प्रचण्डको भवितव्य : बुझिनँ मैले, बुझाइदेऊ कसैले... | Khabarhub Khabarhub

प्रचण्डको भवितव्य : बुझिनँ मैले, बुझाइदेऊ कसैले…

कसरी होला माओवादी संकट मोचन ?


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 13 मिनेट


12.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भनिन्छ, पराजित सेनापतिबारे बोल्दा संयमित हुनुपर्छ । हारका कारणहरुबारे विश्लेषण गर्दा पराजित सेनापतिको चित्त दुख्न सक्छ ।

तर, इतिहास निर्मम हुन्छ । इतिहासले पराजित सेनालाई निन्दा गर्छ, गिज्याउँछ । इतिहास जित्नेहरुको शास्त्र हो, जहाँ पराजित सेनापतिले सहानुभूतिको अपेक्षा गर्नु मूर्खता शिवाय केही होइन । अहिले माओवादी अध्यक्ष प्रचण्डको अवस्था पराजित सेनापतिको जस्तै बनेको छ ।

पार्टीको स्थायी समिति बैठकका लागि आइतबार पेरिसडाँडास्थित मुख्यालयमा गाडीबाट ओर्लिएका प्रचण्डको अनुहारमा कान्ति थिएन । पाइन्ट बाहिर शर्ट झारेर लगाएका प्रचण्डको ‘बडी ल्याङ्वेज’ ले भनिरहेको थियो कि उनी हारेका सेनापति हुन् ।

आफूसित ‘म्याजिक’ नम्बर छ र पाँचै वर्ष सत्ता चलाइन्छ भन्दै आएका निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छापामार शैलीमा कांग्रेस र एमाले मिलेपछि ‘शक्ड’ भएका छन् । यसरी सत्ताच्युत बनेका बेला प्रचण्डका कमजोरी के–के रहे भनेर विश्लेषण गर्दा भावुक प्रचण्डको चित्त थप फाट्न सक्छ । शायद प्रचण्डलाई अहिले सहानुभूति चाहिएको छ । सत्ताबाट अनपेक्षितरुपमा बाहिरिनुपर्दा उनी ‘ट्रेजेडी अफ सुपर पावर’ को मनोदशामा छन् ।

तर, मायाले संसार थाम्दैन । माया र सहानुभूतिले राजनीति चल्दैन । युद्ध र राजनीति दुबैमा पराजयको गम्भीर र निर्मम समीक्षा हुनैपर्छ । क्वाँ–क्वाँ रोएर राजनीति चल्दैन । अझ, देशै हाँक्छु भन्ने पार्टीका नेताले त झनै आफ्नो पराजय किन भयो भनेर वस्तुसम्मत समीक्षा गर्नैपर्छ । माओवादी पार्टीले पनि अब शान्ति प्रक्रियापछि आफूले हिँडेको बाटोको गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको छ । सो पार्टीले अब आफ्ना अध्यक्ष प्रचण्डमाथि निर्मम समीक्षा गर्न ढीलो भइसकेको छ । आवश्यक परे माओवादीमा अर्को ‘सेक्टर काण्ड’ को जरुरी पर्न सक्छ ।

प्रस्तुत आलेखको मुख्य उद्देश्य नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबारे विश्लेषण गर्नु हो । यस सन्दर्भमा माओवादी पार्टीभित्रको अन्तरसंघर्ष र समग्र माओवादीको राजनीतिक समीक्षा पनि जरुरी छ ।

बुझेनन् माओवादीले

‘बोक्सीको घर’ चलचित्रमा एउटा गीत छ । नारीलाई पुरुषहरुले भिराइदिएका दुई विरोधाभाषी ‘चरित्र’ माथि गीतले प्रश्न उठाएको छ, जसमा नारी पात्रले सोध्छिन्–

जून जस्ती रे, फूल जस्ती रे !

कञ्चन खोला, झरनाको मूल जस्ती रे !

म बोक्सी, म देवी/म डार्लिङ, म बेबी

यो थरीथरी नाताले, यो सुन्दरताको गाथाले

म बाँधिएकी हुँ या सजिएकी हुँ ?

बुझिनँ मैले, बुझाइदेऊ कसैले !

प्रचण्ड महान नेता हुन् या असफल हुँदै गएका पात्र ? प्रचण्ड अझैसम्म प्रगतिशील, वामपन्थी, समाजवादी या कम्युनिस्ट नै छन् या विचौलियाहरुको प्रतिनिधिका रुपमा स्खलित भइसके ? नेपालका अन्य नेताको तुलनामा प्रचण्ड अझैसम्म सापेक्षितरुपमा सही नै छन् या उनी पनि शेरबहादुर देउवा र केपीकै ड्याङमा पुगिसके ? प्रचण्डमा अलिकति मार्क्सवादी सौन्दर्य बाँकी नै छ ? या, कुरुप भइसके ? प्रचण्डमा अझै सप्रने या सुध्रिने ठाउँ छ ? कि उनी सुध्रनै नसक्ने गरी बिग्रिसके ? प्रचण्डको नेतृत्वमा अब माओवादी पार्टीको पुर्नजागरण सम्भव छ ? या, उनको नेतृत्वमा पार्टी खोलैखोला जाने स्थिति छ ? खासमा– प्रचण्डभित्र ‘देवत्व’ बचेको छ या दानवीकरण शुरु भएको छ ? बोक्सीको घरको गीतजस्तै, प्रचण्ड अहिले बाँधिएका छन् या सजिएका छन् ?

नेपाली राजनीतिमा ‘प्रचण्ड’ नाम एउटा क्रान्तिकारी कम्युनिष्ट योद्धाका रुपमा उदय भएको हो भन्नेमा शायदै कसैको विमति होला । तर, यहाँसम्म आइपुग्दा ‘प्रचण्ड’ एक कमजोर, अस्थिर र सिद्धान्तहीन नेताको पर्यायवाची बन्न पुगेको धरातलीय यथार्थ हो ।

‘बोक्सीको घर’ले भनेजस्तै एकातिरबाट हेर्दा प्रचण्ड ठिकै देखिन्छन् । तर, अर्कोतिरबाट हेर्दा उनी कुरुप, सत्तालोलुप र हदैसम्मको आत्मपरक प्रतीत हुन्छन् । तर, यो यथार्थ प्रचण्डले अझै बुझ्न सकेको देखिँदैन । उनलाई कसैले बुझाइदिन पनि सकेको छैन । प्रचण्ड बिग्रिएका हुन् या सप्रिएका ? ‘बुझेनन् उनले, बुझाइदेऊ कसैले’ भन्नुपर्ने अवस्था छ ।

समग्र माओवादी पार्टीको दिशा र दशाबारे विश्लेषण गर्ने बेला भएको छ । शायद यसबारे पार्टीको आशन्न केन्द्रीय समिति बैठकमा बहस होला । तर, पार्टीकै प्राधिकार र पर्याय बनेका प्रचण्डमाथि रौंचिरा विश्लेषण नगरिकन अब माओवादीले पुनर्जागरणको सपना देख्नु बेकार छ ।

विचरा प्रचण्ड !

गत असार २८ गते संसदमा विश्वासको मत माग्दै करिब सवा घण्टा बोलेका निवर्तमान प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘धोकेबाज’को संज्ञा दिए । वाम एकताका नाममा आफूलाई झुक्याइएको गुनासो गर्दै उनले संसदमा भने, ‘म लठ्याइएँ, अल्मिलिएँ ।… म यसको नैतिक जिम्मेवारी लिन तयार छु ।’

माओवादी केन्द्रको अध्यक्षका नाताले यतिविघ्न बेहोसी बनेका प्रचण्डले यसको नैतिक जिम्मेवारी लिन्छु भन्नुको अर्थ के हो ? के उनले त्यसैदिन संसदबाट सिधै पेरिसडाँडा गएर पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने होइन ? के उनी पार्टी चलाउन असक्षम र अयोग्य सावित भइसकेका होइनन् ?

पञ्चायतकालको उत्तरार्धमा ‘सेक्टर काण्ड’को नैतिक जिम्मेवारी लिँदै पार्टी प्रमुखबाट मोहन वैद्यले राजीनामा दिएपछि प्रचण्ड पार्टीको सत्तामा पुगेका थिए । त्यसयता जतिसुकै अयोग्य र असक्षम हुँदा पनि नैतिकता देखाउन नसक्ने हो भने ‘म लठ्याइएँ, अल्मिलिएँ ।… म यसको नैतिक जिम्मेवारी लिन तयार छु ।’ भनिरहनुको के अर्थ ? यो त केलव ‘म बोक्सी, म देवी÷ म डार्लिङ, म बेबी’ भन्ने गीतजस्तै भएन र ? यो प्रश्नको जवाफ खोज्ने काम माओवादी नेताहरुकै हो ।

असार २८ गते सत्ताच्यूत हुँदै गर्दा संसदमा प्रचण्डले के–के भनेर भँडास पोखेका थिए, एकचोटि उनकै शब्दमा स्मरण गरौं–

असार १७ गते राति दुई दलका वीचमा सहमति र हस्ताक्षर भइसकेपछि १८ गते बिहान आएर नेकपा एमालेका अध्यक्षले भएकै छैन भन्नुभो । मैले कान्तिपुर देखाएर भनें, ‘यी फोटो आइसक्यो, तपाई र शेरबहादुर देउवाले हस्ताक्षर गरेको ।’ उहाँले कहिलेको फोटो रहेछ भन्नुभो । ढाँटछलको पनि एउटा सीमा हुन्छ नि ।…

अनि, नेपाली कांग्रेसका सभापतिलाई फोन गरें, ‘के हो ? एमालेका अध्यक्षले त सहमति भएको छैन, दिउँसो ४ बजे तीनवटा नेता बसेर टुंग्याउँ भन्दै हुनुहुन्छ…।’

कांग्रेसका सभापतिले भन्नु भो– सहमति भइसक्यो, हस्ताक्षर भइसक्यो, म ढाँट्न जान्दिनँ । सरी । तीनजना बस्न आवश्यक छैन । तीनवटा बसेर के गर्ने, सहमति भइसक्यो ।

यस्तो तरिका अपनाउनुपर्छ दुईवटा ठुल्ठुला दलहरुले ? तपाईहरु षड्यन्त्रमा हुनुहुन्छ भन्ने तथ्य तपाईहरुले सहमति गरेको ठाउँ र समयबाट पुष्टि भइसकेको छ । ….मलाई जनताप्रति भरोसा छ र मलाई जनताको साथ अनिवार्यरुपमा प्राप्त हुनेछ ।

निरन्तर लगाइरहेको अस्थिरताको आरोपबारे पनि म यो सदनमा राख्न चाहन्छु ।

निर्वाचनपूर्व नै हामी गठबन्धन बनाएर गएका थियौं । तर, सरकार बन्नेबेला राजनीतिक तहमा भएको सहमतिको पालना नभएको अवस्थामा म एमाले, रास्वपा, राप्रपा र जसपा लगायतका दलहरुको समर्थनमा प्रधानमन्त्री बनेको हुँ । सरकार असफल त भएन, तर मेरो अपेक्षाअनुसार गति पनि लिएन । कांग्रेसको शीर्ष नेतृत्वसँग असमझदारी भएर होइन, वास्तवमा तेज गतिमा सरकार चलाएर लोकतन्त्रप्रति जनताको भरोसा बढाउने हुटहुटी र अलिअलि वामपन्थी आन्दोलनको भावुक बहकाऊले नै मलाई एमालेसहितको गठबन्धनमा लगेको हो ।

यसमा हाम्रो एमाले अध्यक्षको कला, क्षमता तारिफ गर्न लायक छ । धेरै नै तारिफ गर्न लायक छ । उहाँको हैसियतका यहाँ अरु कोही पनि छैनन् । मलाई राम्रो फकाउनुभो । वामपन्थी पो मिल्नुपर्छ, कांग्रेससँग… कांग्रेस को हो ? धेरै …धेरै… ।

अब म मान्छे यस्तै । प्रचण्ड यस्तै छ । तपाईहरुले चिन्नुभएकै छ । अलिअलि सेन्टिमेन्टल । भावुक । मीठो गरी भनेपछि होला त नि भनेर विश्वास गर्ने । फेरि म वामपन्थी नै परें । कम्युनिस्ट एकता गरौं, नत्र अर्को चुनावमा त हामी पश्चिम बंगालजस्तो भइन्छ भनेपछि हो भन्ने लाग्यो । मैले सरकारको गियर परिवर्तनका लागि यो ठीकै बाटो हो भन्ने ठानें ।

तर, जसलाई मैले वाम सेन्टिमेन्ट ठानेको थिएँ, राष्ट्रको वृहत्तर हित र समाजवादको आधार यताबाट मात्रै हुन्छ भनेर विश्वास गरें, त्यो षड्यन्त्र रहेछ भन्ने थाहा पाउन म ढीलो भएँ ।

केही मान्छेहरु कहिल्यै पनि कुण्ठा र प्रतिशोधबाट निस्कन सक्दैनन् भनेर मैले हिसाबै गर्न सकिनँ । समयले मान्छेलाई सुधार्छ भन्ने विश्वास गरें । म लामा–लामा, मीठा, भरोसापूर्ण सम्वादहरुबाट लठ्याइएँ । अल्मलिएँ । स्वर्ग र नर्क सँगै जाने !

यो स्वर्ग र नर्क सँगै जाने कुरा असार १७ गतेको हो । १७ को बिहान स्वर्ग र नर्क सँगै जाने, ०८४ को चुनाव वामपन्थीहरु नै मिलेर लड्ने, त्यसपछि पार्टी पनि एउटै बनाउने, ढुक्क हुनुहोस् भनेपछि त म त मख्ख परें ।
बाहिर पत्रपत्रिकामा छरपस्ट आएको त थियो, तर मूल नेतृत्वले नै स्वर्ग गए नि सँगै, नर्क गए नि सँगै भनेपछि त के नपत्याउने ? म फुर्किँदै क्याबिनेटमा गएँ ।

क्याबिनेटमा उपप्रधानमन्त्रीजी, मन्त्रीजी सबैलाई शंका थियो, ल है धोका हुन लागेको छ, भैसक्यो रे, लास्ट हस्ताक्षरको तयारी भएको छ त भन्नुभएको थियो । ह्या.. तपाईहरु बुझ्नुहुन्न, म चारघण्टा कुरा गरेर आएको छु, एमाले अध्यक्षसँग कस्तो राम्रो कुरा भएको छ, ढुक्कसँग काम गर्नोस्, केही हुँदैन भनें मैले । कति लाटो म !

मलाई अहिले कस्तो लाग्छ भने मैले नेपाली कांग्रेससँगको गठबन्धन छाडेर एमालेको प्रस्तावमा प्रधानमन्त्री हुँदा नेपाली कांग्रेसका सभापतिको मनस्थिति, मनोविज्ञान जे अनुभूत गरें, आज मेरो उहाँको जस्तै स्थिति छ । आज मेरो त्यो स्थिति छ । झुक्याइएँ । म यसको नैतिक जिम्मेवारी लिन तयार छु ।

प्रचण्डको यो भाषणको अर्थ के हो ? ‘म यसको नैतिक जिम्मेवारी लिन तयार छु’ भन्नुको अर्थ पार्टी अध्यक्षबाट नैतिक रुपमा राजीनामा दिनुपर्ने होइन ? अथवा पार्टीमा कमसेकम लिखित आत्मालोचना पो गर्नुपर्ने हो कि ? ‘नैतिक जिम्मेवारी’ भनेको के ? शायद यसको जवाफ खोज्ने काम पनि माओवादी नेताहरुकै हो । केन्द्रीय सदस्यहरुको हो ।

पार्टीले अपनाएको ०७९ को चुनावयताको कार्यनीति हेर्दा प्रचण्डले पार्टी अध्यक्षबाट नैतिकताका आधारमा राजीनामा दिनुपर्ने कारणहरु धेरैवटा घटित भइसकेका छन् । जस्तै–

पहिलो प्रश्न– नेपाली कांग्रेससँगको चुनावी गठबन्धन तोडेर रातारात बालकोटको बार्दलीमा पुगेर केपी ओलीसँग गठबन्धन किन गरियो ? कांग्रेसको समेत भोटले चुनाव जित्ने अनि चुनावपछि सो गठबन्धन भत्काउनु अनैतिक कार्य हो कि हैन ?

यो प्रश्नको जवाफमा प्रचण्डले भन्ने गरेका छन् कि चुनावपछि आफूलाई प्रधानमन्त्री बनाउन देउवाले सहमति गरेका थिए, तर, चुनावपछि कांग्रेसले आफूलाई प्रधानमन्त्री दिन चाहेन । यही कारणले गर्दा कांग्रेसले धोका दिएको हुनाले बालकोटतिर लाग्नुपरेको हो ।

प्रचण्डको यो तर्क अत्यन्त दुर्बल देखिन्छ । किनभने–

– चुनावपछि प्रचण्डलाई प्रधानमन्त्री दिने सहमति कांग्रेससँग भएकै थियो भने, त्यस्तो लिखित सहमति माओवादीले किन सार्वजनिक गर्न नसकेको ? त्यस्तो सहमति भएकै हो भन्ने आधार के ?

– आफू ३२ सिटवाला तेस्रो दलमा खुम्चिएको अवस्थामा प्रधानमन्त्री बन्न मरिहत्ते गर्नुको साटो ठूलो दललाई सरकारको नेतृत्व गर्न दिएको भए जनमत र जनादेशको सम्मान हुन्छ भन्ने सोचाइ प्रचण्डमा किन नपलाएको ? किनभने, उनमा जसरी पनि प्रधानमन्त्री बन्नैपर्ने सत्ताको भोक जागेको थियो । अझ त्यसबेला श्रीमतीले समेत उनलाई प्रधानमन्त्री बनेको देख्ने अन्तिम ईच्छा जाहेर गरेकी थिइन् । र, ज्वाइँलाई कोशी प्रदेशको मन्त्री बनेको देख्न चाहेकी थिइन् । भित्री रहस्य यही थियो ।

–०७९ को चुनावमा माओवादीले गैरकम्युनिस्ट दल नेपाली कांग्रेससँग कुन राजनीतिक–वैचारिक जगमा टेकेर गठबन्धन बनाएको हो ? अनि चुनावलगत्तै नेकपा एमाले, राप्रपा र रास्वपासँग कुन सैद्धान्तिक जगमा गठबन्धन बनाइएको हो । यो फरक–फरक गठबन्धनको सैद्धान्तिक–वैचारिक धरातल के हो ?

–चुनावलगत्तै कांग्रेससँगको गठबन्धन तोडेर आफैंले ‘संविधानविरोधी’ करार गरेको एमालेसँग गठबन्धन बनाएवापत प्रचण्डले उनको पार्टीभित्र र समग्र मतदातासँग माफी माग्ने कि नमाग्ने ? कि अझै ढीट गरेर यथार्थलाई छोपछाप पारिरहने ?

दोस्रो प्रश्न– एमालेसँगको गठबन्धन तोडेर फेरि नेपाली कांग्रेससँगै गठबन्धन बनाउनुको कारण के हो ? यसको राजनीतिक वैचारिक अर्थ के हो ? कि एमालेले प्रधानमन्त्रीबाट हटाउन लाग्यो, कांग्रेसतिर लाग्दा पद जोगिने भयो ? यत्ति पदलोलुपताले प्रचण्ड फेरि कांग्रेससँग लहसिएका हुन् ? यसको जवाफ खोज्ने काम माओवादी कै हो । यस्ता अराजक निर्णयमा पार्टी अध्यक्षलाई छुट दिँदा माओवादी एकपछि अर्को बदनाम बनेको तीतो यथार्थबारे शायद माओवादी नेताहरु जानकार छन् । एमालेसँगको गठबन्धन तोडेर कांग्रेसतिर लहसिएको विषयमा प्रचण्डले नैतिक जिम्मेवारी लिनैपर्ने देखिन्छ । यो गठबन्धन परिवर्तनको एउटै उद्देश्य थियो– ३२ सिटको तेस्रो पार्टी भएर पनि सत्तामै टाँसिरहने सत्ता लिप्सा ।

तेस्रो प्रश्न– प्रचण्डले ०८० फागुन २१ मा फेरि कांग्रेसलाई धोका दिए र एमालेसँग तालमेल गरे । कांग्रेसलाई धोका दिनुमा कांग्रेसको कुनै गल्ती नरहेको प्रचण्डको असार २८ को संसद भाषणबाटै छर्लङ्ग हुन्छ ।
संसदको त्यो भाषणमा प्रचण्डले ओलीसँग पुनः गठबन्धन बनाउनुको कारणबारे यस्तो भनेका छन्, ‘कांग्रेसको शीर्ष नेतृत्वसँग असमझदारी भएर होइन, वास्तवमा तेज गतिमा सरकार चलाएर लोकतन्त्रप्रति जनताको भरोसा बढाउने हुटहुटी र अलिअलि वामपन्थी आन्दोलनको भावुक बहकाऊले नै मलाई एमालेसहितको गठबन्धनमा लगेको हो ।’

तेस्रो प्रश्न– प्रचण्डले पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने तेस्रो कारण पनि छ । ‘अलिअलि वामपन्थी आन्दोलनको भावुक बहकाऊले नै मलाई एमालेसहितको गठबन्धनमा लगेको हो’ भन्ने प्रचण्डले नेकपा एमालेलाई हेर्ने पार्टीको दृष्टिकोण के हो भन्ने नै स्पष्ट गर्न सकेनन् । यसले गर्दा माओवादी पार्टी एमालेको विकल्प हैन, कठपुतली बन्दै आयो । प्रचण्डको पछिल्लो तर्क सुन्दा उनी अहिले पनि एमाले वामपन्थी शक्ति हो भन्नेमै छन् । तर, आजभन्दा तीन दशकअघि जनयुद्धकालमा उनैले लेखेको दस्तावेजमा एमालेलाई ‘प्रतिक्रियावादउन्मुख शक्ति’ भन्दै ‘ध्वस्त पार्नुपर्ने’ सूचीमा राखिएको थियो ।

केपी ओलीलाई चिन्न सकिनँ भनेका प्रचण्डले जनयुद्धकालमै एमालेबारे लेखेको लेखको अंश हेर्नुहोस् –

यसरी आफैंले ‘प्रतिकृयावादी’ करार गरिएको एमालेसँग ०७४ मा प्रचण्डले आफ्नो दलमा पर्याप्त आन्तरिक छलफल नै नगरी किन रातारात पार्टी एकताको निर्णय गरे ? के एमालेसँगको पार्टी एकताको निर्णय गलत थिएन ? गलत थियो भने त्यसमा प्रचण्डले आत्मालोचना गुर्नपदैन ? एकता गर्ने आफ्नो लाइन असफल भएपछि प्रचण्डले पार्टीको नेतृत्वबाट हट्नुपर्दैन ? आफ्नो लाइन असफल हुँदा पार्टी नेतृत्वबाट हट्ने कम्युनिस्ट पार्टीको परम्परा नै हो ।

माओवादीले एमालेसँग गरेको पार्टी एकता गलत थियो कि सही ? यसको जिम्मेवारी नेतृत्वले लिनुपर्छ कि पर्दैन ? अनि संसद विघटनपछि ‘संविधानको रक्षाका लागि’ सहकार्य गरेका दलहरुलाई छाडेर फेरि उनै केपी ओलीसँग लहसिन जानु ठीक थियो कि बेठीक ? यी प्रश्नहरु माओवादी अध्यक्ष प्रचण्डतिर सोझिएका सोझियै छन् ।

पार्टी क्षयीकरणको जिम्मेवारी कसले लिने ?

माथि चर्चा गरिएका प्रश्नहरु ०७९ पछिको कार्यनीतिसँग मात्र जोडिएका विषय हुन् । अध्यक्ष प्रचण्डको समग्र मूल्यांकन गर्ने हो भने ०६३ को शान्ति प्रक्रियापछिकै उनका अयोग्यताहरुको पार्टीभित्र छानविन हुन जरुरी देखिन्छ । जस्तै–

एक– शान्ति सम्झौता भएकै वर्ष सिध्याउने भनिएको शान्ति प्रक्रिया प्रचण्डको नेतृत्वमा १७ वर्षसम्म किन लम्बियो ? यो प्रचण्ड नेतृत्वको अयोग्यता हो कि हैन ? साथै, पार्टीलाई बदनाम गर्ने गरी लडाकूको रकम हिनामिना एवं भ्रष्टाचारको जिम्मेवारी पनि प्रचण्डले लिने कि नलिने ?

दुई– पहिलो संविधानसभा ०६४ मा पहिलो दल बनेको माओवादी पार्टी दोस्रो संविधानसभामा आइपुग्दा तेस्रो स्थानमा खुम्चियो । त्यो हारको नैतिक जिम्मेवारी प्रचण्डले लिने कि नलिने ? त्यसयता ०७४ र ०७९ मा पार्टीको जनमत निरन्तर खुम्चिँदै गएको नैतिक जिम्मेवारी प्रचण्डले लिनुपर्छ कि पर्दैन ?

तीन– पार्टी नेताले सबैलाई मिलाएर लान सक्नुपर्छ । शान्तिपूर्ण राजनीतिमा आएपछि मोहन वैद्य, बाबुराम भट्टराई, बादल, विप्लव, गोपाल किराती लगायतका नेताहरुलाई समेट्न नसकेको जिम्मेवारी प्रचण्डले लिने कि नलिने ? अनि पूर्वमाओवादीको एकीकरण गर्छु भनेको वर्षौं बित्दा पनि गर्न नसकेकोमा नैतिक जिम्मेवारी लिने कि नलिने ? साथै आफूलाई रेस्क्यु गरेर गोर्खाबाट चुनजाव जितेका डा. बाबुराम भट्टराईलाई विश्वासमा लिनुको साटो उनकै पार्टी फुटाएर किन बदला लिएको ? यस्तो परिस्थितिमा अब प्रचण्डकै नेतृत्व रहँदासम्म पूर्वमाओवादीको मिलन कसरी सम्भव होला ?

चार– पछिल्लो समयमा माधव नेपाल, उपेन्द्र यादव, विप्लव, लगायतले नेतृत्व गरेका दलहरुसँग मिलेर समाजवादी मोर्चा बनाउने चर्चा पनि प्रचण्डले गर्दै आएका थिए । तर, यही वीचमा सरकारमा रहँदा प्रचण्डले ओलीसँग मिलेर उपेन्द्र यादवको पार्टी फुटाएका हुन् कि होइनन् ? साथै माधव नेपाललाई पेल्ने र ओलीसँग चोचोमोचो मिलाउने काम गरेका हुन् कि हैनन् ? र, यस्तो अविश्वासपूर्ण भूमिकाका कारण अब प्रचण्डकै नेतृत्वमा समाजवादी मोर्चा बन्छ भन्ने ग्यारेन्टी के छ ?

पाँच– प्रचण्डले कुनैबेला वर्षमानलाई च्याप्ने त कुनै बेला जनार्दनलाई खेलाउने नीति लिएको आरोप पार्टीभित्र छ । परिवारवाद हावी भएको गुनासो छ । विगतमा प्रचण्डकै समूहमा रहेका नेताहरु उनको कार्यशैलीसँग रुष्ट छन् । एकप्रकारले भन्ने हो भने प्रचण्ड पार्टीभित्रै अल्पमतमा पर्ने अवस्था आउन लागेको छ । पार्टी लथालिङ्ग छ । जनतामा बदनाम छ । कार्यकर्तामा चरम निराशा छ । नेतृत्वप्रति घृणा र वितृष्णा बढ्दै गइरहेको छ । के प्रचण्डलाई यी सबै थथार्थबारे जानकारी छ ? छ भने उनले अब अध्यक्ष पद अन्य नेतालाई हस्तान्तरण गर्नुपर्ने हो या होइन ?

छ– सरकारमा हुँदा बालुवाटार, बाँसबारी, नक्कली शरणार्थी लगायतका केही काण्डहरुमा सरकारले कडाइ गरेको भन्दै माओवादी अध्यक्ष प्रचण्डले त्यसलाई आफ्नो सुशासनप्रतिको प्रतिवद्धता बताएका छन् । तर, यसवीचमा माओवादी नेताहरु माथि कैयौं भ्रष्टाचारसम्बन्धी प्रश्नहरु पनि उठेका छन् । सुन र सहकारी प्रकरणमा माओवादी नेताका छोराहरु समातिएका छन् ।

प्रधानमन्त्री रहँदा प्रचण्डले जनविविकाको सवालमा के–के काम गरे ? प्रशासनिक भ्रष्टाचार रोकियो कि रोकिएन ? जनताको निराशा चिरियो कि चुलियो ? दुईवटा बजेट ल्याउँदा कुन त्यस्तो ‘गेम चेञ्जर’ कार्यक्रम आयो ? अर्थतन्त्रको स्थिति के भयो ? भूमिहीन सुकुमबासीको समस्या के भयो ?

चौधरीले प्रचण्डका छोराबुहारीलाई अपाटर्मेट दिएको आरोप दूर्गा प्रसाईले लगाएको अवस्था छ । नागरिक उड्डन प्राधिकरणका भ्रष्ट हाकिमले प्रचण्डका नातेदारलाई दुबई घुमाएको भ्रष्टको बचाउ गर्दै तत्कालीन पर्यटनमन्त्री सुदन किरातीको मानमर्दन गरिएको प्रचण्डमाथि पार्टीभित्रैबाट आरोप छ । छोरीज्वाइँले पार्टीभित्र मनपरी गरेको गुनासो पनि पार्टीभित्रैबाट सुनिने गरिएको छ । के यी सबै आरोपहरुमा मौन रहेर प्रचण्डले माओवादी पार्टीलाई पुनर्जागरण गराउन सक्लान् ? यो प्रश्नको जवाफ खोज्ने काम पनि माओवादी नेताहरुकै हो ।

थोत्रे तर्क र भ्रमहरुको रटान

प्रचण्डले बेलाबखत संकटमा परेका बेला आम जनतामा जाने, सीमान्तीकृत समुदायको पक्षमा आवाज उठाउने र माओवादी पार्टीलाई पुनः बलियो बनाउने बताउने गरेका छन् । तर, जनता र सीमान्तीकृत समुदायबाट माओवादीले विश्वास गुमाइसकेको छ । कोशीको नामाकरणका बेला प्रचण्डले कस्तो भूमिका खेले ? ओलीसँग मिलेपछि उनले कसरी पहिचानको मुद्दा बिर्सिए ?

प्रधानमन्त्री रहँदा प्रचण्डले जनविविकाको सवालमा के–के काम गरे ? प्रशासनिक भ्रष्टाचार रोकियो कि रोकिएन ? जनताको निराशा चिरियो कि चुलियो ? दुईवटा बजेट ल्याउँदा कुन त्यस्तो ‘गेम चेञ्जर’ कार्यक्रम आयो ? अर्थतन्त्रको स्थिति के भयो ? भूमिहीन सुकुमबासीको समस्या के भयो ? यी सबै तथ्य देखेका जनताले माओवादीलाई फेरि साथ दिनेछन् भन्ने भ्रममा प्रचण्ड छन् । तर, बंगलादेशका आर्थिक सूचक र त्यहाँ जनताको निराशावीतको विरोधाभाष उनले अहिले पक्कै महसुस गरेकै होलान् ।

सरकारमा गएका कांग्रेस र एमाले बदनाम हुँदै जान्छन् अनि माओवादीको दिन फिर्र्छ भन्ने आशा पनि प्रचण्डले गरिरहेको देखिन्छ । तर, अब ढीलो भइसकेको छ । अब कांग्रेस–एमाले बदनाम भएमा अर्कै शक्ति आउन सक्छ । जनताले प्रचण्डलाई पनि ओली र देउवाकै कोटीमा राखेर ‘पुरानो शक्ति’ ठानेको अवस्था छ ।

प्रचण्डमा म निकै चलाख खेलाडी हुँ भन्ने अर्को भ्रम छ । तर, ०६४ यताका हरेक खेलमा प्रचण्ड चलाख हैन, मूर्ख सावित हुँदै आएका छन् ।

पहिलो कार्यकालमा रुक्माङगद प्रकरणले प्रधानमन्त्री पद गुमाउनु परेको तथ्य होस् या ०७९ पछिको उनको गठबन्धन फर्ने ‘पिपलपाते’ प्रवृत्ति होस्, प्रचण्ड चलाख खेलाडी नभएर समयको आवाज बुझ्न नसक्ने असफल पात्रका रुपमा दिनानुदिन स्खलन भइरहेका छन् । तैपनि उनी ‘म खतरा हुँ, फेरि शक्तिमा आउँछु’ भन्ने भ्रममै बाँचिरहेका छन् । प्रचण्ड मात्र होइन, माओवादीका अन्य कतिपय नेताहरुमा समेत यो भ्रम व्याप्त छ ।

०८४ को चुनावमा धेरै माओवादी जेल पर्न सक्छन्

१७ वर्षअघि नै टुंगिनुपर्ने शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन भर्खरै टीआरसी ऐन संशोधन लागेको छ । यसमा माओवादीले समेत सहमति जनाइसकेको हुनाले यसलाई यही अधिवेशनबाट पारित गर्ने तयारी छ । अब यो ऐन बन्यो र आयोग गठन भएर त्यसले काम थाल्यो भने आगामी ०८४ को चुनावका बेला धेरै माओवादी नेताहरु सांकेतिक रुपमै भए पनि जेलमा थुनिएका हुन सक्छन् ।

किनभने, सत्य निरुपण तथा मेलमिलाप आयोग बन्न अब एकाध महिना लाग्न सक्छ । त्यसपछि आयोगले तीन महिनाका लागि उजुरी आह्वान गर्नेछ । त्यसक्रममा माओवादी नेताहरुविरुद्ध देशभरिबाट उजुरीहरु पर्नेछन् । त्यसमाथि आयोगले छानविन गरी गम्भीर मानवअधिकार उल्लंघनका केसलाई सिधै नियमित अदालततिर पठाउन सक्छ ।

अन्य अपराधका हकमा मेलमिलापको प्रयास गर्दा पीडितले नमानेको खण्डमा तिनमा पनि मुद्दा चल्ने छ । र, त्यस्तो केसमा ७५ प्रतिशत सजायँ मिनाहा हुने भएता पनि ०८२÷०८३ सालमा मुद्दा चल्यो भने माओवादी नेता कार्यकर्ताहरुले सजायँ भुक्तान गरि नसक्दै स्थानीय तह र माथ्लो तहको निर्वाचन आउन सक्छ । त्यो अवस्थामा ‘माओवादी जेलमा, अन्य दल चुनावी मैदानमा हुने स्थिति पनि आउन सक्छ ।
त्यसर्थ, आयोग बनाएर शान्ति प्रक्रिया टुंग्याउन अझै ढिलाइ गरियो भने समयको चापका कारण ०८४ को चुनावमा माओवादीलाई असर पार्न सक्ने जोखिम देखिन्छ ।

उसोभए माओवादीको अबको बाटो के ?

नेकपा माओवादी केन्द्रसँग  केही विकल्प छन् ।

एक–प्रचण्डकै नेतृत्वमा पार्टीलाई पुनर्जागरण गराउने । यो लगभग असम्भवजस्तै छ । किनभने, परिवारवाद र भ्रष्टाचारले प्रचण्ड नेतृत्व थिल्थिलो बनिसकेको छ । प्रचण्डको परिवार विचौलियाको घेराबन्दीमा छ । कार्यकर्तालाई पाखा र बिचौलियालाई काखा पारिएको गुनासो पार्टीभित्र व्याप्त छ ।

दुई– प्रचण्डलाई अध्यक्षबाट हटाएर अर्को अध्यक्ष बन्ने विकल्पमा पनि माओवादीभित्र फलफल चलेको देखिन्छ । जनार्दन शर्माले त्यस्तो प्रस्ताव ल्याएका छन् । कृष्णबहादुर महरा, अग्नि सापकोटा, हरिबोल गजुरेल, राम कार्की लगायतका नेताहरुले पनि अब प्रचण्डबाट पार्टी अघि नबढ्ने भित्री निष्कर्ष निकाल्न थालेको बुझिएको छ । तर, यी नेताहरुले पनि पार्टी हाँक्न सक्ने देखिन्न । किनभने यी नेताहरुमा जनयुद्धको धङधङी बाँकी नै छ । जस्तो–उनीहरु नारायणकाजी श्रेष्ठ समूहलाई पार्टीमा पटक्कै रुचाउँदैनन् । जनयुद्ध नलडेकाहरुलाई तरमारा ठान्ने तर आफैंले तर मारिरहनुपर्छ भन्ने सोचाइ माओवादीका दोस्रो तहका नेतामा छ ।

जनार्दनको प्रस्तावलाई प्रचण्डले सामान्य ठानेर पन्छाइदिने र उल्टै शर्मालाई ‘मुकुल ढकाल’ बनाइदिने जोखिम पनि उत्तिकै छ । शर्माले पनि माओवादीलाई अघि बढाउने भन्ने ठोस योजना ल्याउन सकेका छैनन् । शर्मा बाहेक अरुले अध्यक्ष प्रचण्डमाथि प्रश्न उठाउन सकेको देखिँदैन   

विडम्बना के छ भने माओवादीका दोस्रो तह र तेस्रो तहका नेतासम्म भ्रष्टाचार र विकृति मौलाएको छ । दोस्रो तहका एकाध नेता छाडेर कोही पनि चोखा देखिँदैनन् । सभामुखसमेत भइसकेका अग्नि सापकोटा सादगी नेता त मानिन्छन् तर उनमा आफ्नो गुटलाई मात्रै संरक्षण गर्ने तर सबैलाई समेटेर जानेमा कमजोरी देखिन्छ । प्रचण्डसँग फायर खोलेका जनार्दन शर्माको हकमा पनि उनीभित्र संकीर्णता र क्षेत्रीयतावादी समस्या देखिन्छ ।

निष्कर्षमा माओवादीभित्र संकट देखिएको छ । त्यो संकट के हो भने प्रचण्डकै नेतृत्व रहँदा पार्टी धुलो हुने, अरुले सम्हालेको अवस्थामा पार्टी लुलो हुने खतरा छ । न प्रचण्डबाट चल्ने, न अरुबाट चल्ने । माओवादीको अहिलेको संकट नै यही हो ।

माओवादीको स्थायी कमिटी बैठकमा उपमहासचिव जनार्दन शर्माले आइतबार १४ पृष्ठको प्रतिवेदन पेश गरे । त्यहाँ उनले पार्टी सुदृढीकरणका लागि जनतामा जाने लगायतका केही सुधारात्मक प्रस्तावहरु राखेका छन् । साथै उनले प्रचण्डले स्वेच्छाले पद हस्तान्तरण गर्नुपर्ने भनेका छन् ।

तर, जनार्दनको प्रस्तावलाई प्रचण्डले सामान्य ठानेर पन्छाइदिने र उल्टै शर्मालाई ‘मुकुल ढकाल’ बनाइदिने जोखिम पनि उत्तिकै छ । शर्माले पनि माओवादीलाई कसरी अघि बढाउने भन्ने ठोस योजना ल्याउन सकेका छैनन् । शर्मा बाहेक अरुले अध्यक्ष प्रचण्डमाथि प्रश्न उठाउन सकेको देखिँदैन ।

स्वयं अध्यक्ष प्रचण्डले चाहिँ पार्टी जनतामा किन अलोकप्रिय बन्यो भन्नेबारे यथार्थ बुझ्न चाहेको देखिँदैन । केही सीमित व्यक्तिको घेरामा खुम्चिएका उनले पार्टी पुनर्जागरणका उपायबारे अध्ययन, अनुसन्धान वा खोजतलास गरेका छैनन् ।

डेढ वर्षपछि सत्ताको नशा ओर्लिए पनि प्रचण्डले पार्टीभित्रको संकट न आफूले बुझेका छन्, न अरु कसैले उनलाई बुझाइदिन सकेका छन् । माओवादी नेताहरु अझै खेलाँची र लहैलहैमा दौडिइरहेका छन् ।

फेरि उही ‘बोक्सीको घर’कै गीत–

शीरैमा सिन्दुर आहा !

गलामा पोते आहा !

धोती र चोली आहा !

घुम्टो र डोली आहा !

छमछम हातैको चुराले

रमझम रातैको कुराले

म बाँधिएकी हुँ या सजिएकी हुँ

बुझिनँ मैले बुझाइदेऊ कसैले….

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ८ : १० बजे

पाकिस्तानको हैदरावादमा १२ हजार बालबालिले लगाएनन् पोलियो खोप

काठमाडौं – पाकिस्तानको हैदरावाद जिल्लामा सञ्चालन गरिएको पोलियोविरुद्धको खोप अभियानमा

राजमार्गको अवस्था हेरेर सार्वजनिक यातायात सञ्चालन गर्न महासङ्घको आग्रह

काठमाडौं – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले राजमार्गको अवस्था हेरेर

माथिल्लो तामाकोशीमा दुईजनाको शव फेला

दोलखा – माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचनामा लेदोसहित

चीनमा विश्वविद्यालयमा अध्ययन गर्नेले अनिवार्य सैन्य प्रशिक्षण लिनुपर्ने

काठमाडौं – चीनले विश्वविद्यालयमा अध्ययन गर्ने उमेर समूहका युवा युवतीका

अमेरिकाबाट काठमाडौंका लागि उडे ओली

अमेरिका – संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर प्रधानमन्त्री केपी