ओली सरकार हानिकारक : चित्रबहादुर केसी | Khabarhub Khabarhub

ओली सरकार हानिकारक : चित्रबहादुर केसी


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले केपी शर्मा ओलीको नेतृत्वमा गठित सरकार ‘हानिकारक’ भएको बताएका छन् ।

प्रतिनिधिसभा सदस्य एवं जनमोर्चाका अध्यक्ष केसीले विद्दप्ति जारी गर्दै भनेका छन्, ‘ केपी ओली नेतृत्वमा बनेको वर्तमान सरकार नेपालका लागि तत्कालीन र दीर्घकालीन दुबै दृष्टिले हानिकारक रहेको छ । त्यसैले हाम्रो दल राष्ट्रिय जनमोर्चाले ओली नेतृत्वमा बनेको सरकारको कडा विरोध गर्दछ ।’

केसीले केपी ओलीको नेतृत्वमा देश अधिनायकवादतर्फ जाने खतरा रहेको दाबी गरेका छन् । केसीको वक्तव्यको सारांश यस्तो छ–

केपी ओली आफ्नो अविश्वनीय तथा अधिनायकवादी चरित्रका कारण नेपालको राजनीतिमा निक्कै बदनाम छन् । केपी ओलीले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई समाप्त गर्ने, जनप्रतिनिधिमूलक संस्थाबाट आएको विरोधको सामना गरेर मार्ग प्रसस्त गर्ने भन्दा दुई–दुई पटक संसद नै भङ्ग गरेर देशलाई प्रतिगमनतर्फ धकेल्ने कार्य गरेका थिए । अहिले पनि केपी ओलीलाई त्यो गल्तीप्रति कुनै पश्चाताप नभएर त्यसको पक्षमा आफूलाई खडा गर्दै आइरहेका छन् । केपी ओलीमा संसद चल्न नदिने, पार्टीभित्र उठेका विरोधका स्वरहरूलाई अधिनायकवादी ढङ्गबाट दबाउन खोज्ने प्रवृत्ति रहेको छ । यसप्रकारको प्रवृत्तिका कारण उनको नेतृत्वमा बनेको सरकारले मुलुकलाई अधिनायकवादको दिशामा अगाडि बढाउन सक्ने खतरा रहेको छ ।

माओवादी र एमालेका बीच बनेको गठबन्धन भत्केको छ । यद्यपि त्यो गठबन्धनप्रति पनि हाम्रो विरोध नै थियो । नेका र एमालेका बिच बनेको नयाँ समीकरण तर्फ पनि हाम्रो ध्यान गएको छ । माओवादी र एमालेबिचको समीकरण भत्केर नेपाली कांग्रेस र एमाले बिच बनेको नयाँ समीकरणको निर्माण विदेशी शक्तिहरूको परिणाम हो वा होइन त्यसबारे हामी अहिले नै आधिकारिक रूपले भन्न सक्ने अवस्थामा छैनौँ । भविष्यमा त्यसबारे प्राप्त हुने तथ्य प्रमाणका आधारमा आफ्नो धारणा सार्वजनिक गर्ने नै छौँ । तर नयाँ समीकरणमा आबद्ध दलका नेताहरूको सार्वजनिक भनाइ र नयाँ राजनीतिक समीकरण निर्माणको समग्र घटनाक्रम हेर्दा त्यो समीकरण निर्माणमा विदेशीहरूको भूमिका रहेको सम्भावनालाई पनि अस्वीकार गर्न सक्दैनौँ ।

नेपाली कांग्रेस र एमालेबीच बनेको नयाँ राजनीतिक समीकरणले नेपालको राजनीतिलाई थप प्रतिगमनको दिशामा लिएर जाने खतरा देखापरेको छ । सर्वप्रथम ती दुई पार्टीका बीच भएको सम्झौतालाई अहिलेसम्म गोप्य नै राखिएको छ । यदि ती सम्झौता गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता तथा मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको बृहत्तर हितमा हुन्थ्यो भने त्यसलाई अहिलेसम्म गोप्य राख्नुपर्ने कुनै कारण नै थिएन । सम्झौतालाई अहिलेसम्म गोप्य राखिएबाट त्यसमा गम्भीर शंका गर्ने स्थिति उत्पन्न भएको छ ।

नेपालको संविधानलाई संशोधन गर्ने विषयमा नेका र एमालेका बिच सहमति भएको कुरा सार्वजनिक भएको छ । संविधान संशोधनको सहमतिलाई गणतन्त्र विरोधी शक्ति राप्रपाले उत्साहका साथ स्वागत गरेको छ । निश्चितरूपले राप्रपा लगायतका राजावादी शक्तिहरूले गणतन्त्र, धर्मनिरपेक्षता तथा समावेशीतालाई खतम गर्न लामो समयदेखि षड्यन्त्र गरिरहेका छन् । नेपाली कांग्रेसभित्र वैधानिक राजतन्त्र तथा हिन्दूराज्यका पक्षमा अहिले पनि जनमत बलियो छ । नेपाली कांग्रेसभित्रको वैधानिक राजतन्त्रका पक्षपाति तथा धर्मनिरपेक्षताका विरोधीहरूले समय समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा यो मुद्दामा जनतालाई गुमराहमा पार्न अभियान समेत चलाउने गरेका छन् ।

एमालेले गणतन्त्र प्राप्तिका लागि संघर्ष गरे पनि केपी ओली शुरूदेखि नै गणतन्त्र तथा ०६२/६३ को जनआन्दोलनको विपक्षमा रहेको कुरा कसैबाट लुकेको छैन । ओली नेतृत्वमा पशुपतिमा सुनको जलहारी चढाउने तथा चितवनमा राम मन्दिर विवाद प्रकरणबाट उनी धर्मनिरपेक्षताको खिलाफमा समेत रहेका छन् । भारतको संस्थापन पक्ष पनि नेपालको गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीताका विरुद्ध रहेको स्थितिमा संविधान संशोधनको नाममा गणतन्त्र, धर्मनिरपेक्षता तथा समावेशीताका विरुद्ध गम्भीर प्रकारको षड्यन्त्र हुन सक्ने आशंका उत्पन्न भएको छ । त्यसप्रति सम्पूर्ण गणतन्त्रवादी शक्तिहरूको ध्यान जानु पर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ ।

 वर्तमान संविधानमा कैयौँ नकारात्मक प्रावधानहरू रहेका छन् । त्यसलाई संशोधन गर्नुपर्नेमा हाम्रो दलले शुरूदेखि नै आवाज उठाउँदै आएको छ । त्यसमध्ये संघीयता पनि एउटा हो । संघीय शासनप्रणाली हाम्रो जस्तो मुलुकका लागि कुनै पनि दृष्टिकोणले उपयुक्त छैन । त्यसैले संघीय प्रणालीको मुख्य पक्ष प्रदेशको शासकीय स्वरूपलाई खतम गरिनु पर्दछ । त्यसको ठाउँमा केन्द्र तथा जिल्लाका बीच समन्वय गर्न प्रशासनिक स्वरूपको प्रदेश कायम गरिनु पर्दछ भन्ने माग हामीले उठाउँदै आएका छौँ । त्यसका साथै मधेश प्रदेशअन्तर्गतका जिल्लाहरूलाई हिमाल तथा पहाडसँग जोडेर प्रशासनिक रूपमा प्रदेशको पुनर्संरचना गरिनु पर्दछ भन्ने मागलाई जोड दिन चाहन्छौँ ।

कथित स्वतन्त्र पार्टी भित्रका विवादहरू सार्वजनिक रूपले बाहिर आइरहेका छन् । त्यसबाट शुरूदेखि नै उनीहरूले आफूलाई दावी गर्ने गरेको कथित “नयाँ शक्ति” को नारा जनतालाई झुक्याउने चालवाजी मात्र थियो भन्ने कुरा स्पष्ट भएको छ । कथित स्वतन्त्र पार्टीका नेताहरू आफ्नो राजनीतिक महत्वाकाङ्क्षा र सत्तालिप्सा पुरा गर्न कुनै पनि हदसम्म पतन हुन तयार छन् भन्ने कुरा झन स्पष्ट भएको छ ।

ओली नेतृत्वमा सरकार बनिसकेपछि देशमा प्रतिगमनको समस्या झन गम्भीर रूपमा देखा पर्ने खतरा रहेको छ । साम्राज्यवादी शक्तिहरूले पनि मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका विरुद्ध षड्यन्त्र गर्न सक्ने खतरा झन् बढेर गएको छ । यो परिस्थितिमा गणतन्त्र तथा राष्ट्रियताको रक्षाका लागि संघर्षलाई अगाडि बढाउनु पर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ११ : ०२ बजे

साउदीमा अलपत्र नेपाली कामदारलाई स्वदेश फर्काउन पहल

काठमाडौं–  नेपाली राजदूतावास साउदी अरेबियाले स्थानीय जुबेलस्थित सेन्दान इन्टरनेसनल कम्पनीमा

बार्सिलोनालाई २८ औँ पटक स्पेनिस ला लिगाको उपाधि: यमाल बने नायक

काठमाडौं – लामिन यमाल छाएको खेलमा इस्पानियोललाई २-० ले हराउँदै

प्रतिनिधिसभामा आज अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन

गण्डकी प्रदेशको आम्दानी लुम्बिनीलाई, २३ लाखभन्दा बढी राजस्व घाटा

पोखरा– गण्डकी प्रदेश सरकारको आम्दानी लुम्बिनी प्रदेश सरकारले पाउँदै आएको

कुलेखानी-कलङ्की–हुमाने सडक आजदेखि १९ दिन बन्द

काठमाडौं– प्रहरी प्रधान कार्यालयले काठमाडौँ–हेटौँडा चल्ने सडकमध्ये कुलेखानी–कलङ्की–हुमाने सडक आज