आरजु राणा : किसानकी छोरीदेखि मनोविद्सम्म | Khabarhub Khabarhub

आरजु राणा : किसानकी छोरीदेखि मनोविद्सम्म

१६ संस्थामा जोडिएकी परराष्ट्रमन्त्रीलाई बिरासतको बोझ


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 6 मिनेट


20.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सांसद आरजु राणाले प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दिइसकेपछि ०८० भदौ १० गते सञ्चारकर्मीसँग कुरा गर्दै आफू किसानकी छोरी भएकाले कृषिका समस्याबारे जानकार रहेको बताएकी थिइन् । आरजुको यो भनाइलाई धेरै मानिसले ‘मजाक’का रुपमा लिए ।

त्यसबेला आरजुले सभापतिमा आफ्नो उम्मेदवारीबारे भनेकी थिइन्, ‘म कृषकको पनि छोरी हो । सानोदेखि कृषि क्षेत्रमा के–के भएन भन्ने याद छ, त्यसलाई रेस्पोन्स गर्न हो ।’

कृषि समितिको सभापति रहेकी राणा अहिले ओली नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री बनेकी छन् । कृषि समितिमा रहँदा उनले बाँदरको समस्याबाट कृषकलाई मुक्ति दिनका लागि बाँदरको बन्ध्याकरण गर्न सकिने र यसका लागि भारतमा भएको प्राक्टिस अध्ययन गर्नुपर्ने बताएकी थिइन् ।

बाँदरको बन्ध्याकरण सम्बन्धी विषयमा अध्ययन गर्न संसदीय समितिको टोली भारत पठाउने चर्चा पनि भएको थियो, तथापि यो विषय टुंगोमा पुगेको छैन । अब मन्त्री बनेपछि राणाले संसदीय समितिबाट स्वतः हट्नुपर्ने हुन्छ । उता देशैभरिका किसानहरु बाँदरको बिझाइँबाट पीडित बनिरहेकै छन् ।

के परराष्ट्रमन्त्री आरजु राणा किसानकै छोरी हुन् त ? राणा परिवारकी सदस्य भएका नाताले धेरै मानिसहरुलाई लाग्न सक्छ, उनी काठमाडौंको संभ्रान्त परिवारकी सदस्य हुन् । तर, वास्तविकता त्यस्तो नभएर उनी बर्दियाकी किसान परिवारकी छोरी हुन् । आरजुको परिवार धनी किसान वर्गमा पर्छ ।

यो पनि-

अब दुई महिलाले हाँक्ने छन् परराष्ट्र मन्त्रालय

ओली क्याबिनेटमा जसले पाए पहिलो पटक मौका

पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवापत्नी  आरजुको जन्म २०१८ माघ १३ मा भएको हो । उनी विनोदशमशेर जबरा र प्रतिभा राणाकी जेठी छोरी हुन् । परराष्ट्रमन्त्री राणा परिवारकी जेठी छोरी हुन् । उनकी बहिनी अष्ट्रेलियामा बसोबास गर्दै आएकी छन् भने भाइ भुषण राणा व्यवसायी हुन् । आमा प्रतिभा राणा जापानकी पूर्वराजदूत हुन् । उनी विगतमा राप्रपाबाट मन्त्रीसमेत बनेकी थिइन् ।

मन्त्री राणाका पिता विनोदशमशेर अहिले वयोवृद्ध अवस्थामा पनि कृषि पेशामै आवद्ध छन् । आरजुकी आमा प्रतिभा पूर्वमन्त्री एवं पूर्वराजदूत हुन् । आरजु राणा पटक–पटक प्रथम महिला र अहिले मन्त्रीसम्म बनिन् तर उनका पिता अर्थात् शेरबहादुर देउवाका ससुरा विनोद भने अहिलेसम्म बर्दियामा किसानकै रुपमा जीवन बिताइरहेका छन् ।

आरजुको माइतीघर रहेको बर्दियाको मधुवन नगरपालिका–४ का वडाध्यक्ष बलिराम चौधरीका अनुसार उनका पिता विनोदशमशेर राणाले अहिले पनि खेती–किसानी गर्दै आएका छन् । विनोदशमशेरले जागिर वा व्यापार गरेको आफूलाई अहिलेसम्म सम्झना नभएको वडाध्यक्ष चौधरीले खबरहबलाई प्रतिक्रिया दिए ।

‘अहिले उमेरले पनि जेष्ठ भइसक्नुभएको छ । विनोदशमशेरले आजका दिनमा पनि आफ्नो जग्गा जमिन कसैलाई न लिजमा दिनुभएको छ, न त अधियाँ–बटियामा नै दिनुभएको छ । उहाँले आफैं मान्छे राखेर, खेताला लगाएर, ट्रयाक्टरबाट खेती लगाउँदै आउनुभएको छ,’ चौधरीले खबरहबसँग भने, ‘जागिर गरेको, व्यापार गरेको मलाई सम्झना छैन । उहाँ राजनीतिमा पनि लाग्नु भएन । उहाँकी श्रीमती प्रतिभा राणा भने राप्रपाको राजनीति गर्नुहुन्थ्यो ।’

राणा परिवारलाई नजिकबाट चिन्ने बर्दिया घर भएका नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष बद्री सिग्देल भन्छन्, ‘विनोद बुबा विशुद्ध किसान हो । उहाँले आधुनिक तरिकाले खेती गरेको हामीले देखेका छौँ । उहाँ भारतको लखनऊबाट विभिन्न फलफूलका बिरुवा र नयाँ–नयाँ बिऊ–बिजन ल्याउने गर्नुहुन्थ्यो ।’

वृद्धावस्थासम्म कृषकको भूमिकामा रहेका पितालाई हेर्दा आरजुले काठमाडौंका राणा खान्दानको जस्तो नभएर ग्रामीण कृषिलाई नजिकबाट बुझेकी छन् भन्ने आधार देखिन्छ । भलै उनको बाल्यकाल र किशोरावस्था अध्ययनको सिलसिलामा काठमाडौं र त्यसपछि भारतमा बित्यो ।

पढाइका आधारमा मनोविद्

अध्ययनका हिसाबले आरजु पीएचडी डाक्टर हुन् । उनले कुन विषयमा डाक्टर गरेकी हुन् भन्ने धेरै मानिसहरुलाई थाहा नहुन सक्छ । आरजुले मनोविज्ञानमा पीएचडी गरेकी छिन् । यसअर्थमा उनी मनोविद् हुन्।

आरजुले भारतको चण्डिगढस्थित पञ्जाब विश्वविद्यालयबाट मनोविज्ञानमा विद्यावारिधि गरेकी हुन् । पञ्जाब विश्वविद्यालयबाटै उनले मनोविज्ञानमै स्नातकोत्तर गरेकी हुन् । भारतकै सिमलास्थित हिमाञ्चल प्रदेशबाट स्नातक गर्दा आरजुले मनोविज्ञान विषय नै पढेकी थिइन् ।

काठमाडौंको सेन्ट मेरिज, सिनियर क्याम्ब्रिजबाट ‘ओ’ लेभलको अध्ययन सकेपछि उनी सिमला गएकी हुन् ।

१६ बढी गैरसरकारी संस्थामा आवद्धता

शेरबहादुर देउवा गृहमन्त्री भएका बेला बिवाह बन्धनमा नबाँधिएकी भए शायद आरजु राणा सामाजिक एवं गैरसरकारी क्षेत्रमा जागिर खाइरहेकी हुन सक्थिन् । किनभने, कांग्रेसको सक्रिय राजनीतिमा आउनु अघिदेखि नै उनी सामाजिक क्षेत्रमा सक्रिय रहेकी महिला हुन् । अहिलेसम्म उनको आवद्धता राष्ट्रिय र अन्तरराष्ट्रिय १६ वटा संघ संस्थामा देखिन्छ ।

जतिबेला शेरबहादुर देउवा गृहमन्त्री थिए, त्यसबेला आरजु विवाह बन्धनमा बाँधिइन् । त्यससँगै उनको नाम पार्टीमा समेत जोडिन थाल्यो । त्यसबेला नेपालका लागि तत्कालीन अमेरिकी राजदूत जुलिया चाङले देउवा र आरजुबीच ‘अरेञ्ज’ गराइदिएको चर्चासमेत चल्ने गरेको छ ।

सुदूरपश्चिमका देउवासँग बिहे गरेपछि आरजुलाई धेरैले ‘देउवापत्नी’ को नजरले हेरे पनि उनी आफैंमा सक्षम र वौद्धिक महिला हुन् भन्ने तथ्य उनको ‘बायोडाटा’ बाटै स्पष्ट हुन्छ ।

विश्वभरिका समाजवादीहरूको साझा सस्था सोसलिस्ट इन्टरनेशनलको सदस्य रहेकी परराष्ट्रमन्त्री राणा राष्ट्रिय र अन्तराष्ट्रिय गरी विभिन्न १६ वटा संघसंस्थामा आवद्ध रहिसकेकी छन् ।

अन्तराष्ट्रियरुपमा महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी काम गर्ने अमेरिकामा मुख्यालय रहेको संस्था आईपीएएसको सदस्य (बोर्ड मेम्बर, सन् २०१४–२०१८) का रुपमा कार्यअनुभव बटुलिसकेकी राणाले ‘ह्वाइट रिबन अलाइन्स फर सेफ मदरहुड’को अध्यक्ष (सन् २०१०–२०१४) भएर काम गरिसकेकी छन् ।

‘ह्वाइट रिबन अलाइन्स फर सेफ मदरहुड’ को मुख्यालय अमेरिकाको वासिङटन डिसी र ब्रिटेनको लन्डनमा छ । यो विश्वका १४० राष्ट्रले प्रतिनिधित्व गर्ने संस्था हो ।

जोन्टा क्लव अफ नेपालको संस्थापक तथा बोर्ड सदस्य (सन् २०१३) रहेकी राणा जोन्टा नेपालबाट संयुक्त राष्ट्रसंघीय समिति तथा लैङ्गिक हिंसामा आधारित अध्यक्ष समितिमासमेत प्रतिनिधित्व गरिसकेकी छन् ।

साथी संस्थाकी संस्थापक तथा अध्यक्ष (१९९८–२००१) रहिसकेकी परराष्ट्रमन्त्री राणा ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) नाम गैरसरकारी संस्थाको पनि संस्थापक अध्यक्ष हुन् ।

संकल्प नामक गैरसरकारी संस्थाकी संस्थापक र सल्लाहकार राणा सामाजिक र लैङ्गिक मुद्दामा काम गर्ने समानता नामक संस्थाकी कार्यकारी अध्यक्ष पनि हुन् । नेपाल मेन्टल हेल्थ पोलिसी ग्रुपको अध्यक्षका रुपमा काम गरेको अनुभव बटुलिसकेकी राणा विभिन्न शैक्षिक संस्थाहरुमा पनि आवद्ध छन् ।

उनी काठमाडौं कलेज अफ म्यानेजमेन्टको संस्थापक र अध्यक्ष तथा युलेन्स स्कुलको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष हुन् । नयाँ आयाम मल्टिडिसिप्लिनरी इन्सिट्युट (नामी) को अध्यक्ष हुनुका साथै नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नास्ट) को प्रमोटर छन् ।

परराष्ट्रमन्त्री राणा नौरिस नेपाल नामक संस्थाकी निर्देशक पनि हुन् । ‘नौरिस नेपाल’ सम्पूर्ण रुपमा महिलामात्रै सञ्चालक रहेको जैविक कृषिमा आधारित उद्योग हो । राणाले सन् २०१२ मा यसको स्थापना गरेकी थिइन् ।

परराष्ट्रमन्त्री राणाले विज्ञ प्रशिक्षकका रुपमा नेपाल आर्मी कलेज र नेपाल प्रशासनिक स्टाफ कलेजमा प्रशिक्षणसमेत गराइसकेकी छन् । उनले दर्जनौं शोधपत्र, लेख र पुस्तकहरु लेखिसकेकी छन् ।

कांग्रेसमा योगदान कति ?

नेपाली कांग्रेसको कार्यकर्ताका रुपमा नवनियुक्त परराष्ट्रमन्त्री राणाको योगदान सभापति देउवाको जस्तो लामो छैन । उनी ०४६ को परिवर्तनपछि राजनीतिमा प्रवेश गरेकी हुन् । राणाले २०५१ (सन् १९९४) मा कांग्रेसको क्रियाशील सदस्यता लिएर राजनीतितर्फ पाइला चालेकी हुन् ।

राजनीतिमा लागेको १० वर्षपछि अर्थात २०६१ (सन् २००४) मा उनी पार्टीको महासमिति सदस्य भइन् । राणा ०७८ मंसिरमा सम्पन्न कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा चुनाव लडिन् र विजयी भइन् ।

देउवापत्नी आरजुले दुईवटै संविधानसभाको सदस्य बन्ने सौभाग्य पाइन् । उनी दुवै संविधानसभामा समानुपातिक सभासद् थिइन् । उनी पहिलो संविधानसभामा राज्य पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँट समिति सदस्यको भूमिकामा थिइन् ।

दोस्रो संविधानसभामा आरजुले संविधान मस्यौदा समिति र संसदीय सुनुवाई समितिमा सदस्यका रुपमा कांग्रेसको प्रतिनिधित्व गरिन् । उनी पहिलो र दोस्रो संविधानसभामा प्राकृतिक स्रोत समितिमा सदस्य बनेकी थिइन् ।

दुई कार्यकाल समानुपातिक सभासद बनेकी राणा ०७४ को प्रतिनिधिसभा निर्वाचनमा कैलाली–५ बाट चुनाव लडिन् । तर, जित्न सकिनन् । उनलाई झण्डै ५ हजार मतान्तरले हराउँदै नेकपा एमालेका नेता नारदमुनी राना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । राना २७ हजार २०२ मतसहित विजयी हुँदा आरजुले २२ हजार ३२२ मतमा चित्त बुझाउनु परेको थियो ।

संविधान बनेपछिको पहिलो चुनावमा पराजित बनेर संसद बाहिर रहेकी आरजुलाई कांग्रेस सभापति देउवाले ०७९ सालमा फेरि समानुपातिकको ढोकाबाट संसदमा ल्याए र अहिले परराष्ट्रमन्त्री बनाए ।
आरजु ०७९ सालको चुनावमा समानुपातिक निर्वाचन प्रणालीबाट खस–आर्यको कोटामा चुनिएकी सांसद हुन् ।

परराष्ट्रमन्त्री हुनुअघिसम्म उनी संसदीय समितिको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति थिइन् ।

विरासत जोगाउने चुनौती

कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले आफ्नो जीवनको उत्तरार्धमा छोरी सुजाता कोइरालालाई उपप्रधानसहित परराष्ट्रमन्त्री बनाएका थिए । राजनीतिमा सुजाता अगाडि बढ्ने मार्गप्रशस्त गरिदिने उद्देश्यले गिरिजाले पार्टीभित्रको आलोचना खेपेर भए पनि छोरीलाई परराष्ट्रमन्त्री बनाएका थिए ।

अहिले देउवाले पनि कतै त्यसैगरी ‘गिरिजापथ’ पछ्याएका त होइनन् ? भन्ने कतिपय आशंका देखिन्छ । तर, पार्टीमा योगदान र वौद्धिक क्षमताको हिसाबले आरजु आफैंमा कांग्रेसको नेता र मन्त्री ‘डिजर्भ’ गर्ने महिला हुन् भन्ने तर्क कांग्रेस नेताहरुको छ ।

तर, शेरबहादुर देउवाकी पत्नी भएकैले अवसर प्राप्त गरेको आरोप खेप्दै आएकी आरजुका अगाडि एकातिर श्रीमानको विरासत जोगाउनुपर्ने चुनौती छ भने अर्कोतिर आफ्नै बुतामा देशका लागि उल्लेख्य काम गरेर परीक्षणमा खरो उत्रनुपर्ने चुनौती छ ।

आरजुमाथि यो भन्दा पनि ठूलो चुनौती अर्को छ । यसअघि भुटानी शरणार्थी प्रकरण लगायतका विभिन्न काण्डमा विपक्षीले उनको समेत नाम जोडेको विषय सामाजिक सञ्जालमा भाइरल भएको थियो । आरजुले संसदमै त्यसको प्रतिवाद गरेर सबै नेताहरुको सम्पत्ति सार्वजनिक गरौं भनेकी थिइन् ।

यो पनि-

आरजु राणाले हालिन् नौवटा टेलिभिजनविरुद्ध उजुरी

पछिल्लो समय बेचन झाको गिरफ्तारीलाई लिएरसमेत उनीमाथि रास्वपा र माओवादीका नेताहरुले आरोप लगाएका थिए ।

अब यी आरोपहरुबाट बच्दै सुशासनमा खरो उत्रिएर आफूलाई सही सावित गर्नुपर्ने चुनौती आरजुका सामुन्नेमा खडा छ ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ७ : ४३ बजे

गृहमन्त्रीद्वारा बाढीपहिरो प्रभावित भूमिडाँडा र बेथानचोक क्षेत्रको निरीक्षण

धुलिखेल– गृहमन्त्री रमेश लेखकद्वारा काभ्रेपलाञ्चोकको बाढीपहिरो प्रभावित क्षेत्र पनौती नगरपालिका

घाइते भारतीय चालकको मृत्यु, प्रसाईं समर्थकले ट्रकबाट निस्किन नदिई लगाएका थिए आगो

झापा–बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै उनका

कांग्रेसलाई एक्लै बहुमत ल्याउने पार्टी बनाउँछौँ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई एक्लै बहुमत

मोटरसाइकल र स्कुटर एकआपसमा ठोकिँदा एक जनाको मृत्यु

नारायणगढ– जिल्लाको रत्ननगर नगरपािलका–९ टिकौली जङ्गलमा आज बिहान सवा ९

ह्युमपाइपले जोडियो तातोपानी नाका

चौतारा– गत साताको अविरल वर्षासँगै आएको बाढीपहिरोले अरनिको राजमार्गको विभिन्न