डेब्यू नायिका स्नेहाको ‘मोदीबेनी’ अनुभव : घाटमा सुटिङ, सबैको गलामा रुद्राक्षको माला | Khabarhub Khabarhub

डेब्यू नायिका स्नेहाको ‘मोदीबेनी’ अनुभव : घाटमा सुटिङ, सबैको गलामा रुद्राक्षको माला


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउन १८ देखि फिल्म ‘मोदीबेनी’ प्रदर्शनमा आउँदैछ । यो फिल्ममा इटहरीकी स्नेहा भट्टराईले आफूलाई नायिकाका रूपमा विस्तार गरेकी छन् । अर्थात्, उनको डेब्यू फिल्म ‘मोदीबेनी’ हो ।

स्नेहा साढे दुई दर्जनभन्दा बढी व्यवसायिक विज्ञापन र तीन म्युजिक भिडियोमा अभिनय गरेको अनुभवसाथ फिल्ममा आएकी हुन् ।
मोदीबेनीमा उनी अडिसनमार्फत् अनुबन्ध भएकी हुन् । जसमा उनको मूख्य भूमिका रहेको बताइएको छ । उनी भन्छिन्, ‘मेरो भूमिका सबै पात्रलाई बाँध्ने धागो भन्न मिल्छ ।’

स्नेहाले १७ वर्षको उमेरदेखि नै विज्ञापनमा अभिनय थालेकी हुन् । शुरूमै उनले नेपाल राष्ट्र बैंकको विज्ञापन गरिन् । नेपालका प्रायः सबै ठूला ब्रान्डको विज्ञापनमा काम गरिसकेकी छिन् ।


अडिसनबाटै छनोट

स्नेहाले टेलिभिजन प्रस्तोताका रूपमा करिब १ वर्ष काम गरिन् । उनलाई सानो पर्दामा सीमित हुन मन लागेन, प्रस्तोताको काम छाडिन् । भन्छिन्, ‘लक्ष्य त मेरो फिल्ममै अभिनय गर्ने थियो ।’

उनले टेलिभिजनको काम छाडेलगत्तै कोरोना महामारी भित्रियो । विज्ञापनमा अभिनयको काम पनि पातालिँदै गयो । फुर्सदको त्यही समयमा आफूलाई चलचित्रका लागि तयार पार्ने अवसर पाइन् । भन्छिन्, ‘त्यो बेला काम पनि नभएकाले मैले १७ केजी तौल घटाएँ ।’

लकडाउनपछि पनि खासै काम भएन । त्यहीबेला उनले मोदीबेनीका लागि अडिसन खुलेको थाहा पाइन् ।

‘मोदीबेनीका सहायक निर्देशक सगुन तामाङले मलाई अडिसनबारे जानकारी दिनुभएको हो,’ उनी भन्छिन्, ‘तीन वर्षअघि नायक मुकुन भुसालले दिएको अभिनय प्रशिक्षणमा उहाँसँग सामान्य चिनजान भएको थियो ।’

वि.सं. २०८० को तिहार लगत्तै भएको पहिलो अडिसनमा उनी चयन भइनन् । भन्छिन्, ‘मैतिदेवीको थिएटरमै अडिसन भएकाले १०० भन्दा बढी सहभागी हुनुहुन्थ्यो ।’

तर, अडिसनको केही दिनपछि उनलाई निर्माण टिमबाट फोन आयो । तीन जनाको ‘सर्ट लिस्ट’मा परेको जानकारी पाइन् । दोस्रो चरणको अडिसनपछि चाहिँ उनलाई निर्माण टिमले ‘बधाई’ दिन फोन ग¥यो ।

उनी स्मरण गर्छिन्, ‘दोस्रो अडिसनको लागि स्क्रिप्ट अगाडि नै पाएकी थिएँ । अडिसनको दुई दिनपछि चयन भएको खबर आयो । अनि कागजी सम्झौता भयो ।’

मोदीबेनीकी शीर्ष नायिका वर्षा शिवाकोटीसँग स्नेहा ।

वर्कसपको वास्तविकता

स्नेहाले अडिसन र वर्कसपको अनुभव लिएको यो नै पहिलो फिल्म हो ।

उनले आफूले पर्दामा देखेका कलाकारहरूसँग बसेर वर्कसप लिने अवसर पाइन् । जसका लागि उनी कृतज्ञ छन् ।

यही फिल्मको तयारी गर्दा आफूले सोचेको भन्दा फरक तरिकाले वर्कसप हुने गरेको उनले थाहा पाइन् ।

‘मैले वर्कसपमा डाइलगहरू अभ्यास गर्ने, अभिनयको गर्ने, सबै सिन अभ्यास गर्ने होला भन्ने सोचेको थिएँ । तर वास्तविकतामा त्यो होइन रहेछ,’ उनी भन्छन् ‘त्यहाँ निर्देशक, कलाकारहरूले स्क्रिप्ट मात्र पढेको देखेँ । स्क्रिप्टको मात्रै काम हुने रहेछ ।’

यद्यपि मोदीबेनीकै नायक जीवन भट्टराईसँग विज्ञापनमा सहकार्य भएकाले यस क्षेत्रको अज्ञानता मेट्न सहयोग पुगेको उनी बताउँछिन् ।

भन्छिन्, ‘जीवन दाइसँग मेरो सम्बन्ध दाजु–बहिनीको बनेको थियो । केही कुरा सोध्न सहज भयो । उहाँले पनि चरित्र निर्माणका लागि टिप्सहरू दिनुभयो ।’

१० दिन वर्कसप बसेपछि छायाङ्कनमा निस्किएको उनी बताउँछिन् ।

सुटिङको अनुभव : घाटको डर

स्नेहा रङ्गकर्मबाट टाढा त थिइनन्, तर उनी कलाकारका रूपमा फिल्म सुटिङमा गएको पहिलोपटक थियो ।

काठमाडौंभन्दा टाढा पर्वतमा सुटिङ भएकाले ‘कसरी राम्रो गर्ने’ भन्ने चिन्ताले मनमा स्वाभाविक चिसो पसेको थियो । ठूलो टिममा काम गर्न उनलाई मुस्किल अवश्य नै थियो ।

तर, नायिका वर्षा शिवाकोटीसँग एकै कोठामा बस्ने प्रबन्ध मिलेकाले छायाङ्कनमा उनले केही सहज महसुस गरिन् ।

उनले भनिन्, ‘एकै रूममा भएकाले वर्षा दिदीसँग पनि आत्मीयता भयो । काममा केही सहज भयो ।’

रङ्गमञ्चबाट अभिनयमा खारिएका कलाकारहरू प्रवीण खतिवडा, जीवन भट्टराई र कमलमणि नेपालहरूले दिएको सुझावले पनि अभिनय गर्न सहज भएको उनी बताउँछिन् ।

‘मैले सुटिङमा महसुस गरेको कुरा– सामान्य संवाद प्रवीण दाइ, कमलमणि दाइ र जीवन दाइहरूले अर्कै तरिकाले भन्नुहुन्थ्यो । उहाँहरूले बोल्दा गहन सुनिन्थ्यो । त्यो क्षमता कलाकारमा हुनुपर्ने रहेछ भन्ने कुरा मैले सिकेँ ।

त्यस्तै, सुटिङमा स्मरणमा गाढा बनेको बसेको घटना घाटको सुटिङ हो– जुन राति भएको थियो ।

त्यो घाटमा स्थायी रूपमा बस्ने बाबाले भूतप्रेतसँग जोडिएको कहानी सुनाएपछि टिममै डर पैदा भएको उनी बताउँछिन् । भन्छिन्, ‘उहाँको कहानीले जस्तै विश्वास लाग्दैन भन्ने मान्छेलाई पनि डर पैदा भएको थियो ।’

भूतप्रेतसँग जोडिएको मोदीबेनीको घटना अविश्वसनीय भएकाले सुटिङ घाटमा भएको थियो । तर, त्यस दिन स्नेहाको अंशको छायाङ्कन थिएन । तर, उनी छायाङ्कन स्थल घाटमा जान बाध्य भइन् ।

‘त्यो रात मेरो मात्रै सुटिङ थिएन । म एक्लै होटलमा बस्नुपर्ने भयो । सबैले तिमीलाई तर्साउँछ भनेर डर देखाए,’ उनी भन्छिन्, ‘अनि डरले म पनि घाटमै गएँ । त्यहाँ तर्साउँछ भनेर सबैले रुद्राक्षको माला लगाएका थिए ।’
स्नेहाको भूमिका

स्नेहाका अनुसार उनी सो फिल्मको शीर्ष भूमिकामा नभए पनि मूख्य भूमिकामा छन् । छायाङ्कन स्थलमा पुगेपछि उनका केही सिन बढाइएको थियो ।

भूमिकाबारे उनी भन्छिन्, ‘मेरो पहिलो फिल्म भए पनि स्क्रिन टाइम धेरै नै छ । दर्शकले मलाई याद नगरे पनि मेकरले याद गर्नेगरी काम गरेको छु भन्ने लाग्छ ।’

उनको लामो समयदेखिको फिल्ममा देखिने इच्छा पूरा भएको छ । उनी भन्छिन्, ‘फिल्मका लागि मेरो ढोका खुला भएको छ । पहिलो फिल्ममा काम गरिसकेकाले अबको दिनमा अभिनयबाटै दर्शकको मन जित्नुपर्छ भन्नेमा म स्पष्ट छु ।’

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ८ : ०५ बजे

करेन्ट लागेर जलेश्वरमा एक जनाको मृत्यु

जलेश्वर– गौशालानगरपालिका– ३ पचाईन टोलमा करेन्ट लागेर एक जना किशोरीको

विपद् न्यूनीकरण समिति बैठक : सात प्रस्तावमाथि छलफल जारी 

काठमाडौं– गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी,

अर्थ मन्त्रालयमा विष्णु पौडेलका तीन महिना, के के गरे ?

काठमाडौं– अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महिनाभित्रमा भएका

विभिन्न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका-१ भन्सार कार्यालय अगाडीबाट अवैध लागूऔषध खैरो हेरोइन

स्थानीय पूर्वाधार विकास आयोजनालाई प्रभावकारी बनाउने गरी उपप्रधानमन्त्री सिंह छलफलमा

ललितपुर– उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय पूर्वाधार