रवि र स्वर्णिमले होटलमा भारतीय राजदूतलाई भेटेर 'राष्ट्रघात' गरेकै हुन् त ? | Khabarhub Khabarhub

रवि र स्वर्णिमले होटलमा भारतीय राजदूतलाई भेटेर ‘राष्ट्रघात’ गरेकै हुन् त ?

गम्भीर विषयमा रवि र स्वर्णिमलाई विवादमा ताने मुकुलले


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


20.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत २५ असारमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्रीको जिम्मेवारी खोसेपछि यतिबेला डा. मुकुल ढकाल चर्चामा छन् । यससँगै उनका  विवादास्पद अभिव्यक्तिहरु  पनि आाउन थालेका छन् ।

महामन्त्री र पार्टी प्रवक्ताको भूमिका खोसिएपछि गत मंगलबार पत्रकार सम्मेलन गरेर आफूलाई रवि क्लबबाट मात्रै निकालिएको तर रास्वपामा यथावत रहेको ढकालले बताएका थिए ।

‘रवि लामिछाने क्लवबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन’, उनले भनेका थिए, ‘रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन ।’

तर, शनिबार हिमालय टेलिभिजनका लागि टीकाराम यात्रीसँगको अन्तर्वार्तामा ढकालले पार्टी सभापति रवि लामिछाने र उपसभापति डा. स्वर्णिम वाग्लेमाथि देशद्रोहसम्मको अर्थ लाग्ने गम्भीर आरोप लगाएका छन् । १ घण्टा १४ मिनेट ५९ सेकेन्डको उक्त अन्तर्वार्तामा मुकुलले आफ्नो राजनीतिलाई थप दाउमा राख्दै पार्टीभित्रका कयौँ आन्तरिक र गोप्य कुराहरु  छताछुल्ल पारेका छन् ।

कुनै बेला रविका सबैभन्दा विश्वास पात्र रहेका ढकालले रास्वपामा आफ्नो पुनरागमन सम्भव नरहेको निष्कर्षसहित नेपालको राजनीति र सरकार निर्माणमा भारतको भूमिकाबारे पनि अनेकौँ कुरा बोलिदिएका छन् । एउटा पार्टीको नेतृत्वदायी भूमिकामा करिब अढाई वर्ष बिताएका ढकालले शनिबार रवि र स्वर्णिममाथि लगाएका आरोप सुन्ने जो कोहीले जिब्रो टोक्छ ।

सबै जिम्मेवारी खोसिएर साधारण सदस्य मात्रै रहने गरी रास्वपाले भूमिकाविहीन बनाएपछि मुकुलको आक्रोश अझै नथामिएको शनिबारको अन्तर्वार्ताले देखाएको छ ।

अर्को विवादमा ताने रविलाई

१९ असारको रास्वपा केन्द्रीय समिति बैठकमा एक्लिएसँगै महामन्त्री ढकाल तनावमा थिए । पार्टी कार्यालय चमतीमा बसेको बैठकमा महामन्त्री ढकालले ३८ जिल्ला घुमेर तयार पारेको रिपोर्टिङ प्रतिवेदन प्रस्तुत भएको थियो। उक्त प्रतिवेदनमाथि सामान्य छलफल सुरु भएलगत्तै उनको महामन्त्री पद धरापमा पर्यो।

महामन्त्री ढकालले केन्द्रीय समिति बैठकको लाइभ गर्न भनेका थिए। तर उनको प्रस्तावमा बहुसंख्यक केन्द्रीय सदस्यले चासो नदिएपछि उनी पार्टीमा एक्लिए। त्यसपछि उनी मास्क बाहिर टेप टाँसेर विरोध जनाउँदै बैठकमा सहभागी भए।

त्यसबेला ढकालको प्रतिवेदनले सजिलै पार्टीमा प्रवेश गर्न पाएन । पार्टी बैठक लाइभ गर्ने प्रस्ताव अस्वीकृत भएपछि उनले मुखमा मास्क र त्यसमाथि टेप लगाए । उता प्रतिवेदन सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले पढे । ढकालको प्रतिवेदन पढ्ने उनै बुर्लाकोटी अहिले रास्वपा कार्यवाहक महामन्त्री भइसकेका छन् ।

उक्त बैठकबाट सुरु भएको विवादले रास्वपामा आफ्नो अस्तित्व नै सकिएको निष्कर्षमा पुगेका मुकुललाई ३५ दिनको समय अझै थियो । उचित स्पष्टीकरण दिएर उनी पार्टीको पुरानै भूमिकामा फर्किने सम्भावना गत मंगलबारको पत्रकार सम्मेलन र शनिबारको त्यो अन्तर्वार्ताले अब करिब समाप्त गरिदिएको छ ।

शनिबार दिइएको अन्तर्वार्तामा मुकुलले गोप्य राख्नुपर्ने कतिपय कुरा पनि बताइएपछि यात्रीले जगहँसाइको विषय नबनोस् भनेर रोक्न पनि खोजेका छन् । तर उनले रवि र स्वर्णिममाथि आरोपको वर्षामात्रै गरेनन्, नेपाललाई भारत संरक्षित प्रान्त बनाउने डिजाइन भएकोसमेत जिकिर गरे ।

‘दोस्रो पटक गृहमन्त्री भएपछि मलाई प्रधानमन्त्री बनाउन भारतलाई मनाऊँ भनेर रवि लामिछानेले मसँग भन्नु भएको हो । म जे पनि बुझाउन तयार छु, जेसुकै गर्न तयार छु । मलाई प्रधानमन्त्री बनाउनका लागि भारतलाई मनाउन मलाई अह्राउनु भएको थियो’, मुकुलले भनेका छन्, ‘तर मैले यो कुरा पहिले गर्न सकिनँ । तर म यो कुरा आज खुलासा गर्दैछु, मैले पहिले नै भन्न सक्थेँ तर अहिले यी कुरा सार्वजनिक गर्न उचित ठानेँ ।’

मुकुलले अतिगम्भीर कुरा गरेपछि यात्रीले उनलाई यो चानचुने कुरा होइन, ख्याल गर्नुस् भनेर पनि सम्झाएका छन् ।

‘उहाँ (रवि) ले भनेकै कुरा म गरिरहेको छु । उहाँले भारतलाई म जे पनि बुझाउन तयार छु, म प्रधानमन्त्री हुन्छु भन्नु भएकै हो । बरु ‘लाइभ डिक्टेटर टेस्ट’ गर्न तयार छु । म झुटो बोलेको नबोलेको परीक्षण गर्न तयार छु । ‘लाइभ डिटेक्सन टेस्ट’ लिन तयार छु’, अन्तर्वार्तामा यात्रीले सम्झाएपछि पनि उनले थपे, ‘रविजी दोस्रो पटक उपप्रधान र गृहमन्त्री भइसकेपछि कुनै हालतमा एक पटक प्रधानमन्त्री हुने जोशमा देखिनु भएको थियो । त्यहीकारण म जेसुकै सम्झौता गर्न तयार छु, मुकुलजी लबिङ गरिदिनुस् भनेर भन्नु भएको हो ।’

तर आफूले रविको कुरा सुनेको तर भारतीय पक्षमासँग त्यसबारे केही कुरा नगरेको जिकिर उनको छ । ‘मैले भारतसँग कहिले पनि त्योबारेमा कुनै कुरा र पहल पनि गरिनँ । बरु नेपाली क्रिकेट खेलाडीहरूलाई भेटाउन, सहयोग जुटाउन भने मैले पहल गरेको हो ।’

रविले आफूलाई प्रधानमन्त्री बनाउन पहल गरिदिन भने पनि भारतीय पक्षले त्यो दलहरूको आन्तरिक मामिला भनेको जिकिर पनि उनले गरेका छन् ।

‘भारतले दलहरूको आन्तरिक मामिला हो, त्यता नधेकल्नु भनेको थियो । कूटनीतिक कुरा भएकाले यहाँ मैले सबै कुरा खुलाउन मिल्दैन’, ढकालले अगाडि भने, ‘त्यो कूटनीतिक कुरा र फरक सम्बन्ध छ म खुलाउन सक्दिनँ । तर मैले क्रिकेट विकासका लागि त्यही सम्बन्ध परिचालित गरेको थिएँ । भारतले नेपाली टोलीलाई क्रिकेट किटहरू दिएको थियो। भारतीय विदेशमन्त्री एस. जयशंकरले पनि नेपाली क्रिकेट खेलाडीलाई भेटेको हो । त्यसमा पनि मैले पहल गरेको थिएँ ।’

ढकालले यसो भनिरहँदा यात्रीले उनलाई अझै रोक्न खोज्छन् । ‘कूटनीतिज्ञले र समाजले हेर्दा तपाईंको तर्क जगहँसाइ नहोस् भन्ने मेरो आशय हो, मैले यसमा ख्याल गर्नुस् भनेको हो’, मुकुल भावनामा बग्दै गएपछि यात्रीले उनलाई सचेत गराउँदै भने ।

तर, अझै मुकुल जोशिएर रविबारे अर्को टिप्पणी गर्छन् । ‘रविजीले आफू प्रधानमन्त्री हुन जे पनि गर्छु भारतसँग कुरा गर मुकुल भन्नु भयो । तर, मैले उहाँको त्यो कुरा आत्मसर्पणवाद हो कि भनेर प्रतिप्रश्न गरिनँ । मैले क्रिकेटरहरूसँग भारतको सम्बन्ध बढाउन बरु पहल गरेँ’, उनले थप्दै भने ।

यात्रीले फेरि उनलाई पार्टीबाट बाहिरिसकेपछि यी कुराको के अर्थ भनेर सोध्छन् । ‘तपाईंले आफू त्यो पार्टीबाट निष्कासित भइसकेको अवस्थामा, महामन्त्रीबाट निलम्बित भइसकेको अवस्थामा यी कुरा किन गर्नु भयो त ?’, यात्रीले ढकाललाई सचेत गराउँदै थप भने ।

स्वर्णिममाथि खतरनाक आरोप

तर ढकाल झन् विष्फोटक भए, उनी रोकिएनन्, थामिएनन् । रविले भारतसँग कुरा गर्नु भनेको प्रसंगलाई आत्मसमर्पणवाद भनेका उनै ढकालले भारतीय राजदूत नवीन श्रीवास्तवसँग काठमाडौंको एक होटलमा भएको गोप्य भेटको बरु खुलासा गरे।

‘हामीले एउटा होटलमा भारतीय राजदूत (नवीन श्रीवास्तव) लाई भेट्यौँ, त्यो भेटबारेको कुरा पत्रिकामा पनि आएको छ’, ढकाल अझै अघि बढ्छन्, ‘त्यो भेटमा म, रविजी, स्वर्णिम वाग्ले र शिशिर खनाल थियौँ ।’

उक्त गोप्य भेटलाई उनले छताछुल्ल त बनाए नै रास्वपा उपभासपति स्वर्णिम वाग्लेमाथि समेत संगीन आरोप लगाए ।

राजदूत श्रीवास्तवसँगको भेटको कुरा विस्तृत व्याख्या नगरेका उनले होटलको लिफ्टबाट तल झर्ने क्रममा भएको कुरालाई उछालेका छन् ।

त्यही कुरामा उनले उपसभापति वाग्लेमाथि संगीन आरोप लगाएका हुन् । जसमा उनले वाग्लेमाथि हिलो छ्याप्दै उनले नेपाललाई भारत संरक्षित स्टेट बनाउन सकिने भनेर बताएको पनि उल्लेख गरेका छन् ।

‘राजदूतलाई भेटेर होटलको लिफ्टबाट तल झरिसकेपछि उपसभापति डा. स्वर्णिम वाग्लेले नेपाल देशलाई भारतको राज्य बनाइदिनका लागि या भुटान जस्तै स्टेट बनाइदिनेगरी ‘एग्रिमेन्ट’ गरिदिनुपर्छ, यिनीहरूले मान्छन् भनेपछि मलाई त्यतिबेला झनक्क रिस उठ्यो’, उनले अगाडि भने, ‘त्यो दिनदेखि मैले स्वर्णिम वाग्लेलाई उपसभापति मानिनँ । म यस कुरामा पनि ‘लाइभ डिटेक्सन टेस्ट’ दिन तयार छु । रवि र स्वर्णिमका कुरा सुनिसकेपछि मैले विद्रोहको तयारी गरेको थिएँ । जहाँ उहाँहरूले नेपाललाई भारतको राज्य बनाउने कुरा गर्नु भयो, मैले नयाँ निष्कर्ष निकालिसकेको थिएँ । यसमा कुनै पनि प्रकारको छानबिन हुन्छ भने म तयार छु ।’

उनले यो घटनाक्रम २०८० चैत ४/५ गते आसपासतिरको भएको बताएका छन् । रवि दोस्रो पटक २०८० फागुन २३ गते उपप्रधान तथा गृहमन्त्री भएका थिए ।

‘यो सबै प्रसंग रवि लामिछाने गृहमन्त्री भएको एक-दुई हप्तापछि हो । रविले ठ्याक्कै भारतको राज्य बनाउँछौँ भनेनन् तर स्वर्णिमले चाहिँ भनेकै हुन्’, ढकाल अझै अगाडि बढे, ‘उहाँले नेपाललाई भारतको संरक्षित राज्य बनाऊँ भनेकै हो ।’

उनले वैशाख १० गते रास्वपाले इलाम क्षेत्र नम्बर २ मा नराम्रो हार भोगेपछि आफू प्रस्ताव यात्रामा देश दौडाहामा गएको बताए ।

‘म प्रस्ताव यात्रामा गएँ, म एक देशभक्त सिपाहीँ थिएँ । रवि र स्वर्णिका यी सबै कुरा देखेपछि, सुनिसकेपछि म त्यही दिनदेखि योजनावद्ध रुपमा लागेको हुँ’, उनले भनेका छन्, ‘देशलाई नै अर्काको प्रान्त या संरक्षित राज्य बनाउने भनेपछि मैले नयाँ यात्रामा अघि बढ्ने संकल्प गरिसकेको थिएँ ।’

सम्बन्धित समाचार

रास्वपामा कसरी एक्लिए मुकुल ढकाल ? 

कारबाहीमा परेपछि मुकुलले भने : रवि क्लबबाट निस्किएँ, घण्टी बज्न रोकिँदैन 

मुकुल ढकालले भने : रास्वपा रविको क्लबमा परिणत भइसक्यो, म महामन्त्री पदमै छु 

अबको ३५ दिनले तय गर्नेछ रास्वपामा मुकुलको भविष्य 

मुकुल ढकालले भने : रास्वपा रविको क्लबमा परिणत भइसक्यो, म महामन्त्री पदमै छु

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  १ : ५८ बजे

जनकपुर पुगेर सिके राउतले भने – ‘प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ’

काठमाडौं – प्रतिनिधि सभा सदस्य एवम्‌ जनमत पार्टीका अध्यक्ष डा.

नासा र स्पेसएक्सको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण अर्को हप्ता

एजेन्सी – नासा र स्पेसएक्सले आगामी सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय

यस्ता छन्‌ यो वर्षको दशैँका साइत, अष्टमी र नवमी एकैदिन

काठमाडौं – नेपाल पञ्‍चाङ्ग निर्णायक विकास समितिले २०८१ सालको बडादशैँका

मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य

धनुषा – मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ

बालेनलाई प्रगति विवरण बुझाएर बिदा भए सहसचिव परियार

काठमाडौं – नगर प्रमुख बालेन शाहले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय