सडक मर्मत नभएपछि कार्यालय प्रमुख एक घण्टा थुनिए | Khabarhub Khabarhub

सडक मर्मत नभएपछि कार्यालय प्रमुख एक घण्टा थुनिए


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली – डिभिजन सडक कार्यालय दमौलीका प्रमुख विष्णुप्रसाद काफ्ले एक घण्टा कार्यकक्षमा थुनिएका छन् ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी–कोत्रे सडकखण्डको हलेदीमा भत्किएको सडकमर्मत गर्ने सहमति कार्यान्वयन नभएको भन्दै शुक्लागण्डकी नगरपालिका–२ गाछेपानी क्षेत्रका स्थानीयवासीले कार्यालय प्रमुख काफ्लेसहित इञ्जिनीयर सचिन श्रेष्ठलाई प्रमुखको कार्यकक्षममा राखेर चुकुल लगाएर थुनेका हुन् ।

राजमार्ग जीर्ण भएर ठाउँ–ठाउँमा भत्किँदा धुलो र हिलोले समस्या परेको भन्दै स्थानीयवासीले गत चैत २४ गते राजमार्ग अवरुद्ध गरेपछि सरोकारवालाको बैठकले तीन महीनाभित्र सडक मर्मतको काम थाल्ने प्रतिबद्धता जनाएको थियो । तर सहमति भएको चार महिना बिते पनि मर्मतको काम शुरु नभएपछि बाध्य भएर कार्यालय प्रमुखलाई कार्यकक्षमै थुन्नुपरेको स्थानीयवासी हरि रिमालले जानकारी दिए ।

घाम लाग्दा धुलो र पानी पर्दा हिलोको समस्याले आफूहरु आजित भइसकेको रिमालले गुनासो गरे । रिमालले कार्यालय प्रमुख र ठेकेदारको मिलेमतोका कारण काम हुन नसकेको आशङ्का व्यक्त गरे ।

दुईवर्ष अघि कालोपत्र गरिएको सडकखण्ड भत्किएर खाल्डो परेपछि सोही खाल्डोमा दैनिकजसो दुर्घटना बढेको स्थानीयवासी शङ्कर पन्तले बताए ।

स्थानीयवासीले सोही क्षेत्रका सांसद केदार सिग्देलको रोहवरमा कार्यालय प्रमुख काफ्लेलाई कार्यकक्ष बाहिर निकालेका थिए । सो अवसरमा सांसद सिग्देलले सडक डिभिजन कार्यालयले गम्भीरतापूर्वक स्थानीयवासीको माग पूरा गर्नुपर्नेमा जोड दिए ।

सडक डिभिजन कार्यालयका प्रमुख काफ्लेले यही भदौ १५ गतेबाट सडक मर्मतको काम शुरु गरिने प्रतिबद्धता जनाए ।

सडक डिभिजन कार्यालयले पुनःस्थापना कार्य अन्तर्गत विसं २०७३ साउन १२ गते रोशन सिद्धगढी जेभीसँग कालोपत्रको सम्झौता गरेको थियो । विसं २०७४ कात्तिक १२ गतेसम्म सम्पन्न गर्ने गरी दोस्रो पटक म्याद थप गरिएको थियो । कार्यालयका इञ्जिनीयर सचिन श्रेष्ठका अनुसार रु दुई करोड ७१ लाख ८८ हजार ८०२ मा ठेक्का लागेको उक्त कार्यको रु एक करोड ४१ लाख ५३ हजार ५३० मात्रै भुक्तानी गरिएको छ ।

एक हप्ताभित्र ठेकेदार कम्पनीले स्पष्टिकरण दिँदै वर्षालगत्तै काम गर्ने प्रतिबद्धता जनाए पनि काम शुरु नभएपछि कार्यालयले विसं २०७६ साउन २९ गते पत्र काटेर चाँडो काम गर्न, नत्र शर्त अनुसारको कारवाही गरिने ठेकेदारलाई जानकारी गराएको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  १० : १५ बजे

पाकिस्तानमा हेपाटाइटिस सीका सङ्क्रमणको उच्चतम दर

इस्लामाबाद – पाकिस्तानमा हेपाटाइटिस सीका बिरामीको सङ्ख्या विश्वमा सबैभन्दा बढी

चिसो बढेपछि ढोरपाटनका विद्यालय बन्द

बागलुङ – अत्यधिक चिसो बढेपछि बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय

केही सञ्चार माध्यमका कारण मिडियाप्रति गलत भाष्य बन्न थाल्यो : अध्यक्ष बस्नेत

काठमाडौं – प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अरुलाई दुःख

गाजामा भएको विस्फोटमा चार इजरायली सैनिकको मृत्यु

जेरुसेलम – उत्तरी गाजा पट्टीमा चार इजरायली सैनिकको मृत्यु भएको

कोटेश्वर बहुमुखी क्याम्पस प्रमुखमा प्रकाश पोखरेल

काठमाडौं – कोटेश्वर बहुमुखी क्याम्पसको प्रमुखमा प्रकाश पोखरेल नियुक्त भएका