काठमाडौं– निरन्तर क्षेत्रीय अस्थिरता भोगिरहेको दक्षिण र दक्षिणपूर्वी एसियामा हालैका घटनाक्रमले थप तनाव निम्त्याउँदा एकपछि अर्का क्षेत्रीय सङ्गठनहरू निस्क्रिय बन्ने जोखिम बढेको छ । सार्कपछि बिमस्टेककै अनिश्चित भविष्यले एसियाको दक्षिणपूर्वी भागका क्षेत्रीय सङ्गठनहरू थप कमजोर बन्दै गएको सङ्केत गरेको हो ।
अबको तीन दिनपछि (भदौ १८ र १९) मा थाइल्याण्डको राजधानी बैंककमा गर्ने तय भएको बिमस्टेक शिखर सम्मेलन अचानक स्थगित हुँदा गोलार्धको दक्षिणपूर्वी हिस्साको महत्वपूर्ण क्षेत्रीय समीकरण निरन्तरतामा नयाँ प्रश्नचिह्न लागेको छ ।
सन् १९९७ जुन ६ मा थाइल्याण्डकै राजधानी बैंककमै बङ्गलादेश, भारत, श्रीलङ्का र थाइल्याण्ड सहभागी बिस्टेक स्थापना भएको थियो । १९९७ डिसेम्बर २२ मा म्यानमार पनि यो क्षेत्रीय सङ्गठनको सदस्य बनेपछि बिमस्टेक नामाकरण भएको थियो ।
२००४ मा नेपाल र भुटान पनि सदस्य बनेपछि ३१ जुलाई २००४ मा बैङ्ककमा पहिलो सम्मेलन भयो । सोही सम्मेलनले नाम पुनः बदलेर बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) बनाएको थियो । बिमस्टेकका हालसम्म पाँचवटा शिखर सम्मेलन भएका छन् ।
किन भयो स्थगित ?
थाइल्याण्डको संवैधानिक अदालतले त्यहाँका निवर्तमान प्रधानमन्त्री स्रेथा थाविसिनलाई नैतिक उल्लङ्घन (अनियमितता) आरोपमा साउन ३० मा पदमुक्त गरिदियो ।
शिखर सम्मेलनको तयारी गर्नुपर्ने बेलामै प्रधानमन्त्री सत्ताच्यूत भएपछि त्यहाँ राजनीतिक अस्थिरता थप बढ्यो । साउन ३२ मा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी पेतोङतार्न सिनावात्रा प्रधानमन्त्री चुनिइन् ।
अदालती आदेशपछिको दुई दिने सत्ता अस्थिरता अन्त्य भए पनि नवनिर्वाचित प्रधानमन्त्री पेतोङतार्नले बिमस्टेक शिखर सम्मेलन सफल बनाउन नसक्ने आकलन गरिन् ।
नयाँ सरकार गठनपश्चात् संसदीय र कानूनी प्रक्रिया पूरा गर्नुपर्ने हुनाले बिमस्टेक सम्मेलन स्थगित गरिएको ब्यहोराको पत्र सदस्यराष्ट्रहरूलाई पठायो । सम्मेलनको नयाँ मिति बिमस्टेक सचिवालयले अझैसम्म तोकेको छैन ।
क्षेत्रीय अस्थिरताको चपेटा
विश्वमा बहुध्रुव बन्दै जाँदा क्षेत्रीय शक्तिहरू थप बलियो बनिरहेका छन् । उदयीमान अर्थतन्त्र भएका मुलुकहरूको समूह ब्रिक्सले विश्वका प्रमुख ७ धनी राष्ट्रहरूको समूह जी-७ लाई नै चुनौती दिइरहेको छ । साझा मुद्रासम्मका विकल्पमा काम गरिरहेको ब्रिक्स विस्तारलाई लिएर शीतयुद्ध अन्त्यपछि एकध्रुवीय विश्वको नेतृत्व गरेको अमेरिका चिन्तित छ ।
तर, कुनै समय क्षेत्रीय शक्ति सन्तुलन मामिलामा विश्वभर नै मानक मानिएका दक्षिण र दक्षिणपूर्वी एसियाली सङ्गठनहरू भने थला पर्दै गएका छन् । यस क्षेत्रमा लम्बिँदै र थपिँदै गएको अस्थिरताको चपेटाले क्षेत्रीय सङ्गठनका नियमित हुनुपर्ने सम्मेलन र बैठकसमेत प्रभावित छन् ।
दक्षिण एसियाली मुलुकहरू अफगानिस्तान, पाकिस्तान, माल्दिभ्स, श्रीलङ्का, भारत, नेपाल, भुटान र बङ्गलादेश हुन् । यी सबै मुलुक सदस्य रहेको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को शिखर सम्मेलन १० वर्षदेखि हुन सकेको छैन ।
सन् २०१४ नोभेम्बर २६-२७ मा काठमाडौंमा १८औं सार्क शिखर सम्मेलन भएको थियो । २०१६ नोभेम्बरमा पाकिस्तानको राजधानी इस्लामावादमा गर्ने भनी तोकिएको १९औं शिखर सम्मेलन भारत-पाकिस्तान टकरावका कारण हालसम्म स्थगित छ ।
त्यतिखेर सार्क शिखर सम्मेलन हुन नदिएर पाकिस्तानलाई क्षेत्रीय मञ्चमा अप्ठेरोमा पार्न भारतको लबिइङले काम गरेको थियो । आठमध्ये चार अर्थात् बङ्गलादेश, भुटान, भारत र माल्दिभ्सले पाकिस्तानमा हुने सार्क शिखर सम्मेलनमा सहभागी नहुने बताएपछि स्थगित नै भएको थियो ।
१९औं शिखर सम्मेलन आयोजना गरी सार्क अध्यक्षता हस्तान्तरण गर्नुपर्ने नेपाल २०१४ नोभेम्बर २६ देखि निरन्तर अध्यक्ष छ । तर, शिखर सम्मेलन नै हुन नसक्दा सार्कको औचित्यमाथि निकै प्रश्न उठेका छन् ।
पाकिस्तानलाई छाड्दा सार्क अपुरो हुने र नछाड्दा आफ्नो भूमिकामा प्रश्न उठ्ने भएपछि भारतले पछिल्लो समय बङ्गलादेश, भुटान, भारत र नेपाल सम्मिलित बीबीआइएन अघि सारेको छ ।
सन् २०१४ मा काठमाडौंमा आयोजित सार्क शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी (बसेका) र पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफ (हिँड्दै गरेका) ।
तर, बदलिँदो क्षेत्रीय शक्ति सन्तुलन र अधिकांश छिमेकीहरूसँग भारतको बिग्रँदो सम्बन्धका कारण बीबीआइएन पनि निस्तेजजस्तै छ । सदस्य राष्ट्रहरू सार्कजस्तो कुनै समय उदाहरणीय क्षेत्रीय मञ्चको साटो भारत प्रभुत्वको बीबीआइएन भरपर्दो विकल्प नहुने निष्कर्षमा पुग्दैछन् ।
पाकिस्तानलाई देखाएर सार्क र आफ्ना कारण बीबीआइएन खासै अघि बढ्न नसक्ने देखिएपछि भारत दक्षिणपूर्वी एसियाका थाइल्याण्ड र म्यानमार समेत सदस्य रहेको बिमस्टेकतिर बढी सक्रिय देखिएको थियो । तर, २०७३ असोज-कात्तिकमा ब्रिक्स र बिमस्टेक मुलुकहरूको संयुक्त बैठक डाकेपछि भारत बुमर्याङमा परेको थियो ।
गोवामा आयोजित बिमस्टेक रिट्रिट बैठकमा सबैभन्दा ठूलो क्षेत्रीय प्रतिद्वन्द्वी तथा विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन हावी भएपछि भारत झस्किएको थियो । त्यसयता सरकारप्रमुख स्तरीय रिट्रिट बैठक नै हुन सकेको छैन । विदेशमन्त्रीस्तरीय केही बैठकहरू भने हुने गरेका थिए ।
सार्क, बीबीआइएन र ब्रिक्स-बिमस्टेक संयुक्त मञ्चकै शैलीमा पछिल्लोपटक बिमस्टेक थला पर्न खोजेको हो । स्थगित सम्मेलन गर्ने नयाँ मिति हालसम्म तय भएको छैन ।
बिमस्टेक शिखर सम्मेलन स्थगित हुनुमा आयोजक थाइल्याण्डमा सरकार परिवर्तन, अर्को दक्षिणपूर्वी एसियाली मुलुक म्यानमारमा त्रिपक्षीय आन्तरिक द्वन्द्व, बङ्गलादेशमा निर्वाचित सरकार आन्दोलनबाट सत्ताच्यूत र श्रीलङ्कमा प्रधानमन्त्री निर्वाचन लगायत अपेक्षित/अनपेक्षित घटनाक्रमलाई कारण देखाइएको छ ।
तर, यसअघि विश्वभर नै मानक बनेका दक्षिण र दक्षिणपूर्वी एसियाली क्षेत्रीय सङ्गठनहरूको निष्क्रियता, विद्यमान राजनीतिक अस्थिरता र सदस्य राष्ट्रहरूबीच सौहार्द सम्बन्ध अभावले बिमस्टेक पनि धरापमा परिरहेको हो ।
नेपालको भ्रमण परम्परामा ब्रेक !
अदालती आदेशमा थाइल्याण्डका प्रधानमन्त्री स्रेथा थाविसिन सत्ताच्यूत भएकै दिन साउन ३० गते नेपालका प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका थिए । चौथोपटक प्रधानमन्त्री भएका ओलीले औपचारिक विदेश भ्रमण थालेका छैनन् ।
यसअघि नेपालका प्रधानमन्त्रीहरूलाई दुई ठूला छिमेकी चीन र भारतमध्ये कुन देशको भ्रमण पहिले गर्ने भन्ने विषयले तनाव दिने गर्थ्यो । पहिले भारतको भ्रमण गरे ‘भारतपरस्त’ र चीनको भ्रमण गरे ‘चीनपरस्त’ आरोप लाग्ने गरेको थियो ।
यो विवादबाट उम्कन ओलीका लागि यसपटक पूर्वनिर्धारित बिमस्टेक बैठक महत्वपूर्ण थियो । यसअघि पहिलो र दोस्रोपटक उनले मुलुकको कार्यकारी प्रमुखको हैसियतले विदेश भ्रमणको पहिलो गन्तव्य दिल्लीलाई नै बनाएका थिए । आफू र अन्य प्रधानमन्त्रीले पछ्याइरहेको परम्परा तोड्दै ओलीले यस पटकको पहिलो विदेश भ्रमण गन्तव्य थाइल्याण्डलाई नै बनाउन चाहन्थे । अब उनी ११ दिनपछि अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको ७९ महासभामा
प्रधानमन्त्री ओली चौथोपटक प्रधानमन्त्री भएपछि पहिलो भ्रमण थाइल्यान्डबाटै गर्ने तयारीमा थिए । तर, बिमस्टेक सम्मेलन स्थगित भएका कारण अब ओली पहिलो विदेश भ्रमण निम्ति अमेरिका पुग्नेछन् । सेप्टेम्बर १० मा न्यूयोर्कमा हुने संयुक्त राष्ट्र संघको ७९ औं महासभामा ओलीले भाग लिनेछन् ।
तर, बिमस्टेकको छेकोमा यो कार्यकालको आफ्नो पहिलो विदेश भ्रमण थाइल्याण्डबाट गर्ने उनको योजना भने बिमस्टेक सम्मेलन स्थगित भएसँगै बदलिएको छ ।
चीन र भारतले झैँ काठमाडौंलाई ‘जिओस्ट्राट्रेजिक हब’ बनाएको अमेरिका पुगेर फर्किएपछि यताका क्षेत्रीय शक्तिहरूले दिने प्रतिक्रियाले ओलीको तेस्रो कार्यकालको परराष्ट्र मामिला व्यवस्थापन तय हुने देखिन्छ ।
प्रतिक्रिया