काठमाडौं- कपडा उद्योग, आइटी र औषधि उत्पादनमार्फत समृद्धितर्फ अघि बढिरहेको दक्षिण एशियाको उदीयमान अर्थतन्त्र बंगलादेश विद्यार्थी आरक्षणको सामान्य विषयलाई समयमै सम्बोधन गर्न नसक्दा गम्भीर राजनीतिक संकटको चपेटामा फसेको छ ।
शक्तिशाली प्रधानमन्त्री शेख हसिना पदबाट राजीनामा दिएर आइतबार भारततिर भागेकी छिन् । ढाकास्थित प्रधानमन्त्री भवन आन्दोलनकारीले कब्जामा लिएका छन् ।
हसिनाका पिता एवम् बंगलादेशका संस्थापक नेता मुजिबुर रहमानको मूर्ति तोडिएको छ । संसदमा दुई तिहाई बहुमतसहितको जननिर्वाचित प्रधानमन्त्रीले देश छाडेपछि सेनाले अन्तरिम सरकार बनाउने घोषणा गरेको छ ।
आइतबारको सनसनीपूर्ण घटनाक्रमसँगै बंगलादेशमा शेख हसिनाको १५ वर्षे शक्तिशाली शासन ढलेको छ । अर्थात्, दक्षिण एशियाको ‘एशियन टाइगर’ चरम राजनीतिक संकटमा फसेको छ ।
गत जुलाईदेखि चर्केको विद्यार्थी आन्दोलनका क्रममा सयौँ नागरिकले ज्यान गुमाएका छन् भने अर्बौं बराबरको जनधनको क्षति भएको छ ।
विगत १५ वर्षदेखि लगातार सत्तामा रहँदै आएकी हसिनामाथि निरंकुश बनेको आरोप विपक्षीहरुले लगाउने गरेका थिए । विपक्षीमाथि दमन गरेको, चुनावमा धाँधली गरेको, अभिव्यक्तिको स्वातन्त्रता संकुचित गरेको र आफ्नो माग लिएर आवाज उठाउने जनतामाथि बल प्रयोग गरेर राज्य आतंक मच्चाएको आरोप उनीमाथि विपक्षीहरुले लगाउँदै आएका थिए ।
अन्ततः जनतामा असन्तोष र विद्रोह जागेपछि जस्तोसुकै शक्तिशाली सरकार पनि सडक आन्दोलनकै बलमा ढल्दो रहेछ भन्ने सन्देश हसिनाको भवितव्यले दिएको छ । बंगलादेशमा सडकबाटै दुईतिहाइ बहुमतको सरकार ढलेपछि नेपालीहरूमा पनि त्यसले सामाजिक सञ्जालमा व्यापक चर्चा पाइरहेको छ ।
अन्ततः सन् १९७५ मा परिवारका सबै सदस्य मारिएपछि राजनीतिमा होमिएकी एक शक्तिशाली शासकको राजनीतिक अवसान हुन पुगेको छ ।
सरकार ढल्ने कारण अरु केही नभएर आरक्षणको मुद्दा थियो । बंगलादेशमा स्वतन्त्रता संग्राममा सहभागी भएकाहरूका परिवारलाई मेडिकल शिक्षा लगायतमा सरकारी सुविधामा आरक्षणको व्यवस्था गरिएको थियो ।
स्वतन्त्रता सेनानीको परिवारका लागि ३० प्रतिशत आरक्षणको व्यवस्थाले आम नागरिकमा चरम असन्तुष्टि व्याप्त थियो । सुप्रिम कोर्टले आरक्षणलाई १० प्रतिशतमा झार्ने आदेश दिए पनि कोटा व्यवस्था अहटाएको भन्दै आन्दोलनले निरन्तरता पाइरह्यो ।
स्वतन्त्रता सेनानीका परिवारलाई ३० प्रतिशत आरक्षणको प्रावधानले अवामी लिग पार्टीका कार्यकर्तालाई मात्रै फाइदा पुगेको विपक्षीको गुनासो थियो । किनभने, अवामी लिग नै त्यस्तो पुरानो पार्टी हो, जसका कार्यकर्ताले १९७० ताका पकिस्तानसँग संघर्ष गरेका थिए । र, अहिले तिनैका सन्तानले आरक्षणको सुविधा पाउँदै आएका थिए ।
आन्दोलनको बाहना आरक्षणको विरोध र विद्यार्थी आन्दोलन भएता पनि हसिना सरकारले लिँदै आएको विपक्षीलाई दमन गर्ने नीतिका कारण सरकारविरुद्ध प्रदर्शन बलियो हुँदै गयो र यो आन्दोलनमा विपक्षी पार्टीहरूको समर्थनपछि झन् चर्किँदै गयो ।
गत जुलाइदेखि चर्केको विद्यार्थी आन्दोलनमा करिब सय जनाको ज्यान जाने गरी अन्धाधुन्ध गोली प्रहार गर्ने हसिनाको दमनकारी नीतिका कारण आन्दोलनको ज्वाला यसरी दन्कियो कि अन्तिम घडीमा आउँदा त्यहाँको राष्ट्रिय सेनाले आन्दोलनकारीलाई दबाउन चाहेन र प्रधानमन्त्री हसिनालाई असहयोग गर्यो । त्यसलगत्तै उनी हेलिकोप्टर चढेर छिमेकी भारततिर भागिन् । उनी अहिले भारतको उत्तरप्रदेशस्थित गाजियाबादमा छिन्। त्यहाँबाट उनी बेलायतको लण्डन जाने चर्चा छ ।
आखिर संसद्मा जतिसुकै बलियो अंकगणित भए पनि जनताको हितमा काम नहुँदा सडकबाटै दुईतिहाइवाला सरकार ढल्दो रहेछ भन्ने बंगलादेशको घटनाले देखाएको छ ।
बंगलादेशको ३५० सदस्यीय संसदमा हसिना सभापति रहेको अवामी लिगको एक्लै २७१ सिट छ । यो भनेको दुईतिहाइभन्दा झण्डै २७ सिट बढी हो । जबकि विपक्षीसँग ७९ सिटमात्रै छ । बंगलादेशमा ३५० सदस्यीय संसदमा ३०० सिटमा प्रत्यक्ष निर्वाचित हुन्छन् भने ५० सिटमा समानुपातिक एवम् आरक्षणबाट चुनिने संवैधानिक व्यवस्था छ ।
दुईवटा चुनावमा धाँदली भएको् आरोप लगाउँदै विपक्षी पार्टीहरूले बहिस्कार गरेका कारण हसिनाको दल अवामी लिगसँग एक्लै २७१ सिट छ भने विपक्षीसँग स्वतन्त्र ६२ जनासहित ७९ सिट मात्रै छ । २१ सिटमा साना दलको प्रतिनिधित्व छ । एक सिट रिक्त छ ।
सडकबाटै हसिना सत्ताच्युत भएका कारण अब उनको दलसँग रहेको दुईतिहाइको कुनै हिसाब–किताब छैन । किनभने, अब बंगलादेशको सत्ता त्यहाँको सेनाले लिइसकेको छ । सेनापतिले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । त्यसका लागि दलहरूसँग सेनाले छलफल थालेको छ ।
हसिना सरकार ढलेपछि अब एशियाको टाइगर मानिँदै आएको बंगलादेशको आर्थिक समृद्धि र शान्तिको यात्रामा प्रश्नचिन्ह लागेको छ । लोकतन्त्रमाथि सैन्यकरण र धार्मिक एवम् जातीय अतिवादी खतरा अरु बढ्ने हो कि भन्ने चिन्ता देखिएको छ । किनभने, जननिर्वाचित सरकार ढलेपछि विपक्षी दलहरूले सरकारको नेतृत्व सम्हाल्न नसकेर सेना हाबी भएको छ । यसले त्यहाँको लोकतन्त्रलाई थप खतरामा पार्ने विश्लेषण हुन थालेको छ ।
हसिनाको अवामी लिग पार्टीलाई धर्मनिरपेक्षतावादी, मध्यमार्गी दलका रुपमा लिइन्छ । अब हसिनाको बहिर्गमनसँगै बंगलादेशमा धार्मिक अतिवाद र थप दक्षिणपन्थी शक्ति सतहमा आउने हो कि भन्ने चिन्ता पनि प्रकट हुन थालेको छ ।
हसिनाका पिताको बिरासत
शेख हसिनाका पिता शेख मुजिबर रहमान (शेख मुजिब) ले सन् १९७० मा पाकिस्तानबाट बंगलादेशलाई अलग गर्ने संघर्षमा भूमिका खेलेका थिए । मुजिब दक्षिण एशियाशै शक्तिशाली नेता मानिन्थे । अवामी लिग पार्टीका सभापति एवम् प्रथम राष्ट्रपति (सन् १९७१–१९७२) बनेका मुजिबर बंगलादेशमा संसदीय प्रणाली लागू भएपछि प्रधानमन्त्रीसमेत बने । बंगलादेशमा सन् १९७२ देखि संसदीय शासन प्रणाली लागू भएको हो ।
पाकिस्तानबाट छुटेपछि केही समय पूर्वी पाकिस्तान विधानसभामा निर्वाचित जनप्रतिनिधिमार्फत शासन चल्यो भने मुजिब अन्तरिम राष्ट्रपति बने । उनकै अनुरोधमा १९७२ मार्च १७ मा भारतीय सेनाले बंगलादेश छाड्यो ।
त्यही साल डिसेम्बर १६ मा नयाँ संविधान जारी भयो र पहिलो संसदीय चुनाव १९७३ मा सम्पन्न भयो । मुजिबको पार्टीले बहुमत पाएर पहिलो जननिर्वाचित सरकार बनायो । धर्मनिरपेक्षताको प्रतिवद्धताविपरीत प्रतिबन्धित इस्लामिक एकेडेमी ब्युँताएको जस्ता आरोपहरू उनीमाथि लाग्न थाल्यो ।
पाकिस्तानी सेनाले स्वतन्त्रता संग्रामलाई दबाउन ढाकामा सन् १९७१ मार्च २५ को मध्यरातमा नरसंहार गर्यो । मुजिबुरलाई पक्राउ गरी पश्चिम पाकिस्तान लगियो, जहाँ उनलाई सैन्य अदालतबाट मृत्युदण्डको सजायँ सुनाइयो, जुन कार्यान्वयन हुन सकेन ।
त्यसबेला भारतले बंगलादेशको पृथकतावादी आन्दोलनलाई साथ दियो । अन्ततः पाकिस्तानले आत्मसमर्पण ग¥यो । १९७२ जनवरीमा शेख मुजिब कारागार मुक्त भई घर फर्किए र बङ्गलादेशको प्रथम राष्ट्रपति बन्न सफल भए ।
हसिनाका पिता रहमानले सन् १९७२ देखि बंगलादेशमा शासकीय प्रणाली परिवर्तन गर्दै राष्ट्रपतीय प्रणालीको साटो संसदीय प्रणालीमा जाने संवैधानिक प्रबन्ध गरे । नयाँ व्यवस्थापछि उनी राष्ट्रपतिको साटो प्रधानमन्त्री बने ।
रहमान बंगाली राष्ट्रवाद, प्रजातन्त्र, समाजवाद र धर्मनिरपेक्षताको पक्षधर थिए । उनको यो विचारलाई बंगलादेशमा कतिपयले ‘मुजिबवाद’ समेत भन्ने गरेका थिए ।
आफ्नो राजनीतिक लाइन अनुसार मुजिबले धर्मनिरपेक्षतासहितको संविधान निर्माणको तयारी गरे । तर, उनी चरम गरिबी र भ्रष्टाचारको चपेटामा परे । यसबाट उम्कन उनले एकदलीय राजनीतिको घोषणा गरे ।
त्यस्तो घोषणाको ७ मनिा पनि नबित्दै सन् १९७५ अगष्ट १५ का दिन सेनाको एक समूहले प्रधानमन्त्री रहमानसहित उनको बंश विनास गरिदियो, विदेशमा रहेकाले शेख हसिना भने बच्न सफल भइन् ।
पिताको हत्यापछि हसिनालाई स्वदेश फर्कन प्रतिबन्ध लागेको थियो । मुजिबको हत्यापछि बंगलादेश केही वर्षसम्म अस्थिरता, द्वन्द्व र सैन्ह हस्तक्षेपको चपेटामा फसिरह्यो ।
सन् १९९६ मा एकपटक चुनाव जितेर प्रधानमन्त्री बनेकी हसिना वीचवीचमा विवादमा परिन् । भ्रष्टाचार मुद्दामा जेलसमेत बसिन् । उनी केही समय अमेरिका गइन् । र, २००६ मा स्वदेश फर्केको दुई वर्षपछि चार पार्टीको गठबन्धन बनाएर चुनाव जितिन् र लगातार सत्तामा रहिन् । स्वतन्त्रता संग्रामसँग जोडिएको दल अजामी लिगको सभापति उनी सन् १९८४ देखि नै छिन् ।
विश्वकै शक्तिशाली महिला
प्रधानमन्त्री शेख हसिना विश्वकै सर्वश्रेष्ठ शक्तिशाली महिलाको सूचीमा थिइन् । सन् २०१६ मा फोर्ब्स पत्रिकाले विश्वका १०० जना शक्तिशाली महिलाको सूची प्रकाशित गरेको थियो, जसमा उनी शीर्ष २६ औं स्थानमा थिइन् । सन् २०१७ मा सार्वजनिक गरेको सूचीमा भने उनी ३० औँ स्थानमा रहिन् ।
हसिनालाई अमेरिकाको एक पत्रिकाले विदेश नीतिको आधारमा विश्वका शीर्ष १०० विचारकहरूको सूचीमा समेत सामेल गरेको थियो । हसिना विश्व महिला नेत्री परिषदकी सदस्य पनि हुन् । यो परिषद वर्तमान र पूर्वमहिला राष्ट्राध्यक्ष तथा प्रधानमन्त्रीहरूको एक अन्तर्राष्ट्रिय सञ्जाल हो।
बङ्गलादेशका प्रथम राष्ट्रपतिकी छोरी हसिनाले पढाइमा राम्रो अवसर नपाउने कुरै भएन । शुरुमा उनले पूर्वी पाकिस्तानको टुङ्गिपाडाकै विद्यालयबाट प्रारम्भिक शिक्षा लिएकी थिइन् ।
सन् १९५४ देखि उनी परिवारका साथ ढाकामा बसोबास गर्न थालिन् । पछि पिता रहमान स–परिवार मिन्टो सडकमा रहेको एक सरकारी निवासमा सरे । त्यसपछि हसिना थप शिक्षाका लागि नारी शिक्षा मन्दिर कन्या विद्यालयमा भर्ना भइन् । रहमानको परिवार सन् १९६१ देखि ढाकाको धानमोन्डीस्थित अर्को घरमा बसाइँ सर्यो ।
हसिनाले सन् १९७३ मा ढाका विश्वविद्यालयबाट स्नातकोत्तर सकिन् । विश्वविद्यालयमा अध्ययनरत हुँदा उनको विवाह वाजेद मियाँसँग भयो । हसिना र वाजेदका तर्फबाट सजीव वाजेद जोय र सायमा वाजेल पुतुल नामक दुई सन्तान जन्मिए । सन् २००९ मा उनका वाजेदको मृत्यु भयो ।
शक्तिशाली हसिना, जसले दुई दशक सत्ता चलाइन्
शेख हसिना दक्षिण एसियाली राष्ट्र बङ्गलादेशमा लामो समय सत्ता चलाउने प्रधानमन्त्री हुन् । बङ्गलादेशकी १० औँ प्रधानमन्त्री बनेकी उनले सन् २००९ जनवरीबाट सत्ता सम्हालेकी हुन् । उनी बङ्गलादेशको इतिहासमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री पदमा रहने व्यक्ति हुन् ।
हसिनाको जन्म सन् १९४७ सेप्टेम्बर २८ का दिन पूर्वी बङ्गाल (तत्कालीन पाकिस्तान) को टुङ्गिपाडा भन्ने ठाउँमा भएको थियो । उनी हाल ६७ वर्ष पुगेकी छिन् । पहिलोपटक प्रधानमन्त्री बन्दा उनी ४७ वर्षकी थिइन् ।
हसिना बङ्गलादेशका प्रथम राष्ट्रिय शेख मुजिबुर रहमानकी छोरी हुन् । बंगलादेशमा सन् १९७५ अगस्त १५ मा सैनिक विद्रोह भएको थियो । उक्त विद्रोहमा उनका पितासहित परिवारका सबै सदस्यको हत्या भएको थियो । यो हत्यामा अमेरिकी गुप्तचर संस्गा सीआइएको समेत हात रहेको बताउने गरिए पनि नेपालको दरबार हत्याकाण्डजस्तै अहिलेसम्म रहस्यमै रहेको छ ।
शेख हसिनाका पिता मुजीबर रहमान र उनको पुर्ख्यौली घर
परिवारको बंशनाश हुँदा हसिना र उनकी बहिनी शेख रेहाना भने जर्मनीमा पढिरहेका थिए । विदेशमा रहेकै कारण दिदी–बहिनी दुईजना हत्या हुनबाट बचे । अन्ततः विदेशमा पढेर फर्केपछि हसिना राजनीतिमा लागिन् र पटक–पटक गरेर २० वर्षसम्म प्रधानमन्त्री बनिन् ।
गत जुलाईदेखि बंगलादेशमा चर्केको आन्दोलन आइतबार उत्कर्षमा पुग्दा हसिनाको अवस्था झण्डै १९७५ को सैनिक विद्रोहका बेलाको जस्तै भयो । प्रधानमन्त्री भवनमा आन्दोलनकारीहरु प्रवेश गर्न थालिसकेका थिए । आन्दोलनमा दमन गर्न हसिनाले सेना परिचालन गर्न खोजे पनि सेनाले गोली चलाउन अस्वीकार गरेपछि हसिनाले सुरक्षाका लागि देशै छाड्नुपर्यो । र, उनी आफ्नी बहिनी शेख रेहानालाई लिएर हेलिकोप्टर चढेर भारतको त्रिपुरातिर भागिन् र बच्न सफल भइन् ।
हसिनाको राजनीतिक जीवन करिब चार दशक भन्दा लामो छ । उनी जर्मनीमा पढेर स्वदेश फर्केपछि सन् १९८६ देखि १९९० सम्म संसदमा प्रतिपक्षी दलको नेता कनिन् । त्यस्तै, सन् १९९१ देखि १९९५ सम्म पुनः प्रतिपक्ष दलकै नेताका रूपमा संसदमा प्रतिनिधित्व गरिन् । हसिना सन् १९८१ देखि अवामी लिगको सभापति बनिन् ।
सन् १९९६ देखि सन् २००१ सम्म हसिनाले पहिलोचोटि बङ्गलादेशको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिन् । सन् २००८ मा बहुमत ल्याएर उनी दोस्रोपटक प्रधानमन्त्री पदमा निर्वाचित भइन् । सन् २०१४ जनवरीमा एक विरोधी दलविहीन निर्वाचन जितेर उनी तेस्रोपटक प्रधानमन्त्री पदमा निर्वाचित भइन् । उक्त चुनाव विपक्षी दलले बहिस्कार गरेका थिए । अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले पनि उक्त चुनावमा धाँधली भएको ठहर गर्दै आलोचना गरे ।
सन् २०१८ मा भएको चुनावमा हसिना चौथो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित भइन् । उक्त निर्वाचनमा पनि विपक्षी दलले धाँधली भएको आरोप लगाए । २४ जनवरी २०२४ मा सम्पन्न पछिल्लो चुनावपछि हसिना फेरि दुई तिहाई बहुमतका साथ सत्तामा रहिन् ।
अधिनायकवादीको आरोप
आफ्नो शासनकालमा हसिनाले आर्थिक विकासका लागि प्रशंशनीय कामहरु गरिन् । करिब १७ करोड जनसंख्या रहेको बंगलादेशलाई हसिनाले ‘एशियाको टाइगर’ बनाउँदै भारतसँग पनि कतिपय मामिलामा टक्कर गर्न सक्ने बनाएकी थिइन् । तर, प्रधानमन्त्रीका रूपमा उनको कार्यकाल विवादरहित हुन सकेन ।
खासगरी, देशमा धेरै किसिमका भ्रष्टाचार र घोटालाहरू भए । पदमा सेतु काण्ड, हलमार्क सनाली बैंक काण्ड, शेयर बजार काण्ड, रानम प्लाज ध्वंस र बङ्गलादेश सडक सुरक्षा आन्दोलन आदि उनको शासनकालका केही कुख्यात काण्डहरू हुन् ।
लोकतान्त्रिक दृष्टिकोणले हसिनामाथि अधिनायकवादी बनेको आरोप लाग्यो । उनको कार्यकालमा सरकारी दमनका घटना प्रशस्त भए । त्यसैको एकमुष्ट प्रतिफलका रुपमा सडक आन्दोलन चर्कियो र दुईतिहाई बहुमतवाला सत्ता अन्ततः सडकबाटै पल्टियो ।
सन् २०२४ को चुनावी नतिजा (हरियोमा अवामी लिग)
छिमेकमा बाछिटा
त्यसो त बंगलादेशको सत्तापलटले भारतमा के असर पर्छ भनेर दिल्लीमा विश्लेषण भइरहेको छ । भारतले बंगलादेशसँगको सीमा क्षेत्रमा सेनाको तैनाथी बढाएको छ । नेपालबाट पनि बंगलादेशमा मेडिकल साइन्स पढ्न जाने विद्यार्थीहरु यसअघिदेखि नै प्रभावित भइसकेका छन् । अब त्यहाँको सत्ता पलटले नेपाली विद्यार्थीहरुको भविष्यमा थप असर पर्न सक्ने देखिन्छ ।
राजनीतिक रुपमा पनि बंगलादेशको घटनाले नेपालमा तरंग ल्याएको छ । ०३६ सालमा पाकिस्तानको राजनीतिक घटनाले काठमाडौंमा विद्यार्थी आन्दोलन चर्केजस्तै बंगलादेशबाट उत्साहित भएर सडकमा सरकारविरुद्ध प्रदर्शनको खतरा काठमाडौं पनि देखा नपर्ला भन्न सकिन्न ।
तर, जननिर्वाचित बहुमतको सरकार सडक आन्दोलनबाट फालिनु लोकतन्त्रका लागि सुखद घटना भने होइन । हसिनाको सरकार ढलेर अर्को उदार, कम भ्रष्ट र जनमुखी सरकार बन्न सकेको भए त्यो परिवर्तन सही हुन सक्थ्यो, तर लोकतन्त्र सेनाको हातमा गएको छ र झनै अनुदार दलहरु सत्तामा आउने सम्भावना देखा परेको छ ।
त्यसैले बंगलादेशमा हसिनाको सरकार ढले पनि ‘अबको बाटो के ?’ भन्ने प्रश्न निकै नै जटिल देखिएको छ । ‘दक्षिण एशियन टाइगर’को अबको भविष्य के ? यो प्रश्नको जवाफका लागि ‘पर्ख र हेर’को नीति लिनैपर्ने हुन्छ ।
प्रतिक्रिया