स्वदेशमै सम्भावना छ, नेपालबाट भागेर हुँदैन | Khabarhub Khabarhub

स्वास्थ्य–वार्ता

स्वदेशमै सम्भावना छ, नेपालबाट भागेर हुँदैन

नेपालका डाक्टर युरोप, अमेरिकाका लागि योग्य भइसके


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 9 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हाडजोर्नी विशेषज्ञ बरिष्ठ डा. चक्रराज पाण्डे विदेशमा पढेर स्वदेशमै सेवा गरिरहेका अगुवा चिकित्सक हुन् । ग्रामीण भेगमा जन्मेर छात्रवृत्तिमा विदेश पढ्न गएका पाण्डे स्वदेशमै केही गरौं भनेर २७ वर्षअघि स्वदेश फर्कंदा नेपालमा अहिलेको जस्तो अवसरहरु थिएनन् । तर, अवसर आफैंले सिर्जना गर्नुपर्छ भनेर पाण्डेले स्वदेशमै संघर्ष सुरु गरे ।

‘खाना आफैं पाक्दैन, पकाउन जान्नुपर्छ । देशमा सधैं सुविधा हुन्छ भनेर पर्खिनुहुँदैन । हामीले आफैं आफ्नो र भविष्यको पुस्ताका लागि सुविधाजनक प्लेटफर्म सिर्जना गर्नुपर्छ,’ डा. पाण्डे खबरहबसँग भन्छन्, ‘म नेपाल फर्किँदाखेरि अहिलेको जस्तो अवसरहरु थिएनन् । मेडिकल स्कुलहरु थोरै मात्रामा थिए । निजी अस्पतालहरु थिएनन् । सरकारी सेवामा छिर्नका लागि सहज वातावरण थिएन ।’

नेपालको स्वास्थ्य क्षेत्रको अवस्था के छ, यहाँको उपचारपद्दति स्वास्थ्य क्षेत्रको र जनशक्ति विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्नेखालको छ कि छैन ? अनि स्वास्थ्य क्षेत्रको सुदृढीकरणका लागि गर्नुपर्ने कामहरु केके हुन् ? यीनै नीतिगत प्रश्नमा खबरहबले डा. पाण्डेसँग लामो कुराकानी गरेको छ ।

हामीले डा. पाण्डेलाई यो प्रश्न पनि सोध्यौं– नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई तपाईका सुझावहरु के कस्ता छन् ?

डा. पाण्डेसँगको कुराकानी उहाँको अध्ययन र व्यक्तिगत संघर्षबाट थालनी गरिएको थियो । तर, पाण्डे हाडजोर्नीको विशेषज्ञ एवं कुशल सर्जनसमेत भएको नाताले आम मानिसहरुले आफ्नो शरीरको हेरचाह कसरी गर्ने भन्ने ‘टिप्स’ बाट यो अन्तरवार्ता सुरु गरौं–

तपाई हाडजोर्नी विशेषज्ञ, अर्थात् अर्थोपेडिक डाक्टर हुनुहुन्छ । अहिलेको व्यस्त जीवनशैलीमा ढाड दुख्ने, कम्मर दुख्ने, घाँटीको पछाडि भाग (घुच्चुक) दुख्ने जस्ता समस्या मानिसहरुमा एकदमै बढेको पाइन्छ । कुर्सीमा बसेर, कम्प्युटरमा काम गर्दा घुच्चुक दुख्यो भन्नेहरु प्रशस्त पाइन्छन् । मानिसले आफ्नो हड्डी र जोर्नीहरुको हेरचाह कसरी गर्ने ? केही ‘टिप्स’ बताइदिनु न…

शरीरका जोर्नीहरु चलायमान बनाउनुपर्छ । हाम्रो जिउको पोस्चर ख्याल गर्नुपर्छ । जतिखेर पनि गुरुत्वले हामीलाई तलतिर तान्दै लान्छ र हामी कुप्रिँदै जान्छौँ । बुढेसकाल हुँदै गएपछि उभिन पनि गाह्रो हुन्छ र कुनै दिन उभिन पनि सोख मान्नुपर्ने हुन्छ । तर, त्यो बेलासम्म पुग्नु ठीक होइन । त्यसलाई पहिल्यै ठीक गर्नु पर्छ ।

यसका लागि पछाडिको भाग मसाज गर्नुपर्छ । मासिकरूपमा आफ्नो शरीरमा आउने परिवर्तनलाई हामीले बुझ्न सक्यौँ भने समग्रमा राम्रो हुन्छ । यसका लागि ठूलो लगानी गर्नुपर्दैन । काम गर्दागर्दै पनि कुनामा मोबाइल हेरेर बस्नुको सट्टा घाँटी र ढाडको मसाज गर्न सकिन्छ । तर, अचेल घर–घरमा मोबाइल मात्रै चलाउने प्रचलन भयो । अहिले परिवारमा आँखामा हेरेर बोल्नेहरु पाइँदैनन् ।

त्यस्तै, जे पनि नखाऔं । मिठो पायो भन्दैमा सबै खानुहुँदैन । हार्माेनाइज र आफ्नो वातावरणलाई व्यवस्थापन गर्न सकियो भने समस्या आउँदैन ।

आफ्नो जिउलाई मोबाइल बनाऔं । जोर्नीलाई चलायमान बनाऔं । साथीभाइ, घर वा अफिसका मान्छेसँग आँखामा हेरेर कुरा गरौँ । एकैछिन भए पनि एन्जाइटी हटाऔँ । यसरी जीवनलाई अर्थपूर्ण बनाउन सकिन्छ ।

पछिल्लो समय नेपालमा अपाङ्गता हुने क्रम अरु कारणले भन्दा पनि सवारी दुर्घटनाका कारणले बढी हुने गरेको देखिन्छ । हरेक साता मानिसहरु दुर्घटनामा परेर घाइते हुने गरेका छन् । एकजना अर्थोपेडिक डाक्टरको नजरबाट हेर्दा यो भयावह स्थितिमा हाम्रो देशभरिका अस्पतालहरुमा हाडजोर्नी सम्बन्धी सेवा सुविधाको पर्याप्तता कस्तो पाउनुहुन्छ ? अथवा, सरकारले के गर्न आवश्यक देख्नुहुन्छ ?

मैले धेरै लामो समय काम गरें । म मोर्डन अर्थोपेडिक्समा विश्वास गर्ने डाक्टर हो । दुर्गम ठाउँमा, काठमाडौं बाहिर वा हिमाली क्षेत्रमा वा त्रिशुलीमा बस दुर्घटना भयो भने एम्बुलेन्स पठाएर मात्र हुँदैन । यसका लागि बाटो राम्रो हुनुपर्‍यो ।
राजमार्गमा ‘अर्ली वार्निङ साइन’को विकास हुनुपर्‍यो । अनि तालिमप्राप्त प्यारामेडिक्सहरु हुनुपर्‍यो । हामीले डाक्टरभन्दा बढी प्यारामेडिक्सलाई तालिम दिनुपर्छ । ती प्यारामेडिक्स सबै राजमार्गमा राख्नुपर्छ, जसले समयमै रेस्क्यु गर्न सकोस् ।

हामीले २ देखि ३ घण्टा मात्रै समय जोगाउन सक्यौँ भने मानिसलाई बचाउन सकिन्छ । हेलिकोप्टरबाट गएर सम्बन्धित हस्पिटलका हेलिप्याडहरूमा ल्यान्ड गरेर बिरामीलाई बचाउन सक्छौं ।

डाक्टरको एउटा समूह दुर्घटनास्थलमै पठाउने र उनीहरूले त्यहीँबाट, ग्राउन्ड जिरोबाटै उपचार सुरु गर्नुपर्छ । अर्को समूहमा डाक्टर र नर्सहरू अस्पतालमै तयारी अवस्थामा रहनुपर्छ र तत्कालै इमर्जेन्सीमा उपचार सुरु गरिहाल्नुपर्छ । अहिले नेपालमा धेरै अस्पतालमा हेलिप्याडहरू खोलिएका छन् । यो सकारात्मक कुरा हो ।
दुर्घटना भनेको समयसँग लड्नु हो । नेपालको भूगोलको एउटै सम्भावना भनेको हेलिकप्टरबाट प्यारासुटिङ तालिम लिएको मान्छे तल गएर उपचार र उद्धार गरेर ल्याउने नै हो । विभिन्न राजमार्गहरुमा हेल्थकेयरको सुदृढीकरण गर्दै जाने हो भने समस्या समाधान गर्न सकिन्छ ।

अर्काे, ट्रेनिङ प्रोगामहरु अघि बढाउनुपर्छ । उच्च तहको जोर्नी प्रत्यारोपण डाक्टर बढाएर हैन, कलेजो ट्रान्सप्लान्ट गरेर मात्र हैन, तल्लो तहमा तालिमप्राप्त नर्सहरू, प्यारामेडिक्स, मेडिकल अफिसर, जनरल प्राक्टिसरहरुलाई दक्ष बनाउँदै लाने हो र एउटा सिस्टम बनाउन सक्ने हो भने बेस हुन्छ ।

पहिले भन्दा त धेरै राम्रो भइसक्यो, यस मोडालिटीमा थप काम गर्न सक्छौँ । म एउटा अर्थोपेडिक भएको नाताले यो हेल्थ केयरको रुपान्तरण विकसित हुँदै जाने प्रक्रिया हो भन्ने ठान्छु । एकै दिनमा हुँदैन, तर नेपालको अहिलेको ग्राफ हेर्दा राम्रो भइरहेको पाउँछु । तर, राम्रो भयो भनेर आराम गरेर बस्न हुँदैन ।

 

तपाई नेपालको चिरपरिचत विशेषज्ञ चिकित्सक हुनुहुन्छ, नयाँ युवालाई प्रेरणा होस् भनेर केही व्यक्तिगत प्रश्न गरौं । तपाईले आफ्नो मेडिकल शिक्षा कहाँ र कसरी पूरा गर्नुभयो ?

म सिन्धुपाल्चोकको मेलम्ची गाउँमा जन्मेको हुँ । मैले विद्यालय तहको थोरै पढाइ गाउँमा गरे पनि पछिल्लो समय ल्याब्रोटरी स्कुल कीर्तिपुरमा पढ्ने मौका पाएँ । धेरै हदसम्म स्कलरसिप पाएँ । वि सं ०३६ सालमा नेपालको बोर्ड छैठौं भएर एसएलसी पास गर्न सफल भएँ ।

एसएलसीपछि अस्कल कलेजबाट पढें । र, नेपाल सरकारको स्कलरसिपबाट प्रतिस्पर्धा गरेर टर्की र चाइना दुईवटै देशको स्कलरसिप पाएँ । अनि टर्कीको अमेरिकन युनिभर्सिटीमा झण्डै १२ वर्ष अध्ययन गरेँ । ७ वर्ष मेडिकल स्कुल र ५ वर्ष हाडजोर्नीको पोष्ट ग्र्याजुएसन डिग्री लिएँ र १९९७ मा पढाइ पूरा गरें ।

त्यसपछि कामका लागि अमेरिका जाने या टर्की जाने, अथवा आफ्नै देशमा फर्किने तीनवटा विकल्प थिए । मैले परिवारसँग सल्लाह गरेर आफ्नै देश रोजेँ । र, सन् १९९७ मेबाट नेपाल आएर हाडजोर्नी तथा नसासम्बन्धी सेवामा लागेँ, जुन अहिले पनि निरन्तर चलिरहेको छ ।

स्वदेशमा पढ्ने र काम गर्ने वातावरणै छैन भन्दै पढेलेखेका धेरै मानिसहरु विदेशतिरै जाने चलन छ । तर, त्यो बेला तपाईले विदेशमै अवसर पाएर पनि आफ्नै देशलाई रोज्नुभयो, यसो गर्दा कत्तिको संघर्ष गर्नुपर्‍यो ?

खाना आफैं पाक्दैन, पकाउन जान्नुपर्छ । देशमा सधैं सुविधा हुन्छ भनेर पर्खिनुहुँदैन । हामीले आफैं आफ्नो र भविष्यको पुस्ताका लागि सुविधाजनक प्लेटफर्म सिर्जना गर्नुपर्छ ।

म नेपाल फर्किँदाखेरि अहिलेको जस्तो अवसरहरु थिएनन् । मेडिकल स्कुलहरु थोरै मात्रामा थिए । निजी अस्पतालहरु थिएनन् । सरकारी सेवामा छिर्नका लागि सहज वातावरण थिएन । त्यसैले त्योबेलामा समस्याहरु नभएका होइनन् । तर, आफूसँग नभएको चिजलाई सिर्जना गर्दै जाँदा अहिले २८/३० वर्षको समयलाई हेर्दाखेरि स्वास्थ्य क्षेत्रमा धेरै परिवर्तन भएको छ ।

केही कुरा पनि नेपालमै सम्भव छैन भन्नुहुँदैन । असहज छ, त्यसमा म सहमत छु । तर, नेपालबाट भागेर हाम्रो उद्देश्य पूरा हुन सक्दैन । यहीँ कुस्ती खेल्नुपर्‍यो । यहाँ अवसरहरु सिर्जना गर्नुपर्‍यो । यदि पर्‍यो भने सरकारलाई पनि यसबारेमा भन्नुपर्‍यो ।

मसँगै हातेमालो गरेका मभन्दा साना भाइबहिनीहरु मुख्यसचिवसम्म भइसके । भनाइको मतलव, हाम्रा कुरा सुन्ने मान्छेहरु नीति निर्माण तहमा आइसके । मन्त्रिपरिषद तहमा हामीले उपचार गरेका व्यक्तिहरु हुनुहुन्छ, उहाँहरुलाई मेरो ठूलो श्रद्धा पनि छ । त्यसैले देशलाई परिवर्तन गर्न सकिन्छ पहिलो कुरा । दोस्रो कुरा, त्यसका लागि दीर्घकालीन योजनाहरु बनाउनुपर्‍यो । र, तेस्रो, कहिल्यै नथाक्ने जोश र जाँगर लिएर काम गर्नुपर्‍यो । आज सिप छ, काम पाइएन भन्दैमा चुप लागेर बस्ने होइन । अन्तिम सास रहुञ्जेल प्रयास जारी राख्नुपर्छ । अन्य देशहरुबाट पाठ सिकेर अगाडि बढ्नुपर्छ ।

विदेश जानु नै हुँदैन भन्ने होइन । मैले पढाइको क्रममा भिजिटिङ फेलोसिप अमेरिकामा गरें । युरोपमा पनि मैले भिजिटर प्रोफेसर भएर काम गरें । अहिले पनि म विदेश गइरहेको हुन्छु । कहिलेकाहीँ सिक्न जान्छु भने कहिले सिकाउन जान्छु । सिक्ने, सिकाउने कुरालाई खुल्ला राख्नुपर्छ । र, नेपालको स्वास्थ्य अवस्थालाई परिवर्तन गर्न सकिन्छ भन्ने केही कुराको मैले प्रमाणित पनि गर्न सकेको छु ।

यहाँको विश्लेषणमा नेपालको मेडिकल क्षेत्रको क्वालिटी कुन स्तरको छ ? जस्तो– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै मिर्गौला प्रत्यारोपण गर्नुभयो । कलेजो प्रत्यारोपण पनि नेपालमै हुन थालेको छ । यो पक्षबाट हेर्दा स्वास्थ्यका हिसाबले हामी अन्र्र्तराष्ट्रिय स्तरमा पुगेका छौं भन्न सकिन्छ ?

हामी अहिले एकदमै राम्रो स्थितिमा छौं । प्रधानमन्त्रीले नेपालमै मिर्गौला प्रत्यारोपण गर्नु भनेको उहाँको देश र यहाँका डाक्टरहरुप्रतिको विश्वास हो । संस्थाप्रतिको विश्वास हो । हामीले यसलाई यसरी बुझ्नुपर्छ । उहाँको विश्वासलाई हामीले बिगारेनौं, त्यो हाम्रा लागि गौरवको कुरा हो । मैले प्रधानमन्त्रीलाई नजिकबाट चिन्छु, उहाँको आत्मबल अचम्म खालको छ ।

नेपालको विगत २७/२८ वर्षको स्वास्थ्य सुरक्षाको अवस्थालाई हेर्ने हो भने धेरैजना डाक्टर र संस्थाहरुको यसमा योगदान छ । एकजना व्यक्तिले केही गर्न सक्ने होइन । आइडिया ल्याउने हो । त्यो आइडियाको निरन्तरता युवा पुस्ताले गर्ने हो ।
त्यसैले, मलाई कस्तो लाग्छ भने अहिले टेक्नोलोजीको हिसाबबाट हामी राम्रो छौं । तर, हामीले विगतलाई पनि हेर्नुपर्छ । यसका लागि अनुसन्धान गर्नुपर्‍यो, पढ्नुपर्‍यो । नयाँ पुस्तालाई प्रोत्साहित गर्नुपर्‍यो । राम्रा मान्छेलाई हामीले जोगाउनुपर्छ । राम्रो परिवर्तन गर्ने मान्छेलाई जोगाएर संस्थाहरुलाई रुपान्तरण गर्दैै जानुपर्छ । यसका लागि हामीले ५० देखि ७५ वर्षको दीर्घकालीन खाका तयार पार्नुपर्छ ।

कोभिड महामारीका बेला पनि निजी स्वास्थ्य संस्थादेखि लिएर सरकारीलगायत सबै तहले राम्रो गरे । म कलेजो प्रत्यारोपण, जोर्नी प्रत्यारोपण, मिर्गौला प्रत्यारोपणको मात्रै कुरा गर्न चाहान्नँ । सम्पूर्ण स्वास्थ्य अवस्थालाई हेर्ने हो भने देशमा रुपान्तरण भएको छ ।

उपचारको कुरा गर्नुपर्दा बेलायतमा समयमा उपचार नपाएका बिरामीहरु यहाँ आएर उपचार गर्छन् । एकजना डाक्टरको सल्लाहका लागि ८ महिना कुर्नुपर्ने अमेरिकाबाट नेपालमा आएर तुरुन्तै आफूले चाहेको डाक्टरलाई देखाएर बिरामी गइरहेका छन् । क्यानडामा उपचार ढिलो भएर नेपालमा आएर उपचार गरी फर्किन्छन् । यो राम्रो कुरा हो ।

तर, स्वास्थ्यलाई युरोप अमेरिकाको लेबलमा पुर्‍याउनका लागि थप काम गर्न जरुरी छ । बीमा नीतिका साथै अनुसन्धान तहमा अगाडि बढ्यौं भने नेपालको हेल्थ केयर अझ राम्रो हुन्छ । यसका लागि अनुभवले मात्रै हुँदैन, अध्ययन जरुरी छ।

अहिले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाल्न युवा नेता प्रदीप पौडेल आएका छन् । यहाँको विचारमा अहिले स्वास्थ्य क्षेत्रमा खड्किएका र सरकारले गर्नुपर्ने काम के–के हुन् ?

सर्वप्रथम त नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई बधाई तथा शुभकामना व्यक्त गर्दछु । म उहाँको डाक्टर पनि हो । उहाँलाई मैले वर्षौं अगाडि उपचार गरेको छु ।

नेपालका समस्या के छ भने अहिले हाम्रो डिसिजन मेकिङमा मन्त्रीज्यूलाई अनुरोध गर्न चाहन्छु कि हामीले छोटो समयका लागि केही पनि निर्णय नगरौं । लामो समय हेल्थ केयरलाई परिवर्तन गर्नेखालको विज्ञ समुह, त्यसमा निजी क्षेत्र र सरकारी तहका मान्छेहरुलाई राखेर अध्ययन गरौं ।

हामीले मन्त्रीज्युलाई राम्रो सल्लाह दिएर डिसिजन मेकिङमा सजिलो बनाउने हो । यसमा मुख्य कुरा स्वास्थ्य बीमा सरकारी अस्पतालमा मात्रै सीमित गर्ने होइन, नेपालका हरेक क्षेत्रको निजी र सरकारी सबै क्षेत्र जोगियोस् भन्नुपर्छ ।

हामी यतिसम्म निजी संस्थाबाट स्वास्थ्य सेवा किन्छौं सरकारले भन्न मिल्यो । सरकारी अस्पतालबाट नभ्याउने बिरामीहरुलाई हामी त्यहाँ पठाउँछौं, उपचार गर्दिनुपर्‍यो भन्नुपर्‍यो । योखालको वातावरण सिर्जना गर्नुप¥यो । देश बन्ने भनेको सरकारले मात्रै होइन । नेपालमा आज निजी संस्थाहरुमा कतिजना मान्छेले काम गरेका छन् भन्ने तथ्यांक हेरौं अनि सरकारी डाटा हेरौं । यो हिसाबले जानुपर्‍यो ।

अर्को कुरा, प्राइमरी हेल्थ केयर सिस्टममा सुधार गर्नुपर्छ । जस्तै– गाउँ, नगर र त्यहाँबाट माथि आउँदा के–के छ ? साना–साना त्रुटिहरु हेरौं । अहिलेका मन्त्रीज्यु कति महिना या कति वर्षको मन्त्री बन्नुहुन्छ, मलाई थाहा छैन । तर, उहाँको सहयोगका लागि विज्ञहरुले कहाँ, कस्तो समस्या छ, के को आवश्यकता छ, त्यो बुझाइदिनुपर्‍यो ।

जस्तै– मन्त्री पौडेलले अहिले तुरुन्तै पालो पाउने व्यवस्था गर्छु भन्नुभएको छ, त्यो राम्रो कुरा हो तर त्यो कत्तिको सम्भव छ, त्यो हेर्नुपर्यो । म के भन्छु भने एजुकेशन लिन सक्ने वातावरण जतिसक्दो बढाउनुपर्यो । यसको अर्थ, मेडिकल कलेजहरुलाई सुदृढीकरण गर्नुपर्यो । नयाँ मेडिकल कलेज खोल्न दिनुपर्यो । र, तिनको गुणस्तरलाई मन्त्रालयले धान्नुपर्‍यो ।

आज नर्स मात्रै विदेश पठाएर कति रेमिटेन्स आउने भइसक्यो, त्यो सरकारले बुझनुपर्‍यो । नेपालका डाक्टरहरु आज युरोप र अमेरिकाका लागि योग्य भइसके । यो हाम्रो पढाइ गलत भएर त होइन नि । तर, हामीले अगाडिको शिक्षालाई अगाडि बढाउन सक्ने वातावरण निजी र सामुदायिक दुईवटैलाई सिर्जना गरी एउटा दीर्घकालीन भविष्य निर्माण गर्न सहयोग गर्नुपर्‍यो ।

मेडिकल शिक्षासम्बन्धी नीतिलाई लिएर नेपालमा विवाद हुँदै आएको छ । डाक्टर गोविन्द केसीले मेडिकल कलेज खोल्न नदिएर पढ्नका लागि विदेश जानुपरेको आरोप उहाँमाथि मेडिकल व्यवसायीहरुले लगाइरहेका छन् । डा. केसीले उठाएका मागका सम्बन्धमा पनि विवाद छ, यसमा सरकारले कस्तो नीति लिनुपर्ला ?

मैले के भन्छु भने डा. गोविन्दजी मेरो मित्र हुनुहुन्छ । उहाँ एउटा हाडजोर्नीको विशेषज्ञ हो । यो छुट्टै सम्बन्ध भयो । म केमा विश्वास गर्छु भने यो मेरो व्यक्तिगत विचार हो, मेरो कुनै मेडिकल कलेजसँग सम्बन्ध छैन, त्यसैले मैले बोल्न मिल्यो ।

मैले ग्राण्डी इन्टरनेशनल  हस्पिटलमा आवद्ध भएर काम गरेको छु । तर, म के भन्छु भनेको नियम भनेको बलजफ्ती गर्ने होइन । दुईजना धावक छन् अथवा १० जना छन्, हामीले भन्छौं कि अहिले त १० जना प्रतिस्पर्धी भइसके, ११ औंलाई हामीले दौडिन दिनुहुँदैन भन्छौं के त्यसो भन्न मिल्छ त ? ११ औँ धावक पनि प्रथम हुन सक्छ कि सक्दैन ? अथवा १२ जनालाई दौडनै नदिने, १० जनाको कोटा पुगिसक्यो भन्न मिल्छ त ? मिल्दैन ।

म के भन्छु भने सरकारसँग परिमार्जित मेडिकल नीति हुनुपर्‍यो । क्वालिटी कन्ट्रोल हुनुपर्‍यो । त्यसमा अरु प्रश्न उठ्नु भएन । यहाँ मेडिकल संस्थाहरू खोल्नै नपाउने भनेर देश बन्दैन । सिस्टम मिलाएर मेडिकल संस्थाहरू खोल्न दिनुपर्छ । नभएदेखि अतिरिक्त प्रतिभाहरु अगाडि आउँदैनन् । पुरानैले मात्रै पुरानै तरिकाले मात्र काम गर्ने स्थिति हुन्छ । पाँच सयवटा मेडिकल संस्थामा १० वटा सफल हुन्छन्, अरु फेल हुँदै जान्छन्, कसैले रोक्नुपर्दैन । यो प्रतिस्पर्धी दुनियाँमा लगानी पनि उठ्दैन संस्थाहरूको । प्राइभेटको बिजनेस गर्नेलाई सोध्नुहोस् न, संस्था चलाउन सक्नुहुन्छ ? कतिजना स्टाफ हुन्छन् ? बिजुली, पानी, कति खर्च हुन्छ ? बैंकको ब्याज कति तिर्नुपर्छ ? पहिला डाक्टरको हिसाबले मात्रै मेरो दिमागले सोच्थ्यो, अहिले त्यसरी सोच्दैन । व्यवसायलाई व्यावहारिक विज्ञानसँग जोड्नुपर्छ ।

यो भनेको, मेडिकल र नर्सिङ कलेज खोल्न दिनुपर्छ तर भनसुनका आधारमा मेडिकल र नर्सिङ कलेज खोल्न दिनुहुँदैन । छापा मार्ने शैलीबाट संस्थाको कन्ट्रोल मेकानिज्म राख्नुपर्‍यो । तर, कोहीले राम्रो गरेर म संसारभरिको डाक्टर ल्याएर ट्रेन गर्छु भन्छ भने त्यस्तै संस्थालाई खोलिदिनुपर्छ । उसले गर्न सकेन भने बन्द गर्ने साँचो सरकारकै खल्तीमा हुनुपर्छ ।

म पुरै प्रतिस्पर्धामा विश्वास गर्छु । एक सयजना डाक्टर छन् भने ९९ डाक्टरलाई यहाँ राखेर चक्रराज पाण्डेलाई मात्रै उभ्याएर त भएन । त्यो एक सयसँग कुस्ती खेल्दै जाने हो म । त्यसैले प्रतिस्पर्धा गर्न दिनुपर्छ ।

संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक हक अन्तरगत राखे पनि सरकारले यसमा लगानी बढाउन सकेको छैन । कर्णाली, सुदूरपश्चिम र अन्य प्रदेशका ग्रामीण भेकलाई सम्झिँदा त्यहाँ सरकारले स्वास्थ्य सेवा पुर्‍याएको जस्तो लाग्छ ? निजी स्वास्थ्य संस्था प्रायः सहरमै सीमित छन् । सरकारले दिने सेवा विस्तारित हुन सकेको छैन…

मैले सरकारीमा काम नै गरेको छैन । प्राइभेटमा नै गरेको हुँ । मेरो विचारमा सरकारले सबै ठाउँमा सेवा पुर्‍याउनुपर्छ तर सरकारका पनि आफ्ना कमजोरीहरू छन् । स्रोत के छ ? दक्ष जनशक्तिलाई दिनुपर्ने सहुलियत दिन सक्छ, सक्दैन ?

राम्रा मान्छे नेपालबाट बाहिर गइसके । कर्णालीसम्म पुर्‍याउनुपर्ने सेवामा स्रोत दिनुपर्‍यो । फन्डिङ दिनुपर्‍यो । देशको समग्र अर्थतन्त्रको स्थिति के छ, यो सबैका आधारमा सरकारले सोचेर दिने हो ।

पहिला त एउटै डाक्टरले टाउको पनि खोल्थ्यो, मुटु पनि खोल्थ्यो । अब मुटुको पनि धमनीको एउटा भल्बको एउटा डाक्टर भएको छ । अब नाकको पनि दायाँ प्वालको एउटा र बायाँ प्वालको एउटा होला । यस्तो सुपर विशिष्टता भएका डाक्टरहरू आउँछन् । सरकारले राजनीतिक अधिकारका रूपमा गाउँ–गाउँमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्छ तर प्रयोगात्मक रूपमा के गर्न सक्छ, त्यो सोच्नुपर्छ । यसका लागि समय र स्रोत चाहिन्छ ।

मेरो विचारमा अहिले सरकारले जे गरेको छ, राम्रो गरेको छ । जस्तो– इमन्र्जेन्सीमा हेलिकोप्टरबाट पनि उद्धार गरेर ल्याएको छ । मेडिकल कलेज विभिन्न ठाउँमा खोलेको छ । कर्णालीमा पनि गेटा मेडिकल खोलिएको छ । लुम्बिनीमा, पूर्वमा पनि खोलिराखेका छन् । यो सबै कुरालाई पूरा गर्न केही समय लाग्छ । सरकारले गर्दैछ ।

भिडियो- 

 

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  १ : २३ बजे

धरहरा व्यवसायिक रुपमा खुला, प्रतिव्यक्ति दुईसय रुपैयाँ, विद्यार्थी र ज्येष्ठ नागरिकलाई छुट

काठमाडौं– काठमाडौंको सुन्धारास्थित धरहरा आजदेखि व्यवसायिक रुपमा खुला भएको छ

कोप-१९ : विकासोन्मुख देशलाई तीन सय अर्ब डलर सहयोग गर्ने सहमति

बाकु – अजरबैजानको बाकुमा सम्पन्न भएको संयुक्त राष्ट्र सङ्घीय जलवायु

पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार

काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो पाँच महिनामा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–४ मा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण गरिएको