मधेशमा बढ्दो अपराधको ग्राफ : सामान्य विवादमा पनि हत्या | Khabarhub Khabarhub

मधेशमा बढ्दो अपराधको ग्राफ : सामान्य विवादमा पनि हत्या


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – सोमबार पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भयो। ८० वर्षीय राय सर्लाहीस्थित आफ्नै निवासमा मृत फेला परे। सोमबार बिहान १ बजे चन्द्रनगर गाउँपालिका-१ स्थित आफ्नै निवासमा राय मृत फेला परेको सूचना प्रहरीसम्म पुगेको थियो।
सूचना पाए लगत्तै मोहनपुर प्रहरी चौकी र इलाका प्रहरी कार्यालयबाट टोली रायको घरमा पुगेको थियो। प्रहरीका अनुसार राय आफ्नै एक तल्ले पक्की घरको सुत्ने कोठामा मृत फेला परेका थिए। उनको टाउकोको बायाँ पट्टी धारिलो हतियार प्रहार भएको थियो। उनको शव सुत्ने खाटको छेउमा थियो।

छलफलको बहानामा आएर पूर्वराज्यमन्त्री रामचन्द्र रायकै घरमा बास बसेका तीन जना मिलेर उनको हत्या गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ। चन्द्रनगर गाउँपालिका-१, रतनपुरस्थित निवासमा बेलुका अबेरतिर आएका तीन जनाले पूर्वराज्यमन्त्री रायसँग आफूहरूको जग्गा विवाद मिलाइदिन भनेर छलफल गरिरहेका थिए। पछि के कारणले हत्या गरियो त्यो अझैसम्म खुल्न सकेको छैन।

आँप टिपेको विवादमा हत्या
असार २५ गते मंगलबार रौतहटको ईशनाथ नगरपालिकामा आँप टिपेको विषयमा समान्य विवाद हुँदा आफ्नै साथीले १७ वर्षीय किशोरको हत्या गरेका थिए।

आँप टिपेको विषयमा विवाद हुँदा ईशनाथ-९ लवातना गाउँका १७ वर्षीय सहबाज मियाँ आलमको टाउकोमा रड र पेटमा धारिलो हतियार प्रहार गरेर आफ्नै साथीले हत्या गरेको रौतहट प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीको भनाइ छ।

घटनालगतै प्रहरीले गरेको अनुसन्धानपछि प्राप्त प्रमाणको आधारमा किशोरको हत्यामा संलग्न दुई युवा तत्काल पक्राउ परेका थिए। पक्राउ पर्नेमा रौतहटकै बौधीमाई नगरपालिका १ बौधापतौरा गाउँ घर भएर हाल ईशनाथ नगरपालिका ३ स्थित आफ्नै मामा घर बस्दै आएका १८ वर्षीय दशई साह र उनका साथी स्थानीय १९ वर्षीय रोशन साह रहेको प्रहरीले जनाएको छ।

डीएसपी गिरीका अनुसार मंगलबार राति शौच गर्न गएको मौका छोपी आलमलाई नजिकैको आँपको बगैँचामा दशईले पछाडिबाट टाउकोमा रड प्रहार गरेको र उनी भुईँमा लडेपछि रोशनले पेटमा दुई पटक छुरा प्रहार गर्दा आलमको घटनास्थलमै मृत्यु भएको थियो।

घटनाको एक दिन अघि मृतकका आफ्नै भाइ १० वर्षीय साबिर मियाँ आलमसँग आँप टिपेको विषयमा विवाद हुँदा मृतक सहवाज मियाँ आलमले दशई साहलाई थप्पड हानेका थिए। सोही घटनाको बदला लिन दशईले मिल्ने साथी रोशनसँग मिलेर सहवाज मियाँ आलमको हत्याको योजना बनाएको रौतहट प्रहरीको अनुसन्धानबाट खुलेको छ। आरोपी दुवै जनामाथि कर्तव्य ज्यान सम्बन्धी मुद्दा दायर भएको छ। थुनामा रहेका उनीहरुमाथि अनुसन्धान अगाडि बढेको प्रहरीको भनाइ छ।

आफ्नै बहिनीको हत्या

असार ९ गते आइतबार रौतहटमै पारिवारिक विवादको कारण टाउकोमा बाँस प्रहार गरी एक युवकले आफ्नै बहिनीको हत्या गरे। जिल्लाको परोहा नगरपालिका वडा नम्बर ८ नरकटीया गाउँका २२ वर्षीय दीपेन्द्रकुमार रामले घरायसी विवादको कारण रिसमा आफ्नै बहिनी २० वर्षीय तेतरीकुमारी रामको टाउकोमा बाँसले हिर्काएर हत्या गरेको रौतहट प्रहरीले जनाएको छ।

क्याम्पस प्रमुखको हत्या

बाराको कलैयास्थित रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली प्रहार गरेर जेठ ३२ गते हत्या भयो। साँझ सवा पाँच बजेतिर पुख्र्यौली घर आदर्शको तवाल गाउँपालिका–२ खजुरियाबाट मोटरसाइकलमा कलैया फर्किने क्रममा बतरा गाउँ नजिक अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियो।

दुई वटा मोटरसाइकलमा आएका चार जनाले बाटो छेकेर पिँठ्यूमा गोली प्रहार गरेर भागेका थिए। गम्भीर घाइते कुशवाहाको उपचारका क्रममा वीरगञ्जस्थित ब्योधा अस्पतालमा मृत्यु भएको थियो। घटनाको एक सातापछि बारा प्रहरीले घटनामा संलग्न रहेको आरोपमा सात जनालाई पक्राउ गरी ११ असारमा सार्वजनिक गरेको थियो। जग्गा विवादको कारणले कुशवाहाको हत्या भएको प्रहरीको ठम्याइ छ।

क्याम्पसका प्रमुख हरिभूषण कुशवाहा ।

यस्तै गत चैत ८ गते धनुषामा एक युवकको घाँटी रेटेर हत्या भयो। जिल्लाको जनकनन्दनी गाउँपालिका-२ स्थित आँप बगैंचामा स्थानीय १८ वर्षीय कैफ नदाफको साथीले नै उनको हत्या गरेको प्रहरीको तथ्यांक छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार राति साढे १० बजेतिर साथीसँग बियर खान गएको बेला मोबाइलमा भिडियो हेर्ने विषयमा विवाद हुँदा दुई जना साथीले नदाफको घाँटी रेटेर हत्या गरेका थिए।

हत्याको बढ्दो तथ्यांक
माथिका यी घटना केही उदाहरण मात्र हुन्। पछिल्लो समय मधेश प्रदेशमा हत्या घटनाको ग्राफ उकालो लाग्दो छ। समान्य विवाददेखि योजनावद्ध रुपमा समेत हत्या भइरहेको प्रहरी तथ्यांकले देखाएको छ।

गत अर्थिक वर्ष ०८०/८१ मा मात्रै प्रदेशमा ८१ जना पुरुष र ४८ जना महिला गरेर कुल १२९ जनाको हत्या भएको छ। हत्यामा संलग्न १६५ जनालाई पक्राउ गरेको मधेस प्रहरीले जनाएको छ।

गत आर्थिक वर्षमा सबभन्दा बढी धनुषामा १४ जना पुरुष र ७ जना महिला गरेर कुल २१ जनाको हत्या भएको छ। सबैभन्दा कम महोत्तरीमा ७ जना पुरुष र दुई जना महिला गरेर ९ जनाको हत्या भएको तथ्यांक छ। यस्तै सिरहामा २१ जना, पर्सा, बारा,रौतहट र सप्तरीमा १७/१७ जना, सर्लाहीमा ११ जनको हत्या भएको हो।

यसअघि आर्थिक वर्ष २०७९/०८० मा मधेश प्रदेशमा ११५ जनाको हत्या भएको थियो भने आर्थिक वर्ष २०७८/०७९ मा १०४ जनाको हत्या भएको थियो।

हत्याका प्रायः घटना जग्गा जमिन र आर्थिक लेनदेनको विवादमा हुने गरेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एसपी सुवासचन्द्र बोहरा बताउँछन्।

‘जग्गा जमिन आपसी लेनदेनको विवाद हुने र त्यस क्रममा आवेगमा आएर हत्या हुने घटना बढी छन्। हत्यामा पूर्वयोजना भएको देखिँदैन’, उनी भन्छन् ‘आवेग र रिसकै कारणले पनि हत्या हुन्छन्। मधेशमा हुने हत्याको घटनाहरु आकस्मिक प्रकृतिका छन्।’

अपराध बढ्नुमा अर्को कारण भारतसँगको खुला सीमा पनि हो। मधेशमा जनचेतना अभावले हत्या घटना बढ्ने गरेको प्रहरीको बुझाइ छ।

शृङ्खलाबद्ध हत्याले समाजमा त्रास
सामान्य विवादमा समेत हत्या हुन थालेपछि नागरिक असुरक्षित महसुस गर्न थालेका छन्। यसले समाजमा संत्रास फैलिएको छ। कानुनका विद्यार्थी कमलेश ठाकुर हत्या गर्नेसम्म अपराधको मनोवृत्ति बढनुमा कानुनको विषयमा जानकारीको अभाव र अभिभावकको कमजोरीलाई प्रमुख कारक मान्छन्। समाजमा कानुनको विषयमा जनचेतना बढ्न नसक्दा ससाना विवादमा पनि हत्या गर्ने प्रवृति बढेको उनको बुझाइ छ।

कानुनका विद्यार्थी कमलेश ठाकुर हत्या गर्नेसम्म अपराधको मनोवृत्ति बढनुमा कानुनको विषयमा जानकारीको अभाव र अभिभावकको कमजोरीलाई प्रमुख कारक मान्छन्।

ठाकुले भने,‘अपराध गरेपछि के सजाय हुन्छ भन्ने चेतनाको अभाव छ। पहिला सन्तानले गल्ती गर्दा अरुले भनेपछि अभिभावकले सम्झाउने गर्दथे। गाउँ समाजमा दण्ड दिइन्थ्यो। जसको कारण अपराध गर्न मान्छे डराउँथे। अहिले कसैले कसैको अभिभावकले तपाईंको छोरो गलत गरिरहेको छ भन्दा पनि उल्टै अभिभावक आफ्ना सन्तानको बचाउमा उत्रिन्छन्। यसले पनि अपराध बढाएको देखिन्छ।’

अपराध नियन्त्रण गर्न परिवार, समाजदेखि प्रदेश तथा स्थानीय सरकारसमेत जिम्मेवार बन्नुपर्ने उनको बुझाइ छ। मधेशमा भइरहेका शृङ्खलाबद्ध हत्याका घटनाले प्रहरीको भूमिका र शान्ति सुरक्षामाथि नै प्रश्न उठ्न थालेको छ। प्रहरी अधिकृत अपराध नियन्त्रण भन्दा खुला सीमा र कमिसनको खेलमा सक्रिय हुँदा अपराध बढेको जनगुनासो मधेशमा धेरै सुनिन्छ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  ७ : ३८ बजे

स्पेनसँगको सम्बन्ध अझ मजबुत बन्दै गएको छ : भारत

काठमाडौं – स्पेनसँगको सम्बन्ध अझ मजबुत हुँदै गएको भारतले जनाएको

अमेरिकी आक्रमणमा सिरियामा कम्तीमा ३५ जिहादीको मृत्यु

वासिङ्टन । अमेरिकी वायुसेनाले यस हप्ता सिरियामा इस्लामिक स्टेट समूह

महिला फुटबल टिमका प्रशिक्षक तामाङले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले

इलेक्ट्रिक रिक्साले विस्थापित हुँदै ठेला मजदुर

कैलाली – यहाँको टीकापुर नगरपालिका–४ बाघमाराका पर्शुराम चौधरी हिजोआज फुर्सदिलो

फाइनल गुमाएपछि स्तब्ध नेपाल (तस्बिरहरू)

काठमाडौं । नेपाललाई पराजित गर्दै बङ्गलादेशले साफ महिला च्याम्पियनसिप–२०२४ को