विमान दुर्घटनाको नालीबेली : ७० दुर्घटना, ९६४ जनाको मृत्यु | Khabarhub Khabarhub

असुरक्षित आकाश

विमान दुर्घटनाको नालीबेली : ७० दुर्घटना, ९६४ जनाको मृत्यु

असुरक्षित आकाशको दुर्दशा, सौर्यको जहाज खस्नुअघि नेपालमा केके भयो ?


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 8 मिनेट


13.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा हवाई उडानको इतिहास धेरै लामो छैन । आजभन्दा ७५ वर्ष अगाडि काठमाडौंमा पहिलो पटक विमान अवतरण भएको पाइन्छ । विसं २००६ वैशाख ११, अर्थात सन् १९४९ को अप्रिल २३ मा काठमाडौंको गौचरणस्थित घाँसे मैदानमा पहिलोपटक जहाज अवतरण भएको थियो ।

विमान चारसिटे ‘बोनान्जा बिच एयर क्राफ्ट’लाई भारतीय पाइलट दलिपसिंह मजेठियाले नेपाली भूमिमा अवतरण गराएका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणले सोही विमानलाई नेपालमा भएको पहिलो उडान मान्ने गरेको छ ।

पाइलट मजेठिया नेपालका लागि तत्कालीन भारतीय राजदूत सरदार सुरजितसिंह मजेठियाका भतिजा थिए । तत्कालीन प्रधानमन्त्री मोहनशमशेर जबराको अनुरोधमा उक्त विमान काठमाडौंमा अवतरण भएको थियो ।

त्यसयता नेपाली भूमिमा हवाईमार्गको सञ्जाल बढ्दै गएको छ । तर, करिब ७ दशकको यस अवधिमा स्वदेशी तथा विदेशी कम्पनीका ७० वटा विमानहरु विभिन्न समयमा दुर्घटनामा परेका छन् ।

नेपाली भूमिमा भएको पहिलो विमान दुर्घटनामा दुईजनाको मृत्यु भएको थियो भने पछिल्लो विमान दुर्घटना (साउन ९) मा १८ जनाले ज्यान गुमाएका छन् ।

पहिलो विमान दुर्घटना
काठमाडौंमा पहिलो विमान अवतरण भएको ६ वर्षपछि नेपाली भूमिमा पहिलो पटक विमान दुर्घटना भएको थियो । नेपाली भूमिमा पहिलो दुर्घटना हुने विमान विदेशमा दर्ता भएको विमान कम्पनीको थियो ।

विसं २०१२ भदौ १४ (सन् १९५५ अगस्ट २०) मा भारतीय विमान कम्पनीको भीटी–एजेड–एक्स कलसाइन भएको कालिंगा एयरको जहाज बाराको सिमरामा दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको अभिलेखमा देखिन्छ ।

नेपाली विमान दुर्घटना
नेपाली भूमिमा विदेशी विमान दुर्घटना भएको ५ वर्षपछि स्वदेशी विमान दुर्घटनामा परेको थियो । विसं २०१७ कात्तिक २० (सन् १९६० नोभेम्बर ५) मा तत्कालीन शाही नेपाली वायुसेवा निगमको नाइन–एन–एएडी कलसाइन भएको जहाज रुपन्देहीको भैरहवामा दुर्घटनामा परेको थियो ।

नागरिक उड्डयन प्राधिकरणको अभिलेखअनुसार उक्त दुर्घटनामा चार जनाको मृत्यु भएको थियो । भैरहवामा दुर्घटनामा परेको नाइन–एन–एएडी कलसाइनको नेपाली राष्ट्रिय ध्वजाबाहक विमान मल्टी इन्जिन (डबल इन्जिन) वाला विमान थियो ।

नेपालमा २०३१ चैत १८ मा पहिलो पटक एकल इन्जिन (सिंगल इन्जिन) वाला विमान दुर्घटनामा परेको इतिहास छ । त्यो पनि नेपाली राष्ट्रिय ध्वजाबाहक विमान नै थियो ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार तत्कालीन शाही नेपाली वायुसेवा निगमको नाइन–एन–एएजेड कलसाइन भएको सो विमान काठमाडौंको बौद्धमा दुर्घटनाग्रस्त भएको हो । उक्त दुर्घटनामा परी ५ जनाको मृत्यु भएको थियो ।

नेपाली विमान विदेशी भूमिमा दुर्घटना

नेपाली विमानको इतिहासमा राष्ट्रिय ध्वजावाहक विमान विदेशी भूमिमा पनि दुर्घटनामा परेको छ । २०२६ माघ १२ मा तत्कालीन शाही नेपाली वायुसेना निगमको जहाज भारतको नयाँदिल्लीमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा एकजनाको मृत्यु भएको थियो ।

नेपालबाट विभिन्न मुलुकहरुमा अन्तराष्ट्रिय उडानहरु हुँदै आएका छन् । तर, अन्य मुलुकमा नेपालले विमान दुर्घटनाका दुःखदायी क्षण भोग्नुपरेको छैन ।

नेपालमा विदेशी विमान दुर्घटना
विदेशी विमान कम्पनीहरुद्वारा सञ्चालित विमानमध्ये हालसम्म १० वटा विमानहरु नेपाली भूमिमा दुर्घटनाग्रस्त भएका छन् । जसमध्ये पछिल्लो दुर्घटना हो– २०७५ वैशाख ७ (सन २०१८ अप्रिल २०) मा भएको मलेसियन विमान दुर्घटना ।

मलेसियन कम्पनी मालिन्दो (मालिन्डो) एयरको नाइन–एम–एलएनजे कलसाइन भएको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा मानवीय क्षति भने भएन ।

मलेसियाको क्वालालम्पुरतर्फ उडान भर्ने क्रममा विमान चिप्लिएर रनवेबाट झण्डै ४० मिटर पर घाँसे मैदानमा पुगेको थियो । विमानमा चालक दलसहित १३९ जना थिए ।

नेपाली भूमिमा विदेशी विमान दुर्घटना हुँदा सबैभन्दा ठूलो क्षति भएको घटना भट्टेडाँडा विमान दुर्घटना हो । २०४९ असोज १२ (सन १९९२ सेप्टेम्बर २८) मा भट्टेडाँडामा पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान दुर्घटनामा परेको थियो । एपी–बीसीपी कलसाइन भएको सो विमान दुर्घटनामा १६७ जनाको मृत्यु भएको थियो ।

त्यसअघि सोही वर्ष २०४९ साउन १६ (सन १९९२ जुलाई ३१) मा थाई एयरवेजको विमान पनि नेपालमै दुर्घटनामा परेको थियो । थाई एयरवेजको एचएस–टीआईडी कलसाइन भएको विमान ग्यांगफेदीमा दुर्घटनाग्रस्त हुँदा ११३ जनाको मृत्यु भएको थियो ।

७५ वर्षको इतिहास : ७० विमान दुर्घटना, ९६४ जनाको मृत्यु

नेपालमा विमानको ७५ वर्षे इतिहासमा बुधबार (साउन ९) भएको विमान गरी हालसम्म ७० वटा विमानहरु दुर्घटनामा परिसकेका छन् । जसमा नेपाली र विदेशी कम्पनीबाट सञ्चालित विमानहरु पर्छन् ।

अहिलेसम्म विभिन्न जिल्लामा भएका ७० वटा विमान दुर्घटनामा परेर ९६४ जना स्वदेशी र विदेशी नागरिकले ज्यान गुमाउनुपरेको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार स्वदेशी विमान (सिंगल र डबल इन्जिनका) दुर्घटनामा ५०१ र विदेशी विमान दुर्घटनामा ३७१ जनाको मृत्यु भएको पाइन्छ ।

नेपाली राष्ट्रिय ध्वजाबाहक र निजी कम्पनीहरुले सञ्चालन गरेका डबल इन्जिनयुक्त विमानहरुमध्ये हालसम्म ५१ र सिंगल इन्जिनयुक्त विमानमध्ये ९ वटा विमानहरु दुर्घटनामा परिसकेका छन् । जसमध्ये डबल इन्जिनयुक्त विमान दुर्घटनामा ४६९ र सिंगल इन्जिनयुक्त विमान दुर्घटनामा ४७ जनाको मृत्यु भएको देखिन्छ ।

पछिल्लो विमान दुर्घटना

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बुधबार निजी विमान कम्पनी सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । नाइन–एन–एएमई कलसाइन भएको विमान पोखराका लागि उडान भर्ने क्रममा दुर्घटनामा परेको हो ।

उक्त विमान दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ भने विमानका चालक (क्याप्टेन) मनिष शाक्यलाई घाइते अवस्थामा उद्धार गरिएको छ । उनको उपचार भइरहेको छ ।

प्राधिकरणका अनुसार विमानमा सवार अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्बेश मरासैन, श्याम विन्दुकारको दुर्घटनमा परी मृत्यु भएको हो ।

यस्तै नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुण्यरत्न शाही, अरेफ रेडा (विदेशी) र को–पाइलट एस. कटुवालको पनि मृत्यु भएको छ ।

यसअघि २०७९ माघ १ (सन २०२३ जनवरी १५) मा कास्कीको पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा परेको थियो । काठमाडौंबाट पोखराका लागि उडान भरेको नाइन–एन–एएनसी कलसाइनयुक्त विमान पोखराको सेती नदीको खोंचमा दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा परी ७२ जनाको मृत्यु भएको थियो । नेपाली विमान कम्पनीले सञ्चालन गरेको डबल इन्जिनयुक्त विमान दुर्घटनाहरु मध्ये यो नै अहिलेसम्मको सबैभन्दा ठूलो दुर्घटना मानिन्छ ।

मकवानपुरको हेटौडा नजिकै यसअघि २०२६ असार २८ मा भएको विमान दुर्घटना अहिलेसम्मको दोस्रो ठूलो दुर्घटना हो ( नेपाली विमान कम्पनीले सञ्चालन गरेको डबल इन्जिनयुक्त विमान दुर्घटनाहरु मध्ये) । तत्कालीन शाही नेपाली वायुसेवा निगमको नाइन–एन–एएओ कलसाइन भएको विमान दुर्घटनग्रस्त हुँदा ३५ जनाको मृत्यु भएको थियो ।

मल्टी इन्जिनयुक्त विमान दुर्घटना
१) २४ जुलाई २०२४ : त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु ।
२) १५ जनवरी २०२३ : पोखराको सेती नदीमा यती एयरलाइन्सको विमान दुर्घटना हुँदा ७२ जनाको मृत्यु ।
३) २९ मे २०२२ : मुस्ताङको तिती (टिटी) मा तारा एयरको विमान दुर्घटना हुँदा २२ जना ।
४) २८ मार्चा २०२० : नेपालगञ्ज विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटना । मानवीय क्षति हुन पाएन ।
५) १४ अप्रिल २०१९ : लुक्ला विमानस्थलमा समिट एयरको विमान दुर्घटना हुँदा ३ जनाको मृत्यु ।
६) २८ नोभेम्बर २०१७ : सिमिकोटमा तारा एयरको विमान दुर्घटना । मानवीय क्षति हुन पाएन ।
७) २७ मे २०१७ : लुक्ला एयरपोर्टमा समिट एयरको विमान दुर्घटना हुँदा २ जनाको मृत्यु ।
८) २४ फेब्रुअरी २०१६ : म्याग्दीको दानामा तारा एयरको विमान दुर्घटना हुँदा २३ जनाको मृत्यु ।
९) १६ फेब्रुअरी २०१४ : अर्घाखाँचीको मसिने लेकमा नेपाल एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु ।
१०) १ जुन २०१३ : सिमिकोट विमानस्थलमा सीता एयरको विमान दुर्घटना । मानवीन क्षति हुन पाएन ।
११) १६ मे २०१३ : जोमसोम विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटना । मानवीय क्षति भएन ।
१२) २८ सेप्टेम्बर २०१२ : भक्तपुरको मनोहरामा सीता एयरको विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु ।
१३) २१ सेप्टेम्बर २०१२ : डोल्पामा सीता एयरको विमान दुर्घटना । मानवीय क्षति हुन पाएन ।
१४) १४ मे २०१२ : जोमसोम विमानस्थलमा अग्नि एयरको विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु ।
१५) २५ सेप्टेम्बर २०११ : ललितपुरको कोटडाँडामा बुद्ध एयरको विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु ।
१६) १५ डिसेम्बर २०१० : ओखलढुंगामा तारा एयरको विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु ।
१७) २४ अगस्ट २०१० : मकवानपुरको शिखरपुरमा अग्नि एयरको विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु ।
१८) ८ अक्टोबर २००८ : लुक्ला विमानस्थलमा यती एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु ।
१९) ३ जुलाई २००६ :बाजुरा विमानस्थलमा यती एयरलाइन्सको विमान दुर्घटना । मानवीय क्षति भएन ।
२०) १२ जुन २००६ : जुम्ला विमानस्थलमा यती एयरलाइन्सको विमान दुर्घटना हुँदा ९ जनाको मृत्यु ।
२१) ३० जुन २००५ : लुक्ला विमानस्थलमा गोरखा एयरलाइन्सको विमान दुर्घटना । मानवीय क्षति भएन ।
२२) २५ मे २००४ : सोलुखुम्बुको लामजुरामा यती एयरलाइन्सको विमान दुर्घटना हुँदा ३ जनाको मृत्यु ।
२३) २१ अप्रिल २००४  : त्रिभुवन विमानस्थलमा वुद्ध एयरको विमान दुर्घटना हुँदा १ जनाको मृत्यु ।
२४) २२ अगस्ट २००२ : कास्कीको पोखरामा सांग्रीला एयरको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु ।
२५) १७ जुलाई २००२ : सुर्खेतको गडगडे डाँडामा स्काई लाइन एयरलाइन्सको विमान दुर्घटना हुँदा ४ जनाको मृत्यु ।
२६) ५ अप्रिल २००१ : तुम्लिङटारमा यती एयरलाइन्सको विमान दुर्घटना । मानवीय क्षति भएन ।
२७) १९ नोभेम्बर २००० : तुम्लिङटारमा कस्मिक एयरको विमान दुर्घटना । मानवीय क्षति भएन ।
२८) ३ नोभेम्बर २००० : लुक्लामा गार्खा एयरलाइन्सको विमान दुर्घटना । मानवीय क्षति भएन ।
२९) २७ जुलाई २००० : डडेल्धुराको जोगबुढामा नेपाल एयरलाइन्सको विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु ।
३०) २६ फेब्रुअरी २००० : बझाङमा नेपाल एयरलाइन्सको विमान दुर्घटना हुँदा १ जनाको मृत्यु ।
३१) २५ डिसेम्बर १९९९ : मकवानपुरको बुर्जोलेकमा स्काई लाइन एयरलाइन्सको विमान दुर्घटना हुँदा १० जनाको मृत्यु ।
३२) ५ सेप्टेम्बर १९९९ : काठमाडौंको थानकोटमा नेकोन एयरको विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु ।
३३) २१ अगस्ट १९९८ : म्याग्दीको चुच्चेखर्कमा सांग्रीला एयरको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु ।
३४) २३ डिसेम्बर १९९६ : डोल्पामा नेपाल एयरलाइन्सको विमान दुर्घटना । मानवीय क्षति भएन ।
३५) २८ जुलाई १९९६ : सिमिकोटमा (एटीएससी, डीसीए) विमान दुर्घटना । मानवीय क्षति भएन ।
३६) २५ अप्रिल १९९६ : चितवनको मेघौलीमा नेपाल एयरलाइन्सको विमान दुर्घटना । मानवीय क्षति भएन ।
३७) १५ जुलाई १९९५ : चितवनको भरतपुरमा नेपाल एयरलाइन्सको विमान दुर्घटना । मानवीय क्षति भएन ।
३८) १४ जनवरी १९९५ : काठमाडौं विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटना हुँदा २ जनाको मृत्यु ।
३९) ३१ जुलाई १९९३ : सालीघोप्टेमा एभरेस्ट एयरको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु ।
४०) ८ नोभेम्बर १९९३ : जोमसोममा नेपाल एयरलाइन्सको विमान दुर्घटना । मानवीय क्षति भएन ।
४१) २६ सेप्टेम्बर १९९२ : सिमिकोटमा (एटीएससी, डीसीए) विमान दुर्घटना । मानवीय क्षति भएन ।
४२) २८ जुन १९९१ : सिमिकोटमा एटीएससी, डीसीए विमान दुर्घटना । मानवीय क्षति भएन ।
४३) ९ जुन १९९१ : लुक्लामा नेपाल एयरलाइन्सको विमान दुर्घटना । मानवीय क्षति भएन ।
४४) १९ अगस्ट १९८७ : डोल्पामा नेपाल एयरलाइन्सको विमान दुर्घटना । मानवीय क्षति भएन ।
४५) २ मे १९८६ : अछामको साँफेबगर विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटना । मानवीय क्षति भएन ।
४६) २२ डिसेम्बर १९८४ : चेक्लाटी डाँडामा नेपाल एयरलाइन्सको विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु ।
४७) १५ अक्टोबर १९७३ : लुक्लामा नेपाल एयरलाइन्सको विमान दुर्घटना । मानवीय क्षति भएन ।
४८) २५ जनवरी १९७० : भारतको नयाँ दिल्लीमा नेपाल एयरलाइन्सको विमान दुर्घटना हुँदा १ जनाको मृत्यु ।
४९) १२ जुलाई १९६७ : मकवनापुरको हेटौडा नजिकै नेपाल एयरलाइन्सको विमान दुर्घटना हुँदा ३५ जनाको मृत्यु ।
५०) १ अगस्ट १९६२ : तुलाचनधुरीमा नेपाल एयरलाइन्सको विमान दुर्घटना हुँदा १० जनाको मृत्यु ।
५१) ५ नोभेम्बर १९६० : रुपन्देहीको भैरहवामा नेपाल एयरलाइन्सको विभान दुर्घटना हुँदा ४ जनाको मृत्यु ।

सिंगल इन्जिनयुक्त विमान दुर्घटना
१) २९ मे २०२२ : मुस्ताङको लार्जुङमा तारा एयरको विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु ।
२) १६ मे २०१८ : सिमिकोट पासमा मकालु एयरको विमान दुर्घटना हुँदा २ जनाको मृत्यु ।
३) ८ अप्रिल २०१६ : सिमिकोट नजिक मकालु एयरको विमान दुर्घटना । मानवीय क्षति भएन ।
४) २६ फेब्रुअरी २०१६ : कालिकोटको चिल्खायामा एयर काष्ठमण्डपको विमान दुर्घटना हुँदा २ जनाको मृत्यु ।
५) २१ नोभेम्बर २०११ : मुगुको ताल्चा विमानस्थलमा मकालु एयरको विमान दुर्घटना । मानवीय क्षति भएन ।
६) १७ जनवरी १९९९ : जुम्लामा नेकोन एयरको विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु ।
७) २० नोभेम्बर १९९८ : सोलुखुम्बुको फाक्दिङमा नेपाल एयरलाइन्सको विमान दुर्घटना हुँदा १ जनाको मृत्यु ।
८) ३० अक्टोबर १९८१ :मोरङको विराटनगरमा नेपाल एयरलाइन्सको विमान दुर्घटना हुँदा १० जनाको मृत्यु ।
९) ३१ मार्च १९७५ : काठमाडौंको बौद्धमा नेपाल एयरलाइन्सको विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु ।

नेपालमा विदेशी विमान दुर्घटना
१) ३० अगस्ट १९५५ : बाराको सिमरामा कालिंगा एयरको विमान दुर्घटना, २ जनाको मृत्यु ।
२) १५ मे १९५६ : काठमाडौंमा इन्डियन इयरलाइन्सको विमान दुर्घटना, १४ जनाको मृत्यु ।
३) २४ मे १९५८ : पत्ने भन्ज्याङमा इन्डियन इयरलाइन्सको विमान दुर्घटना, २० जनाको मृत्यु ।
४) १० मे १९७४ : त्रिभुवन विमानस्थलमा थाई एयरवेजको विमान दुर्घटना, १ जनाको मृत्यु ।
५) ३१ जुलाई १९९२ : रसुवाको घ्याङफेदीमा थाई एयरवेजको विमान दुर्घटना, ११३ जनाको मृत्यु ।
६) २८ सेप्टेम्बर १९९२ : ललितपुरको भट्टेडाँडामा पाकिस्तान इनटरनेशनल एयरलाइन्सको विमान दुर्घटना । १६७ जनाको मृत्यु ।
७) ७ जुलाई १९९९ : काठमाडौंको भष्मासुर डाँडामा फ्रान्सको फुफुथान्साको विमान दुर्घटना । ५ जनाको मृत्यु ।
८) ४ मार्चा २०१५ : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमान दुर्घटना । मानवीय क्षति भएन ।
९) १२ अप्रिल २०१८ : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बंगलादेशको युएस बंगलाको विमान दुर्घटना । ५१ जनाको मृत्यु ।
१० २० अप्रिल २०१८ : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मलेसियाको मालिन्दो एयरको विमान दुर्घटना । मानवीय क्षति भएन ।

हेलिकप्टरको हालत पनि विमानजस्तै

पाथीभरामा भएको हेलिकोप्टर दुर्घटना जहाँ तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी र व्यवसायी आङछिरिङ शेर्पासमेत ७ जनाको मृत्यु भएको थियो ।

नेपालमा विमानहरु जस्तै समय–समयमा हेलिकप्टरहरु पनि दुर्घटनामा पर्दै आएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालमा अहिलेसम्म ३९ वटा हेलिकप्टरहरु दुर्घटनामा परी सकेका छन् ।

विभिन्न समयमा फरक–फरक जिल्लाहरुमा भएका हेलिकप्टर दुर्घटनामा अहिलेसम्म ९२ जनाको मृत्यु भइसकेको छ । सोलुखुम्कुको छोलिङल लामजुरामा २०८० असार २६ (११ जुलाई २०२३) मा भएको पछिल्लो हेलिकप्टर दुर्घटना हो ।

उक्त दुर्घटनामा परी ६ जनाको मृत्यु भएको थियो । लामजुरामा दुर्घटनामा परेको हेलिकप्टर मनाङ एयरको भएको प्राधिकरणले जनाएको छ ।नेपालमा २०३६ पुस १२ (१९७९ डिसेम्बर २७) मा पहिलो पटक हेलिकप्टर दुर्घटनामा परेको थियो । लाङटाङमा भएको सो दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो । हेलिकप्टरको उक्त उडान भीभीआईपी उडान थियो ।

ताप्लेजुङको घुन्सामा अहिलेसम्मकै सबैभन्दा ठूलो जनधनको क्षति हुने गरी हेलिकप्टर दुर्घटना भएको छ । २०६३ असोज ७ मा भएको उक्त दुर्घटनामा २४ जनाको मृत्यु भएको थियो ।

श्री एयरलाइन्सको नाइन–एन–एआईए कलसाइन भएको उक्त हेलिकप्टर दुर्घटनामा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. हर्क गुरुङ, वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, संरक्षणविद् तीर्थमान मास्के, वन तथा भूसंरक्षण मन्त्रालयका सचिव डा. दामोदरप्रसाद पराजुली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक नारायण पौडेललगायतको ज्यान गएको थियो ।

२०७५ फागुन १५ मा ताप्लेजुङको पाथिभरामा एयर डाइनेष्टीको नाइन–एन–एएमआई कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १० : २३ बजे

विपक्षी दलहरूसँगको छलफलमा प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको विपक्षी

बाढीले इनरुवा, धरान र दुहबीमा १५ करोडको क्षति

इनरुवा– हालैको बाढीबाट इनरुवा, धरान र दुहबीमा १५ करोड बराबरको

कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द

मकवानपुर – कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने

नाङ्लो बुनेर लोभलाग्दो आम्दानी  

धरान – इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका १० परिवारले नाङ्लो बुन्ने

नेपालले अमेरिकालाई १७ रनले हरायो : दीपेन्द्रले लिए तीन विकेट

काठमाडौं – नेपालले टि-२० सिरिजको पहिलो खेलमा अमेरिकामाथि १७ रनको