिएका थिए ।

चितवनको उपर्दाङ्गगढीको कोतघर पुनर्निर्माण गरिँदै

इच्छाकामना गाउँपालिका–७ स्थित ऐतिहासिक उपर्दाङ्गगढीमा कोतघर पुनर्निर्माण गरिने भएको छ । गढीको भौतिक संरचना पुनर्निर्माण अन्तर्गत भग्नावशेष अवस्थामा किल्लाभित्र रहेको कोतघरलाई पुनर्निर्माण गरिने भएको हो ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले कोतघर पुनर्निर्माण गर्न आर्थिक वर्ष २०८१–८२ मा एक करोड बजेट विनियोजन गरिएको  जानकारी दिए । गुरुङले पुरातत्व विभागको मापदण्डअनुसार पुरानै संरचनामा कोतघर बनाइने बताए । उनले भने, ‘पुरातत्व विभागको समन्वयमा पुरानै संरचनाअनुसार भग्नावशेष अवस्थामा रहेको कोतघर पुनर्निर्माण गर्दैछौँ, जसका लागि एक करोड बजेट विनियोजन गरेका छौँ ।’

उनका अनुसार उपर्दाङ्गगढीमा पुरानो संरचनालाई असर नपुग्ने गरी यसअघि गोलघर, टिकट काउन्टर, वनभोजस्थल, प्रवेशद्वारको ढोका मर्मत, काठेपुल निर्माण, प्रतिक्षालय, शौचालय र खानेपानीका लागि धारा निर्माण गरी विद्युत जडान गरिएको छ । पर्यटकको मागअनुसार फोटो खिच्न आकर्षकस्थल बनाउन गढीको बाहिर भागमा ‘आइ लभ गढी’ लेखेको संरचना निर्माण गरिएको छ ।

सुनचाँदीको मूल्य घट्यो

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ । महासंघले आज छापावाल सुन प्रतितोला १ लाख ४४ हजार एक सय र तेजावी सुन १ लाख ४३ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

यसअघि सोमबार छापावाल सुन १ लाख ४५ हजार र तेजावी सुन १ लाख ४४ हजार तीन सय रुपैयाँमा किनबेच भएको थियो । यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । चाँदी आज प्रतितोला ५ रुपियाँ घटेर १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

धरान–धनकुटा सडक अवरुद्ध

निरन्तरको वर्षाका कारण आएको बाढीपहिरोका कारण धरान–धनकुटा सडक अवरुद्ध भएको छ । धनकुटाको सागुरीगढी–६ स्थित फेदीमा पहिरो खसेपछि बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले जानकारी दिए ।

सो सडकखण्डमा पर्ने फेदी, घण्टे र नमस्ते झर्ना क्षेत्रमा पहिरो झरेकोले सवारी आवतजावतमा समस्या भएको उनले बताए । गर्जुवा खोलाबाट आएको बाढीका कारण ढुङ्गा र माटोसहितको लेदोले सडक ढाकेको उनले बताए । ‘बाटो खोल्ने काम भइरहेको छ, पानी परिरहेकोले कतिखेर कहाँ पहिरो झर्नसक्ने अवस्था हुनसक्ने भएकोले सजग भएर हिँड्नुपर्ने अवस्था छ’, उनले भने ।

निरन्तर वर्षासँगै  आएको बाढीका कारण धरान उपमहानगरपालिका– १६ मा  १० वटाभन्दा बढी घर जोखिममा परेका छन् । स्थलगत अनुगमनमा पुग्नुभएका धरान उपमहानगरपालिका– १६ का वडाध्यक्ष मुरारी भट्टराईले जोखिममा परेका दुई घरका परिवारलाई भने आफन्त र छिमेकीको पठाइएको बताए । उनले भने, ‘बाँकी परिवारलाई पनि अन्यत्र सार्ने काम जारी छ   निरन्तर पानी परेकाले समस्या भएको छ ।’ निरन्तरको वर्षाले पुलमा सामान्य क्षति भएको छ ।

बाढी प्रभावितलाई महाकाली अस्पतालमा निःशुल्क उपचार

कञ्चनपुरका बाढी प्रभावितलाई महाकाली प्रादेशिक अस्पतालले निःशुल्क उपचार गर्ने भएको छ । बाढीमा परेर घाइते र प्रभावित क्षेत्रका बिरामी हुने नागरिकको अस्पतालले निःशुल्क उपचार गर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिए । स्वास्थ्य समस्या देखिए तत्काल अस्पतालमा ल्याई उपचारमा सहयोग गरिदिनसमेत उनले आग्रह गरे ।

‘बाढीमा परेर चोटपटक वा बिरामी भएमा अस्पतालले निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको छ, हालसम्म पाँचजनाको उपचार गरिसकेका छौँ, बिरामी आउनेक्रम जारी छ’, अध्यक्ष भट्टले भने ।  बाढी र डुबानका कारण कञ्चनपुरमा एक हजार एक सय १२ परिवारका चार हजार तीन सय ६५ जना प्रभावित बनेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आज मौसममा सुधार आएपछि बाढी प्रभावित घर फर्किन थालेका छन् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर लिम्बूले विद्यालयमा आश्रय लिएर बसेका बाढी प्रभावित घर फर्किन थालेको बताए ।

बाढी प्रभावित क्षेत्रमा हाल सङ्क्रामक रोगको जोखिम बढेको छ । चिकित्सकहरूले यस्ता क्षेत्रमा शुद्ध पानी, खाना र सुरक्षित आवासको अभावमा विभिन्न रोगको प्रकोप देखिन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् ।

जलस्रोत विधेयक दफावार छलफलका लागि समितिमा

प्रतिनिधिसभाको बैठकले ‘जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्तुत गरिएको प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको छ । आजको बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) का तर्फबाट सिँचाइ मन्त्री बस्नेतले ‘थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन’ पनि पेस गरे ।

बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को कार्यभारसम्बन्धी र विधेयक प्राधिकरणसम्बन्धी पत्र पढेर सुनाइएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार २७ गते दिउँसो ४ चार बजे बस्नेछ ।

रारा विमानस्थलमा आजदेखि हवाई उडान सञ्चालन

मुगुस्थित रारा विमानस्थलमा आजदेखि हवाई उडान सञ्चालन भएको छ । अविरल वर्षाका कारण सात दिनदेखि अवरूद्ध हवाई उडान  आजदेखि पुनः सञ्चालनमा आएको हो । रारा नागरिक उड्यन कार्यालय ताल्चका प्रमुख कृष्ण रिजालका अनुसार मौसममा केही सुधार भएपछि आज समिट र तारा एयरले उडान गरेका हुन् । हवाई उडान नहुँदा यात्रुहरू मुगुमै बस्न बाध्य थिए ।

कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा विगत सात दिनदेखिको अविरल वर्षाका कारण बाक्लो हुस्सु र कुहिरो लाग्दा हवाई उडान अवरुद्ध  हुँदै आएको थियो । ‘गाडीबाट जाउँ भने बाटो बिग्रेको छ, जहाज आउँदैन । सात दिनदेखि सुर्खेत जान तयार भएको थिएँ बल्ल आज मौसममा सुधार आएपछि प्लेनमा यात्रा गर्न पाइयो खुसी लाग्यो’, छायाँनाथ रारा नगरपालिका गमगढीका नौलासिंह नेपालीले बताए ।

भरतपुर महानगरद्वारा ५४ संघ संस्थालाई कृषि सामग्री प्रदान

भरतपुर महानगरपालिकाले यहाँका ५४ समूह, सहकारी र कृषि फर्मलाई कृषियन्त्र तथा उपकरण प्रदान गरेको छ । महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले आज एक कार्यक्रमकाबीच ती सामग्री हस्तान्तरण गरेकी हुन् ।

महानगरको कृषि तथा व्यवसाय प्रबर्द्धन शाखामार्फत आर्थिक वर्ष २०८०–८१ को कार्यक्रमअनुसार कृषि यान्त्रिकीकरणका तथा ढुवानी साधन खरिदमा ५० प्रतिशत अनुदानमा सामग्री हस्तान्तरण गरिएको शाखाका प्रमुख तेजेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

अनुदानमा चारवटा ट्याक्टर, छवटा हाते ट्याक्टर (मिनिटिलर), धान, १२ वटा गहुँ काट्ने मेसिन (रिपर) हस्तान्तरण गरिएको हो । यस्तै धान तथा गहुँ झार्ने मेसिन (थ्रेसर) तीन थान, रोटाभेटर दुई थान, मकै छोडाउने मेसिन (कर्न सेलर) १७ थान, तोरी मिल तीन थान, मकै रोप्ने मेसिन (मेज प्लान्टर) तीन थान, घाँस टुक्र्याउने मेसिन (च्याफ कटर) आठ थान, राइस मिल दुई थान हस्तान्तरण गरिएको छ ।

कालिकास्थान–पुडिटार–लामेआहाल सडक शिलान्यास

कोत्रे–बिरौटा सडक खण्डअन्तर्गत कालिकास्थान–पुडिटार–लामेआहाल सडक शिलान्यास गरिएको छ । पोखरा महानगरपालिका र सहरी विकास मन्त्रालयको संयुक्त आयोजनामा आज कालिकास्थानमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सडकको शिलान्यास गरे ।

विश्व बैंकको सहयोगमा निर्माण हुन लागेको १२.४४ किमी लममे सडकको लागत अनुमान एक अर्ब आठ करोड ४८ लाख ९१ हजार तीन सय २६ रहेकामा रु ७७ करोड ६८ लाख ९२ हजार ८३७ मा आशिष निर्माण सेवा प्रालिसँग यही असार ६ गते ठेक्का सम्झौता भई काम सुरु गरिएको हो ।

ठेक्का सम्झौताको मितिबाट तीन सय ९० दिनमा काम सम्पन्न गर्नुपर्ने जनाइएको छ । शिलान्यास कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यो सडक आयोजना महानगरको गौरवको आयोजना भएको बताउँदै महानगरभित्र २८ अर्बभन्दा बढीका विभिन्न आयोजना सञ्चालन भइरहेको बताए ।

सहरी विकास मन्त्रालयका सचिव मनिराम गेलालले पोखराको विकासलाई पूर्वाधार विकास सरकारको पहिलो प्राथमिकतामा भएको बताए । पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले समयमा नै काम सम्पन्न गर्न सम्बद्ध सबैको साथ र सहयोग आवश्यक भएको बताए ।

पर्सामा ६० प्रतिशत रोपाइँ

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार आजसम्म पर्सामा ६० प्रतिशत रोपाइँ भएको छ । हालसम्म २८ हजार दुई सय ७८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको हो । यो जिल्लामा ४७ हजार एक सय ३० हेक्टरमा धानखेती हुने गरेको छ ।

केन्द्रका अनुसार साउनको दोस्रो सातासम्म पर्सा जिल्लाका सबै ठाउँमा रोपाइँ सकिने छ। विगतको वर्षको तुलनामा यो वर्ष मनसुन पनि चाँडो भित्रिएको र भारतीय पक्षले गण्डक नहरबाट पानी पनि उपलब्ध गराएकाले रोपाइँले गति लिएको हो । पर्सामा आव २०७८–७९ मा दुई लाख ३३ हजार एक सय ३५ मेट्रिक टन उत्पादन भएको थियो । यहाँ हरदिनाथ, सोनामन्सुली सावित्री जातका धान रोप्ने गरिन्छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ७ : ०० बजे

कुलमानले लाइन काट्दा प्रधानमन्त्री र ऊर्जामन्त्री तमासे

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले बिहीबार राति ३४ उद्योगमा बिजुलीको

रास्वपा नेताहरूलाई सहकारी पीडितको प्रश्न- हामीले दुई वर्षदेखि हारगुहार गर्दा कहाँ हुनुहुन्थ्यो ?

काठमाडौं–संसदीय छानबिन समितिले प्रतिवेदन बुझाइसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा केन्द्रित

ओली, देउवा र प्रचण्डबाट पार लाग्दैन

राजनीति भनेको संकट र समाधान दुवै हो । देशले संविधानसधभाबाट

‘राजनीतिक स्थिरता र आर्थिक समृद्धि ल्याउन कांग्रेस-एमाले मिलेका हुन्’

काठमाडौं- उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा राजनीतिक स्थायित्व कायम

चीनको युन्नान प्रान्तद्वारा ललितपुरलाई सामुदायिक बाथरुमसहितको परियोजना हस्तान्तरण

काठमाडौं– चीनको युन्नान प्रान्तले ललितपुर महानगरपालिकालाई जनकल्याणकारी परियोजना हस्तान्तरण गरेको